+

कुलत भनिएको पब्जीबाट विश्वमञ्चमा नेपालको नाम

अभिभावकको आँखा छलेर पब्जी खेल्ने साहस भण्डारी (किलर वाईटी) अहिले नेपालमा सर्वाधिक आम्दानी गर्ने ई-स्पोर्ट्स एथलिट हुन्। फोन किन्ने पैसा जुटाउन आफ्नो प्यारो साइकल समेत बेच्न राजी भएका उनले अहिले बुवाआमालाई कार उपहार दिएका छन् । डीआरएस गेमिङका सदस्यका रूपमा पीएमजीसी २०२२ मा उनले विश्वमै दोस्रो स्थान हासिल गरेर ई-स्पोर्ट्सप्रतिको नेपाली समाजको दृष्टिकोण बदल्न भूमिका खेलेका छन्।
पूरा सूची
Shares
साहस भण्डारी
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ई-स्पोर्टस् खेलाडी साहस भण्डारीले आफ्नो खेल कौशलमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउँदै देशकै सर्वाधिक सफल गेमरको पहिचान बनाएका छन्।
  • साहसले सन् २०२२ को पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा विश्वमै दोस्रो स्थान हासिल गरेर नेपाली ई-स्पोर्टस्‌को इतिहासमा ठूलो उपलब्धि हात पारेका छन्।
  • छोराको रुचि र क्षमतालाई बुझेर बुबा शान्त भण्डारीले गरेको साथ र उचित मार्गनिर्देशनका कारण साहसले सफलताको उचाइ चुम्न सफल भएका छन्।

कुरा २०७३ सालतिरको हो। एसईईको तयारीका लागि विद्यालयको होस्टेलमा बसेका थिए, साहस भण्डारी। एकातिर पढाइको चाप थियो, अर्कोतिर मोबाइल गेमको नशा। फुर्सद मिल्नेबित्तिकै उनी २ जीबी र्‍याम भएको आमाको पुरानो ट्याब्लेटमा गेम खेल्न बसिहाल्थे। कक्षा ९ को अन्त्यतिरबाट उनले पब्जी पनि त्यही ट्याब्लेटबाट खेल्न थालेका थिए।

एसईई सकिएपछिको फुर्सदमा अनिश पराजुली नामक एक ‘कास्टर’ ले उनलाई पब्जी खेलेरै आम्दानी गर्न सकिने खबर सुनाए। त्यसबेला नेपालमा पब्जी अहिलेको जस्तो चर्चित थिएन। खेलेरै कमाएको उदाहरण पनि कोही थिएनन्।

तर, अनिशले नै आयोजना गरेको एउटा स्थानीय टुर्नामेन्टमा भाग लिएर साहसले जित हासिल गरे र केही हजार रुपैयाँ पुरस्कार पाए। त्यो पैसाले उनले पब्जीमा ‘सिजन सिक्स’ को रोयल पास किने। गेम खेलेरै कमाउन सकिन्छ भन्ने कुरा उनले व्यावहारिक रूपमै बुझ्ने मौका पाए।

त्यस समय उनको अर्को सोख थियो- साइक्लिङ। उनी ललितपुरको गोदावरी क्षेत्रमा मस्तले साइकल कुदाइरहेका हुन्थे। तर, ई-स्पोर्टस्‌को सपना पूरा गर्न उनले आफ्नो सबैभन्दा प्यारो साइकल बेच्नुपर्‍यो।

एउटा रहर मारेर अर्को रहर पूरा गर्न तम्सिएका ती ठिटो साहस भण्डारी अर्थात् किलर वाईटीआज ई-स्पोर्टस्‌का स्टार हुन्। लुकीलुकी पुरानो डिभाइसबाट पब्जी खेल्ने साहस अहिले लाखौं कमाउने, देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने र आफ्ना बाआमालाई ४१ लाखभन्दा बढीको कार उपहार दिने सफल खेलाडी बनेका छन्।

२२ वर्षको उमेरमै उनी नेपालको इतिहासमा सर्वाधिक पदक विजेता र सम्भवतः सबैभन्दा धेरै कमाउने ई-स्पोर्टस् एथलिट बनेका छन्।

पब्जीप्रतिको त्रास र साइकलको मूल्य

काठमाडौंमै जन्मिएर हुर्किएका साहसले सन् २०१८ तिर पब्जी खेल्न शुरु गर्दा यो गेमलाई समाजमा निकै नकारात्मक नजरले हेरिन्थ्यो। पब्जी खेल्नेलाई ‘कुलतमा फसेको’, ‘पढाइ बिगारेको’ र ‘आपराधिक मानसिकता विकास हुने’ व्यक्तिका रूपमा चित्रण गरिन्थ्यो। संसद्‍मै यसलाई प्रतिबन्ध लगाउनुपर्छ भन्ने आवाज उठिरहेको थियो।

यस्तो माहोलमा साहसकी आमा गीता भण्डारी छोराको भविष्यप्रति चिन्तित हुनु स्वाभाविक थियो। आमा चाहन्थिन्, छोराले राम्रो पढेर डाक्टर वा इन्जिनियर बनोस्। तर छोराको रुचि पब्जीमा गहिरिंदै गयो। गेममा राम्रो प्रदर्शन गर्न राम्रो डिभाइसको खाँचो थियो।

एसईई सकिएपछि उनले बुबा शान्त भण्डारीसँग नयाँ फोनको माग राखे। बुबाले एउटा शर्त तेर्स्याए- नयाँ फोन चाहिन्छ भने साइकल बेच्नुपर्छ, नत्र साइक्लिङमै लाग।

साहसका लागि यो कठिन परीक्षा थियो। तर, उनले आफ्नो जुनूनलाई पछ्याउने निर्णय गरे। सन् २०२० तिर साइकल बेचेर आएको पैसामा केही थपेर उनले सेकेन्ड ह्यान्ड आइफोन-११ किने। त्यही आइफोन नै उनको व्यावसायिक ई-स्पोर्टस् यात्राको वास्तविक प्रस्थानविन्दु बन्यो।

गेमले पढाइ बिग्रन्छ भन्ने सामाजिक भाष्यलाई भने साहसले तोडिदिए। उनले एसईईमा ३.५५ जीपीए ल्याए। प्लस टुमा बुबाले बनाइदिएको टाइम टेबल अनुसार उनले पढाइ र खेललाई सन्तुलनमा राखे। कोभिड-१९ को लकडाउन उनका लागि गेमको सीप तिखार्ने वरदान साबित भयो।

नाबालिग उमेरमै व्यावसायिक सम्झौता

साहसले कोभिडकै समयमा ‘पीएमसीओ’ नामक स्थानीय प्रतियोगिताबाट एनभीके टिम मार्फत व्यावसायिक यात्रा शुरु गरे। उनको गेम खेल्ने शैली देखेर ठूला टिमहरूले उनलाई अफर गर्न थाले। भाइब्ज नामक टिमले उनलाई एक वर्षका लागि खेल्ने प्रस्ताव राख्यो।

कमाइका हिसाबले उनी अहिले सर्वाधिक सफल खेलाडीमध्ये एक हुन्। सन् २०२४ सम्म आइपुग्दा उनले विभिन्न प्रतियोगिता र क्लबको पारिश्रमिकबाट १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन्।

त्यतिबेला साहस नाबालिग नै थिए। व्यावसायिक सम्झौतामा कानूनी रूपमा बुबाको हस्ताक्षर आवश्यक पर्थ्यो। बुबा शान्तले ई-स्पोर्टस्‌को भविष्य र यसको विश्वव्यापी प्रभावबारे अध्ययन गरिसकेका थिए।

छोराको सपनामा तगारो बन्नुको सट्टा उनले आफैं सम्झौतापत्रमा हस्ताक्षर गरिदिए। एउटा क्लबले छोरालाई अनुबन्ध गरेर व्यावसायिक रूपमा खेलाउनु शान्तका लागि भावुक र गर्विलो क्षण थियो।

विश्व मञ्च र डीआरएसको यात्रा

भाइब्जपछि सन् २०२१ मा उनी रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले चलाउने डीआरएस गेमिङसँग जोडिए। त्यहाँ उनले डेल्टा, रिपर, रेबेल जस्ता कुशल खेलाडीहरूसँग खेल्ने मौका पाए।

यही टिमले सन् २०२२ मा भएको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप‘ (पीएमजीसी) मा विश्वमै दोस्रो स्थान हासिल गरेर इतिहास रच्यो। उक्त प्रतियोगिताबाट यो टिमले २ लाख ९२ हजार अमेरिकी डलर (करिब ३ करोड ८० लाख रुपैयाँ) पुरस्कार जित्यो।

त्यो जित ई-स्पोर्टस्‌लाई हेर्ने नेपालको दृष्टिकोण बदल्न एउटा क्रान्ति समान थियो। टिम नेपाल फर्किंदा तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह आफैं विमानस्थल पुगेका थिए भने महानगरले उनीहरूलाई सम्मान समेत गरेको थियो।

यसपछि साहसले १९औं एसियन गेम्समा पनि नेपालको तर्फबाट प्रतिनिधित्व गरे, जहाँ उनको टिम सेमिफाइनलसम्म पुग्दै शक्तिशाली जापानलाई समेत पराजित गर्‍यो। सन् २०२२ मा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) बाट सर्वोत्कृष्ट खेलाडी र २०२३ मा ‘आईएनएनपी अवार्ड’ मा नेपालको उत्कृष्ट ई-स्पोर्टस् खेलाडी घोषित भएका उनी निरन्तर सम्मानित भइरहेका छन्।

किलर वाईटी र कमाइको कथा

गेमिङ कम्युनिटीमा उनी आफ्नो वास्तविक नामभन्दा किलर वाईटीले बढी चिनिन्छन्। सानो छँदा ‘मिनी मिलिसिया’ खेल्दा आफ्नो नामको पछाडि ‘किलर’ जोड्ने गरेका उनले पब्जीमा नाम छोटो बनाउन ‘वाईटी’ थपेका थिए। पछि त्यही नाम उनको युट्युब च्यानलको पहिचान बन्यो, जसमा अहिले १ लाख २२ हजारभन्दा बढी सब्स्क्राइबर छन्।

कमाइका हिसाबले उनी अहिले सर्वाधिक सफल खेलाडीमध्ये एक हुन्। सन् २०२४ सम्म आइपुग्दा उनले विभिन्न प्रतियोगिता र क्लबको पारिश्रमिकबाट १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन्।

डीआरएस क्लबबाट मासिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म तलब पाउने उनी युट्युब स्ट्रिमिङ र टुर्नामेन्टको पुरस्कार समेत जोड्दा औसत मासिक २ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म कमाउँछन्।

तर, यो आम्दानीका पछाडि कठोर अनुशासन छ। धेरैले गेमरहरूलाई राति अबेरसम्म बस्ने र दिउँसो सुत्ने आलसी मान्छन्। साहस भने बिहानै जिम जान्छन्। क्लबको बुट क्याम्पमा कोच र म्यानेजरको निगरानीमा तालिका सहित अभ्यास गर्छन् र आफ्नो मानसिक स्वास्थ्य तथा एकाग्रतामा ध्यान दिन्छन्।

बाबु–छोराको उदाहरण

साहसको सफलताको सबैभन्दा सुन्दर पक्ष उनको र बुबा बीचको सम्बन्ध हो। शुरुमा छोराको खेलप्रति चिन्तित रहने शान्त भण्डारी आज पब्जी कम्युनिटीमै सक्रिय छन्। उनले ५८ हजारभन्दा बढी सदस्य रहेको ‘डीआरएस फ्यान क्लब’ फेसबुक ग्रुप चलाउँछन् भने साहसलाई व्यवस्थापन गर्ने काम पनि आफैं गर्छन्।

हामीले प्रविधिकै युगमा जन्मेका पुस्तालाई प्रविधिबाट टाढा राख्ने कुरा हुँदैन, बरु उनीहरूको क्षमता बुझेर उचित मार्गनिर्देश गर्नुपर्छ‘, शान्त भन्छन्।

आफ्नो ई-स्पोर्टस् करिअर सधैं स्क्रिनमा सीमित रहँदैन भन्ने साहसलाई थाहा छ। त्यसैले उनी कमाएको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने र भविष्यमा गेमिङसँग सम्बन्धित व्यवसाय गर्ने सोचमा छन्। नेपालमा अन्तर्राष्ट्रिय टिमहरूले जस्तो तयारी गर्ने वातावरण र अत्याधुनिक ग्याजेटको अभाव अझै खट्किन्छ‘, उनी भन्छन्।

एउटा सामान्य ठिटो ‘किलर वाईटी’ बन्नुमा उनको मिहिनेत जति छ, बुबाले काँधमा हात राखेर दिएको साथ पनि उत्तिकै महत्त्वपूर्ण छ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।