+

‘अलोकप्रिय’ प्रश्नको बीउ जोगाइरहेका जेनजी

सत्ता परिवर्तनपछि पनि प्रश्नहरू बाँकी रहन्छन् । कतिपय प्रश्न असहज हुन्छन्, कतिपय अलोकप्रिय । तर लोकतन्त्रको स्वास्थ्य त्यही प्रश्नमा निर्भर हुन्छ। माजिद अन्सारी त्यही असहज प्रश्न बोकेर हिंड्ने युवा हुन्, जसले आन्दोलनलाई मौसमी रोमाञ्चकता होइन, निरन्तर निगरानी र जवाफदेहीको यात्राका रूपमा हेर्छन् ।
पूरा सूची
Shares
माजिद अन्सारी
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरका माजिद अन्सारीले पारिवारिक गरिबी र जातीय विभेदका अनुभवलाई आत्मसाथ गर्दै कानूनको अध्ययन र न्यायको क्षेत्रमा सक्रिय युवाका रूपमा आफूलाई उभ्याएका छन्।
  • दाजु कासिद अन्सारीको रहस्यमय मृत्युपछि न्यायका लागि लड्दा पाएको असफलताले उनलाई व्यक्तिगत पीडाबाट मुक्त भई सार्वजनिक न्यायको पक्षमा निरन्तर प्रश्न गर्ने सडकको अगुवा बनायो।
  • धम्की र असुरक्षाका बीच जेनजी आन्दोलनमा आवाज उठाएका माजिदले आफ्नो व्यक्तिगत जीवनलाई समाजका निम्ति समर्पित गर्दै फौजदारी कानूनको वकालतमा भविष्य केन्द्रित गरेका छन्।

गत भदौ २३ र २४ को जेनजी विद्रोहमा राज्यपक्षबाट भएको दमन र त्यसपछि भयावह विनाशले देश स्तब्ध भयो, विद्रोहको रापतापपछि सार्वजनिक वृत्तमा प्रश्न सोध्न समेत जोखिमपूर्ण मानिएको त्यो शून्यताको समयमा पनि एउटा युवा आवाज निरन्तर सुनियो, माजिद अन्सारी।

माजिद तिनै थोरै जेनजी अगुवामध्ये एक हुन्, जसले आन्दोलनअघि र पछि पनि राज्यसँग प्रश्न गर्न छाडेनन्। लाग्छ, उनी सत्ताका स्थायी प्रतिपक्षी हुन्।

मर्छुवा’ र कुखुराको खोन्चा

विराटनगरमा हुर्किएका माजिद परिवारका कान्छा छोरा हुन्। उनी जन्मनुअघि नै दिदी बितेकी थिइन्। अघिल्लो बच्चाको मृत्युपछि जन्मिएको बच्चालाई उनीहरूको गाउँघरमा ‘मर्छुवा’ भनिन्थ्यो, माजिद त्यही परिचयसँगै हुर्किए। यस्ता बच्चा स्वभावैले संवेदनशील र रिसाहा हुने जनविश्वासका कारण परिवारमा उनलाई विशेष माया दिइयो, जसले उनको बाल्यकाल अन्य दाजुदिदीको भन्दा केही सहज बनायो।

तर परिवारको आर्थिक अवस्था सहज थिएन। बुबा, आमा खसीबाख्राको व्यापार गर्थे। बिहानदेखि बेलुकासम्म साइकलमा १५-२० किलोमिटर धाउँदै खसी खोज्ने र जिउँदै बेच्ने नै परिवारको आधार थियो।

त्यसअघि बुवाले अरूको व्यवसाय पनि गरे। अर्काको पसलमा काम गर्दा इदको दिन आफ्ना छोराछोरीलाई खुवाउन थोरै मासु मागेकोमा मालिकबाट निकै अपमानित हुनुपर्‍यो, त्यही अपमानले बुवालाई आफ्नै व्यवसाय शुरु गर्न बाध्य बनायो।

आमाले पनि सय-डेढ सय कुखुरा हुर्काएर ‘खोन्चा’ (कुखुरा बोक्ने ढ्वाँग) मा बोकी विराटनगरको लोहन्द्रा खोला तर्दै बजारसम्म पुर्‍याउने गर्थिन्। यही मिहिनेतको जगमा परिवारले विस्तारै आफ्नै कुखुरा व्यवसाय खडा गर्‍यो, जसले उनीहरूको जीवनस्तर निम्नबाट निम्न-मध्यमतर्फ उकास्यो।

गरिबीकै बीच हुर्किएका माजिदले जातीय र सामाजिक विभेदलाई नजिकबाट नियाले। गाउँका पसलमा डोम समुदायका मानिसलाई ‘गिलासमा चिया खान नपाउने’ जस्तो व्यवहार देखिन्थ्यो, यो विभेद किन? उनी आफ्नै बुवासँग वादविवाद गर्थे। यसले उनको कलिलो मनमा असमानताप्रतिको विरोध उत्पन्न गरायो।

तिमीहरूले क्लासबाट पढ्यौ, मैले गिलासबाट पढें

माजिदका बुबा कहिल्यै स्कूल गएनन्। गाउँमा रक्सी खाने मानिसको छेउमा उभिएर वर्णमाला चिनेका उनका बुवाले औपचारिक शिक्षा लिने रहर भने सन्तान मार्फत पूरा गर्न चाहन्थे, त्यसैले सानैमा माजिदलाई स्कूल भर्ना गरिदिए। तिमीहरूले कक्षाबाट पढ्यौ, मैले गिलासबाट पढेंभन्दै बुवाले छोराछोरीलाई पढ्न प्रेरित गर्थे।

माजिदको जीवनमा दाजु कासिद अन्सारी सबैभन्दा केन्द्रीय पात्र बने। पढाइमा अब्बल रहे पनि पारिवारिक बाध्यताका कारण दाजु पढाइ छाडेर व्यवसायमा लागेका थिए, तर उनले माजिदलाई पढाइबाट अलग पार्न दिएनन्। हामी मुर्गा काट्ने हौं, यसलाई पनि यही काममा अल्झाउनुहुँदैन‘, दाइले सधैं माजिदको शिक्षाका लागि अडान लिए।

विराटनगरबाट स्कूल पुर्‍याउन र लिन जाने काम पनि दाजुले नै गर्थे, जाडो र झरीका दिनमा पनि। दाजुको त्याग र स्नेहले माजिदलाई पढाइमा अघि बढ्ने ऊर्जा दियो।

नवौं कक्षामा पढ्दा एउटा घटनाले माजिदको सोचाइ नै बदलिदियो। भर्ना अभियान सफल बनाउन स्कूलले बालबालिकालाई समुदायमा पठाउँथ्यो, उनले मुसहर बस्तीको एक जना बालक भेटे। जब माजिदले स्कूल पढाइको महत्त्व बुझाउन खोजे, ती बालकले सोधे, ‘म स्कूल जान थालें भने तिमीले मलाई खुवाउने? मलाई बिहान-बेलुका कसले खान दिन्छ ?’

एकातिर शैक्षिक अधिकारको बौद्धिक बहस, अर्कोतिर गरिबीले घेरिएको वास्तविकता, माजिदले त्यो अन्तर बुझ्न पाए। शिक्षा र गरिबी बीचको द्वन्द्वले उनलाई कानूनको अध्ययनतर्फ आकर्षित गर्‍यो। तर कानून पढ्ने कुरा गर्दा उनले उपहास सहनुपर्‍यो, एक स्थानीय प्रभावशाली व्यक्तिले मुर्गा काट्नेको छोरा वकिल बन्छ!भन्दै उडाएका थिए, त्यो उपहासले उनलाई अझ बलियो बनायो।

न्यायको लडाइँ र दाजुको मृत्युको घाउ

काठमाडौं आएर नेपाल ल क्याम्पसमा पढ्न थालेपछि माजिद विद्यार्थी आन्दोलनमा सक्रिय भए। शुरुमा नेविसंघमा आबद्ध भएका थिए, तर सङ्गठनभित्रको कार्यशैली, स्ववियुको खर्च विवरणमा बेथिति र सामाजिक मुद्दामा उपेक्षा देखेपछि उनले खुला विरोध गर्दै सङ्गठन छाडे। मैले कल्पना गरेको विद्यार्थी संगठन त्यो रहेन‘, उनी भन्छन्।

उनको अध्ययन निरन्तर अघि बढिरहेको थियो। तर २०८० सालमा माजिदको जीवनमा ठूलो बज्रपात भयो, विराटनगरको एउटा क्याफेमा पैसा उठाउन गएका दाजु कासिदको रहस्यमय अवस्थामा मृत्यु भयो। यी दाजु नै थिए, जसले माजिदलाई कानून पढाउन आफ्ना सबै रहर त्यागेका थिए।

घटनास्थल पुगेका बेला प्रहरीले सहयोग गर्नुको साटो उल्टै हप्काएको उनी सम्झन्छन्। सीसीटीभी फुटेजबारे बारम्बार फरक जवाफ दिइयो र घटनास्थल मुचुल्कामाथि पनि त्रुटिपूर्ण विवरण राखिएको उनको दाबी छ।

कानूनका विद्यार्थी भएकाले माजिदले फाइल हेर्न, प्रमाण जुटाउन र न्याय सुनिश्चित गर्न गृहमन्त्रालयदेखि मानवअधिकार आयोगसम्म धाइरहे, तर अनुसन्धान स्वाभाविक भएन। जिल्ला सरकारी वकिल कार्यालय मोरङले थप अनुसन्धानका लागि फिर्ता पठाएको फाइल जिल्ला प्रहरी कार्यालयमा अझै विचाराधीन छ, उनी अब सरकारले दाजुको मुद्दा अघि बढाउने विश्वास राख्दैनन्।

दाजुको मृत्युको पीडाले माजिदलाई भित्रैबाट बदलिदियो। दाइको मृत्युले मभित्रको मानवीय तत्त्व मारिदियो, अब म रुन सक्दिनँमाजिद भन्छन्, ‘त्यसपछि मैले आफ्नो पीडालाई अरूको न्यायको लडाइँमा बदल्ने निधो गरें। आफ्नै लागि बाँच्न खोजें भने म डिप्रेसनमा जाने थिएँ, त्यसैले अब अरूका लागि बाँच्छु।

सडकको प्रश्नकर्ता

दाजुको मृत्युपछि उनी केही समय मौन रहे, तर जेनजी आन्दोलनले उनलाई फेरि सडकमा ल्यायो, त्यसपछि उनले सडक छाडेका छैनन्।

उनका अडान र प्रश्नले समाजमा भरोसा जगाएको छ, तर सार्वजनिक चर्चामा आफूलाई सहज लाग्दैन। मलाई भीड मन पर्दैन, कसैले नोटिस नगरोस् भन्ने नै लाग्छउनी भन्छन्, ‘फेरि पनि प्रश्न गर्नु मेरो कर्म हो, त्यही कारण कतिपयले स्नेह दिनुहुन्छ।

समाजमा धेरै बोले ज्यान जोखिममा पर्न सक्छभन्दै कतिपय शुभचिन्तकले उनलाई कम बोल्न अनुरोध गर्छन्, कतिपयले धम्की पनि दिन्छन्। यहाँसम्म कि दिनदहाडै काठमाडौंको घण्टाघरमा गोली हानी हत्या गरिएका इस्लामिक सङ्घका तत्कालीन महासचिव फैजान अन्सारीको नामै लिएर त्यही हालत बनाइदिनसक्नेचेतावनी समेत उनलाई आइपुगेको छ।

तर धम्कीले माजिदलाई असर गरेको छैन। समाजका लागि बाँच्छु भन्ने प्रण गरेर उनले आफ्नो कर्मलाई निरन्तरता दिइरहेका छन्।

अहिले नेपाल ल क्याम्पसमा कानूनको अध्ययन पूरा गर्न उनी थेसिसको अन्तिम चरणमा छन्, उनको योजना फौजदारी कानून र डिजिटल टेक्नोलोजीको क्षेत्रमा वकालत गर्नेछ, राजनीतिमा प्रत्यक्ष प्रवेश गर्ने हतार भने छैन।

मैले समाज र देश बुझ्न बाँकी छ, त्यसका लागि नीति र योजना कसरी बनाउने? मैले आफूलाई अझै बुझ्नु छ, समाज चिन्नु छउनी भन्छन्, ‘त्यसपछि मात्र म सक्रिय राजनीतिबारे सोच्नेछु, अहिलेका लागि सडकबाट प्रश्न गरिरहनुलाई नै मैले आफ्नो धर्म ठानेको छु।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।