+

रगत पर्खिरहेका बिरामीका लागि राष्ट्रिय अभियान

क्यान्सरपीडित बालकलाई रगत दिन उनी धनुषाबाट हिंडेका थिए तर, चितवनस्थित अस्पताल पुग्दा बालकको मृत्यु भइसकेको खबरले व्यथित बनेका उनी मौन भने बसेनन्। समयमै रगत पुर्‍याउने अठोट सहित त्यही दिन शुरु भएको उनको अभियानले अहिलेसम्म २५ हजार व्यक्तिसम्म रगत उपलब्ध गराएको छ। बिरामीका आफन्तले अझै पनि हरेक पिन्ट रगतको लागि महाभारत व्यहोर्नुपर्छ। त्यसैले जारी छ- सरोकुमार महतोको नेतृत्वमा 'ब्लड फर नेपाल' राष्ट्रिय अभियान।
पूरा सूची
Shares
सरोजकुमार महतो
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाका ३१ वर्षीय सरोजकुमार महतोले विगत आठ वर्षदेखि रगत अभावमा रहेका बिरामीहरूलाई रगत उपलब्ध गराउने अभियान सञ्चालन गरिरहेका छन्।
  • सरोजले हालसम्म करिब २५ हजार पिन्ट रगत बिरामीसम्म पुर्‍याउन समन्वय गर्नुका साथै ३५ पटक आफैं पनि रक्तदान गरिसकेका छन्।
  • उनले रगतको अभावमा कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ \'ब्लड फर नेपाल\' नामक संस्था स्थापना गरी रक्तदान अभियानलाई संस्थागत गरेका छन्।

जब गाउँमा कसैलाई रगतको आवश्यकता पर्छ, धेरैको मनमा पहिलो सम्झना आउँछ– सरोजकुमार महतो।

धनुषाको बटेश्वर गाउँपालिका–३ का ३१ वर्षीय सरोजको परिचय नै अहिले ‘रगत’ सँग जोडिएको छ। कसैलाई रगत चाहियो भने उनी रक्तदाता खोज्न समन्वय गर्छन्। रगतको अभाव हुँदा अभियान चलाउँछन्। उनको एउटै लक्ष्य छ– रगतको अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस्।

‘रगतबारे नसोचेको र कुरा नगरेको मेरो कुनै दिन हुँदैन,’ सरोज भन्छन्, ‘अन्य विषय जस्तै रगतको पनि नियमित कुरा हुनुपर्छ। रक्तदान जीवनदान हो भन्ने भावनाको विकास हुनुपर्छ।’

विगत आठ वर्षदेखि रगत अभावमा परेका बिरामीलाई समयमै रगत उपलब्ध गराउन निरन्तर सक्रिय सरोजले हालसम्म करिब २५ हजार व्यक्तिसम्म रगत पुर्‍याउन समन्वय गरिसकेका छन्। २५० भन्दा बढी स्थानमा रक्तदान सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिसकेका छन्।

उनी आफैं पनि प्रत्येक अढाइ महिनामा नियमित रक्तदान गर्छन्। हालसम्म उनले ३५ पटक रक्तदान गरिसकेका छन्।

बालकको मृत्यु र एउटा सङ्कल्प

सरोज रगतको विषयमा किन यति समर्पित भए? यसको उत्तर खोज्न आठ वर्षअघि फर्कनुपर्छ।

सन् २०१६ को कुरा हो। सरोज काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत थिए। बिदाको समयमा घर (धनुषा) आएका बेला उनले सामाजिक सञ्जालमा क्यान्सरपीडित एक बालकलाई तत्काल ‘बी नेगेटिभ’ रगत आवश्यक परेको सूचना देखे। ती बालक चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचाररत थिए।

आफ्नो रगत समूह पनि ‘बी नेगेटिभ’ नै भएकाले उनी सकेसम्म छिटो रक्तदान गर्ने सोच बनाएर धनुषाबाट तत्काल चितवनतर्फ लागे। तर दूरी र समयका कारण उनी भोलिपल्ट मात्र अस्पताल पुग्न सके। दुर्भाग्यवश, रक्तदान गरेर काठमाडौं फर्किएको दुई दिनपछि ती बालकको मृत्यु भएको थियो।

समयमै रगत उपलब्ध हुन नसक्दा एउटा निर्दोष बालकले ज्यान गुमाएको यथार्थले उनलाई गहिरो पीडा दियो। ‘त्यो घटनाले म स्तब्ध भएँ। रगत समयमै उपलब्ध भएको भए त्यो बच्चाको ज्यान जोगिन्थ्यो कि’ सरोज त्यो दिन सम्झिन्छन्, ‘त्यही दिन मैले सङ्कल्प गरेँ– अब रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस्।’

त्यसपछि उनले रगत, रक्तदान र रक्त व्यवस्थापनबारे अध्ययन गर्न थाले। भेट्ने मानिसहरूको रगत समूह सोध्ने, नाम र सम्पर्क नम्बर टिपोट गरेर अभिलेख राख्न थाले। सामाजिक सञ्जालमा विभिन्न रगत समूहका छुट्टाछुट्टै ग्रुप बनाएर आवश्यकता अनुसार रक्तदाता जुटाउने अभियान अघि बढाए।

यसै अभियानलाई संस्थागत र अझ प्रभावकारी बनाउन उनले सन् २०१८ मा ‘ब्लड फर नेपाल’ स्थापना गरे।

कोभिड महामारी र ‘घरदैलो रक्तदान’

सरोजको अभियानले गति लिंदै गरेका बेला विश्वभर कोरोना भाइरसको महामारी फैलियो। सङ्क्रमणको डरले मानिसहरू रक्तदान गर्न हिचकिचाउन थाले। त्यसमाथि गम्भीर अवस्थाका कोभिड संक्रमित बिरामीका लागि रगतबाट तयार गरिने ‘प्लाज्मा’ को माग उच्च थियो।

यस्तो चुनौतीपूर्ण परिस्थितिमा सरोजले ‘घरदैलो रक्तदान’ को अवधारणा अघि सारे। नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर जहाँ–जहाँ इच्छुक रक्तदाता थिए, त्यहीं स्वास्थ्यकर्मी र प्राविधिक टोली सहित पुगेर रक्तदान गराउने व्यवस्था मिलाए।

‘कोभिडको बेला त रगतको चरम अभाव थियो। मान्छे बाहिर निस्कनै डराउँथे’ सरोज भन्छन्, ‘प्लाज्माको लागि बढी रगत चाहिने भएकाले हामीले स्वयंसेवक खटाएर घरदैलोमै पुगेर रक्तदान गरायौं। त्यसबेला धेरैको ज्यान जोगियो।’

महामारीका बेला दैनिक तीन सयदेखि चार सय जनासम्मले रगतको व्यवस्था मिलाइदिन भन्दै उनलाई फोन गर्ने गर्थे। तीमध्ये धेरै बिरामीलाई समयमै रगत उपलब्ध गराउन सफल भएको उनी सम्झन्छन्।

रक्तदान अभियानलाई व्यापक बनाउन उनले एकै दिन मधेश प्रदेशका आठवटै जिल्लामा रक्तदान कार्यक्रम समेत सञ्चालन गराए। उनकै समन्वयमा सिरहास्थित नवराजपुर गाउँपालिकामा बिरामीले निःशुल्क रगत प्राप्त गर्ने व्यवस्था गरिएको छ।

सरोजका अनुसार कुनै पनि देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत मानिसले नियमित रक्तदान गरे रगतको अभाव हुँदैन। तर नेपालमा अहिले करिब १.२ प्रतिशत मानिसले मात्रै नियमित रक्तदान गर्ने गरेको तथ्यांक छ।

कानून र व्यवहार बीचको खाडल

हजारौं मानिसको ज्यान बचाउन सहयोग गरे पनि यो यात्रा सहज भने छैन। स्वयंसेवक परिचालन गर्ने र विभिन्न जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आर्थिक स्रोतको अभाव सधैं खट्किन्छ।

सार्वजनिक स्वास्थ्यसँग जोडिएको यो विषय राज्यका निकायले नेतृत्व गर्नुपर्ने भए पनि सरकारी संयन्त्रले अपेक्षित सक्रियता देखाउन नसकेको उनको गुनासो छ। ‘नेपालमा रेडक्रस सोसाइटी र अन्य रक्त बैंक बीच आवश्यक सहकार्यभन्दा पनि अस्वस्थ प्रतिस्पर्धा देखिने गरेको छ’ उनी भन्छन्, ‘यस्तो प्रवृत्तिले सेवाग्राहीलाई नै असहज बनाएको छ।’

कानून अनुसार २५ शय्यासम्मका अस्पतालले समेत रक्तदान तथा रगत व्यवस्थापनको आफ्नै व्यवस्था गर्नुपर्ने प्रावधान छ। तर अधिकांश अस्पतालमा यसको प्रभावकारी कार्यान्वयन नहुँदा बिरामीका आफन्त अझै पनि रगत खोज्दै भौंतारिनु परेको अवस्था छ। ‘मान्छेलाई टाढाटाढा पुगेर रगत ल्याउनुपर्छ। कानून अनुसार यो सुविधा अस्पतालमै भए धेरै राम्रो हुन्थ्यो’, उनले भने।

पेशा र अभियानको सन्तुलन

सामाजिक अभियानसँगै उनी आफ्नो पेशागत जिम्मेवारी पनि सम्हालिरहेका छन्। व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबीएस) पूरा गरेका उनी हाल एलएलबी अन्तिम वर्षमा अध्ययनरत छन्।

हाल उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को परियोजना अन्तर्गत काठमाडौं विश्वविद्यालयमा अंशकालीन रूपमा कार्यरत छन् भने स्थानीय सरकारका विज्ञका रूपमा देशका करिब ४० वटा स्थानीय तहमा काम गरिसकेका छन्।

यस अभियानमा परिवारको साथ सबैभन्दा ठूलो शक्ति बनेको सरोजको अनुभव छ। निर्धारित समयभन्दा केही ढिलो भए आमा दुर्गी देवीले सधैं सम्झाउने गर्छिन्, ‘तिम्रो रक्तदान गर्ने समय भयो, कहिले रक्तदान गर्छौ?’

राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ र राष्ट्रिय युवा परिषद्बाट सम्मानित उनी अभियानको सबैभन्दा ठूलो उपलब्धि भनेको पुरस्कारलाई मान्दैनन्। ‘आवश्यक परेका बेला कसैको ज्यान जोगाउन सक्नुबाट प्राप्त हुने आत्मसन्तुष्टि नै मेरो सबैभन्दा ठूलो पुरस्कार हो’, सरोज गर्वका साथ सुनाउँछन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।