बार्सिलोनाको कोठाबाट संसारभर फैलिएको आवाज
News Summary
Generated by OK AI. Editorially reviewed.- डिजिटल माध्यमबाट नेपाली कथावाचनमा चर्चा कमाएका साइग्रेस पोखरेलले हालसम्म विश्वका ३४ देशमा ११० भन्दा बढी शब्दयात्रा शो सम्पन्न गरेका छन्।
- सन् २०२० को कोभिड-१९ लकडाउनपछि भिडियोमार्फत कथा सुनाउन थालेका पोखरेलको युट्युब च्यानलमा कूल भ्युज १० करोड नाघिसकेको छ।
- कथाकारका रूपमा पहिचान बनाएका पोखरेलले 'आ बाट आमा' चलचित्रबाट अभिनयमा डेब्यु गर्दै आफ्नो यात्रालाई थप फराकिलो बनाएका छन्।
सभाहलमा सयौं मानिस चुपचाप बसिरहेका हुन्छन्। मञ्चमा उभिएको एउटा मानिसले कथा भन्न शुरु गर्छ। कथा टुङ्गिदासम्म दर्शक आफ्नै जीवनको कुनै अध्याय सम्झेर लामो सास फेरिरहेका त कतिपय आँसु पुछिरहेका हुन्छन्।
डिजिटल माध्यम र मञ्चबाट नेपाली भाषामा कथा सुनाएर लाखौं मानिसको ध्यान खिच्ने त्यही आवाज हो, साइग्रेस पोखरेल। कसैले उनलाई लेखक भन्छन् त कसैले युट्युबर, तर उनी आफूलाई केवल ‘कथाकार‘ का रूपमा चिनाउन रुचाउँछन्। ‘कसैले मलाई साइग्रेस को हो भनेर सोध्यो भने म एउटै शब्दमा उत्तर दिन्छु, कथाकार‘ उनी भन्छन्, ‘म कथा लेख्ने भन्दा पनि कथा वाचन गर्ने र सुनाउने यात्रामा छु।‘
चलचित्रको पर्दामा देखिनु, युट्युबमा करोडौं भ्युज पाउनु र सामाजिक सञ्जालमा लोकप्रियता कमाउनु उनका यात्राका अध्याय हुन्। धादिङमा जन्मिएर काठमाडौंमा हुर्किएका, अध्ययनका लागि डेनमार्कको कोपेनहेगन हुँदै स्पेनको बार्सिलोनासम्म पुगेका एक सामान्य युवाको यो कथा कसरी शुरु भयो त?
बाल्यकाल र ‘साइग्रेस‘ को कथा
उनको खास नाम सन्तोष पोखरेल हो। सत्य साईबाबाप्रति परिवारको गहिरो आस्था र श्रद्धाका कारण उनले पछि आफ्नो नाम बदलेर ‘साइग्रेस‘ (साइज ग्रेस अर्थात् साईको कृपा) राखे। साथीभाइ र आफन्त बीच उनी साइग्रेसकै नामले चिनिए।

बत्ती गएका रातहरू धेरैका लागि अँध्यारो हुन्छन्, तर साइग्रेसको जीवनमा भने तीन रातले उज्यालो ल्यायो। ती रातमा बुबाले सत्य घटनामा आधारित कथा सुनाउने गर्थे, ती कथाहरू बालक साइग्रेसका लागि कथावाचनको पाठ बने। उनको हुर्काइ काठमाडौंमै भयो। कक्षा १ मा पढ्दा नै शिक्षकले उनलाई कक्षामा कथा पढेर सुनाउन लगाउँथे।
साथीहरू सुन्थे र उनलाई अनौठो आनन्द मिल्थ्यो। ‘सबैले ध्यान दिएर सुनिदिंदा मलाई असाधारण प्रोत्साहन मिल्थ्यो‘, उनले भने। पढाइमा सामान्य रहे पनि उनी नाटक, हास्य अभिनय र ड्रामा जस्ता अतिरिक्त क्रियाकलापमा सधैं अग्रपङ्क्तिमा हुन्थे।
विदेश यात्रा र बार्सिलोनाको लकडाउन
एसएलसी र कलेजपछि साइग्रेसले नेपालको स्वास्थ्य मन्त्रालयमा करिब आठ वर्ष काम गरे। तर, फराकिलो अवसरको खोजीले उनलाई युरोप पुर्यायो। उच्च अध्ययनका लागि डेनमार्क गएका उनले त्यहाँ अध्ययनसँगै फोटोग्राफी र भिडियोग्राफी पनि व्यावसायिक रूपमा अघि बढाए।
पढाइ पूरा भएपछि उनी स्पेनको बार्सिलोना पुगे, त्यहाँ पनि उनले यही पेशालाई निरन्तरता दिए। ‘यो शहर र यहाँको समुदायले मलाई सिर्जना गर्ने स्वतन्त्र वातावरण दिए‘ उनले भने, ‘यदि म यहाँ नआएको भए शायद आजको मेरो परिचय सम्भव थिएन।‘

तर उनको जीवनको असली मोड कोभिड-१९ लकडाउनले ल्यायो। विश्वभरका मानिस घरभित्र थुनिएका थिए, साइग्रेसले आफूलाई प्रश्न गरे- ‘मसँग भएको सबैभन्दा ठूलो कला के हो?’ उत्तर थियो, कथा। अप्रिल २०२० मा उनले ‘नाइन्टिज किड‘ शीर्षकको एउटा भिडियो फेसबुकमा अपलोड गरे।
मिलेनियल पुस्ताको जीवनशैली बयान गरिएको त्यो भिडियो भोलिपल्टसम्म लाखौं पटक हेरियो। उनका फेसबुक फलोअर्स ८०० बाट बढेर ३३ हजार पुगे। यसपछि उनले ‘पाकेटमारको कथा‘, ‘सानीको रातो कुर्ती‘ जस्ता सामाजिक विषयवस्तुमा आधारित कथाहरू सार्वजनिक गरे, जसले उनलाई डिजिटल युगका प्रतिष्ठित नेपाली कथाकारहरूमध्ये एक बनायो।
‘अधुरो प्रेम‘ र अडियो उपन्यासको युग
फेसबुक भिडियोका लागि बनाइएको एउटा कथा निकै लामो भएकाले त्यसलाई अडियोमा रूपान्तरण गर्ने निर्णय गरियो। श्रीमतीको सुझाव अनुसार उनले त्यसलाई आफ्नो जीवनकथाको रूपमा अडियोमा सुनाए।
करिब डेढ घण्टाको त्यो अडियो कथा युट्युबमा राख्दा उनको च्यानलमा करिब १८ सय सब्स्क्राइबर थिए। ‘त्यो एउटा कथाले मेरो सब्स्क्राइबर संख्या एक लाख पुर्याइदियो, युट्युबको सिल्भर प्ले बटन पाउँछु भन्ने मैले सपनामा पनि सोचेको थिइनँ‘, उनी सम्झन्छन्।
त्यसपछि दर्शकले पनि निराश पारेनन्। आज उनका ‘अधुरो प्रेम‘, ‘नौलो सुरुआत‘, ‘सभ्या‘, ‘नयाँ बेहुली‘ र ‘सिन्दुर विनाकी दुलही‘ जस्ता अडियो कथाहरू युट्युबमा लाखौं पटक हेरिएका छन्। ‘अधुरो प्रेम‘ ले मात्र करिब ७० लाख भ्युज पार गरिसकेको छ, भने उनको युट्युब च्यानलमा समग्र भ्युज १० करोड नाघिसकेको जनाइएको छ।
डिजिटल माध्यममा कथा सुनाउने शैलीले साइग्रेसलाई विशेषगरी १५-२५ वर्ष उमेर समूहका युवासँग जोडेको छ। साहित्यलाई धेरैले नीरस ठान्ने समयमा आफ्नो कथा सुन्न हलभरि युवा देख्दा उनी उत्साहित हुन्छन्।

‘वर्ड टुर‘ को विश्वयात्रा
डिजिटल पर्दामा पाएको मायालाई प्रत्यक्ष भेटघाटमा बदल्ने उद्देश्यले उनले ‘मिट एण्ड ग्रिट‘ को योजना बनाए। ‘मान्छेहरू वर्ल्ड टुर गर्छन्, हामीचाहिं वर्ड टुर गरौं न भन्ने सोच आयो‘, उनले भने। नोभेम्बर २०२१ मा धनगढीबाट शुरु भएको उनको यो शब्दयात्रा नेपालका सात शहर हुँदै अहिले संसारभर फैलियो।
जुलाई २०२२ मा अष्ट्रेलियाबाट शुरु भएको अन्तर्राष्ट्रिय यात्रा युरोप, अमेरिकाहुँदै हालसम्म करिब ३४ देश पुगेको रिपोर्ट छ। उनले समग्रमा ११० भन्दा बढी ‘शब्दयात्रा‘ शो सम्पन्न गरिसकेका छन्। जुलाई २०२५ मा अमेरिकामा आयोजित कार्यक्रममा उनको १००औं शो सम्पन्न भयो, जहाँ उनको पुस्तक ‘साइग्रेस स्टोरीटेलर‘ पनि सार्वजनिक गरिएको थियो। ‘संसारको जुनसुकै कुनामा पुगे पनि प्रवासको एक्लोपन र विछोडमा मेरा कथाले सानो भए पनि मल्हमको काम गरेको महसुस गर्छु‘, उनले भने।
जिम्मेवारी र सिनेमा तर्फको पाइला
कथा सुन्न आउने धेरै दर्शकले आफू डिप्रेसनबाट गुज्रिरहेको बेला उनका कथाले बाँच्ने हिम्मत दिएको सुनाएका छन्। यस्ता प्रतिक्रियाले उनलाई हौसलाभन्दा बढी जिम्मेवारी बोध गराउँछ। ‘सामाजिक सञ्जालमा अनौठो भिडियोले पनि लाखौं भ्युज पाउन सक्छ, तर विश्वास जित्नु र वर्षौंसम्म कायम राख्नु धेरै कठिन हुन्छ‘, उनी भन्छन्। ‘त्यसैले म नैतिक आधार नभएका, अरूलाई अपमान गर्ने वा आफू मात्रै सही देखिने कथा भन्दिनँ।‘

पछिल्लो समय साइग्रेस चलचित्रमा पनि देखा परेका छन्। ‘आ बाट आमा‘ (सन् २०२६) बाट उनले अभिनेताका रूपमा रजतपटमा डेब्यु गरे। चन्द्र पन्त निर्देशित यस चलचित्रले ग्रामीण परिवेशमा आमा र वैदेशिक रोजगारीमा जान लागेको छोरा बीचको भावनात्मक सम्बन्ध प्रस्तुत गरेको छ।
बाल्यकालमा हिरो बन्ने सपना देखेका उनले अभिनयलाई आफ्नो कर्मले दिएको अवसर मान्छन्। ‘अभिनय चुनौतीपूर्ण र रमाइलो छ, तर मेरो भविष्यको मुख्य गन्तव्य कथा नै हो‘ उनले स्पष्ट पारे, ‘कथाकार हुनु नै मेरो कर्म र पहिचान हो, अभिनय वा अन्य क्षेत्र मेरो यात्राका आयाम मात्र हुन्।‘
यसरी बत्ती गएका रातमा सिकेको सीप र बार्सिलोनाबाट हुर्किएको अनुभव आज संसारभरका नेपालीको मनसम्म पुगेको छ। साइग्रेसको आफ्नै विश्वास छ, यात्रा अझै लामो छ, किनकि भन्न बाँकी कथाहरू अझै धेरै छन् ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी