रिपोर्टिङमा कलम चलाउने हात कोदालो बोकेर श्रमदानमा
News Summary
Generated by OK AI. Editorially reviewed.- जाजरकोट नलगाड नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बद्री पन्तले जनसहभागिता र श्रमदानमार्फत जोखिमपूर्ण सडक निर्माणलगायतका महत्त्वपूर्ण विकास कार्यहरू सम्पन्न गरेका छन्।
- वडाध्यक्ष पन्तले सुत्केरी भैंसी भत्ता, विद्युतीय घट्ट स्थापना र एम्बुलेन्स सेवा सञ्चालन गरी स्थानीयको जीवनस्तर सुधार गर्न विशेष भूमिका निर्वाह गरेका छन्।
- पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका पन्तले उत्कृष्ट सेवा प्रवाह र भूकम्पपछिको पुनर्निर्माणमा सक्रियता देखाएपछि उनको वडालाई नगरपालिकाले उत्कृष्ट घोषणा गरेको छ।
शिरमा ऊनीको टोपी, साधारण टिसर्ट र बाहिर पातलो ज्याकेट। कपडाको पाइन्ट अनि घुँडासम्म आउने प्लास्टिकको गोठाले बुट। यही हुलियामा उनी वयस्कहरू वडा कार्यालय र बालबालिकाहरू विद्यालयसम्म पुग्ने बाटो खन्दै थिए। हातमा कोदालो लिएर बाटो खन्न जुटिरहेका उनीसँगै थिए- दर्जनभन्दा बढी गाउँले।
यसरी गाउँलेसँग श्रमदानमा बाटो खन्न जुटिरहेका व्यक्ति हुन्- बद्री पन्त। उनी जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हुन्। ‘बाटो एकदमै जोखिमपूर्ण थियो। पहरामा झुन्डिएर गाउँलेहरू आउजाउ गर्थे’ पन्त भन्छन्, ‘वडासँग बजेट थिएन। त्यसैले श्रमदानबाटै साढे ६०० मिटर घोरेटो बाटो निर्माण गर्यौं।’
उनका अनुसार, वडाको औल गाउँमा ६५ परिवार बसोबास गर्छन्। त्यो गाउँबाट २२ जना विद्यार्थी नियमित भीरपहरा हुँदै भानुभक्त माविमा पढ्न जान्छन्। गाउँले वडा कार्यालय जाने मुख्य बाटो नै त्यही थियो। भिरालो बाटो एकदमै जोखिमपूर्ण भएकाले धेरै जना त्यहींबाट लडेर घाइते पनि भएका थिए।
‘गाउँलेले बाटो बनाइदेऊ भनेर वडामा आए, तर वडामा पैसा थिएन। पछि मैले सबै गाउँलेलाई जम्मा गरेँ र म स्वयं ४-५ दिन वडाको काम छाडेर उनीहरूसँगै श्रमदानमा जुटें’ पन्त भन्छन्, ‘अहिले एक मिटर चौडा घोडेटो बाटो बनेको छ, गाउँलेलाई सहज भएको छ।’
वडाध्यक्ष पन्तको अगुवाइमा गाउँमा श्रमदानको लहर नै चलेको छ। खानेपानीको पाइप बिछ्याउने, सडकको नाली बनाउने, विद्यालय प्राङ्गणमा वृक्षरोपण, सिंचाइ कुलो निर्माण र भूकम्पले थलिएका गाउँलेहरूको अस्थायी टहरा निर्माणसम्म श्रमदानबाटै गरिएका छन्।

‘वडामा वार्षिक १२-१५ लाख बजेट आउँछ, गाउँमा सयौंथरी समस्या हुन्छन्’ पन्त भन्छन्, ‘बजेट हुँदासम्म विनियोजन गर्ने हो। नभए सबैलाई जम्मा गरेर श्रमदानमा जुटाउँछु। हामीले श्रमदानबाटै गाउँलेको दैनिकीसँग जोडिएका धेरै काम सम्पन्न गरेका छौं।’
वडाध्यक्ष पन्त आफैं कहिले पाइपको क्वाइल बोकेर हिंडिरहेको भेटिन्छन् त कहिले सिमेन्टको बोरा। कहिले कोदालो काँधमा हालेर बाटो खन्न तम्सिन्छन्।
उनी धेरै मोह र अहंकारबाट मुक्त छन् भन्ने स्थानीयको टिप्पणी छ। ‘उहाँलाई आफ्नो कर्मभन्दा दायाँबायाँ केही गर्नु छैन’ स्थानीय डम्बर गौतम भन्छन्, ‘कोही कपडा नभएको भेटिए कोट फुकालेर दिइदिनुहुन्छ। दीनदुःखी भेटिए पैसा। जे आफूसँग छ, त्यो बाँडिदिनुहुन्छ।’
गाउँले चामलदेखि सिटामोलसम्म खोज्न बद्रीकै कार्यकक्षमा आउँछन्। बद्री भन्छन्, ‘वडाध्यक्षका रूपमा पाउने सेवासुविधा सबै बाँडेर सकिन्छ। परिवारमा त्यही गुनासो छ।’
कार्यालय सफाइदेखि घरदैलो सेवासम्म
वडाध्यक्ष निर्वाचित भइसकेपछि बद्रीको पहिलो निर्णय थियो- वडाको काम नवनिर्मित भवनबाट शुरु गर्ने। अघिल्ला वडाध्यक्षको घरमै वडा कार्यालय थियो, जसले गर्दा गाउँलेले सास्ती खेपिरहेका थिए। ‘म निर्वाचित भएपछि सबैलाई पायक पर्ने नयाँ भवनबाटै सेवा प्रवाह थालें’ उनले भने, ‘तर भवन खाली थियो, सबै जुटाउन सङ्घर्ष गर्नुपर्यो।’
बद्रीले शुरुमा वडा कार्यालयको सफाइ थाले, रङ्गरोगन गराए। विभिन्न सङ्घसंस्था र दातृ निकायको सहयोगमा फर्निचर जुटाए। जिल्ला वन कार्यालय जाजरकोटबाट ५०० बिरुवा ल्याएर कार्यालय परिसरमा रोपे।

‘अहिले कार्यालय हराभरा भएको छ। यहाँ आएका कुनै पनि सेवाग्राहीले घण्टौंसम्म लाइन बस्नुपर्दैन। कर्मचारीले पनि काम नहुने बहाना खोज्दैनन्’, उनी भन्छन्। वडाध्यक्ष पन्तले सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्याएका छन्। जन्मदर्ता, मृत्युदर्ता र अन्य सिफारिसहरू सेवाग्राहीले चाहेको स्थानमै दिने व्यवस्था वडा कार्यालयले गरेको छ।
‘मेलापातले गाउँलेलाई फुर्सदै छैन। एउटा सिफारिस लिन एक दिन खर्चिनुपर्थ्यो, त्यो अन्त्य भएको छ’ भन्छन्, ‘उनीहरूले आवश्यक कागजात फोटो खिचेर ह्वाट्सएप गरिदिए पुग्छ, हामी सिफारिस उनीहरूको घरसम्म पुर्याइदिन्छौं।’
खानेपानी र सिंचाइ क्रान्ति
४ नम्बर वडामा ४५० भन्दा धेरै घरधुरी छन्। कतिपय बस्तीमा खाने र खेती गर्ने पानी थिएन। १७ कात्तिक २०८० को भूकम्पले जमिन भासिएर कतिपय ठाउँका मुहान नै सुकेका थिए। चाँदमुरा टोल, सिमाऔलको आमा टोल र खालचौरको माझ गाउँमा खानेपानीको ठूलो दुःख थियो। अहिले यी सबै टोलमा खानेपानीको बन्दोबस्त भइसकेको छ।
वडाध्यक्ष पन्तले प्रदेश र जिल्लातिरका नेताहरूलाई आग्रह गरेर मानचौरमा ‘एक घर एक धारा’ योजना लागू गरेका छन्, जहाँ अहिले २० घरमा धारा जोडिएको छ। ‘४-५ घरलाई भनेर पहिला योजनाहरू नै बनाइएन। तर मैले भौगोलिक रूपमा टाढा रहेका तिनै बस्तीका लागि योजना बनाएर पानी पुर्याएँ। अहिले घण्टौं हिंडेर पानी बोक्नुपर्ने बाध्यता हटेको छ’, उनले भने।
भैंसीखोर कुलो लगायत सिंचाइ सम्बन्धी योजना विभिन्न निकायसँग समन्वय गरेर अगाडि बढाएका छन्। विश्व खाद्य कार्यक्रम, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम लगायतसँग सहकार्य गरेर कुलोहरू निर्माण गरिएको छ। डेढ करोड लागतमा निर्माण भएको भैंसीखोर सिंचाइ आयोजनाबाट २५० परिवार लाभान्वित भएका छन्। स्थानीय विवादले रोकिएको यो आयोजना वडाध्यक्ष पन्तले नै सुल्झाएर सञ्चालनमा ल्याएका हुन्।

१० वर्षसम्म उत्खनन नभएको पिपलचौर गुर्छेखोला कुलो पनि उनैले सञ्चालनमा ल्याए। यी आयोजनाहरू सञ्चालनमा आएपछि ४ नम्बर वडा कृषिमा आत्मनिर्भर भएको छ। ‘सुन्तला, बेलौती, कागती, घिउ, मह, तरकारी र फलफूल बिक्री गरेर गाउँलेले मनग्य आम्दानी गर्न थालेका छन्। छोराछोरीलाई खलङ्गा र सुर्खेत पढाउन थालेका छन्’, उनले भने।
सुत्केरो भैंसीलाई भत्ता, गाउँमै घट्ट
वडाध्यक्ष पन्तले ल्याएको अर्को लोकप्रिय योजना हो- ‘सुत्केरी भैंसीलाई भत्ता’। भैंसी ब्याएपछि किसानलाई १ हजार रुपैयाँ दिने निर्णय वडाले गरेको छ। अहिलेसम्म यो योजनाबाट ९२ जना किसानले लाभ लिइसकेका छन्। ‘हाम्रो वडा घिउ र मह उत्पादनको केन्द्र नै हो। कृषकलाई थोरै भए पनि सहुलियत होला भनेर यो कार्यक्रम ल्याएका थियौं, जुन निकै प्रभावकारी भयो’, उनले भने।
उनले गाउँमा सुधारिएको आरन बनाउने अभियान पनि शुरु गरेका छन्। परम्परागत आरनबाट फलामे औजार (कुटो, कोदालो, हँसिया) बनाउँदा महँगो पर्थ्यो। ‘आरनमा एउटा सामान्य आरन फ्यान मात्रै परिवर्तन गरे सामग्री सस्तोमा निर्माण हुने रहेछन्’ उनले भने, ‘पहिला दुई ठाउँमा आफ्नै तलबबाट मेसिन किनेर दिएँ, पछि वडाबाटै अभियानको रूपमा लागू गरें।’
वडाले शुरु गरेको अर्को महत्त्वपूर्ण काम हो- विद्युतीय घट्ट निर्माण। बाउसे खोलाका स्थानीय पीठो पिस्न ४-५ घण्टा हिंडेर कालीमाटी बजार आउँथे। वडाले ५ लाख खर्चेर गाउँमै विद्युतीय घट्ट बनाइदिएको छ। अहिले त्यस क्षेत्रका १२० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन्।
त्यहाँ स्वास्थ्य सेवा पुगेको थिएन। अहिले अनमी राखेर स्वास्थ्य सेवा दिन भवन निर्माण हुँदैछ। घाटचिउरामा पनि आईएनएफ पोखराको सहयोगमा अर्को विद्युतीय घट्ट निर्माण भइरहेको छ, जसबाट ९० परिवार लाभान्वित हुनेछन्।
चन्दाबाट एम्बुलेन्स र भूकम्पपछिको पुनर्निर्माण
वडाध्यक्ष पन्तले देश-विदेशमा रहेका युवासँग चन्दा उठाएर एम्बुलेन्स समेत सञ्चालनमा ल्याएका छन्। वडाको स्वास्थ्य चौकी (लहँ) मार्फत १ माघ २०८० बाट ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हो।
अभियानबाट ७ लाख २० हजार, कर्णाली प्रदेश सरकारको १२ लाख, नलगाड नगरपालिकाको ४ लाख र वडा कार्यालयको १ लाख ४० हजार सहित कुल २२ लाखमा एम्बुलेन्स खरिद गरिएको थियो। ‘अहिले कसैलाई केही हुनेबित्तिकै चौरजहारी, खलङ्गा वा नेपालगन्जसम्म पुर्याउन धेरै सहज भएको छ’, उनले भने।
१७ कात्तिक २०८० को जाजरकोट भूकम्पपछि उनले वडामै स्वास्थ्य शिविर चलाए। भूकम्पले वडामा ४५ घर पूर्णरूपले ध्वस्त थिए भने धेरै घर बस्नलायक थिएनन्। वडाकै सक्रियतामा सबैले अस्थायी टहरा निर्माण गरेर आश्रय लिए।

उनकै पहलमा गैरआवासीय नेपाली सङ्घ बेल्जियमले ३० लाख लागतमा ज्ञानोदय प्राथमिक विद्यालय (बाउसे खोला) को तीनकोठे भवन निर्माण गरिदिएको छ। त्यस्तै आईएनएफ पोखराले ३ करोडको परियोजना मार्फत सन् २०२८ सम्मका लागि भूकम्प प्रभावितहरूलाई कृषि र आयआर्जनको क्षेत्रमा काम गरिरहेको छ।
वडाकै अग्रसरतामा भूकम्प प्रभावित सीमान्तकृत समुदायका ६ वटा ‘नमूना घर’ निर्माण गरिएका छन् भने १२ वर्षदेखि रोकिएको पिपलचौर–औल हुँदै लहँ जोड्ने ८ किलोमिटर सडक ४ लाख बजेटमा निर्माण गरिएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा वडालाई १ लाख ४८ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकोमा वडाले ३ लाख ५० हजार उठाएको थियो। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै नगरपालिकाले वडा नं. ४ लाई उत्कृष्ट वडा घोषणा गरी सम्मान समेत गरिसकेको छ।
१३ वर्षमा टेकेको स्कूल, १५ वर्षको पत्रकारिता
२०४५ असार १८ गते जन्मिएका उनको बाल्यकाल र सङ्घर्ष कुनै फिल्मी कथाभन्दा कम छैन। उमेरले १३ वर्ष पुगेपछि मात्र बद्रीले विद्यालयको कोठामा पाइला राखेका थिए।
कृषक परिवारका माइला छोरा उनी बाल्यकालमा गोठालो थिए। दाजु र भाइ झोला बोकेर स्कूल जाँदा उनी गाईबाख्रा चराउन जङ्गलतिर लाग्थे। ‘हजुरबुबाको आदेश थियो- माइला छोराले घरव्यवहार धान्नुपर्छ। सबैलाई पढाउन सकिंदैन भन्ने पारिवारिक मान्यता थियो’ बाल्यकाल सम्झिंदै बद्री भन्छन्, ‘पढ्न मन थियो, तर परिवारको विरुद्ध जाने हिम्मत थिएन।’
१२ वर्षको हुँदा गाउँमा प्रौढ कक्षा सञ्चालन भयो। बद्रीले त्यहींबाट अक्षर चिने र एक वर्षमै प्रौढ कक्षा ‘टप’ गरे। त्यसपछि उनको पढाइप्रतिको लगाव बढ्यो। गाउँकै फुपू नाता पर्ने शिक्षकले २० रुपैयाँ भर्ना शुल्क तिरेर उनलाई सीधै कक्षा ४ मा भर्ना गरिदिइन्।

आफू स्कूल भर्ना भएको कुरा उनले करिब एक वर्ष परिवारलाई थाहा दिएनन्। किताब लुकाएर राखे, गोठालो गएकै बेला पढे र सुटुक्कै परीक्षा दिए। सोही वर्ष उनी भानुभक्त माध्यमिक विद्यालयमा प्रथम भए। ‘स्कूल फर्स्ट भएपछि परिवारले थाहा पाए र पढ्न जान दिए’, उनी भन्छन्।
२०६२ सालमा एसएलसी पास गरेपछि उनी प्लस-टु पढ्न सदरमुकाम खलङ्गा आए। त्यही बेला ‘जाजरकोट सन्देश’ नामक पत्रिकामा रिपोर्टरका रूपमा काम गर्दै उनले पत्रकारिता शुरु गरे।
विश्व खाद्य कार्यक्रमले खारासम्म निर्माण गरिरहेको बाटोको समाचार लेखेर पत्रकारिता शुरु गरेका उनले दाङको रेडियो देउखुरी, नेपालगन्जको बागेश्वरी र कृष्णसार एफएम, सल्यानको रेडियो सल्यान हुँदै सगरमाथा टेलिभिजनमा काम गरे। २०७० सालदेखि रेडियो नेपाल र २०७९ मा नेपाल टेलिभिजनमा जोडिएका उनले डेढ दशकभन्दा बढी समय पत्रकारिता गरे।
वडाध्यक्षसम्मको यात्रा
पत्रकारितामा सक्रिय पन्तले कुनै दिन राजनीतिमा लाग्छु र जनप्रतिनिधि बन्छु भन्ने कल्पना समेत गरेका थिएनन्। जनताका गुनासा टिपेर राज्यसत्ताको ध्यानाकर्षण गराउने पेशामै उनी खुशी थिए।
२०७९ सालको स्थानीय चुनाव नजिकिंदै गर्दा २३ वैशाखमा उनी रिपोर्टिङका लागि नलगाड नगरपालिकाको दल्ली पुगेका थिए। त्यहाँ कांग्रेसले वडाध्यक्षको उम्मेदवार छान्न भेला बोलाएको थियो, जहाँ १३ जना आकांक्षी थिए।
कांग्रेस निकट प्रेस युनियनमा आबद्ध बद्रीको नाम भेलामा उपस्थित केही कार्यकर्ताले एकाएक प्रस्ताव गरे। ‘मैले सीधै अस्वीकार गरें र हलबाट बाहिर निस्किएँ। तर साथीहरूले मान्दै मानेनन्’, उनी भन्छन्।
उनलाई उम्मेदवार बनाउनुको मुख्य कारण थियो- १३ जना आकांक्षी बीच १४औं व्यक्ति उम्मेदवार बन्दा आन्तरिक मतभेद मत्थर हुन्थ्यो।

अर्कोतिर, पत्रकारिता मार्फत गाउँमा उनको सामाजिक प्रभाव निकै राम्रो थियो। कोरोना महामारीका बेला जाजरकोट अस्पतालमा ३ महिना भोलेन्टियर गरेका उनले सङ्क्रमितलाई स्याहार गर्नेदेखि एम्बुलेन्स खोजेर नेपालगन्ज पठाउनेसम्मका काम गरेका थिए।
यो वडा (४ नम्बर) माओवादीको किल्ला मानिन्थ्यो। अघिल्लो पटक माओवादीकै उम्मेदवार विजयी भएका थिए भने मेयर र जिल्ला समन्वय समितिका प्रमुख लगायत नेताहरूको घर पनि त्यहीं थियो।
चुनाव प्रचारका लागि जम्मा एक साताको समय थियो। तर, बद्रीको उम्मेदवारीले गाउँलेमा बेग्लै उत्साह छायो। ‘अन्ततः हाम्रो टिमले नै चुनाव जित्यो’, उनले भने। उनले ५०४ मत पाउँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गुमान रावलले ३४३ र एमालेका मानबहादुर रावलले ५१ मत मात्र पाए।
यसरी रिपोर्टिङ गर्न पुगेका पत्रकार बद्री पन्त वडाध्यक्ष बने, र आज उनी तिनै जनताको घरदैलोमा श्रमदान गर्दै विकासको धुन लेखिरहेका छन्।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी