‘डेथजोन’ मा सुत्केरी बचाइरहेकी करारकी अनमी माया
News Summary
Generated by OK AI. Editorially reviewed.- बाँकेको जानकी गाउँपालिकामा अनमी माया बस्यालको समर्पणका कारण विगत तीन वर्षयता कुनै पनि सुत्केरी आमाको अकालमा मृत्यु भएको छैन।
- मायाले गत १० वर्षमा १२०० भन्दा बढी महिलालाई सुरक्षित सुत्केरी सेवा प्रदान गर्नुका साथै जटिल अवस्थाका ३०० भन्दा बढीलाई अस्पताल पुर्याएकी छिन्।
- उनी र उनका श्रीमान् शंकरले आवश्यक पर्दा रगत दान गर्दै र छोरीप्रति विभेद गर्ने परिवारलाई सम्झाउँदै स्थानीय आमाहरूको जीवन रक्षा गरिरहेका छन्।
लुम्बिनी प्रदेश नेपालमै मातृमृत्युदरका हिसाबले सबैभन्दा जोखिमपूर्ण क्षेत्र मानिन्छ। राष्ट्रिय औसत मातृमृत्युदर प्रति एक लाख जीवित जन्ममा १५१ छ भने लुम्बिनीमा यो तथ्याङ्क २०७ छ, जुन भौगोलिक रूपमा विकट कर्णालीको तुलनामा पनि बढी हो।
यही प्रदेशको एउटा गाउँपालिकामा भने विगत तीन वर्षयता कुनै पनि आमाले सुत्केरी व्यथाका कारण अकालमा ज्यान गुमाउनु परेको छैन। बाँकेको जानकी गाउँपालिकालाई यो सफलता दिलाउन सबैभन्दा ठूलो भूमिका खेल्नेमध्ये एक हुन् – अनमी माया बस्याल (३८)।
जानकी गाउँपालिका–१ स्थित साईगाउँ स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा १० वर्षदेखि करार सेवामा कार्यरत छिन् माया। भारतसँग सीमा जोडिएको यस क्षेत्रमा मुस्लिम र मधेशी समुदायको बाहुल्य छ। करिब ८ हजार जनसङ्ख्या भएको यस क्षेत्रमा सुरक्षित सुत्केरी सेवा दिने मुख्य जिम्मेवारी मायाकै काँधमा छ।
१२०० भन्दा बढीलाई सुत्केरी सेवा
न्यूनतम आधारभूत स्वास्थ्य सुविधा मात्रै भएको बर्थिङ सेन्टरमा अनमी एक्लैले सुत्केरी सेवा प्रदान गर्नु आफैंमा चुनौतीपूर्ण हुन्छ। गरिबी र पछौटेपनका कारण नियमित गर्भजाँच नगराएका र पोषिलो खाना खान नपाएर ‘एनिमिया‘ (रक्तअल्पता)ग्रस्त महिला रात-बिरात छट्पटाउँदै यहाँ आइपुग्छन्।

तर, मायाको समर्पण प्रेरणादायी छ। विगत १० वर्षमा उनले १२०० भन्दा बढी गर्भवतीलाई सुरक्षित सुत्केरी सेवा प्रदान गरिसकेकी छन्।
‘करिब ६०० भन्दा बढी गर्भवतीका लागि त अफिस टाइम बाहेक रातिमै पनि सेवामा हाजिर भएकी छु‘, माया भन्छिन्। उनको घर बर्थिङ सेन्टरभन्दा करिब ८ किलोमिटर टाढा छ। त्यसैले उनी अधिकांश समय सेन्टरमै बस्छिन्।
‘कहिलेकाहीं घर गएको बेला राति फोन आयो भने श्रीमान्ले नै मोटरसाइकलमा पुर्याइदिनुहुन्छ। फोन आएको आधा घण्टाभित्रै म बर्थिङ सेन्टर पुगिसक्छु‘, उनी भन्छिन्।
आफ्नै रगत, श्रीमानको साथ
स्वास्थ्य अवस्था जटिल भएका गर्भवती महिलालाई माया आफैंले एम्बुलेन्स खोजेर भेरी अस्पताल पुर्याउँछिन्। उनले ३०० भन्दा बढी महिलालाई एम्बुलेन्समा राखेर अस्पताल पुर्याएकी छन्। साउन २०८२ देखि असार २०८३ सम्मको अवधिमा मात्रै उनले ३६ जनालाई भेरी अस्पतालमा पुर्याएर सुरक्षित सुत्केरी सेवा प्रदान गराइन्।
‘सुत्केरीलाई एम्बुलेन्समा हालेपछि भेरी अस्पतालका सिस्टरहरूलाई फोन गर्छु। उहाँहरूले पनि धेरै सहयोग गर्नुहुन्छ‘ माया भन्छिन्, ‘सिस्टरहरूले नै अस्पतालमा बेड मिलाइदिनेदेखि रगत खोजिदिनसम्म सहयोग गर्नुहुन्छ।‘

सुत्केरीलाई आवश्यक पर्ने कुनै-कुनै समूहको रगत पाउन मुस्किल पर्छ। यस्तो बेला माया पछि हट्दिनन्। उनको रगत समूह ‘एबी पोजेटिभ‘ हो।
‘एबी पोजेटिभ रगत आवश्यक पर्ने सुत्केरीहरूलाई म आफैंले पनि रगत दिने गरेकी छु। अहिलेसम्म ७ जनालाई रगत दिइसकेकी छु‘ उनी भन्छिन्, ‘अस्पताल पुर्याएर मात्रै म छाड्दिनँ, बच्चा नजन्मिंदासम्म उनीहरूकै साथमा हुन्छु। कहिलेकाहीं भेरी अस्पतालको प्रसूति वार्डमै ५-६ दिन बसेकी छु।‘
उनलाई श्रीमान् शंकर बस्यालको उत्तिकै साथ छ। शंकरको रगत समूह दुर्लभ मानिने ‘ओ नेगेटिभ‘ हो। ‘ओ नेगेटिभ ब्लड नपाएका सुत्केरीहरूलाई मेरो श्रीमान्ले रगत दिनुहुन्छ। अहिलेसम्म उहाँले १३ पटक रगत दिइसक्नुभएको छ। उहाँले दिन नमिले पनि साथीभाइलाई अनुरोध गरेर खोजिदिनुहुन्छ‘, माया सगर्व सुनाउँछिन्।
छोरी जन्मिँदा अस्पतालबाटै भाग्ने बाबुहरू
रातदिन नभनी खटिएर मातृमृत्युदर शून्यमा राख्न सफल भए पनि छोरीप्रति स्थानीयको दृष्टिकोणले भने मायालाई बारम्बार दुःखी बनाउँछ।
‘छोरा जन्मिएपछि बाबुहरू लड्डु लिएर आउँछन्, खुशियाली साटासाट गर्छन्। तर छोरी जन्मिएको थाहा पाएपछि बाबुहरू विरलै मात्र बर्थिङ सेन्टर पुग्छन्‘ उनी निराशा व्यक्त गर्छिन्, ‘कहिलेकाहीं त सुत्केरी र नवजात छोरीलाई घर पुर्याउन परिवारका सदस्य समेत हुँदैनन्। फोन गरेर बोलाएर, सम्झाएर-बुझाएर घर पठाउनुपर्छ।‘

उनले भोगेको एउटा घटना झनै मार्मिक छ। ‘एनिमिया भएकी एक जना गर्भवती महिलालाई एम्बुलेन्समा राखेर सुत्केरी गराउन भेरी अस्पताल पुर्याएकी थिएँ। परिवारका सदस्य साथमै थिए। अस्पतालका सिस्टरहरूले रगत खोज्न भनेपछि मैले सुत्केरीका श्रीमानलाई भनें। तर श्रीमान्ले छोरी जन्मिएको थाहा पाएपछि रगत खोज्नु त परै जाओस्, उनी अस्पतालबाटै भागे‘ माया सम्झिन्छिन्, ‘बडो मुस्किलले रगतको व्यवस्था गरेर सुत्केरीलाई बचाएर घरसम्मै पुर्याउनुपर्यो।‘
साईगाउँ स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक गुलाम हैदर हल्वाइका अनुसार यस क्षेत्रमा छोरीहरूको उमेर २० वर्ष नपुग्दै बिहे हुन्छ। बर्थिङ सेन्टरमा पहिलो बच्चा जन्माउने अधिकांश आमाको उमेर २० देखि २२ वर्षकै हाराहारीमा हुन्छ।
‘कम्तीमा दुई छोरा हुनैपर्छ भन्ने सोच अधिकांशमा छ। त्यसैले अहिले पनि एक जोडीका औसतमा ५ देखि ६ जना सन्तान छन्‘, उनी भन्छन्।
संस्थागत र व्यक्तिगत पहल
साईगाउँ स्वास्थ्य चौकीमा हाल ल्याब र ग्रामीण अल्ट्रासाउन्डको सुविधा छ, जसले गर्दा आधारभूत सेवा सहज भएको छ। स्वास्थ्यकर्मीहरूको सामूहिक प्रयासका कारण अहिले साईगाउँ क्षेत्रमा घरमा सुत्केरी हुने सङ्ख्या शून्य छ।
नेपाल मात्र होइन, छिमेकी भारतीय सीमावर्ती गाउँहरूबाट समेत सुत्केरी हुन महिलाहरू यहाँ आउने गरेका छन्। गत वर्ष मात्र ४ जना महिला भारतबाट साईगाउँ बर्थिङ सेन्टरमा आएका थिए।.

सुत्केरी सेवामा वडा नं. १ का वडाध्यक्ष मोहम्मद रजा राई र जानकी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दलबहादुर रानाले व्यक्तिगत र संस्थागत रूपमा अग्रसरता लिंदै आएका छन्। वडा कार्यालयले बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई पोषिलो झोल र अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ।
जानकी गाउँपालिका कुनै बेला लुम्बिनी प्रदेशमा पनि सबैभन्दा बढी मातृमृत्यु हुने क्षेत्रका रूपमा चिनिन्थ्यो। तर, माया जस्ता करार सेवाका स्वास्थ्यकर्मीको समर्पणले अहिले यस गाउँपालिकामा आमाहरूको जीवन सुरक्षित भएको छ। किनकि रातको निद्रा र दिनको भोक नभनी आमाहरूलाई जीवनदान दिइरहेकी माया बस्याल रक्षकको रूपमा तैनाथ छन्।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी