+

असफलताका अनेक कथामा खारिएर बनेकाे ‘ब्रान्ड’ : रानी केक

१६ वर्षकै उमेरमा दाङबाट काठमाडौं आएका दीपकले चिया-नास्ता पसल चलाए । कपडा व्यवसाय गरे । कतारमा मजदुरी गरे । नेपाल फर्केर म:म पसल खोले । तर जहाँ हात हाले, त्यहीँ असफल भए । सफलताले उनलाई तब मात्रै पछ्यायो, जब दाङमा केक व्यवसाय सुरु गरे । आज दीपकको 'रानी केक' पश्चिम नेपालकै ठूलो ब्रान्ड बनेको छ । विभिन्न शहरका शाखामा ६० भन्दा बढीले रोजगारी पाएका छन् ।
पूरा सूची
Shares
दीपक काफ्ले
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङका दीपक काफ्लेले पटक–पटकको व्यावसायिक असफलता र आर्थिक अभावका बावजुद निरन्तरको सङ्घर्षबाट रानी केकलाई पश्चिम नेपालको सफल ब्रान्डका रूपमा स्थापित गरेका छन्।
  • कतारको बसाइका क्रममा व्यवसाय व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गरेका काफ्लेले २०७७ सालमा रानी केकको सुरुवात गरी हाल पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेका छन्।
  • तीन करोडभन्दा बढीको वार्षिक कारोबार गर्ने रानी केकले हाल ६० जनालाई प्रत्यक्ष रोजगारी दिनुका साथै युवाहरूलाई बेकरीसम्बन्धी सीपमूलक तालिमसमेत प्रदान गरिरहेको छ।

एउटा मान्छे जीवनमा कतिपटक लड्छ ? कतिपटक हार्छ ? , फेरि उठ्नलाई कतिपटक साहस बटुल्छ ?

दाङ तुलसीपुरका दीपक काफ्ले (२९) ले अभावका दिनहरूमा पनि उद्यमी बन्ने सपना देखे। १६ वर्षकै उमेरमा व्यवसायमा हात हाले। तर, तीन वटा व्यवसायमा लगातार असफल भएपछि उनी परिवारबाटै टाढिए र जीविकाको खोजीमा खाडी पुगे।

पटक-पटक लडे। तर, जति नै लडे पनि उठ्न छाडेनन्। असफलताका बीच पनि मनको एउटा कुनामा सपनाहरू जोगाइराखे।

कालान्तरमा यस्तो समय आयो, जहाँ धैर्यका सबै परीक्षाहरू सकिए र असफलताको शृङ्खला अन्त्य भयो। त्यहींबाट उनले अनन्त उडान भरे र आफूलाई सफल उद्यमीका रूपमा चिनाए। मध्यपहाडी क्षेत्रको एउटा सानो शहरबाट शुरु गरेको रानी केकलाई पश्चिम नेपालमा फैलाएर एउटा बलियो ब्रान्ड बनाए।

अभावले डसेको बाल्यकाल र पहिलो असफलता

दीपक अभावमै हुर्किए। ऐलानी जग्गामा घर थियो। बाबु कामको खोजीमा भारत आउजाउ गर्थे। आमा स्कूल पढाउँथिन्, आमाकै आर्जनले जेनतेन घर चल्थ्यो।

पछि आमा बिरामी परिन्। अवस्था यस्तो बन्यो कि बिरामी आमालाई पूरै औषधि खुवाउन समेत मुस्किल पर्‍यो। बाल्यकालमै यो सबै देखेका दीपक एउटै कुरा सोचिबस्थे- यो अभाव र दुःखबाट परिवारलाई कसरी मुक्त गराउने ?

२०६८ सालमा आफन्तको घरमा बसेर पढ्न उनी काठमाडौं आए। त्यहाँको चहलपहल र होटलहरूमा भीडभाड देखेपछि उनको कलिलो मस्तिष्कले सोच्यो- चिया-नास्ता पसल खोल्ने।कम्तीमा आमाको औषधि किन्न सकुँ भन्ने उनको एउटै ध्याउन्न थियो।

उनले घरमा योजना सुनाए। दुई कट्ठा ऐलानी जग्गा बेचेर परिवारले उनलाई ३ लाख रुपैयाँ दियो। बाबु, आमा र भाइ समेत काठमाडौं आए। दीपकले आमालाई भनेका थिए, ‘अब हाम्रा दुःखका दिन सकिए।

१६ वर्षको उमेरमा उनले जोरपाटीको माकलबारीमा चिया-नास्ता पसल खोले। तर, व्यापार नबुझेको कलिलो मस्तिष्कले सोचे जस्तो गर्न सकेन। ६ महिना नहुँदै पसल बन्द भयो।

व्यवसाय बन्द हुँदा जग्गा मात्र गुमेन, काठमाडौं आएका बाबु, आमा र भाइ समेत निराश भएर घर फर्कनुपर्‍यो। बिरामी आमाको आँखाको त्यो आँसु म कहिल्यै बिर्सन सक्दिनँ‘, दीपक आज पनि त्यो दिन सम्झन्छन्। तर उनका लागि याे असफलताको शृङ्खलाकाे सुरुआत मात्र थियाे। 

भारतको यात्रा र साझेदारको धोका

केही वर्षपछि उनी दाङ फर्किए, तर अभावले पछ्याउन छाडेन। गाउँका साथीहरूले भारतको कपडा पसलमा मासिक २५ हजार तलब पाइने सुनाएपछि उनी हौसिए। आमाले जसोतसो बाटाे खर्च थमाइदिइन्।

तर भारत पुगेपछि थाहा भयो, त्यो जागिर होइन, ‘मल्टी लेभल मार्केटिङ’ (एमएलएम) सम्बन्धी सेमिनार रहेछ। तर त्यहाँ अभावबाट उठेर सफल भएका व्यवसायीहरूले कथा भनिरहेका थिए। उनीहरूकाे कथा सुनेपछि दीपकले एउटा कुरा बुझे- व्यापार नै त्यो चिज रहेछ, जसले पुस्तौंपुस्ताको दुःख अन्त्य गरिदिन सक्छ।

आमाले दिएको पैसा सेमिनारमा लगानी भएकाले उनी तत्काल घर फर्कन सकेनन्। बरु चण्डीगढ पुगेर बजाज मोटरको इन्जिन बनाउने कम्पनीको क्यान्टिनमा क्यासियर बने। परेको बेला गिलास समेत माझिदिन्थे। तर दुई महिनामै सुटुक्क भागेर नेपाल आए।

फेरि एकपटक काठमाडौं आएपछि कलङ्कीमा कपडा उद्योग सञ्चालन गरिरहेका एक दम्पतीसँग उनको भेट भयो। उनीहरूसँगै मिलेर उद्योग खोल्ने सहमति भयो, तर लगानी दीपकले गर्नुपर्ने थियाे।

पहिल्यै पैसा डुबाएका उनलाई घरमा माग्न सजिलो थिएन। उनले हजुरआमालाई आफ्नो योजना सुनाए। हजुरआमाले नातिको सपनामा विश्वास गर्दै आफ्नो जग्गा धितो राखेर ३ लाख रुपैयाँ दिइन्।

२०७२ कात्तिकमा उनीहरूले महाबौद्धमा होलसेल पसल खोले। दीपकले मार्केटिङको जिम्मा लिए भने शेर्पा दम्पतीले व्यवस्थापन हेर्न थाले। दिनरात दौडिएर दीपकले बजार बनाए। तर, सात महिना पुग्दानपुग्दै हिसाबकिताबमा गडबडी देखियो। बजारमा सामानको डिमान्ड भए पनि खातामा पैसा थिएन। हिसाब माग्दामाग्दै दम्पती सम्पर्कविहीन भए। व्यवसाय टाटपल्टियो।

दीपक फेरि शून्यमा झरे। मलाई सबैभन्दा चिन्ता हजुरआमाको जग्गाको लाग्यो‘, उनी भन्छन्। घरमा लगानी डुबेको कुरा भन्न नसकेर उनी फेरि काठमाडौं फर्किए। तर, कोठामा ताला लागिसकेको थियो र सुटकेस बाहिर फालिएको थियो। शङ्खमूलमा बस्ने एक साथी आशिष शाहले उनलाई बास दिए।

साझेदार दम्पती भेटिए भने पैसा फिर्ता देलान् कि भन्ने आशमा उनी महिनौंसम्म भोकैप्यासै काठमाडौंका गल्ली चहार्थे। हिंड्दाहिंड्दै जुत्ताले खुट्टामा घाउ नै भयो, जसको टाटो अहिले पनि छ‘, उनी सम्झन्छन्। तर, पैसा फिर्ता आएन।

कतारको सङ्घर्ष र व्यापारको ज्ञान

काठमाडौंमा टिक्न नसकेपछि उनले मदिरा डिलरमा लोडरको काम गरे। मदिराका कार्टुन बोकेर पसल-पसल पुर्‍याउँथे। केही महिनाअघि आफैं मजदुरलाई तलब दिने उद्योगी उनी अहिले मासिक ६ हजारमा काम गरिरहेका थिए।

यही बीचमा एपेन्डिसाइटिस भयाे, अप्रेसन गरेर उनी अस्पताल भर्ना भए। ऋण तिर्नुपर्छ भनेर बिरामी भएको नाटक गरेछ भन्ने आफन्तको कुरा सुन्दा उनलाई अप्रेसनको घाउले भन्दा बढी पोल्यो। अब उनलाई लाग्न थाल्याे- मलाई व्यवसाय नफाप्ने भयो।

अब उनीसँग विदेशिनुको विकल्प थिएन। सधैं साथ दिने फुपू (सुमित्रा कँडेल) ले दिएको ५० हजार लिएर उनले जापानका लागि प्रयास गरे तर भिसा आएन। अन्ततः उनी २०७३ फागुनमा कतार हान्निए।

कतारको सनैया क्याम्पमा पुगेको पहिलो रात उनी झोलालाई सिरानी बनाएर रातभर रोए। त्यहाँ उनी स्टोर किपरको काम गर्थे। तर कतार बसाइ नै उनका लागि सिकाइ केन्द्र बन्यो। उनी रातभर व्यवसाय सम्बन्धी किताब पढ्थे, असफलताका भिडियोहरू हेर्थे। पहिले सफलताका कथा पढ्थें, त्यहाँ गएर कम्पनी डुब्नुका कारणहरू खोज्न थालें। असफलताबाटै धेरै कुरा सिकें‘, उनी भन्छन्। 

१४ महिनामै उनी असिस्टेन्ट पर्चेज म्यानेजरमा बढुवा भए। ऋण तिरेर घर फर्कन खोज्दा कतारमा कम्पनीको अनुमति विना घर जान नपाइनेनयाँ नियम आयो। उनले भाग्ने योजना बनाए र सुटुक्क एयरपोर्ट पुगेर नेपाल उडे।

तेस्रो असफलता र रानी केक

२०७६ सालमा नेपाल फर्केको दुई महिनामै उनले दाङमा पहिलो पटक झोल मःम व्यवसाय शुरु गरे- राजा मःम। दिदी नाता पर्नेसँग मिलेर खोलेको यो पसलमा उनले अनलाइन डेलिभरी समेत शुरु गरे। व्यापार राम्रै चलेको थियो, तर व्यवस्थापनमा साझेदारसँगको मनमुटावपछि उनी आफैं पसल छाडेर हिंडे। यो उनको तेस्रो असफलता थियो।

यतिञ्जेलसम्म उनी निराश भइसकेका थिए। दुई महिना घरबाहिर निस्केनन्। तर, तुलसीपुरका व्यवसायी सङ्गीत बस्यालले तिमी केही गर्न सक्ने मान्छे हौ, यसरी रोएर नबस भनेर हौसला दिएपछि उनको आत्मविश्वास विस्तारै फर्कियो। कोभिड-१९ को लकडाउनले उनलाई मानसिक रूपमा तङ्ग्रिने मौका दियो।

२०७७ सालमा युवाहरू मिलेर आहा तुलसीपुर अभियानशुरु गरे र पाँच कट्ठा जमिनमा सामूहिक फूलखेती गरे। उनीहरू सडकका खाल्डाखुल्डी पुर्नेदेखि सरसफाइ हुँदै रक्तदान गर्न/गराउन थाले। यी कामहरू सफल भएपछि दीपकलाई लाग्यो- अझै पनि केही गर्न सकिने रहेछ।

कतार छँदै उनले केक व्यवसायको परिकल्पना गरेका थिए। एक दिन बिक्रीमा रहेको बेकरी पसल देखेपछि उनी फेरि कस्सिए। फेरि फुपू सुमित्राले दिएकाे दुई लाख र ज्योति विकास बैंक (तुलसीपुर) का म्यानेजर डिल्ली केसीले पत्याएर दिएको पाँच लाख ऋणबाट उनले २०७७ फागुनमा रानी केकशुरु गरे।

युट्युब हेरेर आफैं केक बनाउन सिकेका दीपकले बजारमा सुती-सुती खाने दिन आउँदैछभनेर मार्केटिङ क्याम्पेन चलाए। पहिलो दिनमै ६ हजार ४१० रुपैयाँको व्यापार भयो।

रानी केकको साम्राज्य र सफलता

दीपकले बजारमा पाइनेभन्दा फरक फ्लेभर‘, गुणस्तरीय उत्पादन, पारदर्शी किचन र होम डेलिभरी सेवा शुरु गरे। ग्राहकलाई फोन गरेर प्रतिक्रिया माग्थे। २६ दिनसम्म आइपुग्दा मैले केकमा भएका २६ वटा कमजोरी पत्ता लगाएँ र सुधार्दै गएँ‘, उनी भन्छन्।

उनले कस्टमर एक्सपिरियन्समा विशेष ध्यान दिए। ८० वर्ष पुगेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र टुहुरा बालबालिकालाई निःशुल्क केक दिए। हामी केक बेच्न मात्र होइन, अरूको जीवनमा खुशी थप्न चाहन्थ्यौं‘, उनी भन्छन्। तर सबैभन्दा बढी खुशी दीपककै जीवनमा आयाे। बाबु बिहानै आएर सर्टर खोल्न थाले, भाइले काममा सघाउन थाले, परिवारको भरोसा फर्कियो, अनि बिरामी आमाको मुहारमा मुस्कान पनि।

दीपकले डेढ वर्षमै घोराहीमा शाखा विस्तार गरे। त्यसपछि बुटवल, नेपालगन्ज र सुर्खेत पुगे। पाँच वर्षको अवधिमा रानी केकपश्चिम नेपालकै ठूलो ब्रान्ड बनेको छ।

दीपकका अनुसार, हालसम्म ५ लाखभन्दा बढी ग्राहक रानी केकसँग जोडिएका छन्। वार्षिक ३ करोडभन्दा बढीको कारोबार गर्ने यस कम्पनीले ६० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। उनीहरू चाँडै चितवनमा पनि शाखा खोल्ने तयारीमा छन्। र, उनी यसलाई पूर्वी नेपालका शहरहरूमा विस्तार गर्ने योजना बुनिरहेका छन्।

यति मात्र होइन, २०८२ सालदेखि उनी रानी स्किलमार्फत युवालाई केक र बेकरी बनाउन सिकाइरहेका छन्। मलाई बाटो देखाइदिने कोही भएन, मेरै असफलताबाट सिकें। मैले जस्तो दुःख अरूले भोग्न नपरोस् भनेर तालिम शुरु गरेको हुँ‘, उनी भन्छन्।

अभाव र असफलताबाट गुज्रिएका दीपकले आज उदाहरणीय सफलता प्राप्त गरिसकेका छन्। ती दुःख र अभावले मलाई धेरै सिकायो, त्यो नभएको भए आज यहाँ पुग्ने थिइनँ‘, उनी मुस्कुराउँछन्। तर उनको यात्रा यतिमै रोकिएको छैन, उनी भन्छन्- म अझै बाटोमै छु, यात्रा जारी छ।

लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।