+

अमेजन र गुगलले चलाउने चिपको डिजाइन बदलिरहेका नेपाली

राष्ट्रियस्तरका टेनिस खेलाडी आदित्य सुवेदीले हार्वर्ड विश्वविद्यालयमा आकर्षक छात्रवृत्ति पाएका थिए। तर पढाइ अधुरै छोडेर सिलिकन भ्याली पुगेका उनले एआई कम्पनी 'आर्किटेक्ट ल्याब्स' खोलेका छन्। २ करोड ४० लाख डलर लगानी जुटेको यो कम्पनीले विश्वको 'चिप डिजाइन' प्रक्रियालाई नै स्वचालित बनाउने लक्ष्य राखेको छ। उनको प्रविधिले गुगल र अमेजन जस्ता कम्पनीको कामलाई पनि सहज बनाउनेछ।
पूरा सूची
Shares
आदित्य सुवेदी
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली युवा आदित्य सुवेदीले अमेरिकामा 'आर्किटेक्ट ल्याब्स' नामक प्रविधि कम्पनी स्थापना गरी २ करोड ४० लाख डलर बराबरको लगानी जुटाउन सफल भएका छन्।
  • कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट चिप डिजाइन प्रक्रियालाई सरल र छिटो बनाउने उद्देश्यसहित उक्त कम्पनीले पालो आल्टोमा १८ जना विशेषज्ञहरूसँग कार्य गरिरहेको छ।
  • हार्वर्डको पढाइ छाडेर उद्यमशीलतामा होमिएका सुवेदी भविष्यमा नेपालमा सूचना तथा प्रविधि विश्वविद्यालय स्थापना गरी निःशुल्क शिक्षा दिने योजनामा छन्।

आदित्य सुवेदीले प्रविधिको क्षेत्रमा हात हाल्छु भनेर शायदै सोचेका थिए। २ करोड ४० लाख डलर लगानी सहितको प्रविधि कम्पनी खोल्ने सपना त परको कुरा थियो।

सानै उमेरमा राष्ट्रियस्तरका टेनिस खेलाडी बनेका उनको खास रुचि खेलकुदमै थियो। आफूलाई राम्रो टेनिस वा क्रिकेट खेलाडीका रूपमा चिनाउन पाऊँ भन्ने उनको धोको थियो। तर, कोभिड-१९ को समय उनको जीवनका लागि टर्निङ प्वाइन्ट बनेर आयो। यही समयमा उनको मनभित्र आफ्नै उद्यम खोल्ने बीज रोपियो र वातावरण पनि तयार भयो।

उसो त आदित्यको पढाइ पनि उत्कृष्ट नै थियो। उनले कक्षा १ देखि १० सम्म काठमाडौंको अक्षरा स्कूलमा पढे। स्कूलमा उनी ‘कम्प्लिट स्टुडेन्ट’ थिए। सबै विषयमा उनको राम्रो दक्खल थियो भने अतिरिक्त क्रियाकलापमा पनि उनी सधैं अब्बल नै दरिए।

आमाको चिन्ता र हार्वर्डको यात्रा

हरेक अभिभावकको चाहनाभन्दा पृथक् मार्ग र गति पक्रिरहेका थिए, आदित्य। अध्ययनमा राम्रो गरिरहेका छोराको स्टार्टअपमा बढ्दै गइरहेको रुचि देखेर आमा अञ्जु भट्टराईले उनलाई अपेक्षाकृत ‘सहज बाटो’ रोज्न सुझाइन्।

तर, आदित्यले समयको माग बुझिसकेका थिए। प्रविधि र व्यवसायको युग संसारभरि नै फस्टाइरहेको बेला आफूले पनि जोखिम मोल्न तयार हुनुपर्ने उनले देखेका थिए। सफलताका लागि केही मूल्य चुकाउनुपर्छ भन्ने बुझेका उनले आमालाई पनि यसबारे सम्झाइबुझाइ गरे।

‘म आफूलाई उपयुक्त समय, अझ स्वर्ण युगमा नै जन्मिएको जस्तो लाग्छ। मैले आफूलाई आफ्नो रुचि अनुसार निखार्ने अवसर पाएको छु’, आदित्य आमालाई भन्ने गर्थे। त्यसपछि छोराको अठोट देखेर आमा अञ्जु पनि सकारात्मक बनिन्।

अक्षरापछि उनले युलेन्स स्कूलबाट कक्षा १२ पूरा गरे। त्यहाँ उनी ‘आईबी’ टपर बने। यो चरणमा उनको शैक्षिक यात्रा अझै फराकिलो हुँदै गयो। त्यसपछि उनले उच्च शिक्षाका लागि विश्वकै प्रतिष्ठित विश्वविद्यालयमध्ये एक हार्वर्ड विश्वविद्यालय रोजे। छात्रवृत्ति मार्फत उनले वार्षिक ८१ हजार डलर पाउने भए।

आदित्य सुवेदी र इब्राहिम हुसेन ।

हार्वर्डमा कम्प्युटर साइन्स र गणित पढ्न अमेरिका पुगेका आदित्यले दोस्रो वर्षमै आफ्नो अध्ययनलाई विश्राम दिंदै उद्यमशीलताको बाटो रोजे। पढाइसँगै एआईको अनुसन्धानमा सक्रिय उनले सिलिकन भ्यालीका स्टार्टअप र स्ट्यानफोर्ड रिसर्चमा काम गर्दै आफ्नो प्राविधिक क्षमतालाई तिखार्ने अवसर पाइसकेका थिए।

कुशाग्र छोराले एकाएक हार्वर्डको पढाइ छाडेपछि आमा शुरुमा निकै चिन्तित बनेकी थिइन्। तर पछि आदित्यले स्ट्यानफोर्ड विश्वविद्यालयका इब्राहिम हुसेनसँग सहकार्य गर्दै ‘आर्किटेक्ट ल्याब्स‘ नामक कम्पनी स्थापना गरे।

अमेरिकाको प्रविधि केन्द्र ‘पालो आल्टो’ मा रहेको यो कम्पनी कस्टम चिप्स बनाउन २ करोड ४० लाख डलर अर्थात् करिब ३ अर्ब ६७ करोड नेपाली रुपैयाँ बराबर लगानी जुटाउन सफल भएको छ। उनीहरूले तयार गर्ने चिप्स प्रख्यात कम्पनी ब्रोडकम र यसको प्रतिस्पर्धी मार्भेलले अमेजन र गुगल जस्ता क्लाउड कम्पनीहरूका लागि चिप्स डिजाइन गर्न मद्दत गर्छन्।

चिप डिजाइनमा एआई क्रान्ति

यस कम्पनीले कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर चिप डिजाइन प्रक्रियालाई पूर्णतया फेरबदल गर्ने लक्ष्य लिएको छ। हाल उनको नेतृत्वमा रहेको यस प्रविधि कम्पनीमा १८ जना विषयविज्ञ कर्मचारीहरू कार्यरत छन्।

अहिलेको समयमा चिप डिजाइन गर्नु सजिलो काम होइन। एउटा उन्नत चिप तयार पार्न कहिलेकाहीं दुई वर्षजतिको समय लाग्छ। यो प्रक्रिया निकै जटिल हुन्छ र यसमा अत्यधिक लगानी पनि चाहिन्छ। अनुसन्धान र विकासका लागि कम्पनीहरूले करोडौं डलर खर्च गर्नुपर्ने हुन्छ।

यही लामो र महँगो प्रक्रियालाई छोटो र सस्तो बनाउने ‘आर्किटेक्ट ल्याब्स’ को मुख्य उद्देश्य हो। कम्पनीले विकास गरिरहेको प्रविधिले चिप डिजाइनका विभिन्न चरणलाई स्वचालित गर्ने प्रयास गरिरहेको छ।

अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा आर्किटेक्ट ल्याबले २ करोड ४० लाख डलर बीउ पूँजी जुटाएको जानकारी डिस्प्लेमार्फत गरिएको थियो ।

यो प्रविधिको सम्भावित प्रयोगकर्ताहरूमा ब्रोडकम र मार्वेल टेक्नोलोजी जस्ता ठूला चिप डिजाइन कम्पनीहरू पर्छन्। यी कम्पनीहरूले एआई र क्लाउड कम्प्युटिङका लागि आवश्यक ‘कस्टम चिप’ हरू बनाउने काम गर्छन्। यस्ता चिपहरू अन्ततः एमाजोन वेब सर्भिसेज (एडब्लुएस) र गुगल क्लाउड जस्ता विश्वकै ठूला क्लाउड सेवा प्रदायकहरूले प्रयोग गर्ने गरेका छन्।

सङ्घर्षका रातहरू र नेपालको सपना

आदित्यले धेरै ठूलो आर्थिक सङ्घर्ष त गर्नु परेन, तर उनले सङ्घर्षका अन्य पाटाहरू भने प्रशस्त भोगेका छन्। प्रायः उनी आफ्नो खर्च आफैं जुटाउने गर्थे।

युलेन्समा पढ्दा उनले विद्यालयस्तरका उद्यमशील कार्यक्रमहरूमा आफूलाई होमेका थिए। कतिपय विद्यालयले उनका कार्यक्रम मन पराए पनि किन्दैनथे। सानो उमेरमै उनले अस्वीकृत हुनुको भयलाई पार गरेका थिए। त्यसबाहेक ट्युसन पढाएर पनि उनले आयआर्जन गरे।

अमेरिका गएपछि पनि उनको सङ्घर्षमा कमी आएन, बरु झन् बढ्यो। अध्ययन र अनुसन्धानको क्रममा उनी कतिपय रात पुस्तकालयमै सुतेका छन्। लगानी जुटाउनका लागि अनेकन् झन्झावात सहनुपरेको थियो। अझै पनि कम्पनीलाई समृद्ध र परिष्कृत तुल्याउन राम्रा कर्मचारीहरू ‘हायर’ गर्न जटिलता भोग्नुपरेको छ।

उनको लगन र खटाइ देखेर आमा अञ्जुलाई चिन्ताले सताउँछ। तर आदित्य भन्छन्, ‘मलाई चुनौतीबाट टाढा भाग्न मन पर्दैन।’ परदेश लागेपछि र प्रगतिको स्वाद चाखेपछि नेपाल नफर्किनेहरूको लर्को लामो छ। आदित्य भने त्यसको अपवाद बन्न चाहन्छन्।

उनको सुदूर लक्ष्य नेपालमै फर्किएर सूचना र प्रविधि क्षेत्रमा ठोस योगदान पुर्‍याउने रहेको छ। उनी स्वदेशमा एउटा सूचना तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न चाहन्छन्। त्यसको मातहतमा देशका प्रत्येक प्रदेशमा एक–एक वटा प्राविधिक विद्यालय सञ्चालन गर्ने उनको योजना छ।

विभिन्न विद्यालय र विश्वविद्यालयहरूमा प्रविधिको व्यावहारिक पठनपाठन गराउने विषयलाई प्राथमिकतामा राखेका उनले आफूले स्थापना गर्ने शैक्षिक संस्थानमा विद्यार्थीका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने योजना बुनेका छन्।

आदित्य आफ्नी आमासँग अक्सर भन्ने गर्छन्, ‘विश्वविद्यालयको डिग्रीले मेरो र परिवारको जीवन मात्र सुधार्छ। तर म सफल उद्यमी बनें भने सिङ्गो देश र नेपालीको जीवनस्तर बदल्न सक्छु। म व्यावहारिक शिक्षा मार्फत देशको विकासमा ठूलो योगदान पुर्‍याउन चाहन्छु।’

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।