विपद् विरुद्धको इन्जिनियरिङ
२८ असार २०८१ बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेर दुईवटा यात्रुबस त्रिशूली नदीमा खसेर बेपत्ता भए । सुरक्षाकर्मीहरूले तीन दिनसम्म खोज्दा पनि बस र यात्रु भेटेनन् । यात्रुका परिवारजन र आफन्त नदी किनारामा बसेर विलौना गर्न विवश थिए ।
त्यहीबेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीले ललितपुरको इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिका अध्यक्ष इन्जिनियर अनुप खनाल (३९) लाई फोन गरे । त्यसपछि खनालले ३० असार बेलुकी ‘इको साउण्डर’ अर्थात् अत्याधुनिक सोनार क्यामरा नामको उपकरण सहित कार्यालयका प्राविधिक कर्मचारीको टोली सिमलताल पठाए ।
सो उपकरणको सहायताले सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मीले असार ३१ गते बिहानैदेखि बस र बेपत्ता यात्रुहरू खोज्न थाले । इनोभेटिभले निजी प्रयोगमा ल्याएको उक्त उपकरण मार्फत खोजी भइरहेका बेला नेपाल सरकारको आग्रहमा आएको भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) टोलीले पनि सोही प्रकृतिको सोनार क्यामरा ल्याएर खोजी कार्य गर्यो । तर गाडी र ठूलो संख्यामा यात्रुहरू अझैसम्म बेपत्ता छन् ।
तर यो घटनाले इनोभेटिभ इन्जिनियरिङले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रविधि प्रयोग गर्दै आइरहेको रहेछ भनेर बुझ्न सकिन्छ । नयाँ प्रविधिका लागि राज्यका निकायले युवा इन्जिनियर खनालले स्थापना गरेको कम्पनीलाई सम्झिने र खोज्ने गरेको यो पहिलो घटना होइन ।
अति विकट, उच्च हिमाली भेगमा रहेका हिमतालहरूको सर्भे गर्न या अध्ययन वा सञ्चालनमा रहेका जलविद्युत् तथा सिंचाइ आयोजनाको पानीको बहाव वा सेडिमेन्ट नाप्न प्रयोग हुने अत्याधुनिक प्रविधि उनले खोलेको कम्पनी इनोभेटिभ इन्जिनियरिङ सर्भिसेजसँग उपलब्ध छ ।
इनोभेटिभ कम्पनीले प्राकृतिक विपद्हरू जस्तै– वर्षा, बाढी र पहिरोको पूर्वानुमानमा प्रयोग हुने तथ्यांकहरू संकलन गर्ने स्वचालित उपकरणको विकास र सफल प्रयोग गर्दै आइरहेको छ । त्यस्ता उपकरणहरू जल तथा मौसम विज्ञान विभाग, सिंचाइ विभागका साथै सानादेखि ठूला राष्ट्रिय गौरवका आयोजनाहरूमा समेत प्रयोग हुँदै आएका छन् ।
विदेशी ज्ञान, स्वदेशी प्रयोग
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडी शिक्षित तथा क्षमतावान् युवा विदेश पलायन भएर मुलुकमा नयाँ खोज, अनुसन्धान तथा विकास नै प्रभावित भइरहेको बेला खनाल नेतृत्वको स्वदेशी कम्पनीले नयाँ प्रविधिमा गरेको विकास र प्रगति देख्दा आफूलाई गर्व महसुस हुने बताउँछिन् ।
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको प्रमुख हुँदा बागमती नहरमा स्वचालित सेडिमेन्ट मापन प्रविधि र नागढुंगामा पहिरो पूर्वसूचना प्रणाली जडान गर्ने क्रममा खनालको कामलाई नजिकबाट नियालेकी दवाडी भन्छिन्, ‘नर्वेको एक प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेर त्यहाँ सिकेको ज्ञान र प्रविधि मार्फत स्वदेशमा नै केही नयाँ काम गर्ने उद्देश्यले इन्जिनियर खनालले स्थापना गरेको संस्थाले समग्र इन्जिनियरिङ क्षेत्रको विकासलाई नै टेवा पुर्याइरहेको छ भन्ने मलाई लाग्दछ ।’
नयाँ प्रविधिको विकास तथा प्रयोगले अहिले विश्वभर नै ठूला आयोजनाको डिजाइन, सञ्चालन र मनिटरिङमा उल्लेखनीय प्रगति हुँदै गइरहेको छ । नेपालमा त्यस्ता प्रविधिहरूको त्यति धेरै प्रयोग हुन नसकिरहेको अवस्थामा खनालले स्थापना गरेको कम्पनीले यस्ता प्रविधिहरूको प्रयोग र प्रवर्धनमा विशेष काम गरिरहेको जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक संजीव बराल बताउँछन् ।

‘भेरी बबई आयोजनाको बाँध डिजाइन गर्ने समयमा विभागलाई भेरी नदीको पानी भित्र सर्भे गर्ने सोनार प्रविधि आवश्यक परेको थियो । उक्त काम उहाँहरू जस्तो नेपालकै स्वदेशी कम्पनीले सम्पन्न गर्दा उच्चस्तरीय प्रविधिको लागि विदेशी कम्पनीमा निर्भर रहनुपर्ने बाध्यता अन्त्य भएको छ’, महानिर्देशक बराल भन्छन् ।
खनालको कामले सामाजिक सम्मान पनि पाउन थालेको छ । नयाँ खोज, अनुसन्धान तथा प्रविधि मार्फत इन्जिनियरिङ क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल इन्जिनियर्स एशोसिएसनले २०७९ सालमा खनाललाई ‘बेस्ट इनोभेसन अवार्ड’बाट सम्मान गरेको थियो ।
दैनिक कामकाज, भेटघाट, बैठक तथा अन्य महत्वपूर्ण कार्यहरुको कार्यतालिका व्यवस्थित गर्ने तथा प्रयोगकर्ताहरु बीच ठूला फाइलहरु आदानप्रदान गर्ने उद्देश्यले खनालले ‘माइ टास्क’ अर्थात् ‘मेरो काम’ एप पनि विकास गरेका छन् । उक्त एप ‘मेरोकाम डट कम’ मा दर्ता गरेर निःशुल्क प्रयोग गर्न सकिन्छ ।
नेपाल सुहाउँदो प्रविधिको विकास
जलवायु परिवर्तनका कारण हाम्रा खोला तथा नदीहरूमा पानीको बहावमा पनि परिवर्तन आइरहेको छ । दुर्गम हिमाली तथा पहाडी भूभागमा खोलाको बहाव नाप्ने उपयुक्त संरचना नभएको अवस्थामा इनोभेटिभले खोलाको एक किनारमै बसेर पानीको बहाव नाप्ने नेपाली प्रविधि ‘केबल–वे’ को डिजाइन तथा निर्माण गरेर प्रयोगमा ल्याएको छ । यो प्रविधिको सफल प्रयोग दूधकोशी, कालीगण्डकी र त्रिशूली लगायत नदीहरूमा भइसकेको छ ।
इनोभेटिभले जलविद्युत् आयोजनाको एकीकृत व्यवस्थापन प्रणाली तथा जलविद्युत् आयोजनामा स्वचालित सेन्सरहरूको प्रयोग गरी पानीको बहाव, सेडिमेन्टको मात्रा तथा सतहको तथ्यांक तथा विद्युत् गृहको सम्पूर्ण तथ्यांक, समस्या, मर्मतसम्भार रेकर्डहरू तथा उपकरणहरूको मौजुदा सूची अनलाइनबाटै हेर्न सक्ने सफ्टवेयरको विकास समेत गरेको छ । यसको जडान निजी क्षेत्रद्वारा निर्माण गरिएका विभिन्न साना तथा ठूला जलविद्युत् आयोजनाहरूमा गरिएको छ ।
विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार जलविद्युत् आयोजनाको अध्ययन र सञ्चालनका लागि जलस्रोत र मौसमसँग सम्बन्धित यथार्थपरक तथ्यांक अपरिहार्य हुन्छ । ती आयोजनाहरू प्रायः सूचनाप्रविधिको पहुँच नभएको, बाटो तथा बस्ती भन्दा विकट भूभागमा हुने हुँदा तथ्यांक संकलनको काम निकै जटिल हुने गर्दछ ।
यस्तो भौगोलिक जटिलताको सामना गर्नुपर्ने अवस्थामा इनोभेटिभले नदीको बहाव, सेडिमेन्ट मापन जस्ता जलस्रोत तथा मौसमसँग सम्बन्धित यथार्थपरक तथ्यांकहरू संकलन कार्य स्वचालित प्रविधिबाट गर्न सक्ने प्रविधिको विकास गरेको देख्दा आफू अत्यन्त उत्साहित भएको उनी बताउँछन् ।
‘इनोभेटिभले गरेको प्रविधिको विकासबाट आज यथार्थपरक तथ्यांकहरू जुनसुकै ठाउँबाटै रियल टाइममै हेर्न र प्रयोग गर्न सकिने भएको छ’ सिंह भन्छन्, ‘स्वदेशी कम्पनीको रियल टाइममै बाढी पूर्वमापन तथा पूर्वसूचनाका कार्यमा प्रयोग हुने यस्ता स्वचालित उपकरणको सहयोगमा ठूलो धनजनको क्षति रोक्न सकिने भएको छ ।’

जलविद्युत् आयोजनाबाट बाँधको ढोका खोल्दा निस्कने उच्च बहावबारे तटीय क्षेत्रमा बस्ने बासिन्दालाई जानकारी गराउन तथा खोलामा माछा मार्ने, पौडी खेल्ने, नुहाउने जस्ता काम गर्ने मानिसलाई सतर्क गराउने उद्देश्यले ताररहित साइरन प्रविधिको विकास पनि इनोभेटिभले गरेको छ ।
यस प्रविधिमा मोबाइलबाट एसएमएस पठाएर जतिसुकै टाढा राखिएको साइरन पनि बजाउन सकिने हुँदा पूर्वसूचनाको पूर्णपालना गरेमा जनधनका क्षति रोक्न सकिन्छ । यो प्रविधि हाल कम्पनीको प्रयोगशालामा सफल परीक्षण भएर विभिन्न ठूला जलविद्युत् आयोजनाहरूमा जडान गर्ने तयारी भइरहेको छ ।
यसैगरी इनोभेटिभले प्रतिकूल मौसममा मोबाइल नेटवर्कले काम गर्न नसक्ने भन्दै रेडियो फ्रिक्वेन्सीको प्रयोग गरी जोखिमयुक्त क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिन सकिने प्रविधिको समेत सफल परीक्षण गरेको छ । यो प्रविधिमा मोबाइल नेटवर्क आवश्यक नपर्ने खनाल बताउँछन् ।
नारायणी नदीमा क्रुजशिप चलाउन सम्भव छ कि छैन भनेर अध्ययन गर्न सुरुमा भारतीय टोलीको सहायता लिइएको थियो । नेपाल पानीजहाज कार्यालय मार्फत नारायणी, सुनकोशी, अरुण, कालीगण्डकी लगायत ठूला नदीहरूमा पानीजहाज सञ्चालनको अध्ययन गरिसकेका खनाल अब यस्ता कामका लागि विदेशी कम्पनीको भर पर्नु नपर्ने बताउँछन् । सोही अध्ययनबाट ठूला नदीहरूमा पानीजहाज सञ्चालनको सम्भावना रहेको निष्कर्ष निकालिएको थियो ।
प्राकृतिक विपद्को पूर्वसूचना
जलवायु परिवर्तनका कारण हुनसक्ने विपद्का घटनाबाट जनधनको क्षति रोक्न खनाल नेतृत्वको इनोभेटिभले गरेका अनुसन्धान र विकासका काम प्रभावकारी सावित भएका छन् । इनोभेटिभले स्वचालित सेन्सरहरू प्रयोग गरी पहिरो जानसक्ने क्षेत्रहरूमा पहिरोको मापन तथा पूर्वसूचना दिने प्रविधिको विकास गरेको छ ।
यसको जडान जलस्रोत अनुसन्धान तथा विकास केन्द्र मार्फत नागढुंगा, सुन्दरीजल र दहचोक क्षेत्रमा गरिएको छ । यस प्रविधिले पहिरो जानसक्ने अवस्थाको पूर्वसूचना दिने गर्दछ । घरै बसी–बसी कम्प्युटर वा मोबाइलमा १०–१० मिनेटमा सम्बन्धित ठाउँको पहिरोको पूर्वसूचना थाहा पाउन सकिन्छ ।
इनोभेटिभले बाढी मापन तथा पूर्वसूचना प्रविधिको अनुसन्धान तथा विकासमा पनि ठूलो उपलब्धि हासिल गरेको छ । यस्तो प्रविधि जल तथा मौसम विज्ञान विभागले भोटेकोशी, अरुण, त्रिशूली लगायत खोलाहरूमा प्रयोग गरेको छ । अन्य सरकारी तवरबाट सुनसरी, मोरङ, धाप ड्याम, मेलम्ची खानेपानी आयोजना लगायतमा पनि उक्त प्रविधिहरू सञ्चालनमा छन् ।
जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा.राजन भट्टराई जलवायु परिवर्तनबाट सिर्जित विपद्का घटनाबाट हुने मानवीय र भौतिक क्षति कम गर्न जल तथा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणालीको ठूलो महत्व हुने बताउँछन् । त्यस्ता प्रविधिको विकास तथा सञ्चालन गर्न नेपाली युवा सक्षम छन् भन्ने प्रमाण इनोभेटिभ कम्पनीले दिएको उनको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागले जल विज्ञानका विविध अवयवहरूको विकास र विस्तारमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिंदै रियल टाइम डाटाको सम्प्रेषण र व्यवस्थापन गर्दै आइरहेको बताउँदै डा. भट्टराई भन्छन्, ‘आफ्नो ज्ञान र सीप मार्फत इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिले यस्ता प्रविधिको विकासमा टेवा पुर्याइरहेको देख्दा नेपाली युवाले देशमै बसी उच्च प्रविधियुक्त कार्यहरू गर्न सक्छन् भन्ने सन्देश प्रवाह भएको छ ।’
क्यामुन्टार–नर्वे–ज्वागल
गोरखाको भीमसेन थापा गाउँपालिका–७, क्यामुन्टारमा जन्मिएका खनालले कक्षा ८ सम्म गाउँकै सरकारी विद्यालय (पाटनदेवी निमावि) मा पढेका थिए । त्यसपछि उनले ९ र १० कक्षा पनि गोरखाकै बोर्लाङस्थित सरस्वती माविमा पढे ।
सरकारी विद्यालयबाट पहिलो श्रेणीमा एसएलसी पास गरेका उनले त्यसपछिका प्रमाणपत्र तथा स्नातक तहको पढाइ समेत सरकारी क्याम्पसबाटै गरे । उनले प्रमाणपत्र तह (सबइन्जिनियर) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराबाट र स्नातक तह (इन्जिनियर) ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट उत्तीर्ण गरेका हुन् ।
२०६६ सालमा विशिष्ट श्रेणीमा स्नातक तह उत्तीर्ण गरेपछि स्नातकोत्तर पढ्न नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा छात्रवृत्तिमा छनोट भएका खनाल ‘मास्टर्स इन हाइड्रोपावर डेभलपमेन्ट’ विषयमा अध्ययन पूरा गरी नेपाल फर्किएका थिए ।

‘विद्यालयदेखि स्नातकोत्तर तहसम्मै पूर्ण छात्रवृत्तिमा पढेकाले आफ्नै देश विकासमा केही योगदान गर्नुपर्छ भन्ने लागेर म स्वदेश फर्किएँ’ खनाल भन्छन् । उनी आफू मात्रै फर्किएनन्, उनले विदेशमा सिकेको सीप र प्रविधि पनि स्वदेशमा भित्र्याए ।
‘यहाँ ठूला–ठूला आयोजनाको अध्ययन र सञ्चालन गर्न धेरै कम्पनीहरूको होडबाजी चल्छ । तर त्यस्ता अध्ययनका लागि चाहिने गुणस्तरीय तथ्यांकहरूको संकलन गर्न भने कसैले चासो दिंदैनन् । त्यसैले हामीहरू भने सुरुदेखि नै त्यस्ता आयोजनाका लागि आवश्यक पर्ने गुणस्तरीय तथ्यांक संकलन तथा विश्लेषण गर्ने नयाँ प्रविधिका क्षेत्रमा काम गर्न थाल्यौं’, खनाल भन्छन् ।
सुरुमा तिनकुनेको एउटा कोठाबाट सुरु गरेको कम्पनीले हाल ललितपुरको ज्वागलस्थित सिंगो घरबाट सेवा प्रदान गर्दै आएको छ । इनोभेटिभ इन्जिनियरिङ सर्भिसेजमा हाल स्थायी र अस्थायी गरी करिब ८० जनाको युवा जनशक्ति कार्यरत छन् । त्यसमा इन्जिनियर र ओभरसियरहरू धेरै छन् । कम्पनीको कार्यकारी अध्यक्ष खनालले नेतृत्व गरेका छन् भने कम्पनीमा हरिकृष्ण दवाडी र सागर शाही सञ्चालक रहेका छन् ।
उच्चस्तरीय प्रविधियुक्त कामका लागि अमेरिका तथा युरोपका एक दर्जन बढी कम्पनीहरूसँग साझेदारी गरिएको खनालले बताए । ‘नर्वेमा पढेर फर्किसकेपछि विदेशी कम्पनीहरूसँग सहकार्यको क्षेत्र विस्तार हुँदैगयो । कुनै बेला त मेरो रुटिन यस्तो थियो कि राति दुई–दुई घण्टा सुत्दै–उठ्दै काम गर्दथें’, खनाल भन्छन् ।
खनालले पाएको यो सफलताको पछाडि उनको कडा मिहिनेत, कामप्रतिको लगाव र घरपरिवार तथा साथीभाइको पूर्ण साथले काम गरेको छ ।