+

फट्याङ्ग्राको वंशावली खोजिरहेका नेपाली वैज्ञानिक 

पर्वतका मदन सुवेदीले भुइँफड्के फट्याङ्ग्रा (ग्राउन्ड होपर) को नयाँ वंश र प्रजाति संसारलाई चिनाइरहेका छन् । उनको यही योगदानका कारण अष्ट्रेलियाको जंगलमा भेटिएको फट्याङ्ग्राको एक नयाँ प्रजातिको नाम राखिएको छ- ‘पेरासेल्पा सुवेदी’ ।
पूरा सूची
Shares
मदन सुवेदी
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि अधिकृत मदन सुवेदीले नेपालमा १२ नयाँ प्रजाति र ३ नयाँ वंशका फट्याङ्ग्रा पत्ता लगाई कीट वर्गीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।
  • सुवेदीले नेपालका चर्चित व्यक्तित्व तथा स्थानहरूको सम्मानमा आफूले पत्ता लगाएका नयाँ प्रजातिका फट्याङ्ग्राहरूको नामकरण गरेका छन् ।
  • अष्ट्रेलियामा पत्ता लागेको नयाँ प्रजातिको फट्याङ्ग्रालाई क्रोएसियाली अनुसन्धानकर्ताहरूले मदन सुवेदीको सम्मानमा ‘पेरासेल्पा सुवेदी’ नाम दिएका छन् ।

पर्वतको ग्रामीण परिवेशमा हुर्किएका उनी विद्यालय पढ्दादेखि नै प्रकृतिसँग घुलमिल थिए । एसएलसी २०६६ सालमा उत्तीर्ण गरेपछि उनले काठमाडौंको गोल्डेनगेट कलेजबाट विज्ञान विषयमा प्लस–टु अध्ययन गरे । त्यसपछि चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट कृषि विषयमा स्नातक र स्नातकोत्तर पास गरे ।

स्नातक अध्ययन गर्दागर्दै उनले पहिलो पटक इन्टोमोलोजी अर्थात् कीट विज्ञानलाई नजिकबाट चिन्ने अवसर पाए । अधिकांश विद्यार्थीको ध्यान बालीमा लाग्ने कीरा कसरी नियन्त्रण गर्ने भन्ने विषयतर्फ केन्द्रित हुन्थ्यो । तर उनको रुचि भने फरक दिशातर्फ मोडियो । उनी कीरा मार्नेभन्दा पनि चिन्ने, छुट्याउने र तिनको पहिचान गर्ने विज्ञानतर्फ आकर्षित भए ।

त्यसैले चितवनबाटै स्नातकोत्तर (एमएस्सी)मा एन्टिमोलोजी पढे भने थेसिस भने ट्याक्सोनोमीमा गरे । एन्टिमोलोजीले कीराफट्याङ्ग्राको जीवन र विशेषताबारे अध्ययन गर्छ भने ट्याक्सोनोमीले जीवलाई चिन्ने, नाम दिने र कुन समूहमा पर्छ भनेर वर्गीकरण गर्ने काम गर्छ । नेपालमा यो क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ता औंलामा गन्न सकिने थिए ।

कृषि अधिकृत बने पनि मन अनुसन्धानमै

स्नातकोत्तर अध्ययनकै क्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि अधिकृतका लागि विज्ञापन खोल्यो । उनले प्रतिस्पर्धा गरे र स्थायी कर्मचारीको रूपमा छनोट भए ।

२०७६ साल पुस १ गतेदेखि उनको पोस्टिङ गोरखाको घ्याल्चोकस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको कृषि विज्ञान केन्द्रमा भयो । हालसम्म पनि उनी त्यहीं कृषि अधिकृतका रूपमा कार्यरत छन् । सरकारी जागिरले उनको जिम्मेवारी बढायो । तर कार्यालयको नियमित कामपछि बाँकी समय भने अनुसन्धानकै लागि छुट्याउन थाले ।

अरू धेरै अनुसन्धान कृषि उत्पादन, मल, विषादी वा रोग नियन्त्रणमा केन्द्रित भइरहेका थिए । उनी भने घाँसभित्र फड्किरहने साना जीवहरूको खोजीमा निस्कन्थे । उनको स्नातकोत्तर शोध पनि फट्याङ्ग्राको विविधता तथा ट्याक्सोनोमीमै थियो । नेपालको विभिन्न उचाइमा रहेका धानखेतहरूमा कस्ता–कस्ता फट्याङ्ग्रा पाइन्छन् भनेर उनले अध्ययन गरे ।

त्यसक्रममा करिब २५८, ७५८, १२५८ र १७५८ मिटर उचाइका क्षेत्रमा पुगेर उनले नमूना संकलन गरे । अध्ययनले उचाइ अनुसार फट्याङ्ग्राका प्रजाति फरक–फरक हुने तथ्य देखायो । त्यो अनुसन्धानले उनलाई एउटा नयाँ संसारतर्फको ढोका खोलिदियो ।

नेपालमा लगभग शून्यबाट शुरु भएको अनुसन्धान

नेपालमा इन्टोमोलोजीमा धेरै अध्ययन भए पनि ट्याक्सोनोमी भने लगभग उपेक्षित क्षेत्र थियो । कीराको सही पहिचान गर्ने विशेषज्ञ नै थिएनन् ।

कसैसँग प्रश्न सोध्यो भने जवाफ दिने व्यक्ति भेटिंदैनथ्यो । जवाफ पाए पनि त्यसको वैज्ञानिक आधार बुझाइदिने मार्गदर्शक थिएनन् । त्यसमाथि फट्याङ्ग्राको अध्ययन सजिलो पनि थिएन ।

सामान्य मानिसले एउटै देख्ने दुई प्रजाति बीच कहिलेकाहीँ एउटा सूक्ष्म काँडो, पखेटाको नसाको बनावट वा जननेन्द्रियको आकारले मात्रै फरक छुट्याउँछ ।

यस्ता विशेषता अध्ययन गर्न विशेष लेन्स भएको माइक्रोस्कोप चाहिन्छ । नेपालमा त्यस्ता उपकरण सीमित थिए ।

डीएनए सिक्वेन्सिङको सुविधा पनि पर्याप्त थिएन । कानूनी जटिलता पनि थिए । कानूनी रूपमा नेपालबाट कुनै पनि स्याम्पल सिक्वेन्सिङ वा परीक्षणका लागि विदेश पठाउन पाइँदैन । स्याम्पल पठाउन नपाइने भए पनि पीसीआर प्रडक्ट्स (स्याम्पलको डीएनएलाई एम्प्लिफाई गर्ने वा धेरै कपी बनाउने विधि) पठाउन पाउने भन्ने उनले सुनेका थिए ।

तर पीसीआर गरेर बाहिर पठाउँदा पनि धेरै रकम खर्च हुने भएकाले अध्ययन गर्न धेरै गाह्रो भयो । ‘नेपालमा केही सीमित ल्याब छन् जसले जिन सिक्वेन्सिङको सुविधा दिन्छन् । मैले एउटा ल्याबमा बुझेको पीसीआर गरेर कोरिया पठाउने गरिन्छ रे जिन सिक्वेन्सिङको लागि’ सुवेदीले भने, ‘यस्ता विविध कारण थिए जसले गर्दा अध्ययन जटिल भयो तर मैले हार मानिनँ ।’

आर्थिक स्रोत सीमित थियो । फण्ड पनि थिएन । मार्गदर्शक पनि थिएनन् । तर उनमा जान्ने, बुझ्ने र नयाँ तथ्य पत्ता लगाउने खुल्दुली थियो ।

नौलो त के भने ती ‘भुइँफड्के’लाई पनि उनले नेपालका चर्चित व्यक्तित्व, आफूलाई अनुसन्धानमा सघाउने गुरुहरू र स्थान विशेषलाई जोडेर नामकरण गरेका छन् ।

जर्मनी पुगेको एउटा इमेल

नेपालमा सहयोग गर्ने कोही नपाएपछि उनले अन्तर्राष्ट्रिय अनुसन्धानकर्तालाई खोज्न थाले । त्यसक्रममा उनको भेट कागजमा छापिएको एउटा नामसँग भयो– जर्मनीका प्रसिद्ध अर्थोप्टेरा अनुसन्धानकर्ता सिग्फ्रिड इन्ग्रिस ।

इन्ग्रिसले सन् १९८७ देखि २००६ सम्म नेपालका फट्याङ्ग्राबारे धेरै महत्त्वपूर्ण अनुसन्धान गरेका थिए । उनले मात्रै नेपालबाट करिब ३११ प्रजातिको अभिलेख तयार पारेका थिए जसमध्ये करिब ६० प्रजाति उनले नै पत्ता लगाएका थिए।

मदनले इन्ग्रिसलाई एउटा इमेल लेखे । शायद जवाफ नआउला भन्ने अनुमान थियो । तर केही दिनमै उत्तर आयो । इन्ग्रिसले अनुसन्धानपत्र पठाइदिए । नमूनाबारे छलफल गरे । वर्गीकरणका जटिल पक्ष सिकाए ।

नेपालबाट शुरु भएको एउटा सानो अनुसन्धान जर्मनीसँग जोडियो । पछि अर्का जर्मन अनुसन्धानकर्ता टुम्रिङसँग पनि मदनको सम्पर्क भयो । उनले नेपालका भुइँफड्केको सूची तयार पार्ने काम गरेका थिए ।

मदनले ‘द अर्थोप्टेरिस्ट सोसाइटी’ मार्फत अन्तर्राष्ट्रिय जगतमा सहयोगको हात फैलाए । क्रोएसियाका योसिफ स्केयो र निको कासलो जस्ता अनुसन्धानकर्ताबाट पनि मदनले साथ पाए ।

साथै उनले फट्याङ्ग्राको अनुसन्धानका लागि ‘द अर्थोप्टेरिस्ट सोसाइटी’बाट १५०० डलरको फण्ड समेत पाए । ‘सन् २०१९ तिरको कुरा हो । त्यो फण्डबाट मैले एक लाख ४५ हजार जति खर्च गरेर क्याननको क्यामेरा किनें । मलाई क्यामेरा चलाउन पनि आउँदैनथ्यो । तर आफैं सिकें’ सुवेदीले अनलाइनखबरसँग भने, ‘मैले माइक्रोस्कोपको सट्टा त्यही क्यामेरालाई फट्याङ्ग्राको रिसर्चमा प्रयोग गरें । त्यो क्यामेरालाई अहिले पनि सुरक्षित राखेको छु ।’

उनले विदेशी गुरुहरूको भिडियो कल र गुगल डक्सको सहयोगमा अनुसन्धान पनि जारी राखे । त्यतिबेलासम्म नेपालमा ६५ भन्दा केही बढी भुइँफड्के फट्याङ्ग्राका प्रजाति अभिलेखमा थिए । तर मदनको अनुसन्धानले आज त्यो संख्या ८० नाघिसकेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मदन सुवेदी

पत्ता लगाए फट्यांग्राका नयाँ वंश र प्रजाति, दिए नेपाली नाम

स्नातकोत्तर पढ्ने क्रममा फट्याङ्ग्रा संकलनका लागि उनी कोशीदेखि सुदूरपश्चिमसम्म पुगे । भांग्रो र पारदर्शी प्लास्टिकको बट्टा बोकेर हिंडे । नौला लागेका जति संकलन गरे । त्यसको जीवनचक्र पढे । अनि नयाँ पुष्टि भएपछि आफ्नो शोध अनुसन्धान विज्ञान जर्नलमा प्रकाशित गर्दै थिए ।

‘शुरु शुरुमा मैले सबै प्रकारका कीराफट्याङ्ग्रा संकलन गर्थें, तिनले खाने घाँस राखिदिन्थें । तर पछि ट्रेटिगिटी परिवारभित्रका ग्राउन्ड होपरमा मात्र केन्द्रित भएँ’ मदन भन्छन्, ‘ट्रेटिगिटी परिवारभित्रका ग्राउन्ड होपर प्रजातिलाई मैले भुइँफड्के भनेर नेपाली नाम दिएको छु । किनभने त्यसको नेपाली नाम नै थिएन ।’

नौलो त के भने ती ‘भुइँफड्के’लाई पनि उनले नेपालका चर्चित व्यक्तित्व, आफूलाई अनुसन्धानमा सघाउने गुरुहरू र स्थान विशेषलाई जोडेर नामकरण गरेका छन् ।

उदाहरणका लागि उनले सन् २०२० तिर पहिलो पटक गोरखाको घ्याल्चोकको नेत्रज्योति आधारभूत विद्यालय नजिक फेला पारेको नयाँ भुइँफड्केलाई उनले आफ्नो अनुसन्धानमा सहयोग गर्ने योसिफ स्कियो र नेत्रज्योति विद्यालयको संयोजनबाट ‘स्केयोटेट्टिक्स नेत्रज्योति’ नाम दिए । त्यसलाई भेटेको एक वर्षपछि बल्ल नयाँ प्रजाति हो भन्ने पुष्टि भएको थियो । यसबारे सन् २०२२ मा रिसर्च पेपर पनि उनले प्रकाशित गरे ।

दोस्रो नयाँ प्रजाति भने उनले गृहजिल्ला पर्वतको बाजुङस्थित आफ्नै घरछेउ पत्ता लगाए । त्यसलाई पनि उनले आफ्नो रिसर्चमा सहयोग गर्नेकै नामबाट ‘स्केयोटेट्टिक्स कासलो’ नाम दिए । ‘नेपालीमा भने त्यसलाई ‘बाजुङको भुइँफड्के’ नाम दिएको छु’, उनी भन्छन् ।

कर्मथलो गोरखा घ्याल्चोककै तिरतिरे खोलाछेउमा भेटिएको तेस्रो प्रजातिलाई उनले नेपाली हास्यव्यंग्य लेखनका शिखर पुरुष भैरव अर्यालसँग जोडेर ‘अर्यालीडोन्टा इतिश्री’ नाम दिएका छन् । ‘भैरव अर्यालका निबन्धहरू पढ्ने, उहाँको जीवनबाट प्रेरणा लिएको हुनाले मैले उहाँको सम्मानमा यो नाम राखेको हुँ’, मदन भन्छन् ।

यसैगरी भैरव अर्यालका मित्र एवम् साहित्यकार तथा पत्रकार रोचक घिमिरेको नामको संयोजनबाट अर्को एक नयाँ प्रजातिको नाम उनले ‘अर्यालीडोन्टा रोचकी’ राखेका छन् । ‘उहाँहरू दुवै जनाको नाम सधैंभरि सँगै होस् भन्ने हिसाबले मैले यो नाम राखेको हुँ’, उनी भन्छन् ।

यसैगरी राजा महेन्द्र वीरविक्रम शाहको नामबाट ‘स्केयोटेट्टिक्स महेन्द्राइ’, मदनकृष्ण र हरिवंश आचार्य (महजोडी)को नामबाट ‘स्केयोटेट्टिक्स महजोडी’, लोकगायक झलकमान गन्धर्वको नामबाट ‘लेमेलिटेट्टिगोडेस झलकमानी’ र नेत्र विशेषज्ञ सन्दुक रुइतको नामबाट ‘हेवार्डिटिक्स सन्दुकी’ नाम उनले राखेका छन् । ‘उहाँहरूलाई संसारले चिनोस् भन्ने हिसाबले यस्तो नाम दिएको हुँ’, मदन भन्छन् ।

यसैगरी साथीहरूसँग होली मनाउन कपिलवस्तु जाँदा बृजताल छेउमा फेला परेको एक अर्को नयाँ प्रजातिलाई उनले स्थानीय थारू भाषा अनुसार ‘मोटबोटवा’ नाम राखे । ‘मोट भनेको मोटो र बोटवा भनेको थारू भाषामा फट्याङ्ग्रो हो’ मदन अर्थ्याउँछन्, ‘यो मैले दुई वर्षअघि पत्ता लगाएको थिएँ, त्यसको रिसर्च पेपर पब्लिस भएको डेढ महिना जति भयो ।’

अछामको रामारोशनमा फेला परेको अर्को प्रजातिको नाम चाहिं उनले श्रीमती समिताको नामबाट ‘हेडोटेट्टिक्स समिते’ राखेका छन् । उनकी श्रीमती हाल झापाको कनकाइ नगरपालिकामा कृषि प्रसार अधिकृतको रूपमा कार्यरत छिन् ।

फट्याङ्ग्राको खोजीमा कपिलवस्तु, चितवन, पर्वत, गोरखादेखि अछामको रामारोशनसम्म पुगेको उनी बताउँछन् । उनका अनुसार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मात्रै भुइँफड्केका ११ प्रजाति फेला परेका छन् । तीमध्ये पाँचवटा मदन आफैंले फेला पारेका हुन् । तिनीहरूको व्याख्या र वर्गीकरण सहितको अनुसन्धानपत्र उनले निको र योसिफको सहकार्यमा प्रकाशित गरेका छन् ।

राजा महेन्द्र, महजोडी, झलकमान गन्धर्व, सन्दुक रुइत र रोचक घिमिरेको नाम दिइएका प्रजाति शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमै फेला परेका हुन् ।

अनुसन्धानकर्ता सुवेदीले हालसम्म फट्यांग्राका १२ नयाँ प्रजाति र ३ नयाँ वंश पत्ता लगाएर संसारमा नयाँ परिचय दिलाएका छन् । यो योगदानको सम्मान गर्दै अष्ट्रेलियामा पत्ता लागेको फट्याङ्ग्राको एक नयाँ प्रजातिको नाम मदन सुवेदीको नाममा राखिएको छ ।

उनले पछिल्लो पटक पत्ता लगाएको भुइँफड्केको नयाँ प्रजातिलाई ‘हिबोएला रामपुरियाना’ नाम दिएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरको रामपुर क्षेत्रमा फेला पारेकाले त्यसलाई सोही ठाउँसँग मिल्दोजुल्दो नाम दिएका हुन् ।

अर्को एक प्रजाति भने उनले बारा जिल्लाको तामागढीमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा पत्ता लगाएका छन् । त्यसलाई उनले ‘थोतेभुत्ले भुइँफड्के’ नामले चिनाएका छन् ।

अनुसन्धानकर्ता सुवेदीले हालसम्म फट्यांग्राका १२ नयाँ प्रजाति र ३ नयाँ वंश पत्ता लगाएर संसारमा नयाँ परिचय दिलाएका छन् ।

उनले पत्ता लगाएका नयाँ वंश हुन्– स्केयोटेट्टिक्स (Skejotettix), अर्यालीडोन्टा (Aryalidonta)इन्ग्रिसाना (Ingrischana)

उनले पत्ता लगाएका नयाँ प्रजातिमा स्केयोटेट्टिक्स नेत्रज्योति (Skejotettix netrajyoti), स्केयोटेट्टिक्स कासलो (Skejotettix kasalo), अर्यालीडोन्टा इतिश्री (Aryalidonta itishreea), हेडोटेट्टिक्स समिते (Hedotettix samitae), अर्यालीडोन्टा रोचकी (Aryalidonta rochaki), हेबार्डिटेट्टिक्स सन्दुकी (Hebarditettix sanduki), लामेल्लिटेट्टिगोडेस झलकमानी (Lamellitettigodes jhalakmani), स्केयोटेट्टिक्स महजोडी (Skejotettix mahajodi), स्केयोटेट्टिक्स महेन्द्राइ (Skejotettix mahendrai), हिबोएला मोटबोटवा (Ingrischana motbotawa), इन्ग्रिसाना एस्पिनोसा (Ingrischana aspinosa) र हिबोएला रामपुरियाना (Hyboella rampuriana) पर्छन् ।

यीमध्ये अधिकांश प्रजाति गोरखा, पर्वत, अछाम, कपिलवस्तु, कास्की, संखुवासभा र चितवनका विभिन्न स्थानबाट अभिलेख गरिएका हुन् ।

यसका साथै उनले ग्रासहोपरका फ्लेओबा एन्टेनाटा (Phlaeoba antennata), बिब्राक्टे बर्माना (Bibracte burmana), क्यारियान्डा काचारा (Caryanda cachara), गोनिस्टा बाइकलर (Gonista bicolor), अकान्थालोबस कर्टिकर्निस (Acanthalobus curticornis), अकान्थालोबस इनोर्नाटस (Acanthalobus inornatus), कोप्टोटेट्टिक्स प्रोब्लेमाटिकस (Coptotettix problematicus), युपाराटेट्टिक्स बाल्टेआटस  (Euparatettixbalteatus) र बोलिभारिटेट्टिक्स इन्सिग्निस (Bolivaritettix insignis) सहित नौ प्रजातिलाई नेपालका लागि पहिलो पटक अभिलेखीकरण गरेका छन् ।

उनले पत्ता लगाएका पहिला दुई नयाँ प्रजातिहरू पोखरास्थित अन्नपूर्ण प्राकृतिक संग्रहालयमा र केही गोरखाको घ्याल्चोकस्थित कार्यालयमा संग्रहित गरेका छन् ।

उनको यो पहलले नेपालका फट्यांग्रा विविधताको वैज्ञानिक अभिलेख विस्तार गर्नुका साथै देशको कीट वर्गीकरण (ट्याक्सोनोमी) अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

अष्ट्रेलियामा पत्ता लागेको नयाँ प्रजातिले पायो सुवेदीको नाम

यही योगदानको सम्मान गर्दै अष्ट्रेलियामा पत्ता लागेको फट्याङ्ग्राको एक नयाँ प्रजातिको नाम मदन सुवेदीको नाममा राखिएको छ ।

क्रोएसियाका शोधकर्ताहरूले अष्ट्रेलियाको जंगलमा पत्ता लगाएको नयाँ प्रजातिलाई ‘पेरासेल्पा सुवेदी ‘ (Peraxelpa Subedi) नाम दिएका हुन् । ‘म अष्ट्रेलिया गाको पनि छैन तर मेरो नामको प्रजाति विश्वको कुनै कुनामा डुलिरहेको छ भन्ने सुन्दाखेरि खुशी र अनौठो लाग्छ’, सुवेदी भन्छन् ।

क्रोएसियाका योसिफ स्केयो र निको कासलोले अष्ट्रेलियामा ११ प्रकारका नयाँ प्रजाति पत्ता लगाएका थिए । तीमध्ये एउटालाई सुवेदीसँग जोडेर नाम राखिएको हो ।

चुनौती र सन्तुष्टिको सन्तुलन

सुवेदीका अनुसार भुइँफड्के प्राय: ओसिलो, पानीको स्रोत छेउछाउ र धान खेतमा भेटिन्छन् । यिनले मलिलो माटो, लेउ र झ्याउ खाएर बाँच्छन् । यिनले बालीनालीलाई हानि गर्दैनन् । बरु यिनीहरू माकुरा, भ्यागुता, चराचुरुंगीको आहारा बन्छन् ।

कोशीदेखि सुदूरपश्चिमसम्म पुगेर भुइँफड्केको अनुसन्धान गरेका सुवेदी भन्छन्, ‘यी भुइँफड्के फट्याङ्ग्राहरू बालीनालीमा लाग्ने शत्रु होइनन्, पारिस्थितिक प्रणालीका महत्वपूर्ण ‘बायो–इन्डिकेटर’ (वातावरणीयसूचक) हुन् ।’

एमएस्सीमा थेसिस गर्ने बेला उनका झोलामा क्यामरा र पारदर्शी प्लास्टिकका बट्टा छुट्दैनथे । कुनै फट्याङ्ग्रो नयाँ जस्तो लाग्नासाथ त्यसलाई त्यही बट्टामा राख्थे, फट्याङ्ग्राले प्राय: खाने सिरु जातको घाँस बेला–बेला राखिदिन्थे । बट्टाको मुखमा हावा छिर्ने कपडाको टुक्राले ढाकेर रबर ब्यान्ड लगाइदिन्थे ।

त्यसो हुँदा बट्टाभित्र भएका फट्याङ्ग्रालाई अक्सिजन पुग्ने र लामो समय बाँच्ने गर्थे । धेरै फट्याङ्ग्रा संकलन गर्न भांग्रो प्रयोग गर्थे । त्यो भांग्रो उनले पर्वतको आफ्नो गाउँ नजिकका मगर समुदायलाई बुन्न लगाएका थिए ।

अहिले उनी यो भन्दा वैज्ञानिक प्रक्रिया अपनाउँछन् । थेसिस गर्ने बेला उनले मुख्यतः ठूला आकारका फट्याङ्ग्राहरूको अध्ययन गरेका थिए । ती अधिकांश एक्रिडिडी र पिरगोमोर्फिडी परिवारका थिए।

अहिले भने उनी टेट्रिगिडी परिवारमा पर्ने ग्राउन्डहोपरहरूको अध्ययन गरिरहेका छन् । यी आकारमा निकै साना हुन्छन् (सामान्यतया २ सेन्टिमिटरभन्दा पनि कम) । अहिले उनी यही समूहमा केन्द्रित भएर अनुसन्धान गरिरहेका छन् ।

‘हाल म ‘किलिङ जार’ प्रयोग गर्छु । त्यसमा इथाइल एसिटेट नामक रसायन प्रयोग गरिन्छ, जसले कीराहरूलाई सजिलै मार्न मद्दत गर्छ’ सुवेदीले भने, ‘त्यसपछि मरेका कीरालाई खिया नलाग्ने इन्सेक्ट पिनमा कोपेर सुरक्षित राखिन्छ र त्यसको मोर्फोलोजी अर्थात् बाह्य बनावटको अध्ययन गरिन्छ ।’

कार्यालय समय बाहेकको समय र सार्वजनिक बिदाको दिनलाई उनी अध्ययन अनुसन्धानमा लगाइरहेका छन् । यसै वर्ष उनले राष्ट्रिय निकुञ्जहरूमा अनुसन्धानमा जाने योजना बनाएका छन् । त्यसका लागि निकुञ्ज कार्यालयहरूमा अनुमतिका लागि निवेदन दिएको उनले बताए ।

अनुसन्धानको बाटो सहज छैन, त्यो पनि कीराफट्याङ्ग्राको । तर पनि आफ्नो रुचिको क्षेत्र भएकाले उनी निरन्तर अनुसन्धानमा सक्रिय छन् । तमाम कठिनाइका बाबजुद नतिजा भन्दा पनि खोजको प्रक्रियाले बढी आनन्द मिल्ने उनले बताए ।

उनी गोरखाको घ्याल्चोकमा बसेर कृषि अधिकृतका रूपमा किसानलाई सेवा दिइरहेका छन् भने अर्कोतिर फट्याङ्ग्राको वर्गीकरणमा विश्वकै लागि नयाँ तथ्यहरू थपिरहेका छन् । नेपालको जैविक विविधतामा इँटा थप्दै गरेका मदन सुवेदी विज्ञान र अनुसन्धानमा समर्पित एक प्रेरणादायी युवक हुन् । संक्षिप्तमा उनी आफ्नो परिचय आफैं दिन्छन्– ‘म त भुइँफड्के खोज्ने भुइँमान्छे ।’

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।