+

अर्गानिक चेतना रोपिरहेको छहारी फार्म

खेतीमा रासायनिक मल प्रयोग नगर्ने अभियान चलाउन त सहज छ तर विकल्प के ? चितवनका विपन्न चेपाङ किसानहरूले सोधेको यही प्रश्नले दिपेश नेपाललाई रातभरी ऐंठन भयो। त्यही प्रश्नले जन्मायो - छाहारी फार्म। कृषि क्याम्पसका साथीहरूसँग मिलेर शुरु गरेको सानो तरकारी खेती अहिले व्यावसायिक मात्र बनेको छैन, खाद्यका लागि कृषि अभियान मार्फत २२ जिल्लामा जैविक कृषि जागरण यात्रा सम्पन्न भएको छ।   
पूरा सूची
Shares
दीपेश नेपाल  
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि स्नातक दीपेश नेपालले रासायनिक विषादीको प्रयोग विना नै व्यावसायिक र नाफामूलक प्राङ्गारिक कृषि प्रणालीको सफल अभ्यास गरेका छन्।
  • सिन्धुलीमा सञ्चालित छाहारी फार्ममार्फत उनले ११ युवाको समूहलाई जोडेर प्राङ्गारिक उत्पादन र स्थानीय स्रोतको प्रयोगमा आधारित दिगो कृषि मोडल प्रस्तुत गरेका छन्।
  • उनले रासायनिक मलमा राज्यको ठूलो बजेट खर्च भइरहेकोमा चिन्ता व्यक्त गर्दै पर्यावरणीय कृषि प्रवर्द्धनका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।

समाजमा एउटा बलियो भाष्य स्थापित छ– विज्ञान पढेका मेधावी विद्यार्थी कि डाक्टर/इन्जिनियर बन्छन् कि त युरोप, अमेरिका वा अष्ट्रेलिया उड्छन्। यो स्थापित भाष्यलाई भत्काउँदै माटो, प्रकृति र दिगो भविष्यको खोजीमा होमिएका एक युवा हुन्- दीपेश नेपाल।

आधुनिकता र रासायनिक कृषिको मोहमा फसेको राज्य संयन्त्रलाई आफ्नै खेतको माटोबाट चुनौती दिइरहेका दीपेश यतिबेला पर्यावरणीय कृषिका प्रखर अनुसन्धानकर्ता, अभियन्ता र युवा कृषक बनेका छन्।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा २०५५ सालमा जन्मिएका दीपेशको बाल्यकाल धान, मकै र कोदोको निर्वाहमुखी खेतीमै बित्यो। शिक्षक बुवाआमाको घरमा आर्थिक अभाव नभए पनि पहाडी कृषि कर्म कहिल्यै टुटेन।

दुई-चारवटा गाईभैंसी र टन्न बाख्रा सधैं हुन्थे। दीपेशको दैनिकी नै कि त घरमा खाना पकाउने, कि बाख्रा हेर्न जाने र घाँसको भारी गोठमा फालेर स्कूल जाने हुन्थ्यो।

तर, उनी सानैदेखि अलि विद्रोही र नेतृत्व लिन तम्सिने स्वभावका थिए। कक्षा ५ देखि नै जुनियर रेडक्रस सर्कलको नेतृत्व गरेका उनी गाउँमा कुनै सभा–समारोह हुँदा माइक देख्नै नहुने स्वभावका थिए। मलाई कसैले नबोलाए पनि जबर्जस्ती माइक खोसेर बोल्ने बानी थियोउनी बाल्यकाल सुनाउँछन्, ‘नेतृत्व गर्न सानैदेखि औधी मन पर्थ्यो।

कक्षा ७/८ तिर पुग्दा स्कूलको बेथिति देखेर आन्दोलन गर्ने, घरमा प्रश्न गर्ने र राति घर नबसी गाउँतिर हिंड्ने उनको बागी स्वभाव थियो।

बागबजारले बदलेको डाक्टर बन्ने सपना

२०६८ सालमा मोलुङकै श्री शिवदूती माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी पास गरेपछि उनी काठमाडौं आए। गोल्डेन गेट इन्टरनेसनल कलेजबाट प्लस-टु विज्ञान पढेपछि उनको एउटै हुटहुटी थियो– डाक्टर बन्ने।

दुई वर्षसम्म कडा तयारी गर्दा पनि नाम निस्किएन। त्यसपछि उनी अस्कल क्याम्पसमा ‘माइक्रोबायोलोजी’ पढ्न भर्ना भए।

यसैबीच उनको जीवनमा एउटा यस्तो घटना घट्यो, जसले उनको बाटो नै मोडिदियो। बागबजारको बाटोमा हिंड्दै गर्दा चिन्दै नचिनेका एक जनाले उनको हातमा एउटा पम्प्लेट थमाए। अनि भने– भाइ, यो एग्रिकल्चर पढ्यो भने पास भएको भोलिपल्टै सरकारी जागिर पाइन्छ, कम्पिटिसन नै छैन।

त्यही एउटा वाक्यले उनलाई कृषितर्फ तान्यो। अस्कल क्याम्पसमा पढ्दै गरेको माइक्रोबायोलोजी छाडेर उनले कृषिको प्रवेश परीक्षाको तयारी गरे। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कृषिका लागि ३०० सिटमा ६ हजारभन्दा बढीले प्रतिस्पर्धा गरेका थिए। उनी उत्तीर्ण भए र लमजुङ क्याम्पसमा भर्ना भए।

किताब छाडेर माटोसँग साइनो

भोलिपल्टै जागिर पाइन्छ’ भनेर देखाएको सपना बोकेर लमजुङ पुगेका दीपेशका लागि त्यो क्याम्पस सर्टिफिकेट लिने थलो बनेन, बन्यो त कृषिकर्मको वास्तविक प्रयोगशाला।

लमजुङ क्याम्पसको माहोल निकै राजनीतिक थियो। सानैदेखि माइक खोसेर बोल्ने दीपेशलाई त्यो माहोलले तानिहाल्यो। उनी विद्यार्थी राजनीतिमा सक्रिय भए। तर, कृषि पढ्न आएपछि किताबका पाना घोकेर मात्र हुँदैन, खेतमै पसिना बगाउनुपर्छ भन्ने चेत उनमा पहिलो सेमेस्टरमै पलायो। उनले साथीहरूलाई भेला पारेर भने, ‘हामी आफैं खेती गरौं।

क्याम्पस नजिकै ४ रोपनी जग्गा भाडामा लिएर उनीहरूले ‘गोल्डेन एग्रो फार्म’ शुरु गरे। शुरुमा जग्गाधनीले वार्षिक ५ हजार रुपैयाँ भाडा तोकेका थिए। तर, जब ती जग्गाधनीले कृषि पढ्ने विद्यार्थीको मिहिनेत र लटरम्म फलेको तरकारी देखे, उनी यति खुशी भए कि भाडा लिनै मानेनन्।

त्यो जग्गा क्याम्पसकै लागि एउटा प्रदर्शनस्थल जस्तो बन्यो। दीपेश र उनको टोलीले त्यहाँ जुकिनी, क्याप्सिकम (भेडे खुर्सानी), तने बोडीदेखि विभिन्न मौसमी तरकारी फलाए। तरकारी बेचेर करिब २४ हजार रुपैयाँ खुद नाफा कमाए। त्यही पसिनाको कमाइले पूरै सेमेस्टरका साथीहरू मिलेर भव्य पिकनिक खाइयो‘, उनले रमाइलो पारामा सुनाए।

कोभिड-१९ को लकडाउनले गर्दा चार वर्षे कोर्स सक्न साढे चार वर्ष लागे पनि उनीहरू प्राविधिक ज्ञानले निखारिएर बाहिर निस्किए।

निदाउन नदिने चेपाङ बस्तीको त्यो दृश्य

स्नातक सकेपछि दीपेश कीर्तिपुर फर्किए। त्रिभुवन विश्वविद्यालयमा कृषि प्रसार विषयमा स्नातकोत्तर पढ्दै गर्दा उनलाई ‘फरेस्ट एक्सन नेपाल’ नामक गैरसरकारी संस्थामा इन्टर्नसिप गर्ने अवसर मिल्यो।

त्यो संस्था ‘खाद्यका लागि कृषि अभियान’ को सचिवालय थियो। यो अभियान विभिन्न एनजीओ/आईएनजीओ, राष्ट्रिय कृषक समूह महासंघ र कृषि पत्रकारहरू आबद्ध एउटा बृहत् सञ्जाल हो। दीपेशको मुख्य काम त्यही अभियानलाई संयोजन गर्ने थियो।

यसै सिलसिलामा उनी इच्छाकामना गाउँपालिकास्थित चेपाङ बस्ती पुगे। भर्खरै जङ्गल फाँडेर टनेल खेती शुरु गरेको त्यो सीमान्तकृत समुदायले अन्धाधुन्ध रूपमा रासायनिक विषादीको प्रयोग गरिरहेको थियो।

किताबी ज्ञान बोकेका दीपेशले उनीहरूलाई विषादी प्रयोग नगर्न सम्झाए। तर, जब किसानले ‘त्यसो भए के हाल्ने त?’ भनेर उल्टो प्रश्न गरे, दीपेशसँग दिने कुनै व्यावहारिक जवाफ थिएन।

दीपेशको टोलीले उखुबाट सख्खर (भेली) बनाएर सिधै १२ सय उपभोक्ताको भान्सासम्म पुर्‍यायो। त्यसबाट एकै सिजनमा साढे ५ लाख रुपैयाँ आम्दानी भयो।

आफूसँग प्राविधिक ज्ञान केही नहुने, तर भर्खरै घर बसालेर खेती शुरु गरेका सीमान्तकृत किसानलाई गएर अर्ती मात्रै दिने? यो दोहोरो चरित्रले मलाई भित्रैदेखि खायोउनी सम्झिन्छन्, ‘त्यो घटनापछि मलाई राति ऐंठन हुन थाल्यो। एकातिर म सरकारी जागिर खाने सपना देख्दै थिएँ, अर्कोतिर किसानलाई विकल्प दिन नसकेकोमा ग्लानि भइरहेको थियो।

यही मानसिक तनावपछि उनले निर्णय लिए- कि देशमै यो समस्याको समाधान खोज्ने, कि विदेश जाने। घरमा आमाबुबासँग सल्लाह गरेपछि उनले विदेश नजाने र खेती नै गर्ने निधो गरे। त्यहींबाट शुरु भयो उनको मस्तिष्कमा कृषि क्रान्ति ।

विषादी विनाको ‘छाहारी फार्म’

शुरुमा उनले काभ्रेमा २६ रोपनी जग्गा २० वर्षका लागि लिजमा लिएर ‘उब्जनी’ फार्म शुरु गरे। त्यहाँ उनले शहरी कृषिका मोडलहरू (शून्य लागतको कौसी खेती) र ६८ थरीका फलफूल सहितको पर्माकल्चर गार्डेन बनाए।

मिडिया मार्फत पर्यावरणीय कृषिको वकालत गर्न थालेपछि उनले पढेलेखेका र नीति निर्माण तहमा बसेका मानिसहरूबाटै एउटा नमीठो टिप्पणी सुने- ‘पर्यावरणीय कृषि र विषादीरहित खेती भनेको सोखका लागि मात्र हो, यसलाई ठूलो स्केलमा व्यावसायिक रूपमा गर्न सकिंदैन।’

यो भाष्यलाई गलत साबित गर्न दीपेशले अर्को ठूलो जोखिम मोलेका छन्। सिन्धुलीको कमलामाई–९, काउछेमा एउटा सहकारीले चलाउन नसकेर अलपत्र छाडेको १० बिघा जग्गा २० वर्षका लागि लिजमा लिएका छन्। वार्षिक ४ लाख १० हजार रुपैयाँ भाडा तिर्ने गरी शुरु गरिएको यो फार्मको नाम हो– ‘छाहारी फार्म’।

यस फार्ममा उनले आफू जस्तै युवा पुस्ता (जेनेरेसन- जी र मिलेनियल्स) का ११ जनालाई जोडेका छन्। उनीहरूको एउटै अठोट छ– फार्मभित्र बाहिरबाट बीउबाहेक कुनै पनि रासायनिक मल वा विषादी प्रवेश गर्न नदिने।

छाहारी फार्ममा चुरे क्षेत्रका रैथाने फलहरू जस्तै: जामुन, अमला, र थाकलका साथै आँप, लिची, एप्पल बयर र रूखकटहर लगाइएका छन्। माछापालनका लागि पोखरीहरू छन्, जहाँ ‘एजोला’ उत्पादन गरिन्छ। ‘नाइट्रोजन फ्याक्ट्री’ भनिने यो एजोलाले माटोमा मलको काम गर्छ भने कुखुरा र हाँसको दानाका रूपमा पनि प्रयोग हुन्छ। मलको सम्पूर्ण आन्तरिक व्यवस्थापन फार्मभित्रैबाट गरिन्छ।

सिन्धुलीको फार्ममा उनीहरूले १२ कट्ठामा प्राङ्गारिक धान खेती गरे। ४ कट्ठाको धान काट्दा १५ मुरी उत्पादन भयो, जुन रासायनिक मल प्रयोग गर्ने गाउँले किसानको भन्दा कम थिएन।

छाहारी फार्ममा उखु पनि उत्पादन हुन्छ। दीपेशको टोलीले उखुबाट सख्खर (भेली) बनाएर सिधै १२ सय उपभोक्ताको भान्सासम्म पुर्‍यायो। त्यसबाट एकै सिजनमा साढे ५ लाख रुपैयाँ आम्दानी भयो। जैविक कृषि व्यावसायिक रूपमै नाफामूलक हुन्छ भन्ने कुरा यसले प्रमाणित गरिदिएको उनी बताउँछन्।

मान्छेले कि विचार फलाउँछ, कि बायोमास’

विगत ६ वर्षदेखि उनी ‘खाद्यका लागि कृषि अभियान’ मा सक्रिय छन्। उनले पूर्वका २२ वटा जिल्लाका हरेक तहमा पुगेर ‘जैविक कृषि जागरण यात्रा’ सम्पन्न गरिसकेका छन्। यस क्रममा ४० भन्दा बढी किसान समूह र विद्यालयका विद्यार्थीलाई निःशुल्क पर्यावरणीय कृषिको तालिम दिएका छन्।

दीपेशका अनुसार अहिले पृथ्वीले तीनवटा ठूला संकट भोगिरहेको छ– जैविक विविधताको ह्रास, जलवायु परिवर्तन र डरलाग्दो प्रदूषण। यी सबैको प्रमुख कारण हाम्रो दोषपूर्ण आधुनिक कृषि प्रणाली हो।

आज हरेक घरमा क्यान्सर र मिर्गौलाका बिरामी छन्, यो सबै हामीले खाइरहेको विषादीयुक्त खानाको कारण होदीपेश भन्छन्, ‘राज्यले रासायनिक मल खरिद गर्न वर्षेनि ३२ अर्ब रुपैयाँ बजेट छुट्याउँछ, तर प्राङ्गारिक कृषिका लागि खोइ? हाम्रा पाठ्यक्रमले अझै पनि कृषिको आधुनिकीकरण भनेकै रसायन र विषादीको प्रयोग हो भन्ने सिकाइरहेका छन्।

उनको विचारमा यो ब्रह्माण्डमा मानिसले मौलिक रूपमा सिर्जना गर्न सक्ने भनेको दुइटा कुरा मात्रै हो- एउटा मानिसको दिमागबाट निस्किने ‘विचार, कला र साहित्य’, र अर्को माटोबाट फल्ने ‘बायोमास’।

बाँकी खनिज पदार्थ निकालेर बनाइने गाडी, प्रविधि वा आईटीका कुराहरू त केवल जडान र व्यवस्थापन मात्र हुन्। त्यसैले यदि साँच्चै उत्पादन गर्ने हो भने माटोमै फर्किनुपर्छ भन्ने उनको जोड छ।

बाँदर र बँदेल जस्ता जंगली जनावरको आतंक, जग्गा लिजमा पाउन बेहोर्नुपर्ने कानूनी झमेला र गाउँमा युवा नहुनु जस्ता दर्जनौं चुनौतीका बाबजुद दीपेशको पाइला रोकिएको छैन। उनी एकातिर विषादीरहित माटो फलाउँदै छन्, अर्कोतिर युवा पुस्ताको दिमागमा एउटा सुन्दर भविष्यको विचार पनि रोपिरहेका छन्।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।