+

संसद्को सँघारबाहिरै छुटेको त्यो रक्तरञ्जित जुत्ता

उनको रक्ताम्य जुत्ता आन्दोलनको आइकन बन्यो। रास्वपाले समानुपातिक उम्मेदवार बनाएपछि उनी बैसाखी टेकेर रातदिन पार्टीको प्रचारमा पनि खटिए। तर सांसद छानिने सूचीमा उनको नाम अटेन। पार्टीको केन्द्रीय सदस्यमा पनि उनी पराजित भए। तर कुनै औपचारिक पद नभए पनि आफ्नो त्यो जुत्ताले सरकारलाई खबरदारी गरिरहनेछ भन्नेमा उनी विश्वस्त छन्।  
पूरा सूची
Shares
प्रकाश बोहरा
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २३ को जेनजी आन्दोलनमा घाइते भएका प्रकाश बोहराको रक्ताम्य जुत्ता आन्दोलनको आइकन बनेको छ र उनी अझै उपचारको क्रममा रहेका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीबाट नाम हटाउँदा सांसद बन्ने अवसर गुमाएका बोहरा पार्टीको महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् ।
  • आन्दोलनबाट बनेको सरकारले घाइतेहरूको अवस्था बुझ्न र उनीहरूका माग सम्बोधन गर्न नसकेको भन्दै बोहराले सरकारको आलोचना गरेका छन् ।

अघिल्लो भदौ २३ मा काठमाडौंको नयाँबानेश्वर सडकमा प्रकाशको रगत पोखियो। सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर सडकमा आएका उनले गोली खाए। उद्धारकर्मीले हतारहतार उनलाई एम्बुलेन्समा राखेर अस्पताल दौडाए।

त्यही दौडादौडमा प्रकाशको जुत्ता सडकमै खस्यो जसलाई अनलाइनखबरका पत्रकार दिनेश गौतमले आफ्नो क्यामरामा उतारे। त्यही रक्तरञ्जित जुत्ताको तस्बिरले विश्वको ध्यान खिच्यो र त्यो आन्दोलनकै आइकन बन्यो। रक्ताम्य जुत्तामा कविले कविता लेखे, गीतकारले गीत र कथाकारले कथा। कतै शालिक बन्यो त कतै कलाकारले क्यानभासमा उतारे।

उक्त जुत्ता दैलेखको नारायण नगरपालिका–८ का प्रकाश बोहराको थियो। परिवर्तनका लागि जेनजी आन्दोलनमा होमिएका उनी नयाँबानेश्वरमा गोली लागेर ढलेका थिए।

हालसम्म उनको मेजर र माइनर गरेर चार वटा अप्रेसन भइसकेको छ। खुट्टामा रड हालिएको छ किनकि हड्डी भाँचिएको छ। अझै ४–५ वर्ष उपचारमै जानेछ। अहिले पनि उनी बैसाखीको सहारामा पाइला चालिरहेका छन्।

उनी आन्दोलनमा नढलेका भए शायद अहिले कतारमा हुन्थे। आन्दोलनमा गोली खाएपछि प्रकाशको जीवनको लयमा अस्तव्यस्त भयो। तर देशले लय समात्यो भने आफ्नो पीडा केही होइन भन्छन् उनी।

रूसमा बचेको ज्यान, नेपालमा गोली

प्रकाशलाई सानैदेखि आर्मी बन्ने रहर थियो। इन्डियन आर्मीमा भर्ना हुने प्रयास गरे पनि उनको इच्छा पूरा हुन सकेन। हेल्थ असिस्टेन्ट पढेका उनले केही समय विभिन्न प्रोजेक्टमा काम गरे। नेपालमा भविष्य नदेखेपछि सन् २०२३ मा विद्यार्थी भिसामा रूस पुगे।

त्यतिबेला रूस र युक्रेन बीच युद्ध चलिरहेको थियो। उनी रूसी सेनामा भर्ती भए। साढे १७ महिना उनले रूसी सेना भएर काम गरे। उनीसँगै भर्ती भएका कति नेपाली साथी युद्ध मैदानमै ढले, कति अङ्गभङ्ग भए। तर उनी सकुशल काम सकेर नेपाल फर्किए।

एक जनाले गोली लागेको खुट्टाको जुत्ता ‘खोल्देऊ न’ भनेको उनलाई याद छ। त्यही जुत्ता बानेश्वर चोकमा छुट्यो। उनलाई भने ट्रमा सेन्टर पुर्‍याइयो। अस्पताल बसाइको आठौं दिन सालोले जुत्ता भाइरल भएको सुनाएपछि मात्र उनले त्यो कुरा थाहा पाए।

‘तर पराइ देशको त्यत्रो युद्धमा जोगिएको ज्यानले आफ्नै देशमा गोली खायो’ उनलाई अझै पनि विश्वास लाग्दैन। फेरि आफ्नै युवाहरूलाई सरकारले गोली किन हान्यो ? उनले त्यसको पनि जवाफ पाएका छैनन्।

देशको बेथिति देखेर अरू युवालाई जस्तै प्रकाशलाई पनि भित्रैदेखि आक्रोश जाग्थ्यो। युवाहरूले बोलाएको आन्दोलनमा साथ दिनुपर्छ भनेर उनी र उनका सालो विप्लव माइतीघर पुगेका थिए। बाइक पार्किङ गरेर नयाँबानेश्वरतर्फ लागे र नारा–जुलुसमा सहभागी भए।

बानेश्वर पुग्दा अश्रुग्यास प्रहार भइरहेको थियो। उनीहरू फर्किएर बिजुलीबजारतिर आए, तर फेरि समूहसँगै बानेश्वरतर्फ नै गए। त्यहाँ केही युवा संसद् भवनको पर्खालको इँट्टा निकालिरहेका थिए, कोही रेलिङ तानिरहेका थिए। एउटा रेलिङ झुन्डिरहेको थियो, त्यो तान्न प्रकाश अगाडि सरे।

‘ड्याङ्ङ गोली चल्यो। मेरै खुट्टामा लागेछ। सर्न खोजेको सकिनँ’, उनी सम्झन्छन्।

एक जनाले गोली लागेको खुट्टाको जुत्ता ‘खोल्देऊ न’ भनेको उनलाई याद छ। त्यही जुत्ता बानेश्वर चोकमा छुट्यो। उनलाई भने ट्रमा सेन्टर पुर्‍याइयो। अस्पताल बसाइको आठौं दिन सालोले जुत्ता भाइरल भएको सुनाएपछि मात्र उनले त्यो कुरा थाहा पाए।

खुट्टै गुमाउने अवस्थामा पुगेका प्रकाशलाई जुत्ताबारे खासै वास्ता थिएन। तर एघारौं दिनमा अस्पतालको सिस्टरसँग मोबाइल मागेर हेर्दा उनले आफ्नो रक्ताम्य जुत्ता आन्दोलनको आइकन बनेको देखे।

चुनावको धपेडी र छुटेको सांसद पद

भदौ २३ र २४ को जेनजी आन्दोलनले देशको राजनीतिलाई नयाँ मोड दियो। पुरानालाई विस्थापित गर्दै नयाँ र वैकल्पिक शक्तिलाई सिंहदरबार पुर्‍यायो। प्रकाशको रक्ताम्य जुत्ता भोट बैंक पनि बन्यो। तर, ज्यानको परवाह नगरी अग्रपङ्क्तिमा उभिएर गोली खाएकाहरू भने अहिले न्याय र आत्मसम्मानको अर्को लडाइँ लडिरहेका छन्।

घाइते प्रकाश पाँच महिना अस्पताल बसेर डिस्चार्ज भए। उनी डिस्चार्ज हुँदै गर्दा प्रतिनिधिसभा निर्वाचनको माहोल बनिरहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई समानुपातिक उम्मेदवार बनाएको थियो। घाउ निको नहुँदै उनी बैसाखी टेकेरै चुनावमा होमिए।

‘आफूले बगाएको रगतले देशमा सही नेतृत्व पाओस्। परिवर्तनको लहर गाउँ–गाउँसम्म पुगोस् र एउटा नयाँ व्यवस्था स्थापना होस् भन्ने हुटहुटीले म चुनावमा होमिएँ’, उनी भन्छन्। बिहान ७ बजेदेखि राति ८–९ बजेसम्म उनी प्रचारप्रसारमा हुन्थे। ‘औषधिले पेलेर, दुखाइलाई दबाएर दिनभर हिंड्थें। खुट्टा सुन्निथ्यो, दुखाइले सीमा नाघ्थ्यो’ उनी भन्छन्, ‘तर देश परिवर्तनको सपनाले पाइलालाई रोक्न दिएन।’

समानुपातिक उम्मेदवार भएकाले उनी घरमै आराम गरेर बस्न पनि सक्थे, तर उनले सजिलो बाटो रोजेनन्। चुनाव सकिएपछि उनी काठमाडौं फर्किए। रास्वपाले दुई तिहाइ नजिकको मत ल्यायो। तर, समानुपातिक सूचीबाट सांसद छान्ने बेला उनको नाम भने छुट्यो किनकि शुरुमा उनको नाम खस आर्य समूहको २ नम्बरमा भए पनि सूची संशोधन गर्दा ४ नम्बरमा पछाडि धकेलिएको थियो । अपाङ्गताको विवरणमा समेत ‘टिक’ लगाइएको थिएन, जसका कारण उनी सांसदतर्फको यात्राबाट बाहिरिन पुगे।

तर अरू धेरै युवा संसद् पुगेकाले घाइते र उत्पीडितहरूको आवाज पुगोस् भनेर उनले पार्टीका शीर्ष नेताहरूसँग माग राखेका थिए। ‘मलाई नै सांसद बनाउनुपर्छ भन्ने थिएन। तर घाइतेको पीडा बुझेको, गोलीको छर्रा बोकेको र सडकको आवाजलाई संसद्‍मा गुन्जाउन सक्ने एक जना प्रतिनिधिलाई पुर्‍याइयोस् भन्ने थियो। त्यो हुन सकेन’, प्रकाश नरमाइलो मान्छन्।

म आज पनि यो देशका लागि परेको खण्डमा गोली खाएर मर्न तयार छु- प्रकाश बोहरा

चुनावी धपेडी र दौडधुपले प्रकाशको शरीरलाई गहिरो असर गर्‍यो। चुनाव सकिएपछि उनी पुनः अस्पताल भर्ना भए। ‘सुरुआती दुई–तीन महिनाको जस्तै छटपटी र पीडादायी अवस्थामा पुगें’ उनी भन्छन्, ‘शरीरले साथ दिन छाडिसकेको थियो, मानसिक रूपमा पनि चोट पुग्यो।’

केन्द्रीय सदस्य बन्ने सपना पनि अधुरै

पार्टीप्रतिको आशा र विश्वास अझै मरेको थिएन। यही बीचमा रास्वपाको प्रथम महाधिवेशन चितवनमा भयो। साथीभाइ र शुभेच्छुकहरूको आग्रहमा उनले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिए।

उम्मेदवारी दिनुअघि उनले पार्टी सभापतिलाई म्यासेज मार्फत र महामन्त्री लगायतका नेताहरूलाई फोन गरेर जानकारी गराएका थिए। महाधिवेशनमा प्रतिनिधिहरूले उनीसँग फोटो खिचाए। ‘ए! तपाईं त त्यही सेतो जुत्तावाला भाइ, जेनजी आन्दोलनको घाइते होइन? भन्दै २५ सयभन्दा बढीले फोटो खिचाए र भोट दिने आश्वासन दिए’, उनी भन्छन्।

तर, पार्टीको डिजिटल भोटिङ प्रणालीमा उम्मेदवारहरूको फोटो राखिएको थिएन। कर्णाली प्रदेशबाट मात्रै ३१ जना चुनावी मैदानमा थिए, जसमा ‘प्रकाश’ नाम गरेका र ‘बोहरा’ थर भएका अन्य उम्मेदवार पनि थिए। वर्णानुक्रममा प्रकाशको नाम बीचमा थियो। फोटो नहुँदा प्रतिनिधिहरू झुक्किए, जसका कारण सोचेभन्दा फरक नतिजा आयो र उनी पराजित भए।

‘तपाईं राष्ट्रको योद्धा हो, बैसाखी टेकेर चुनाव लड्नुपर्दैन। हामी तपाईंलाई सर्वसम्मत मनोनीत गर्छौं भनेको भए ६ दिनसम्म चलेको त्यो महाधिवेशनमा चर्को घाममा बैसाखी टेकेर खुट्टा झुन्ड्याउँदै हिंड्नुपर्ने थिएन’, प्रकाशको गुनासो छ।

चितवनबाट पराजित भएर फर्किएपछि उनी गहिरो मानसिक तनावमा परे। अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीमा आउन र केन्द्रीय सदस्य बन्न ‘अफर’ पनि गरेका थिए। तर, उनले स्वीकार गरेनन् र आफ्नो आत्मसम्मान बचाएर राखे। अब पार्टीका कुनै नेतासँग आफूलाई मनोनीत गरिदिन भन्दै हात जोड्ने पक्षमा पनि उनी छैनन्।

‘सरकारले कुन जगमा टेकेको थियो, बिर्सियो’

जेनजी आन्दोलनको बलमा बनेको सरकारले चार महिना बितिसक्दा पनि शहीद र घाइतेहरूको नाममा श्रद्धाञ्जली वा सहानुभूति प्रकट नगरेको उनको गुनासो छ।

‘प्रधानमन्त्रीप्रति व्यक्तिगत रिसराग छैन। उहाँ राम्रो हुनुहुन्छ, देश बनाउनुस् हाम्रो साथ छ। तर उहाँ कुन धरातलमा टेकेर त्यहाँ पुग्नुभयो भन्ने बिर्सिनुभयो कि भन्ने चिन्ता लाग्छ’, उनी भन्छन्।

अभिभावक बनेर घाइते छोराछोरीलाई ‘तिम्रो हालखबर के छ? औषधि उपचार कसरी भइरहेको छ?’ भनेर सोध्नुपर्नेमा ठ्याक्कै उल्टो भइरहेको उनको अनुभूति छ। ‘घाइतेहरू आफैं आफ्नो डाटा बोकेर कसले रोजगार पायो, को अझै हस्पिटलमा छ भन्ने तथ्याङ्क सङ्कलन गरेर सरकार खोज्दै हिंड्नुपरिरहेको छ। सरकारसँग यसको कुनै विवरण नै छैन’, उनी भन्छन्।

जेनजी घाइते र शहीद परिवारको संस्थाको तर्फबाट शिक्षा, स्वास्थ्य, रोजगारी र दीर्घकालीन व्यवस्थापन समेटिएको २३ बुँदे माग प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा बुझाइएको छ।

आज पनि प्रकाश शारीरिक र मानसिक रूपमा पूर्ण स्वस्थ छैनन्। यति हुँदाहुँदै पनि उनीभित्र आशा मरेको छैन। ‘म आज पनि यो देशका लागि परेको खण्डमा गोली खाएर मर्न तयार छु’, उनी भन्छन्।

सरकारले भदौ २३ र २४ मा बगेको त्यो रगतलाई नभुल्न उनी सचेत गराउँछन्। आन्दोलनका क्रममा सामान्य भिडियो क्लिपमा देखिएकै भरमा वा टाउकोमा गोली लागेर पनि जेलमा कोचिएका निर्दोष युवाहरूको छानबिन गरेर भविष्य बर्बाद हुनबाट बचाउन उनको आग्रह छ।

‘रगतको आहालबाट जन्मिएको यो सरकारले कम्तीमा आफ्ना सिर्जनाकर्तालाई नबिर्सियोस्’ उनी भन्छन्, ‘सरकारमा पुगेकाहरुलाई उनीहरूको जिम्मेवारी सम्झाउन मेरो त्यो रक्ताम्य जुत्ताले अवश्य प्रश्न गरिरहनेछ।’

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।