‘ऊन’ को उत्पादन विश्वभर फैलाउने ‘उन’ को सपना
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको धोबिघाटमा रहेको ओम साइराम फेल्ट प्रोडक्टले हस्तकलाका सामग्रीहरू विश्वका ४० भन्दा बढी देशमा निर्यात गरिरहेको छ।
- मेघराज बुढाथोकीले सञ्चालन गरेको सो उद्योगमा हाल एक हजारभन्दा बढी महिलासहित करिब १५०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
- निर्यातमुखी उद्योगका लागि राज्यले स्पष्ट नीति, कर सहुलियत र कच्चा पदार्थको सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने अध्यक्ष बुढाथोकीको माग छ।
ललितपुरको धोबिघाटमा रहेको एउटा ऊन उद्योगभित्र सयौं हात एकसाथ चलिरहेका छन्। कसैले ऊनलाई आकार दिइरहेका छन्, कसैले फूल बनाइरहेका छन्, कसैले खेलौना त कसैले सजावटका सामग्री। मेसिनको ठूलो आवाज कतै सुनिंदैन। किनकि यहाँ सिर्जना गर्ने माध्यम केवल हात हो, सीप र धैर्य हो।
हातले बनेका यी सामग्री बेलायत, अमेरिका, क्यानडा, जापान, नेदरल्यान्ड्स लगायत विश्वका ४० भन्दा बढी देशका घरघरमा सजिन्छन्। नेपाली हस्तकलामा नेपालको मौलिकता मात्र होइन, हजारौं नेपालीको श्रम, सपना र सम्मान पनि जोडिएको हुन्छ।
३४ वर्षीय मेघराज बुढाथोकी ‘ओम साइराम फेल्ट प्रोडक्ट प्रालि‘का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन्। हाल कीर्तिपुरमा बसोबास गर्दै आएका मेघराजको व्यवसायले नेपाल मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा कमाइरहेको छ।
एउटा सानो कोठाबाट शुरु भएको व्यवसायलाई उनले आज नेपालको अग्रणी हस्तकला निर्यात उद्योग बनाएका छन्। कम्पनीले लगातार पाँच वर्ष उत्कृष्ट हस्तकला निर्यातकर्ताको सूचीमा स्थान बनाएको छ भने हाल देशकै ठूलो हस्तकला निर्यातकर्ता बनेको छ।
तर, उनलाई आफ्नो परिचय कारोबारको आकारले होइन, रोजगारीले दिन मन पर्छ। ‘मेरो सबैभन्दा ठूलो सम्पत्ति कम्पनी होइन, मेरो टिम हो‘, उनी भन्छन्।

२०४८ सालमा उदयपुरको मयङ्खु गाउँमा जन्मिएका मेघराजको बाल्यकाल त्यहीं बित्यो। कक्षा ३ पढ्दै गर्दा परिवार सर्लाही बसाइँ सर्यो। एसएलसीपछि उनी काठमाडौं आए र जनमैत्री कलेजमा प्लस–टु पढ्न थाले।
प्लस–टु पढ्दै गर्दा मेघराजका धेरैजसो साथी पासपोर्ट बनाउने र कन्सल्टेन्सी धाउने क्रममा थिए। तर, मेघराजको मन अर्कैतिर भुलिरहेको थियो। उनका दाइ हस्तकला उद्योगमा प्राविधिक काम गर्थे। दाइसँगै विभिन्न फ्याक्ट्री र वर्कसप घुम्ने क्रममा उनले महिलाहरूले हातैले ऊनका थरीथरीका सामान बुनेको देखे। सानैदेखि चित्रकला र सिर्जनामा रुचि भएका उनलाई त्यो दृश्यले लोभ्यायो।
२०६५/६६ सालतिर ३–४ जनाको टोली, थोरै लगानी र एउटा सानो फ्ल्याटबाट उनले हस्तकला उत्पादनको जोखिमपूर्ण यात्रा शुरु गरे। शुरुका दिनमा उनी आफैं पनि भुइँमा बसेर ऊनका सामान बनाउँथे।
त्यतिबेला आफ्नै ब्रान्ड थिएन। उनीहरू सामान बनाएर ठूला निर्यातकर्तालाई दिन्थे। प्याकिङ आफैं गर्थे। सामान पुर्याउनेदेखि हिसाबकिताबसम्म सबै काम आफ्नै काँधमा थियो। पूँजी सानो थियो, अनुभव सीमित थियो, तर सपना ठूलो।
‘गर्दै गयौं, सिक्दै गयौं। हाम्रै कारखाना हाम्रो विश्वविद्यालय बन्यो‘, उनी भन्छन्।
भूकम्पले खोलेको अन्तर्राष्ट्रिय ढोका
२०७२ सालको विनाशकारी भूकम्पलगत्तै ठमेलमा सानो सोरुम खोलेका उनलाई त्यहाँ पुगेका एक बेलायती ग्राहकले सानो अर्डर दिए। त्यो अर्डर इमानपूर्वक र समयमै पूरा गरेपछि ती ग्राहकको विश्वास बढ्यो र अर्डर पनि थपिन थाल्यो।
त्यही ग्राहकसँग शुरु भएको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुँदै आज उनको कम्पनीका उत्पादन विश्वका ४० भन्दा बढी देशमा पुगिरहेका छन्।
न्युजिल्यान्डबाट ल्याइने भेडाको ऊनलाई ललितपुरको उद्योगमा नेपाली दिदीबहिनीहरूको हातबाट कलात्मक रूप दिई बेलायत, अमेरिका, नेदरल्यान्ड्स, क्यानडा र जापान जस्ता विकसित देशमा पुर्याउने क्रममा उनको उद्योग फैलिंदै छ।
हजार महिलाको चुल्हो बाल्ने स्रोत
मेघराजको उद्योग केवल नाफा कमाउने थलो मात्र होइन। हाल उनको उद्योगमा नियमित र आवश्यकता अनुसार गरी १५०० सम्म मजदुर काम गर्छन्, जसमा १ हजारभन्दा बढी त महिला मात्रै छन्।
विशेषगरी सीमान्तकृत समुदायका र विपन्न महिलाले यहाँ सीप सिकेर आत्मसम्मानका साथ आयआर्जन गरिरहेका छन्। कोभिड–१९, नाकाबन्दी, भूकम्प र बाढी जस्ता महाविपत्तिमा पनि उनले उद्योग बन्द गरेनन् र मजदुरको रोजीरोटी टुट्न दिएनन्।
यही काम अर्को देशमा गएर गर्नुभन्दा आफ्नै देशमा बसेर गरौं। यहाँ प्लेटफर्म छ भने अर्को प्लेटफर्म नखोजौं- मेघराज बुढाथोकी
वैदेशिक रोजगारीको भ्रममा परेर ठगिएका वा स्वास्थ्य समस्याका कारण फर्किएका १५–२० जना युवाहरूलाई समेत उनले आफ्नै उद्योगमा रोजगारी दिएका छन्।
उनीसँग काम गर्ने धेरै महिला यस्ता छन्, जो पहिले घरबाहिर काम गर्न निस्किएका थिएनन्। तर, अब धेरैले आफ्नै कमाइबाट छोराछोरी पढाएका छन्, कतिले घर पनि बनाएका छन् भने कतिले वैदेशिक रोजगारीमा गएका श्रीमानमाथिको निर्भरता घटाएका छन्।
श्रीमतीलाई विदेश जानबाट रोक्दा
व्यापार–व्यवसायको क्रममा घरपरिवारलाई समय दिन नभ्याउँदा मनमुटाव हुनु सामान्य हो। तर, मेघराजको हकमा उनको घरपरिवार नै यही व्यवसायमा समर्पित छ।
काठमाडौं घर भएकी अनुजासँग २०६८ सालमा उनको विवाह भयो। त्यतिबेला धेरै युवायुवतीको रोजाइ नै विदेश हुन्थ्यो। विवाह गरेपछि अनुजाले पनि सोचिन्, ‘धेरैजसो बिहे गरेर विदेश गइरहेका छन्। अब म पनि आईईएलटीएस गरेर विदेश जाऊँ कि!‘
तर, मेघराजले उनलाई सम्झाउँदै भने, ‘यही काम अर्को देशमा गएर गर्नुभन्दा आफ्नै देशमा बसेर गरौं। यहाँ प्लेटफर्म छ भने अर्को प्लेटफर्म नखोजौं।‘
श्रीमानको अनुरोध अनुजाले अस्वीकार गरिनन्। बरु, १५ वर्षदेखि उनी श्रीमानसँगै हातेमालो गर्दै अघि बढिरहेकी छन्। अनुजा मात्र नभई मेघराजको घरपरिवारका अन्य सदस्यहरू समेत यही काममा आबद्ध छन्।
ब्रान्डिङ र गुणस्तर अडिट
मेसिनले बनाएका सस्ता प्लास्टिकका सामग्रीले बजार ओगटिरहेका बेला मेघराज नेपाली ‘ह्यान्डमेड’ उत्पादनको भविष्य अझ उज्ज्वल देख्छन्। विश्वभर पर्यावरणप्रति चेतना बढेकाले विदेशीहरू महँगो भए पनि १०० प्रतिशत ऊनका जैविक र प्राकृतिक सामग्री नै रोज्छन्।
अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न ‘ओम साइराम फेल्ट प्रोडक्ट‘ ले गुणस्तरमा कुनै सम्झौता गर्दैन। कम्पनीसँग छुट्टै गुणस्तर मापन युनिट छ। हरेक वर्ष आईएसओ परीक्षण र सामाजिक उत्तरदायित्व सम्बन्धी कडा अन्तर्राष्ट्रिय अडिट पनि यो कम्पनीले सफलतापूर्वक पास गर्दै आएको उनको भनाइ छ। हाल विदेशी ग्राहकहरू सिधै फ्याक्ट्री भिजिट गर्न आउँछन्। वेबसाइट र अन्तर्राष्ट्रिय प्रदर्शनी मार्फत पनि जोडिन्छन्।

तर, हस्तकला उद्योग मेसिनले होइन, मानिसले चलाउँछन्। सीप सिकाउन वर्षौं लाग्छ। तर, विदेशिने क्रम तीव्र हुँदा सीप सिकेको जनशक्ति टिकाइराख्न मुस्किल छ। ‘हामीले वर्षौं लगाएर तयार गरेको जनशक्ति विदेश जान्छ। फेरि नयाँलाई सिकाउनुपर्छ‘, उनी गुनासो गर्छन्।
चुनौती र राज्यको बेवास्ता
उद्यम–व्यवसाय चुनौतीमुक्त छैन। पछिल्लो ४–५ महिनामा पनि न्युजिल्यान्ड सरकारको नीति र मध्यपूर्वको युद्धका कारण कच्चा पदार्थ (ऊन) को मूल्य झन्डै दोब्बर भएको छ भने ढुवानी खर्च अत्यधिक बढेको छ।
विडम्बना, निर्यातमुखी उद्योगलाई प्रोत्साहन गर्ने राज्यको नीति छैन। शतप्रतिशत निर्यात गर्ने उद्योगले ल्याउने कच्चा पदार्थमा समेत सरकारले भ्याट लगाएको छ, जसको रिफन्ड प्रक्रिया निकै झन्झटिलो छ। सरकारले दिने भनिएको निर्यात प्रोत्साहन अनुदान समेत रोकेर राखेको छ।
‘नेपालको रैथाने भेडाको ऊन खस्रो हुने भएकाले फेल्टका लागि उपयुक्त हुँदैन। तर, यदि सरकार र व्यवसायी मिलेर उन्नत जातका भेडाको क्रस–ब्रिडिङ गराई नेपालमै ऊन उत्पादन गर्ने हो भने हामी कच्चा पदार्थमा पनि आत्मनिर्भर हुन सक्छौं‘, मेघराज भन्छन्।
निर्यातमुखी उद्योगका लागि स्पष्ट नीति, कर सहुलियत, ऊर्जा लागत घटाउने व्यवस्था र नेपालमै गुणस्तरीय ऊन उत्पादन गर्ने दीर्घकालीन योजना आवश्यक रहेको उनी बताउँछन्। ‘हामीसँग बजार छ, सीप छ। अभाव केवल नीति र सहजीकरणको हो।‘
नेपाली युवालाई नेपालमै रोजगारी
मेघराज आफूलाई सफल व्यवसायीभन्दा बढी सामाजिक उद्यमी ठान्छन्। उनी विद्यालयका विद्यार्थीलाई उद्योग भ्रमण गराउँछन्, नयाँ उद्यमीलाई निःशुल्क परामर्श दिन्छन् र कम्पनीमै सीप तालिम सञ्चालन गर्छन्। तालिम लिनेले पहिलो दिनदेखि नै पारिश्रमिक पाउने व्यवस्था उनले गरेका छन्।
तीन–चार जनाको टिमबाट शुरु भएको उनको व्यावसायिक यात्रा आज विश्व बजारसम्म पुगेको छ। तर, मेघराजका लागि यो अन्तिम गन्तव्य होइन। उनी अझै नेपाली हस्तकलालाई विश्वको उत्कृष्ट पहिचान बनाउने सपना पछ्याइरहेका छन्।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी