क्रिकेटका दुर्लभ कीर्तिमानी
भनिन्छ क्रिकेटमा कीर्तिमानहरू टुट्नलाई बन्छन् । एक पटक बनेको कीर्तिमान ढिलो–चाँडो तोडिन्छन् । तर नेपालका ‘ब्याटिङ अलराउण्डर’ दीपेन्द्रसिंह ऐरी (२४) ले विश्व क्रिकेटमा बनाएको सर्वाधिक छिटो ९ बलमा अर्धशतक, अब तोडिने छैन ।
उनको ब्याटले त्यो सुनौलो कीर्तिमान सन् २०२३ सेप्टेम्बर २७ मा चीनको हाङ्ग्जाउमा एसियन गेम्स अन्तर्गत मंगोलियाविरुद्ध टी–२० आई खेलमा बनेको थियो ।
उनी क्रिजमा आउनुअघि अर्धशतक कल्पना गर्न सकिंदैनथ्यो । किनकि इनिङ सकिन ११ बल बाँकी थियो । तर १९औं ओभरको दोस्रो बल सामना गर्न क्रिजमा उत्रिएका उनलाई मुगुन अल्तानखुयागले लगातार दुई वाइड गरे । त्यसपछि ५ बलमा पाँच छक्का हाने । अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लले स्ट्राइक दिएपछि छक्का, त्यसपछि दुई र बाँकी दुई बलमा २ छक्का हान्दै अविश्वसनीय रूपमा ९ बलमै ५० रन बनाए ।
त्यसअघि भारतीय पूर्व क्रिकेटर युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्ड विरुद्ध १२ बलमा अर्धशतकको कीर्तिमान बनाएका थिए । कठिन मानिएको युवराजको त्यो कीर्तिमानलाई दीपेन्द्रले सहजै तोडिदिए ।

विश्व क्रिकेट इतिहासमा सयौं महान् र विस्फोटक ब्याटर आए, गए । फेरि आउनेछन्, जानेछन् । तर नेपाली ठिटोले बनाएको ९ बलको कीर्तिमान तोड्न सम्भव छैन । किनभने क्रिकेटमा ८ बलमा ८ छक्का हान्दा पनि ४८ रन मात्रै हुन्छ । त्यसैले कसैले अद्भुत प्रदर्शन गरे बराबर हुन सक्छ ।
दुर्लभ कीर्तिमानसँगै दीपेन्द्रले धेरैको मन जिते । क्रिकेटमै भविष्य देख्नेलाई आइडल बने । अन्तर्राष्ट्रिय क्रिकेटमै एकै ओभरमा ६ छक्का हान्ने खेलाडीको सूची छोटो छ । टी–२० आईमा त भारतका युवराज सिंह र वेष्टइन्डिजका किरन पोलार्डले मात्रै हानेका छन् । दुई फरक ओभरमा ६ बलमा ६ छक्का हान्ने उनी विश्वकै पहिलो खेलाडी हुन् ।
‘त्यो दिन मलाई ब्याटिङमा जान मन थिएन, अरू खेलिरहेका थिए । सर (मोन्टी देशाई)ले मलाई पठाउनुभएपछि म गएँ’ दीपेन्द्रले त्यो दिन सम्झँदै भने, ‘तीन छक्का हानेपछि बल्ल मलाई छिटो हानेर कीर्तिमान बनाउँ जस्तो लाग्यो ।
उनले अगाडि थपे, ‘कुशल मल्लले पनि साथ दिए । म नन स्ट्राइकमा थिएँ, उसले एक रन लिएर ल दाइ हान भनेर स्ट्राइक दिए । अनि विश्व कीर्तिमान बन्यो ।’
दीपेन्द्रले १३ अप्रिल २०२४ मा एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेर अर्को रेकर्ड बनाए । उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमै एकै ओभरमा ६ छक्का हान्ने खेलाडीको सूची छोटो छ । टी–२० आईमा त भारतका युवराज सिंह र वेष्टइन्डिजका किरन पोलार्डले मात्रै हानेका छन् ।
दुई फरक ओभरमा ६ बलमा ६ छक्का हान्ने उनी विश्वकै पहिलो खेलाडी हुन् । उनले मंगोलियाविरुद्ध दुई फरक ओभरमा ६ छक्का हानेका थिए ।
यो रेकर्डभन्दा उनले तोडेको सोच ठूलो छ । ‘मान्छेलाई छक्का हान्न ठूलो मान्छे र पावर भएको हुनुपर्छ भन्ने लाग्छ । तर दिप्पीलाई हेर्यो भने त्यस्तो छैन’ मल्ल भन्छन्, अब नेपालीले पनि छक्का हान्न सक्ने रहेछ भन्ने भयो ।’
उनी ब्याटिङ मात्रै होइन, बलिङ र फिल्डिङमा पनि छुरा छन् । नेपाली क्रिकेटका थ्रीडी क्रिकेटर उनलाई टाइगर उपनामले समेत चिनिन्छ । उनी आईसीसीको टी–२० आई वरीयता अलराउण्डरतर्फ शीर्ष ६ मा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनी बाहेक नेपाली क्रिकेटमा कुनै पनि वरीयता शीर्ष–२० पार लगाउन सकेका छैनन् ।
सुदूरपश्चिममा हुर्किएको प्रतिभा
नेपाली क्रिकेटमा कञ्चनपुर क्रिकेटको उर्भर भूमि हो । दीपेन्द्र पनि त्यही उर्बर माटोमा बाल्यकालदेखि नै फक्रिन पाए । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर भानुचोकमा दीपेन्द्रको परिवार नै क्रिकेटमय थियो ।
विकेटकिपर प्रदीप ऐरी काकाका छोरा हुन् । उनकी बहिनी राजमती महिला टोलीकी अलराउण्डर हुन् । बुबा गगनसिंहका अनुसार दीपेन्द्र सानैदेखि खेल भनेपछि हुरुक्कै हुन्थे ।
‘सबै खेल खेल्थ्यो । यहाँबाट चार पाँच किलोमिटर टाढा महेन्द्रनगरमा रहेको कभर्डहलमा पुगेर दैनिक अभ्यास गर्दथ्यो’ उनले अनलाइनखबरसँग भने, ‘अहिले गाउँ, समाज र देश सबैको नाम राखेको देख्दा खुसी लाग्छ ।’
उमेर समूहमा घरेलु क्रिकेटमा अलराउण्डर टोलीमा परेपछि दीपेन्द्र नेपालको यू–१९ टोलीमा परेका थिए । २०१४ मा एसीसी यू–१९ प्रिमियर लिग प्रतियोगितामा उनले ४ विकेट लिनुको साथै ११४ रन बनाएका थिए । त्यसपछि २०१६ को यू–१९ विश्वकपमा उनले ७८ रन बनाउनुको साथै ७ विकेट लिएका थिए ।
त्यही वर्षको अन्त्यमा भएको यू–१९ एसिया कपले दीपेन्द्रलाई थप एक्स्पोजर दियो । १५ डिसेम्बरमा घरेलु टोली श्रीलंकासँग भएको खेलमा नेपाल १ रनले पराजित भयो, तर ९० रनको इनिङ उनको करिअरको टर्निङ प्वाइन्ट जस्तै बन्यो ।

त्यही प्रदर्शनको बलमा उनी राष्ट्रिय टोलीमा परे । नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन अन्तर्गत केन्यासँग दुई खेलको सिरिज खेल्नुपर्ने थियो । तत्कालीन कप्तान पारस खड्काले एपेन्डिक्सका कारण खेल गुमाएपछि दीपेन्द्रलाई टोलीमा समेटेको थियो । ११ मार्चमा टीयूमा केन्या विरुद्ध डेब्यू गर्दै उनले ५६ बल खेलेर १९ रन बनाए । नेपाल ५ विकेटले पराजित भएको त्यो खेलमा दीपेन्द्रले धेरै ठूलो इनिङ खेल्न नसके पनि मैदानमा देखाएको धैर्य र साहसले टोलीको मन जिते । दोस्रो खेलमा ६२ रनको अर्धशतकीय इनिङ खेलेपछि दीपेन्द्र लगातार नेपाली टोलीमा रहँदै आएका छन् ।
२०१७ नोभेम्बर १२ मा यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले हराउँदै इतिहास रच्दा पनि दीपेन्द्रले नै नायक थिए । नेपालले कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भारतलाई हराएको त्यो एक मात्रै खेल हो । त्यो खेलमा प्लेयर अफ द म्याच बनेका उनले ८८ रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।
२०१८ को एकदिवसीय विश्वकप छनोटमा ओडीआई मान्यता पाउन निर्णायक खेलमा पपुवा न्यूगिनी विरुद्ध उनले ५० रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।
२०१९ मा पारसले कप्तानी छाडेपछि ज्ञानेन्द्र उपकप्तानबाट नेतृत्वमा आए । अनि दीपेन्द्र नेपालको उपकप्तान बने । तर २०२१ सम्म दीपेन्द्रको प्रदर्शन सोचे जस्तो भएन । एक समय उनलाई टिममा राखेकोमा समेत प्रश्न उठेको थियो । तर टोलीले उनीमाथि विश्वास कहिल्यै गुमाएन ।
२०२१ डिसेम्बरमा खेलाडीहरूको ग्रेडिङमा टिप्पणी गरेपछि क्यानले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटायो । त्यो कारबाही उनको करिअरको अर्को टर्निङ प्वाइन्ट बन्यो । उनी चटक्क क्रिकेट छाडेर विदेश जाने सोचमा थिए । तर साथीभाइले सम्झाएपछि क्रिकेटमा अडिए ।
कारबाहीपछि पहिलो पटक टोलीमा फर्किएका उनले २०२२ को सुरुवातमा आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा दीपेन्द्रले सानदार प्रदर्शन गरे । तर नेपाल सेमिफाइनलमा युएईसँग ६८ रनले हार्दा विश्वकप खेल्ने सपना त्यहीं सकिएको थियो । २०२२ मार्च २६ मा दीपेन्द्रले पपुवा न्युगिनी विरुद्ध दोस्रो ओडीआई खेलमा १०५ रनको शतकीय इनिङ खेले । उनको अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक थियो ।
मलेसिया विरुद्ध टी–२० आईमा टीयूमा २०२२ अप्रिल २ मा ११० रनको शतकीय इनिङ खेले । २०२३ मा मोन्टी देशाई मुख्य प्रशिक्षक भएपछि दीपेन्द्र ओडीआईमा मध्यक्रमबाट फिनिसरमा पुगेका छन् । मध्यक्रममा संघर्ष गरेका उनले फिनिसरमा खुलेर रन जोडेका छन् । अहिले दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् । उनी क्रिजमा हुँदासम्म टोली र समर्थक सधैं जितको आशा राख्छन् ।
दीपेन्द्र ब्याटिङ मात्र होइन, बलिङ र फिल्डिङमा पनि उत्तिकै अब्बल छन् । उनी मिडियम पेसर थिए । ब्याकपेन समस्याले दीपेन्द्र यू–१९ विश्वकपपछि अफ स्पिनर बने । अफ स्पिनले थप नयाँ उचाइमा पुर्यायो । उत्कृष्ट अलराउण्डर उनी फिल्डिङबाट पनि खेल जिताउन सक्ने खुबी भएका क्रिकेटर हुन् ।

नेपालले आईसीसी विश्वकप लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जित्दा, प्रिमियर कपको उपाधि जित्दा सबै खेलमा दीपेन्द्रको भूमिका महत्वपूर्ण थियो । गत वर्ष आईसीसी टी–२० विश्वकप एसिया छनोटमा उनको पहिलो खेल सिंगापुरसँग खेल्नुअघि अभ्यासमा चोट लागेको थियो । तर विश्वकपमा निर्णायक खेल यूएई विरुद्ध उनले त्यो चोटका बाबजुद खेल्ने साहस देखाए ।
आईसीसी टी–२० विश्वकप २०२४ मा सबभन्दा बढी अपेक्षा नेपालले दीपेन्द्रबाट गरेको थियो । त्यसमा भने उनी चुके । उनी आफैं पनि सन्तुष्ट छैनन् । उनले पहिलो खेलमा नेदरल्यान्ड्ससँग १ रन बनाउँदा १ विकेट लिएका थिए । दक्षिण अफ्रिका विरुद्ध ६ रन बनाएका उनले ३ विकेट लिए । त्यो खेलमा नेपाल मात्र १ रनले पराजित भयो । यदि दक्षिण अफ्रिकालाई हराउन सकेको भए नेपाली क्रिकेटकै एक ठूलो उपलब्धि हुन्थ्यो ।
दीपेन्द्र युवा पुस्ताका कुशल कप्तान पनि हुन् । उनले यू–१९ मा नेपालको कप्तानी गरे, नेपालले त्यही बेला भारतलाई हरायो । घरेलु प्रतियोगितामा पनि उत्तिकै सफल छन् । उनले २०१९ मा सीआईबी अत्तरियाको कप्तानी गर्दै टोलीलाई धनगढी प्रिमियर लिग (डीपीएल) उपाधि दिलाए ।
अर्को फ्रेन्चाइज लिग नेपाल टी–२० मा लुम्बिनी अल स्टार्सलाई उपाधि दिलाए । २०२३ मा नेपाल पुलिस क्लबलाई नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण र २०२४ मा प्रधानमन्त्री कपको उपाधि दिलाए । पछिल्लो समय उनले विदेशी फ्रेन्चाइज लिग पनि खेल्न थालेका छन् । ग्लोबल टी–२० क्यानडा र इन्टरनेशनल टी–२० लिग खेलिसकेका उनी यत्तिमै रोकिन चाहँदैनन् ।
भुपेन्द्र जिसी
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी