+
+
स्थानीय तह उपचुनाव :

महाबुमा पुराना र नयाँ दलको महाटक्कर

लिलु डुम्रे लिलु डुम्रे
२०८१ मंसिर १२ गते १८:५७

१२ मंसिर, काठमाडौं। दैलेखको महाबु गाउँपालिकामा कांग्रेस, एमाले माओवादी केन्द्र त छँदै थिए, अब रास्वपा लगायत नयाँ दल पनि अध्यक्ष पदको महाभिडन्तमा मिसिएका छन् । यी दलमात्रै होइन, पालिका उपचुनावमा अध्यक्ष पदको नतिजा आफ्नो पक्षमा आउने विश्वासमा राप्रपा र नेमकिपासमेत छन् ।

यी सब पुराना घटकहरुका बीच उदाएको रास्वपा पनि आफ्नो आफू अनुकूल नतिजा आउने जिकिरमा छ । दलगत रुपमा कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादीबाट जंगबहादुर बराल मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, नेकपा (एकीकृत समाजवादी) का जगतबहादुर हमाल, राप्रपाका सुर्जे रावत र नेमकिपाका दुर्गबहादुर मगरलाई उम्मेदवार छन् ।

चुनावी परिणाम आफ्नो पक्षमा ल्याउनका लागि दलहरुले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्रमा खटाएका छन् । कांग्रेसका सहमहामन्त्री जीवन परियारलाई पार्टीले उपनिर्वाचनका लागि कर्णाली र गण्डकीे जिम्मेवारी दिएको छ ।

परियार उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन अहिले कर्णालीमा छन् । प्रवक्ता प्रकाशशरण महत दैलेख पुगेर फर्किका छन् । केन्द्रीय सदस्य मधु आचार्य दैलेखको महाबु गाउँपालिका चुनावी प्रचारमा सहभागी भएका छन् ।

स्थानीय तह समन्वय विभागका प्रमुख समेत रहेका आचार्यले स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसमा कहिल्यै नदेखिएको एकता भएको दाबी गर्छन् । ‘दैलेख सहित यो उपनिर्वाचनले कांग्रेसको जीवनमा देखाएको सबैभन्दा सकरात्मक पक्ष पार्टीभित्र गुटका नाममा देखिएका कृत्रिम बर्लिनका पर्खाल अहिले कोल्याप्स भएको छ,’ आचार्यले अनलाइनखबरसँग दाबी गरे ।

कांग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा भण्डारीलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको थियो । भण्डारीलाई हाल दैलेख जिल्ला कार्यसमिति सदस्य छन् ।

स्थानीय मुद्दामा भिजेर बसेको व्यक्तिलाई पार्टीले उम्मेदवार बनाएको कांग्रेसका नेताहरु दाबी गर्छन् । ‘स्थानीयका मुद्दामा मज्जासँग भिजेको व्यक्तिलाई उम्मेदवार बनाएको छौं । मतदाताको रुझान कांग्रेस उम्मेदवारप्रति देखिएको छ,’ आचार्यले भने ।

गत निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सहित तीन वटा वडामा निर्वाचित भएको कांग्रेसलाई जीतलाई निरन्तर कायम राख्नुपर्ने चुनौती छ । । २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर निर्वाचित भएका गुरुङको ०७९ माघमा हृदयघातका कारणले मृत्यु भएको थियो । जम्मा छ वटा वडा रहेको यस पालिकामा कांग्रेस पहिलो शक्ति बनेको थियो । अध्यक्ष, उपाध्यक्ष सहित २, ३ र ४ नम्बर वडा निर्वाचित भयो ।

एकीकृत समाजवादीबाट फर्किएका जंगबहादुर शाही एमालेबाट उम्मेदवार बनेका छन् । शाही एकीकृत समाजवादीको केन्द्रीय सदस्य र दैलेख जिल्ला अध्यक्ष समेत थिए । शाहीलाई फर्काएर आफ्नो दलबाट उठाउने उद्देश्यले एमालेको उम्मेदवार चयन गर्न समेत ढिलो गरेको थियो । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट चुनाव सोही पालिकामा जितेका उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीतिरमा लागेका थिए ।

गत निर्वाचनमा एकीकृत समाजवादीबाट ०७९ को स्थानीय तहको निर्वाचनमा २२६८ मत ल्याएर उनी तेस्रो स्थानमा आएका थिए । गत निर्वाचनमा मतान्तर कम भएकाले यसपटक जित्ने आशावादीमा एमाले छ । त्यस समय कांग्रेसका अध्यक्षका उम्मेदवार लक्षुमन गुरुङले २ हजार ९७९ मत ल्याएर चुनाव जित्दा एमालेका हरिप्रसाद उपाध्यायले २५१९ मत पाए । २०७९ सालमा थोरै मतान्तरले एमाले पराजित भएकाले यसपटक जित्ने दाबी एमाले नेता विष्णु रिजाल दाबी गर्छन् ।

‘२०७९ सालमा एकीकृत समाजवादीबाट अध्यक्षमा उठ्नुभएको अहिले एमालेको उम्मेदवार हुनुहुन्छ । लामो समयदेखि पार्टीमा क्रियाशील हुनुहुन्छ,’ एमाले नेता रिजालले भने,‘त्यहाँ हाम्रो स्थिति राम्रो छ । चुनाव मज्जाले एमालेले जित्छ ।’

एकीकृत समाजवादीबाट अध्यक्षको उम्मेदवार बनेका जगतबहादुर हमालले समर्थन गर्ने भएपछि एमालेलाई थप बल पुगेको छ । एमालेको चुनावी कार्यक्रममा सहभागी भएर हमालले जंगबहादुर शाहीलाई समर्थन गर्ने घोषणा गरेका थिए ।

गत निर्वाचनमा तेस्रो शक्तिका रुपमा रहेको एकीकृत समाजवादीको मत समेत आफ्नो दलमा खस्नेमा एमालेका नेता कार्यकर्ता आशावादी छन् । गत निर्वाचनमा एमाले यस पालिकामा कमजोर देखिएको छ । एमालेका उम्मेदवार एउटा मात्रै वडामा मात्रै विजयी भएका थिए ।

पालिका अध्यक्ष, उपाध्यक्ष सहित अरु पाँच वडा अन्य दलले जित्दा एमालेका उम्मेदवार वडा नम्बर १ मा निर्वाचित भएका थिए । स्थानीय नेताहरुका अनुसार यहाँ एमालेलाई चुनौती रास्वपाका उम्मेदवारसँग उत्तिकै छ । २०७४ सालमा एमालेबाट उपाध्यक्षमा जितेकी प्रेमकुमारी बुढाका छोरा प्रकाशकुमार बुढा अहिले रास्वपाबाट अध्यक्षका उम्मेदवार बनेका छन् ।

महाबुमा माओवादी केन्द्रले आफ्ने शक्ति कमजोर दाबी नभएको दाबी गरेको छ । माओवादीबाट जंगबहादुर बराल मगर उम्मेदवार बनेका छन् । माओवादी नेताहरु आफ्नो उम्मेदवारलाई सरल र सोझो व्यक्तिका रुपमा चिनाउँछन् । मगर प्रदेश कमिटीमा छन् ।

कानुन अध्ययन गरेका मगर जनयुद्ध कालमा जनअदालतमा आवद्ध रहेको माओवादी नेता एवं कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले जानकारी गराए । महाबुमा चुनावी प्रचारमा सहभागी भएका शर्माले माओवादीको पक्षमा उत्साहजनक अवस्था रहेको दाबी गरे ।

‘जनता सत्य र न्यायको पक्षमा हुन्छन् । २-४ दिन भ्रममा परे पनि अहिले जनताले बुझेका छन्,’ शर्माले अनलाइनखबरसँग भने,‘महाबुमा हाम्रो स्थिति उत्साहजनक छ ।’ यस पालिकामा माओवादीले ५ र ६ वडामा गत निर्वाचनमा जितेको थियो ।

पहिलो पटक स्थानीय तहको निर्वाचनको अनुभव लिन लागेको रास्वपाका महाबु गाउँपालिकामा जोड तोडले लागेको छ । रास्वपाले महाबुमा प्रकाशकुमार बुढालाई अध्यक्षको उम्मेदवार बनाएको छ । दैलेख जेसिजमा आवद्ध एवं व्यवसायी बुढालाई रास्वपाले उम्मेदवार बनाएको छ ।

रास्वपाका नेताहरुका अनुसार सामाजिक अभियन्ता समेत रहेका उनी युवा पुस्तामा चिनिएका नाम हुन् । उपसभापति डा. स्वर्णिम वाग्ले, सहमहामन्त्री एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ पार्टीको उम्मेदवारको प्रचारका लागि महाबु पुगेका छन्। दैलेखमा रहेका उपसभापति वाग्लेले काबिल युवा उम्मेदवार उठाएको दाबी गरे ।

सहमहामन्त्री सुमना श्रेष्ठले रास्वपाका उम्मेदवार बुढालाई जिताउनु ‘युवालाई देशमै काम गर्न सकिन्छ है’ भन्ने सन्देश समेत दिनु रहेको बताउँछिन् ।

राप्रपाका सुर्जे रावत र नेमकिपाका दुर्गबहादुर मगर महाबुमा उम्मेदवार छन् । अघिल्लो चुनावको मत परिणामा यी दुबै दल कमजोर शक्ति देखिएका छन् । २०७९ सालमा राप्रपाका उम्मेदवार रजबहादुर बुढाले १५ र नेमकिपाका बमबहादुर सिंहले ५८ मत पाएका थिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?