
नेपाली राजनीतिक आकाशका उज्याला नक्षत्र, वैकल्पिक राजनीतिका जन्मदाता, सिर्जनशीलता, उधमशीलता र नवीन राजनीतिका प्रयोगकर्ता हुन् स्वर्गीय उज्वल थापा । उनी एक विचारक पनि हुन् ।
सन् २००८ ताका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हतार-हतार लगेज समातेर दगुरिरहेका बेला भएको थियो उज्वल थापा र मेरो भेट । उज्वल अमेरिकाबाट फर्कँदै थिए भने म अष्ट्रेलिया जाँदै थिएँ । कुराकानीका क्रममा उज्वल अब नेपालमै केही गर्नुपर्छ भन्दै थिए । मैले भने अस्ट्रेलिया गएर केही समयपछि नेपाल नै फर्कने बताएको थिएँ ।
त्यस दिन सामान्य गफगाफपछि छुट्टिएका हामी दुईबीचको संवाद फेसबुक लगायत सामाजिक सञ्जालमार्फत जारी नै रह्यो । र, सामान्य परिचयबाट जोडिएको सम्बन्ध घनिष्ट हुँदै गयो ।
नेपाल फर्किएपछि उज्वल सामाजिक, राजनीतिक र उद्यमशील कर्ममा लागे । उनका हरेक कर्ममा म कहीँ न कहीँ जोडिएकै हुन्थेँ । चाहे त्यो विवेकशील नेपालीको विधि-विधान बनाउने काममा होस् चाहे राजनीतिक, सामाजिक अभियान सञ्चालन गर्ने क्रममा । मुख्यत: साना-साना व्यापार, व्यवसाय सुरु गर्ने र सुरु गर्नेहरुलाई सहयोग गर्ने, नयाँ-नयाँ विचारको आदान-प्रदान गर्नेगरी काम गरिरह्यौँ ।
अस्ट्रेलिया र नेपाल फरक-फरक ठाउँमा रहे तापनि सामाजिक सञ्जाल र इन्टरनेट प्ल्याटफर्म प्रयोग गरेर केही न केही सिर्जनशील काम गरिनै रह्यौँ । उज्वल थापा मलाई पटक-पटक के गर्ने भन्ने विषयमा स्पष्ट योजना निर्माण गर्न आग्रह गरिरहेका हुन्थे । मेरो विषय कर, लेखा, वित्त तथा अर्थशास्त्र भएकोले यो क्षेत्रबाट प्रत्यक्ष नेपाल र नेपालीलाई के सहयोग गर्न सकिन्छ भन्ने योजना बनाउनमै धेरै समय खर्च गरेँ । उज्वलले सहयोग गरिनै रहे ।

अनवरत प्रयास, कयौँ दिनको कुराकानी, खोज अनि अध्ययन-अनुसन्धानपछि अन्तत: सुरु भयो- इन्टरप्रेनियर्स फर नेपाल । र, सुरु भए अरु पनि केही नयाँ काम । हाम्रा काम समाजले पनि नयाँ र सिर्जनशील मानिरहेको थियो । धेरै युवा जोडिँदै थिए । हाम्रा कामबाट केही रोजगारीहरु पनि सिर्जना भए । नयाँ-नयाँ व्यापार-व्यवसाय सुरु भए ।
उज्वल मलाई घच्घच्याइरहन्थे । सबै नीतिको मूल नीति राजनीति नै हो, राजनीतिबाट नै अरु क्षेत्रमा काम गर्न सकिन्छ, सुधार र प्रभाव छोड्न सकिन्छ भन्नेमा उनी प्रष्ट थिए । सँगसँगै गृहकार्य पनि गरिरहेका थिए ।
मैले आफू नेपाल बाहिर रहेको र नेपालको फोहोरी राजनीतिमा नफस्न बरु राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान, अर्थ नीति, उद्योग-व्यापार जस्ता सरकारका विभिन्न निकायमा सहयोगी भएर काम गर्न राय, सल्लाह र सुझाव दिइरहन्थेँ । उज्ज्वल भने भित्र-भित्र आफू दृढ र संकल्पित भइसकेको र राजनीतिमार्फत नै अगाडि बढ्ने योजना सुनाइरहन्थे । मलाई आफ्नो ज्ञान, दक्षता र दक्षतामार्फत आफूसँग जोडिएर काम गर्न आग्रह गरिरहन्थे ।
अन्तत: उज्वलले सन् २०११ मा एक नवीन सोच, सिर्जनशीलता र उधमशिलता सहितको राजनीतिक यात्रा सुरु गरे । मलाई भने विदेशमा भएका नेपालीलाई संगठित गर्न आग्रह गरेका थिए । तर मैले उत्तर दिन सकेको थिइनँ । या, भनौँ मेरो तयारी पुगेन । मैले उनको राजनीतिक यात्रालाई शुभकामना दिँदै आफू राजनीति नगर्नेमा प्रष्ट रहेकोले इन्टरप्रेनियर्स फर नेपालबाट नै काम गर्ने बताएँ ।
त्यसपछि हामी दुईबीच सम्पर्क पातलो भयो । उज्वललाई लाग्यो, मैले उनलाई राजनीतिमा सहयोग नगर्ने भएँ । मलाई पनि कता-कता लाग्यो, उज्वलले इन्टरप्रेनियर्स फर नेपालका लागि काम नगर्ने भयो ।
उज्वलले फेरि पनि मलाई भने- तिमी विदेश भएको र तत्काल नेपाल नफर्कने भएकाले राजनीतिलाई फोहोरी खेल भनेर डराएका हौ । तैपनि, मलाई विवेकशील अभियानमा सहयोग गर्नु है । मैले समर्थन जनाएँ । हामी दुवैको सत्प्रयास थियो, केही समयपछि आ-आफ्नो क्षेत्रबाट एकले अर्कालाई सहयोग गर्ने र काम अगाडि बढाउने सहमति भयो । दुवै गाडी उनकै सोच अनुसार अगाडि बढे ।
तर, मैले विदेशमा रहेका नेपालीलाई पार्टीमा आवद्ध गर्ने, संगठन गर्ने, विस्तार गर्ने काम नगर्न उज्वललाई सुझाएँ । उनीहरुलाई स्वतन्त्र रुपमा विवेकशील निर्णय लिन छोडिदिनुपर्ने बताएँ । उज्वल अन्य पार्टीको दृष्टान्त दिन्थे- विदेश विभाग गठन गर्नुपर्छ, उनीहरुलाई जोड्नुपर्छ । राजनीतिमा संगठन र यसका सदस्यको ठूलो भूमिका हुन्छ । म भन्थेँ- ‘नो, अब त्यसो होइन’ । नेपालमा सबका सब पार्टी र कार्यकर्ता भएर हो राजनीतिले गति लिन नसकेको । विदेश आइसकेकालाई स्वतन्त्र छोडिदिउँ ।
त्यसपछि उज्वलले यसको जिम्मा मलाई दिए । विदेशमा रहेका नेपालीलाई कसरी जोड्ने भन्ने विषयमा आफ्नो विचार सहितको डकुमेन्ट बनाएर दिन भने । मैले कार्यपत्र तयार गरी प्रस्तुत गरे । उज्वललाई चित्त बुझ्यो ।
विवेकशील नेपाली अभियानमा शुभेच्छुक समूह, सद्भाव समूहहरु रहन सक्ने तर पार्टीको सदस्यता नै लिनुपर्ने भन्ने नहुने उल्लेख गरियो । पार्टीमा राय, सल्लाह, सुझाव र विचार-विमर्शको आदानप्रदान गर्न सकिने तर अन्य पद या कार्यकारी भूमिकामा नराख्ने र विदेशी नागरिकता लिएकाहरुबाट आर्थिक सहयोग पनि नलिने सहमति भयो । अन्य विधि नेपालको संविधान र निर्वाचन आयोगको पार्टी सञ्चालन कार्यविधि अनुसार गर्ने भन्ने सहमतिबीच विवेकशील नेपाली अभियानको विदेश सम्पर्क, प्रवासका नेपालीलाई जोड्ने, कार्यक्रमहरु गर्ने/गराउने कार्य अगाडि बढ्यो !
पार्टीको राजनीति देश-काल-परिस्थिति अनुसार नै अगाडि बढ्यो । देशको राजनीतिमा भने अनेक गठजोड, सत्ता-स्वार्थ लगायत यावत् बेथितिहरु कायमै थियो । विवेकशीलमा पनि उज्ज्वलको सोझोपन र इमान्दारिताको फाइदा उठाएर अनेक चलखेल भए । उनका पनि केही कमजोरी भए होलान् । यावत् राजनीतिक उथलपुथलका कारण आज विवेकशील नेपाली दल जे-जस्तो छ, कहीँ-कतै खोज्नैपर्ने स्थितिमा छ । तर मरेको भने छैन । नेपाल बन्दै छ, नेपाल खुला छ, विवेकशील नेपाली दल जीवित छ । मेरो निरन्तर शुभकामना छ । म भने कुनै पनि दलको सक्रिय राजनीतिमा छैन ।
*** ***
कोभिड-१९ को महामारी संसारभर फैलियो । दैवको खेलमा उज्वलले निष्ठुरी काललाई जित्न सकेनन्। धेरैलाई रुवाएर गए उनी। म स्तब्ध भएँ, विक्षिप्त भएँ, मौन रहेँ। कतै केही गर्न सकिएन । उज्वलको स्मृतिमा सिड्नीमै स्मृति सभा गरियो, श्रद्धाञ्जली अर्पण गरियो । साथै, एस्फिल्ड काउन्सिलको अनुमतिमा उज्वलको स्मृतिका लागि उनका धेरै साथी, नाता र परिवारका सदस्यहरूको उपस्थितिमा वृक्षरोपण गरियो। उज्वलको भौतिक अनुपस्थितिले एउटा आशाको दियो निभेको महसुस भयो। यही कारण इन्टरप्रेनियर्स फर नेपाल पनि विस्तारै ओझेल पर्यो, सुस्तायो।
सन् २०२२ को अन्त्यतिर न्यूजिल्याण्डका राज महर्जनले नेपालबाट उज्वलको ‘ह्वाई नेपाल’ किताबबारे कुरा गरे र अस्ट्रेलियाबाट पोष्ट गरिदिए । किताबका हरेक पानामा उज्वललाई सम्झिएँ । पढिसकेपछि साथी-भाइहरूसँग किताब सेयर गरेँ, उज्वललाई भेटेझैँ महसुस भयो । साँचो श्रद्धाञ्जली दिनका लागि उनका विचार, भावना र सत्प्रयासलाई जीवित राख्नका लागि प्रतिबद्ध हुने निर्णय गरेँ ।
सन् २०२४ को अन्त्यमा नेपाल आएँ । उज्वलकी श्रीमती जो उज्वल थापा फाउन्डेसनकी अध्यक्ष पनि हुनुहुन्छ, उहाँलाई भेटेँ । उज्वलबारे बन्न लागेको भिडियोबारे छलफल गरियो । अन्य साथीहरूलाई पनि भेटियो। फाउन्डेसनलाई थोरै आर्थिक सहयोग गरेर फर्किएँ ।
मलाई आशा छ- नेपालको राजनीति फेरि विवेकशील नेपाली दलको परिकल्पनामा फर्कने छ। इन्टरप्रेनियर्स फर नेपाल फेरि सुचारु हुनेछ। म भने पहिले जस्तै राजनीति नगर्ने पक्षमा स्पष्ट छु । अब सकारात्मक रुपमा सक्रिय रही इन्टरप्रेनियर्स फर नेपाल पुनः सञ्चालनका लागि पहल गर्नेछु र यसका लागि तत्कालीन इन्टरप्रेनियर्स फर नेपालका साथीहरुसँगको छलफलमा छु ।
उज्वल थापा फाउन्डेसनको कार्यक्रममा रहँदै गर्दा मेरा आँखामा आँसु छल्कियो, मन भारी भयो । पत्रकारले देखेर लेखे, ‘रुनु नराम्रो होइन, आँसु नराम्रो होइन । दुःख, पीडा, अभाव, रोग, भोक, शोक मात्र होइन, आँसु भावनाको अभिव्यक्ति पनि हो।’
मलाई के लाग्छ भने- मैले के भनेँ भन्दा पनि मैले के गरेँ भन्ने कुरा महत्त्वपूर्ण हो। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे । धेरै राष्ट्रप्रेमी नेताहरूले प्रजातन्त्र र लोकतन्त्र ल्याए । समयले विज्ञान, प्रविधि र विकास ल्यायो । तर उज्वलले नेपाली राजनीतिमा संस्कारको सुरुवात गरे। इमान्दारिता, पारदर्शिता र पद्धति स्थापनाका लागि संघर्ष गरे । उनले नेपालको बन्द संस्कृति सदाका लागि बन्द गरिदिए । नेपाली राजनीतिमा भद्र, मौन र शान्तिपूर्ण विद्रोहको अभ्यास सुरु गरे। उनले ढुंगा-मुढा, हुलहुज्जत र छलकपटको राजनीति अन्त्य गरिदिए।
समाज उद्यमशील हुनुपर्छ । हरेक नागरिक उद्यममा जोडिनुपर्छ। उद्यमशील बन्नुपर्छ भन्ने सोच उज्वलले स्थापित गराए । साना-ठूला उद्यमहरू सुरु भए । कलकारखाना, उद्योग, सिपमूलक तालिम कार्यक्रमहरू सुरु भए । कतिपय अझै सञ्चालनमै छन्, कति सफल भए, कति सङ्घर्ष गरिरहेका छन्। तिनलाई उठाउनुपर्छ। इन्टरप्रेनियर्स फर नेपाल पुनः जीवन्त बनाउनु आवश्यक छ । यो सम्भव छ । यो गर्न सकिन्छ । हामी सबैले सहयोग गरौँ । यही उज्वलका लागि साँचो श्रद्धाञ्जली हुनेछ । यही साँचो सम्मान हुनेछ । हामी यसलाई सम्भव बनाउँ । तपाईंहरू पनि जोडिनुहोस् न है !
प्रतिक्रिया 4