+
+
सन्दर्भ : विश्व क्यान्सर दिवस :

डाक्टर मेरो क्यान्सर निको त हुन्छ ?

घरमा क्यान्सरको कहर छिरेपछि त्यो परिवार आर्थिक, शारीरिक र मानसिक रूपमा तहसनहस हुन्छ ।

कमल पौडेल कमल पौडेल
२०८१ माघ २२ गते ९:०६

‘डाक्टर मेरो क्यान्सर निको त हुन्छ ?’ धेरैजसो क्यान्सरका बिरामीले उपचारका लागि अस्पतालमा आउँदा चिकित्सकलाई सोध्ने प्रश्न हो, यो ।

समाजमा अहिले पनि क्यान्सर निको हुँदैन भन्ने भाष्य जीवित छ । क्यान्सर निको नहुने रोग हो भनेर समाजले बुझेको छ । क्यान्सरलाई निको नहुने रोगको रूपमा लिइन्छ र यसले बिरामी र उनका परिवारलाई मानसिक र आर्थिक दबाबमा पार्छ ।

यही नकारात्मक सोचका कारण क्यान्सरका बिरामीको उपचारमा बेवास्ता गरिन्छ । प्रायःजसो अस्पताल आउने आधाभन्दा बढी बिरामीहरूमा क्यान्सर अन्य अंगहरूमा फैलिसकेको हुन्छ । पहिलो कुरा त बिरामीले क्यान्सर स्वीकार गर्न समय लगाउने गरेका छन् । सत्य स्वीकार्न समय लाग्दा अन्तिम अवस्थामा मात्र उपचारका लागि बिरामीलाई अस्पताल ल्याउने गरिएको पाइन्छ ।

क्यान्सर फैलिएपछि मात्र अस्पताल ल्याउँदा बिरामीलाई बचाउन धेरै गाह्रो हुन्छ । त्यसैले बिरामीहरू जटिल अवस्थामा मात्र अस्पताल आएको देखिन्छ । प्रारम्भिक चरणमा बिरामीहरू उपचारको लागि स्वास्थ्य केन्द्र र साना अस्पतालहरूमा जान्छन् । उनीहरू सामान्य होला भन्दै रोगलाई बेवास्ता गर्छन् । यताउता गर्दागर्दै क्यान्सर शरीरका अन्य भागमा पनि फैलिइसक्छ ।

क्यान्सर पूर्वजन्मको पाप !

क्यान्सर पूर्वजन्मको पाप पनि होइन । क्यान्सर लुकाएर राख्ने रोगै होइन क्यान्सरको उपचार गर्नु बेकार हो भन्ने सोच राख्दा धेरै उपचार नपाएर अकालमै मृत्युको मुखमा गएका उदाहरण छन् ।
क्यान्सर मृत्युको पर्याय होइन । क्यान्सर जीवनको अन्त्य पनि होइन । समयमै उपचार गरे निको हुने रोग हो क्यान्सर । सुरुवाती अवस्थामै क्यान्सरको पहिचान भएमा यो रोग निको हुन्छ । क्यान्सर लाग्दैमा मृत्यु भइहाल्दैन । क्यान्सर लाग्ने वित्तिकै मरिन्छ भन्नु भ्रम मात्र हो ।

क्यान्सर हाउगुजी !

हाम्रो समाजले क्यान्सरलाई हाउगुजी बनाइदिएको छ । अहिले पनि समाजमा क्यान्सर यति भारी शब्द छ कि यसैले थिचेर मरिने हो कि भन्ने डर हुन्छ ।

क्यान्सर बिरामीहरूले शारीरिक र मानसिक रूपमा धेरै उतारचढाव झेल्नुपर्छ । सुरुमा आफ्नो वास्तविक अवस्था स्वीकार्न बिरामी र उनको परिवारलाई कठिन हुन्छ । स्वास्थ्य सेवा प्रदायक, परिवार र क्यान्सरबाट बचेकाहरूको भूमिका यस अवस्थामा अत्यन्त महत्वपूर्ण छ ।

सही जानकारी र भावनात्मक समर्थनले बिरामीलाई आफ्नो उपचारको प्रक्रियामा आशा र सकारात्मक दृष्टिकोण कायम राख्न मद्दत गर्दछ । प्रारम्भिक चरणमा अन्य रोगहरू जस्तै, क्यान्सरले धेरै पीडा दिंदैन ।

क्यान्सरको उपचारमा परिवारको भूमिका

क्यान्सरको उपचारमा परिवारको भूमिका सबैभन्दा माथि हुन्छ । त्यसैले परिवारका सदस्यहरूले नकारात्मक कुराहरू नगर्ने, सकारात्मक सोचको विकास गर्ने । नआत्तिन प्रेरित गर्ने । क्यान्सरलाई स्वीकार्न लगाउने । चिकित्सकसँग सम्पर्कमा रहिरहने ।

तोकिएको समयमा फलोअपमा आउने । समयमा औषधि सेवन गर्न लगाउने । स्वस्थ एवं अग्र्यानिक खानेकुरामा जोड दिने । पर्याप्त आराम गर्न लगाउने । नियमित व्यायामका लागि प्रोत्साहित गर्ने, आदि ।

क्यान्सर सर्भाइभरहरूको भूमिका

क्यान्सरका बिरामीहरूको मनोबल उच्च राख्न क्यान्सर सर्भाइभरहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । क्यान्सर सर्भाइभरहरू अर्थात् क्यान्सरको उपचारबाट निको भएका व्यक्तिहरूले अन्य क्यान्सरका बिरामीलाई मानसिक र भावनात्मक समर्थन दिन सक्छन् ।

यसले सामूहिक भावनाको प्रतिबिम्बत गर्छ । उनीहरूको अनुभव र संघर्षले क्यान्सरको उपचार र निरोगिताको यात्रामा महत्वपूर्ण भूमिका खेल्न सक्छ । क्यान्सर सर्भाइभरहरू आफ्नो व्यक्तिगत संघर्ष र उपचारको यात्राबारे नयाँ बिरामीहरू खुल्न सक्छन् ।

क्यान्सर विजेताहरूले उनीहरूलाई आशा र सकारात्मक दृष्टिकोण प्रदान गर्न सक्छन् । यसले बिरामीको उपचारमा सामूहिक भावना जगाई मनोबल उच्च राख्न महत्वपूर्ण भूमिका खेल्दछ ।

किमोको कहर थेग्न गाह्रो

क्यान्सरका बिरामीलाई मनोबल बढाएन भने शरीर झनै कमजोर हुन्छ । कमजोर भइयो भने क्यान्सरसँग लड्न सकिंदैन । किमोको कहर थेग्न गाह्रो हुन्छ । उनीहरूलाई उपचारको अलावा हौसलाको खाँचो हुन्छ ।

त्यसैले बिरामी आफैंले आफूलाई दह्रो बनाउँदै जाने हो । यसले बिरामीलाई एक्लोपन र निराशाबाट बच्न मद्दत पुर्‍याउँछ । मानिसहरूले अनुभव गरेको भय, चिन्ता र अन्य चुनौतीको सामना गर्दा सर्भाइभरहरूले विश्वास र समर्थन दिन सक्छन् ।

उनीहरूको सकारात्मक दृष्टिकोण र संघर्षका उदाहरणले बिरामीको आत्मविश्वास र मनोबललाई बलियो बनाउन मद्दत गर्दछ । त्यसलाई परिवारका सदस्यले साथ दिने हो । घरमा क्यान्सरको कहर छिरेपछि त्यो परिवार आर्थिक, शारीरिक र मानसिक रूपमा तहसनहस हुन्छ ।

बिरामीलाई विचरा बनाउँदा समस्या
बिरामीसँग

धेरै भावुक कुरा गर्नुहुँदैन । उसलाई विचरा बनाउनु पनि हुँदैन । बिरामीको कुरा सुनेर उसको अगाडि धेरै भावुक बन्दा बिरामीको मनोबल थप कमजोर बन्न सक्छ । उसलाई रोग निको हुँदै गइरहेको छ, आत्तिनुपर्दैन जस्ता आश्वासन दिएर मनोबल बढाउनुपर्छ ।

बिरामीलाई सामान्य हिंडडुल, घरायसी काममा सहभागी गराउने । अग्र्यानिक खानेकुरामा जोड दिने । हल्का शारीरिक व्यायामका लागि प्रोत्साहित गर्ने आदि गर्नुपर्दछ ।

यस वर्षको नारा ‘युनाइटेड बाई युनिक’

विश्व क्यान्सर दिवस ४ फेबु्रअरी २०२५ मा विश्वभर मनाइँदैछ । यस वर्षको विश्व क्यान्सर दिवसको नारा ‘युनाइटेड बाई युनिक’ रहेको छ । जसले क्यान्सर विरुद्धको लडाइँमा बिरामी–केन्द्रित हेरचाहको महत्वपूर्ण भूमिकालाई परिभाषित गर्दछ ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा वर्षेनि ३६ हजार व्यक्ति क्यान्सर रोगबाट पीडित हुँदै आएका छन् । त्यस्तै संगठनले नेपालमा सन् २०५० सम्म क्यान्सर रोगीको संख्यामा ९१ प्रतिशतले वृद्धि हुने तथ्यांक पनि प्रक्षेपण गरेको छ ।

यो तथ्यांकले आगामी दिनमा क्यान्सर रोगीको संख्या डरलाग्दो किसिमले बढ्ने निश्चित छ । क्यान्सर उपचार महँगो भएको कारण नेपालमा धेरै बिरामी उपचारको पहुँच भन्दा टाढा रहेका छन् । विश्वमा सबैभन्दा बढी मृत्यु गराउने रोग मध्ये क्यान्सर एक हो । तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरकै कारण हुने गरेको छ ।

घरमा क्यान्सर छिरेपछि त्यसको सामना गर्नुको विकल्प छैन । क्यान्सर जीवनको अन्त्य पनि होइन । बेलैमा उपचारमा जाने, हिम्मत जुटाउने, आत्मबल बढाउने, हरेश नखाने, धैर्य गर्ने हो भने क्यान्सरलाई जित्न सकिन्छ ।

(पौडेल विराट क्यान्सर इन्स्टिच्यूटको काउन्सिलिङ विभागमा कार्यरत क्यान्सर सर्भाइभर हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?