क्यान्सर एउटा गम्भीर रोग हो, जसले लाखौँ मानिसको ज्यान लिइरहेको छ। नेपालमा हरेक वर्ष हजारौँ नयाँ क्यान्सरका बिरामी देखिन्छन् । ती मध्ये कयौँले सही जानकारी र समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउने गर्छन् ।
क्यान्सरको उपचार जति छिटो थालिन्छ, निको हुने सम्भावना त्यति नै उच्च हुन्छ। तर, नेपालमा अझै पनि धेरै बिरामी सही जानकारीको अभावमा उपचार लिन ढिलो गर्छन् । कतिपयलाई क्यान्सरसँग मिल्दोजुल्दो लक्षण देखियो भने कुन अस्पतालमा गएर देखाउने समेत हेक्का हुँदैन। कति खर्च लाग्छ ? यस्तै जिज्ञासाले सताउन सक्छ । तनाबमा पार्न सक्छ । यसरी अन्यौलमा बढी समय बित्दा रोग जटिल बन्न पुग्छ ।
कुन अस्पतालमा कस्तो उपचार ?
नेपालमा सरकारी र निजी अस्पताल दुवैमा क्यान्सरको उपचार हुन्छ। सरकारी अस्पतालको कुरा गर्ने हो भने नेपालभर तीनवटा क्यान्सर अस्पताल सञ्चालित छन्।
भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पातल, भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पताल र बाँकेस्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल। यी अस्पतालमा क्यान्सरको पहिचानदेखि क्यान्सरका लागि आवश्यक पर्ने उपचार सेवा सबै उपलब्ध छन्।
यीबाहेक पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षिक अस्पताल र निजामति अस्पतालमा पनि क्यान्सरको उपचार हुन्छ।
यी अस्पतालमा किमोथेरापी, शल्यक्रिया, रेडियोथेरापी, भित्री सेकाइ ब्राकिथेरापी जस्ता उपचार प्रक्रिया कम शुल्कमा उपलब्ध छन् । न्यून आय भएका बिरामीका लागि आर्थिक सहयोग र कतिपय सेवाहरु निःशुल्क समेत उपलब्ध गराइन्छ। जस्तो– बालक्यान्सर उपचार पूर्णरुपमा निःशुल्क छ।
त्यस्तै, पाटन अस्पतालमा ब्लड क्यान्सर, मिर्गौलाको क्यान्सर, डिम्बासयको क्यान्सरका लागि आवश्यक विभिन्न खालका महंगा औषधीहरू निःशुल्क पाइन्छ ।
क्यान्सरको उपचार खर्चिलो छ, कति लाग्छ ?
सामान्यतया धेरै जस्तो क्यान्सरको सरकारी अस्पतालमा उपचार गर्दा ४ देखि ५ लाख भन्दा बढी खर्च लाग्दैन । तर निजी अस्पातलमा केही महँगो हुनसक्छ ।
नेपालमा क्यान्सरका सबै औषधि उपलब्ध छन् ?
नेपालमा क्यान्सरको उपचारमा प्रयोग हुने प्राय औषधि पाइन्छ । जुन अन्य देशमा भन्दा सस्तो पनि हुन्छ। किनकी नेपाल जस्ता गरिब मुलुकका लागि ‘पेटेन्ट’ लाग्दैन।
सबै किसिमका क्यान्सर नेपालमै पत्ता लाग्छ ?
सामान्यतया धेरै जस्तो क्यान्सर रोग सामान्य बायोप्सी जाँचबाट पत्ता लाग्छ । थप विस्तृत जाँचका लागि आइएचसी गरिन्छ । जुन प्राय सबै क्यान्सर अस्पतालमा उपलब्ध हुन्छ। कुनै जिनको जाँच गर्नलाई केन्द्रीय प्रयोगशाला पठाइन्छ ।
पेट स्क्यान के हो, नेपालमा परीक्षण हुन्छ ?
क्यान्सर कति फैलिएको छ भनेर गरिने विभिन्न जाँचमध्ये एउटा प्रविधि पेट स्क्यान पनि हो। जुन सबैका लागि आवश्यक पर्दैन। सिटी स्क्यानबाट नै रोग कुन ठाँउमा कति फैलिएको छ, सोही अनुसार चिकित्सकले उपचार योजना बनाउन सक्छन।
नेपालमा निजी क्षेत्रका काठमाडौंमा कुण्डलिनी र सुर्या र झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेट स्क्यान उपलब्ध छन्।
नेपालमा क्यान्सरसम्बन्धी विशेषज्ञ कति छन् ?
हाल नेपालमा करिब ५० को हाराहरीमा क्यान्सर रोगमा विशेषज्ञ हासिल गरेका चिकित्सक छन् । जसले स्वदेश तथा विदेशका ख्याती प्राप्त अस्पतालबाट प्रशिक्षित र अनुभवी छन्।
क्यान्सर उपचारका लागि विदेश जानुपर्ने बाध्यता छ ?
पहिले सेवा सुविधा कम भएका कारण गुणस्तरको उपचारका लागि विदेश जानैपर्ने बाध्यता थियो । तर अहिले त्यो परिस्थिति छैन । हाल विभिन्न निजी क्षेत्रबाट सञ्चालित अस्पातलले पनि निकै राम्रो सेवा दिइरहेका छन्। जस्तै, ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल, भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टर, विराटनगरस्थित विराट क्यान्सर सेन्टर, नोबेल मेडिकल कालेज, बीएण्डसी अस्पतात, झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पातल, चितवनस्थित सिएमसी क्यान्सर इन्स्टिच्युट लगायत स्थानमा अत्याधुनिक उपचार सेवा उपलब्ध छन्।
यी अस्पतालहरुमा क्यान्सर उपचारका लागि प्रयोग हुने उपकरणहरुमा अर्बौँ लगानी भएको छ । यसबाहेक जावलाखेलस्थित नेशनल क्यान्सर अस्पताल, पोखरास्थित मणिपाल अस्पताल, काठमाडौंस्थित ओम अस्पातल, मेडिसिटी अस्पातल, नेपाल मेडिकल कलेज अस्पताल, किस्ट अस्पताल, ग्रान्डी अस्पताल, ह्याम्स अस्पताल, बीएण्डबी अस्पातल लगायत अस्पातलहरुमा पनि केही हदसम्म क्यान्सरको राम्रो उपचार हुन्छन्।
सरकारी अस्पतालका तुलनामा निजीमा केही महँगो हुन्छ। तर छिटो छरितो हुन्छ । सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक सहित उपकरणहरु नभएका होइनन्। तर बिरामीको चाप धेरै हुँदा केही ढिलो चाँहि हुन सक्छन। तर कम मूल्यमा राम्रो उपचार सेवा भने पाउन सकिन्छ।
अझै किन क्यान्सरका बिरामी बाहिर जान्छन् ?
कतिपयलाई नेपालमा क्यान्सरको उपचार हुँदैन भन्ने भ्रम छ। क्यान्सरको उपचारलाई झन्झट मान्ने, उपचार प्रक्रियामा लान ढिलाइ गर्ने, भारतका विभिन्न अस्पताल धाउने, अनावश्यक खर्च र झन्झट ब्यहोर्ने गरेको देखिन्छ । जुन अब आवश्यक छैन।
कसैले आफ्नो इच्छाले अझ राम्रो होला भनेर अन्यत्र जानु स्वभाविक हो तर नेपालमा केही हुन्न भन्ने मानसिकता गलत हो।
बाहिर अत्याधिक शुल्क तिर्नुभन्दा बीमाबाट पनि गर्न सकिन्छ । स्वास्थ्य अवस्थाले गर्दा वा व्यक्तिगत पारिवारिक कारणले सधैं अन्य सहरमा गई उपचार गर्न सम्भव नहुन पनि सक्छ । भक्तपुर क्यान्सर अस्पातल लगायत अस्पतालले सिकिस्त बिरामीलाई घरमै गएर समेत सेवा दिने गरेका छन् ।
 
                    










 २०८१ माघ  २२ गते ७:३१
                        २०८१ माघ  २२ गते ७:३१                     
                             
                     
 
 
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                                         
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                             
                                         
                             
                             
                            
प्रतिक्रिया 4