८ साउन ललितपुर । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ बुङ्मतीका बासिन्दा विकास निर्माणमा लागेका छन् । साँघुरो बजेटका कारण विकासमा भएका ढिलाइलाई ध्यानमा राख्दै यहाँका बासिन्दा बुङ्मती-डुकुछाप चल्ने बाटो निर्माणमा आफैँ अग्रसर भई लागेका हुन् ।
बर्सातको समयमा कच्ची मोटर बाटोमा हिँड्डुल गर्न र सवारीसाधन चलाउन मुस्किल भइरहेको अवस्थामा यसले थप टेवा पुग्ने विश्वास गरिएको छ ।
करिब तीन किलोमिटरको बाटोमा समयमा बजेट नपाउँदा कष्टकर यात्रा गर्न यहाँका बासिन्दा आजित भइसकेको बुङ्मती-फर्सिडोल सडक उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण लामाले बताए ।
प्राविधिकका अनुसार उक्त बाटोको स्तरवृद्विका लागि करिब रु ४० लाख लाग्ने अनुमान गरिएको अध्यक्ष लामाले जानकारी दिए । बर्सातको याममा भए पनि स्थानीयको पहलमा हाल स्थानीय तहबाट केही रकमको जोहो गर्दै बाटोलाई थप चौडा र ग्राभिलिङ गर्ने कार्य भइरहेको उनले बताए ।
आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने नारासहित अहिले बुङ्मतीका बासिन्दा स्थानीयस्तरका विकासमा आफैँ लाग्नुपर्ने समाजसेवी तिलकमान शाक्यले बताए । समयमै सम्बन्धित निकायबाट बजेट आएको भए अहिले यस किसिमको समस्या झेल्नुु नपर्ने शाक्यको भनाइ छ । बाटोका कारण समयमै गन्तव्यमा पुग्न मुस्किल परेको गुनासो स्थानीय जमुना लामाको छ । रासस
प्रतिक्रिया 4