
सुशान्त केसी, नाम नै काफी छ युवापुस्ताका लागि। जब–जब यो नाम उद्घोष हुन्छ, उनीहरूको अवयव यसै नाच्न थाल्छ। हृदयमा प्रेममय कम्पन शुरु हुन्छ। किनभने, सुशान्तले यस्ता मनप्रिय गीतहरूको थुप्रो लगाइदिएका छन्, जसले युवापुस्ताको मन अघाउँदैन। साथी, आमा, बार्दली, सारङ्गी, गुलाबी— सुशान्तद्वारा स्वरबद्ध यी यस्तै गीतका सूची हुन्।
उनको गायकीको गुणवत्ता त पछिल्लो ‘बार्दली’ गीतले पनि पुष्टि गर्छ। यो गीत भारतको चर्चित म्युजिक कम्पनी टी सिरिजले उत्पादन गरिदियो। यसरी सुशान्त सीमा बाहिर र सीमा भित्र जताततै छाएका छन्, गीत मार्फत। तर, सार्वजनिक रूपमा उनी दुर्लभ मान्छे। हत्तपत्त भेटिंदैनन्। आफ्ना साथीवृत्तभन्दा बाहिर घुलमिल हुँदैनन्।
तुलनात्मक रूपमा उनको कन्सर्ट पनि कम हुने गर्छ। उनको सक्रिय सांगीतिक करिअर पनि ९ वर्षको मात्र छ। तर यो बीचमा उनले ९० बढी गीत निकालेका छन्। अनि उनका लागि हरेक गीत ‘मेगा प्रोजेक्ट’ हुने गर्छ।
युट्युबमा हेर्दा सन् २०१६ मा रिलिज भएको ‘कहाँ जाउँ’ उनको पहिलो गीत जस्तो लाग्छ। तर धेरैलाई थाहा छैन, बूढानीलकण्ठ स्कूलमा ७/८ कक्षा पढिरहँदा उनले केही बाल गीत रेकर्ड गराएका थिए। अनि एसएलसी (१० कक्षा) दिएपछिको फुर्सदमा केही समकालीन गीत रेकर्ड गराएका थिए। भलै, ती कुनै पनि गीत अहिले सुन्नका लागि उपलब्ध छैनन्।
तर, सुशान्तले गायनमा मात्र आफ्नो पहिचान सीमित गरेका छैनन्। धेरै त उनी आफ्नो गीत आफैं लेख्छन्। संगीत भर्छन्। गाउँछन्। म्युजिक भिडियोमा समेत आफैं देखिन्छन्। एउटा राम्रो पक्ष, उनले आफ्नो गीतका लागि अन्य कलाकारहरूसँग सहकार्य गर्दै आइरहेका छन्।
गीत सिर्जना गर्ने पाटोमा एकलौटी भए पनि उनमा त्यो सहकार्यको लचकता देखिन्छ। इन्द्रकला राई, योद्धा, झुमा लिम्बू, लिक रक लुक आदि केही नामहरू हुन्, जोसँग उनले साङ्गीतिक सहकार्य गरेका छन्।
बूढानीलकण्ठ स्कूलदेखि रातोबङ्गलासम्म
काठमाडौंमा २ फेब्रुअरी १९९७ का दिन बुवा सुरेशकुमार कर्ण र आमा सानु राणाका सन्तानका रूपमा सुशान्तको जन्म भएको थियो। उनको बाल्यकाल सुखमय नै बित्यो। उनले कहिल्यै पनि ठूलो अभाव महसुस गरेनन्।
तर, सानै उमेरदेखि सङ्गीतप्रति उनमा गहिरो लगाव थियो। बच्चैदेखि रेडियोमा मनपर्ने धुन बज्दा बुबाआमालाई बारम्बार बजाउन अनुरोध गर्ने उनको बानी थियो।
त्यो लगावले बुबाआमाले उनलाई एउटा पहेंलो रङको सानो गितार पनि किनिदिएका थिए। चारवटा तार भएको त्यो गितार सम्भवत: बजाउनभन्दा पनि रहर पूरा गर्ने साधन थियो।
यता, उनी पढिरहेको बूढानीलकण्ठ स्कूलमा पनि सांगीतिक माहोल गज्जबकै थियो। उनलाई पहिलो पटक स्टुडियो छिराउनुका साथै संगीतमा गहिरो प्रभाव पार्नमा सो विद्यालयको ठूलै हात छ।
त्यसबेला शिक्षकहरूले उनीहरूलाई कालीप्रसाद रिजाल लगायत गीतकारहरूका गीतहरू सिकाउने गर्थे। यद्यपि, उनलाई ती गीतहरूमा आफ्नो ‘भाइब’ नभएको महसुस हुन्थ्यो। तर त्यस्ता गीत स्टुडियोमा रेकर्डेड भएपछि गीत गाउन सक्छु भन्ने विश्वास उनमा थपिएको थियो।
त्यसपछि उनले आफ्नो पहिलो ठूलो र राम्रो गितार पाए। जुन विद्यालयमा गितार सिक्न आवश्यक थियो। साङ्गीतिक यात्रामा प्रवेश गराउन विद्यालयको त उनमा अहं भूमिका छँदैछ। भलै उनले प्राविधिक रूपमा धेरै सिकेनन्।
तर, विद्यालयको होस्टलमा बसेर नेपालका ७७ वटै जिल्लाका साथीहरूसँगको अनुभवले उनको व्यक्तित्वलाई आकार दियो। त्यस अनुभवले उनलाई मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्ने सिकायो। उनीहरूलाई बुझ्ने तरिका सिकायो। साथै गीत लेखनमा कथाहरूलाई गहिरो रूपमा बुझ्न सिकायो।
एसएलसीपछि उनका मामाले रमेश दाहाल नामक गीतकारसँग भेट गराए। रमेश दाहाल पुरस्कृत भइसकेका गीतकार थिए। उनकै रचनामा सुशान्तले फेरि दुई तीन वटा गीत रेकर्ड गरे। एक त एसएससी पछिको फुर्सदको समय, अर्को आफ्नो मनपसन्दको विधासँग नजिकका गीत।
उनको विधा ‘सिङ्गर सङ राइटर’ हो। यस विधामा कलाकारहरू आफैं गीतहरू लेख्छन् र प्रदर्शन गर्छन्। उनीहरूले प्रायः गितार वा पियानो जस्ता वाद्ययन्त्रहरूको प्रयोग गर्छन्। र, गीत तयार पार्न आफ्नै अनुभव तथा भावनाहरूबाट प्रेरणा लिन्छन्।
तर, त्यो समयमा यो विधा सुन्ने श्रोता थिएनन्। कारण यै त नहोला, तर एसएलसी पछि रेकर्ड गरेका उनका गीतहरू पनि बजारमा आएनन्।
यता, उनी ए लेभल (रातो बङ्गला) मा भर्ना हुने निश्चित भयो। त्यसपछि कलेज जानुअघिको समयमा आफैं गीत लेख्न थाले। संगीत भर्न थाले। र, १९ वर्षको उमेरमा आफ्नो पहिलो आधिकारिक गीत ‘कहाँ जाउँ’ निकाले। ‘आमा’ पनि त्यही समयमा निकालिएको गीत थियो।
अष्ट्रेलियाको संघर्ष र सङ्गीतको महत्त्व
उनले ए लेभल राम्रै नतिजा ल्याएर सिध्याए। बुबाआमाले ‘संगीत पढ्ने भए पनि पढ’ भनिरहेका थिए। तर विद्यालय तहदेखिकै तीक्ष्ण विद्यार्थी सुशान्तलाई तत्काल संगीतको औपचारिक अध्ययन गर्न मन लागेन।
अनि वाणिज्यशास्त्र अध्ययन गर्न सन् २०१६ मा अष्ट्रेलिया उडे। विद्यालयका अधिकांश साथीहरू त्यहीं गएकाले उनको रोजाइमा अष्ट्रेलिया परेको थियो।
अष्ट्रेलिया पुग्नु पढाइका हिसाबमा त्यति राम्रो भएन। तर सङ्गीतप्रति आफ्नो गहिरो लगाव रहेको वास्तविक बोध गर्न भने राम्रो समय भयो। किनकि उनी सधैं गितारसँगै हुन्थे। विश्वविद्यालयमा गएर कक्षा लिनुभन्दा गीत बनाउन लागिरहेका थिए।
त्यससँगै अष्ट्रेलियामा सुशान्तले वास्तविक संघर्षको सामना गरे। एक त सानैदेखि होस्टल बसेका, काम गर्ने बानी थिएन। नेपालमा राम्रो जीवन बिताएकाले त्यहाँको संघर्ष मन पर्थेन।
त्यसमाथि एक जना बस्ने कोठामा उनीहरू चार जना बसिरहेका थिए। यो कुरा लामो समयसम्म उनीहरूले घरधनीसँग लुकाइरहेका थिए। तर एक दिन घरधनीले वास्तविकता थाहा पाइहाले। त्यसपछि घरधनीले कोठाबाट निकालिदिए। अनि बास सडकमा।
त्यो संघर्षबीच खर्च जुटाउन उनले केही पार्टटाइम काम गरेका थिए। तर कुनै पनि कामलाई निरन्तरता दिएनन्। त्यो बीचमा बुझे- सुख भनेको परिवार रहेछ। अनि आफ्नो अनुभवका आधारमा धेरै गीत लेखे।
‘मुस्कुराएर’, ‘बेहोस’ जस्ता चर्चित गीतहरू सिड्नीको कुनै अपार्टमेन्टको भान्सा वा बाल्कोनीमा बनेका हुन्। त्यसमा उनलाई हौसला दिने साथीहरूको ठूलो हात छ। साथीहरूकै आग्रहमा उनले होम स्टुडियोको सेटअप बनाएका थिए। गराज ब्यान्ड नामक आधारभूत सफ्टवेयर प्रयोग गरेर सङ्गीत बनाएका थिए।
खासै प्राविधिक ज्ञान नहुँदा पनि निकालेको गीत चलेकाले उनलाई अर्को कुराको पनि बोध गरायो- गीत प्राविधिक रूपमा भन्दा पनि राम्रो सुनिने हुनुपर्ने रहेछ।
त्यसैले अहिलेको समयसम्म पनि सुशान्त गीत बनाउँदा हरेक हरफहरूलाई कोरस जत्तिकै महत्त्व दिएर कम्पोज गर्छन्। अनि उनले जुन तरिकाका संगीत गरिरहेका थिए, ती समयमा बिल्कुलै नयाँ धुन थिए। जसले श्रोतालाई छिट्टै आकर्षित गर्यो। युट्युबमा हजारौं भ्युज आउन थाल्यो। यो समयसम्म उनका ३५ वटा गीतमा कम्तीमा पनि १० लाख बढी भ्युज छ।
नेपाल फिर्ता र संगीत अध्ययन
अष्ट्रेलियाका सुरुआती दिनहरूमा सुशान्तको पढाइ राम्रै थियो। तर पछिल्ला वर्षहरूमा पढाइ एक हिसाबले खस्कियो। कारण, संगीत र संघर्षपूर्ण जीवन थियो। जुन कुरा उनका बुवाआमालाई राम्ररी थाहा थियो।
अनि त्यस विषयमा घरमा कुराकानी भइसकेपछि सुशान्त नेपाल फर्कने निश्चित भयो। शर्त थियो- संगीतको राम्रो कलेजमा भर्ना हुने। त्यही अनुसार उनले बर्क्ली कलेज अफ म्युजिकमा आवेदन दिए।
भर्नाका लागि त्यहाँ पठाउनुपर्ने निबन्धमा सिड्नीको आफ्नै संघर्षपूर्ण जीवन लेखे। सकसले गाँजेको जीवनमा संगीतले कसरी निकास दियो भन्ने कुरा उनले निबन्धमा लेखिदिए। त्यो मार्मिक निबन्धका कारण उनले आफूले रोजेको बर्क्ली कलेजमै भर्ना पाए।
यसरी चारवर्षे अष्ट्रेलियाको विद्यार्थी जीवनपछि अन्तत: सन् २०१९ मा उनी नेपाल फिर्ता आए। त्यो बीचसम्ममा जसोतसो उनले स्नातक तह पनि उत्तीर्ण गरिसकेका थिए भने यता बर्क्लीमा पढाइ अनलाइनबाटै हुन्थ्यो।
संगीतमा छलाङ
अष्ट्रेलियामा छँदै सुशान्तको युट्युबमा राम्रो भइरहेको थियो। एक प्रकारको फेम बनिरहेको थियो। आफ्नो गीतहरूबाटै उनले केही कमाइ पनि गरिरहेका थिए। अनि गीतको अभाव त उनीसँग छँदै थिएन।
यति हुँदाहुँदै पनि संगीतमा पूर्ण रूपमा लाग्न भने उनी डराइरहेका थिए। तर नेपाल फर्केपछि संगीतमा ‘फुल टाइम’ दिन थाले। नयाँ गीतहरू निकाल्न थाले। कन्सर्टहरू पनि गर्न थाले।
विशेषत: आफूलाई मनपर्ने तरिकाले काम गर्न थाले। उनलाई आफूबाहेक अरूसँग खासै प्रतिस्पर्धा लाग्दैन। बजारमा उनकै विधा र शैलीमा गीत निकाल्नेहरू टन्नै छन्। तर सुशान्तलाई आफू पछि पर्छु भन्ने डर छैन।
उनी आफूलाई श्रोताले के चाहन्छन् भन्ने कुरामा पारङ्गत भएको बताउँछन्। गीत रिलिज हुनुअघि नै त्यसको सफलताको अनुमान आफूले गर्न सक्ने उनको भनाइ छ। त्यस्तै संगीत सिर्जना गर्ने र त्यसमा राख्ने उनको दृष्टिकोण पनि रोचक छ।
धेरै मानिसले आफ्नो गीत मन पराउनुको कारण मेलोडी राम्रो हुनु रहेको सुशान्त बताउँछन्। यसका लागि गीतको हरेक भाग (भर्स, प्रि–कोरस, कोरस आदि) लाई ‘हुक’ जस्तै क्याची बनाउने उनको प्रयास हुन्छ।
भलै त्यसरी गीत रचनामा गर्न यति नै समय लाग्छ भन्ने छैन। ‘बार्दली’ जस्तो सुपरहिट गीत उनले एक हप्तामै बनाइसकेका थिए। केही गीत एक दिनमै बनाएको अनुभव पनि उनीसँग छ।
उनको गीत रचना प्रक्रिया पनि सामान्य नै हुन्छ। प्राय: गितारमा बस्दा उनी मेलोडी निकालिरहन्छन्। त्यसमा दिमागमा आएका शब्दहरू भर्छन्। अनि आफूलाई चित्त बुझेपछि गीत सक्न अघि बढ्छन्।
त्यसमाथि उनले नेपाली भाषामा मात्र गीत निकालिरहेका छैनन्, अङ्ग्रेजीमा त पहिलेदेखि नै गीत निकाल्दै आइरहेका थिए। हालैका वर्षहरूमा हिन्दी भाषामा समेत गीत निकालिरहेका छन्। यसले अन्तर्राष्ट्रियस्तरमा जाने उनको चाह देखाउँछ।
बार्दली लगायत उनका केही गीत भारतमा लोकप्रिय भइरहेका थिए। त्यस्तैमा टी सिरिजले सो गीतको हिन्दी संस्करण बनाउन उनलाई प्रस्ताव पठायो। जसअनुसार ‘उफ’ बन्यो। सुशान्त त्यस सम्झौतालाई नेपाली सङ्गीत उद्योगका लागि ‘ऐतिहासिक घटना’ मान्छन्। किनकि त्यसले नेपाली संगीतलाई ठूलो श्रोतासम्म पुर्यायो।
त्यस्तै एकफेर उनी भोइस किड्स (एक रियालिटी शो) सिजन–२ का कोच पनि थिए। विशेषत: ठूलो जनसंख्याले आफूलाई चिन्छन् भनेर त्यहाँ संलग्न भएको उनी सुनाउँछन्। त्यहाँ जानुको व्यक्तिगत उद्देश्य पूरा भएकाले अब त्यहाँ नफर्कने उनको भनाइ छ।
अब सुशान्तको ध्यान नयाँ प्रकारका गीतहरू निकाल्नु छ। एसकेसी नामक मर्चेन्डाइजलाई विस्तार गर्नु छ। थोरै तर बबाल कन्सर्ट गर्नु छ। किनकि विश्वका ठूला कलाकारहरूका लागि कन्सर्ट र मर्चेन्डाइज नै आम्दानीका मुख्य स्रोत हुन्। उनले हिट गीतहरू दिएर बल्ल सन् २०२३ मा मात्र आफ्नो मर्चेन्डाइज शुरु गरेका हुन्।
यसरी छोटो सांगीतिक यात्रा मार्फत नै सुशान्तले आफ्नो जीवनलाई आकार दिन सकेका छन्। जसरी मलिलो माटोमा रोपिएको बिरुवा राम्ररी फल्न/फुल्न सक्छ, त्यसरी नै सुशान्तको सांगीतिक यात्रा हुर्केको छ।