+
+
Shares
जेनजी आन्दोलनको नाममा :

सादगी किसुनजीको आश्रम पनि छोडेनन् (तस्वीर/भिडियो)

नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा बनेको बाडेगाँउस्थित आश्रम समेत अराजक समूहले विध्वंस गरेको छ । सादगी नेता भट्टराईले जीवनकालमा अनियमितता गरेनन् । तर भ्रष्टाचार र अव्यवस्था विरुद्ध भन्दै उत्रेको उदण्ड समूहले भने भट्टराईको कुनै नामोनिसान नरहनेगरी आश्रम खरानी बनायो ।

लिलु डुम्रे आर्यन धिमाल लिलु डुम्रे, आर्यन धिमाल
२०८२ भदौ २९ गते २२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भट्टराई आश्रममा गत मंगलबार भएको आगजनी र तोडफोडले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृति र सामग्री नष्ट भएका छन्।
  • आश्रममा रहेका भट्टराईले प्रयोग गरेका छाता, सुराही र पुस्तकालय लगायतका सामग्री आगोले जलेका छन् भने शालिक समेत तोडफोड गरिएको छ।
  • गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले अराजक समूहले आश्रममा आगो लगाएको र उनलाई सुरक्षित स्थानमा लग्न बाध्य बनाएको बताउनुभयो।

२९ भदौं, काठमाडौं । निकट विगतको इतिहासमा हेक्का राख्नेहरुले ‘एउटा छाता, आफ्नो लुगा राख्ने एउटा टिनको बाकस र एउटा पानी खाने सुराही’ शब्दावली सुन्ने बित्तिकै नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मरण गरिहाल्छन् ।

प्रधानमन्त्री पदबाट बाहिँरिदा छाता, सुराही र टिनको बाकस बोकेर निस्कँदा उनीप्रतिको सम्मान झन् बढ्यो । आर्थिक अनियमिततासँग जोडेर र एक्लो जीवनका लागि सरकारी रकम दुरुपयोग गरेको भनेर उनी माथि कोही कसैले प्रश्न उठाउन सकेन ।

नेपालको इतिहासमा पहिलो जननिर्वाचित संसद्को पहिलो सभामुख (२०१५) बनेका भट्टराई २०४६ सालको आन्दोलनपछि प्रधानमन्त्री बनेर निवास छोड्दा यी तीन सामग्री लिएर निस्कँदा थप उचाईं थपे । सादगी, अनियमितताको दाग नलागेका, भ्रष्टचार विरोधी किसुनजीका लागि जीवनको उत्तरार्धमा सरकारले आश्रम बनाएर राख्यो ।

भट्टराईको निधनपछि उक्त आश्रम लोकतन्त्रवादी र सदाचारका पक्षधरहरुको एउटा आस्थाको धरोहर थियो ।

तर अव्यवस्था र भ्रष्टाचारविरुद्ध भन्दै सुरु भएको आन्दोलनमा गत मंगलबार सदाचारको वकालत गर्ने भट्टराईको स्मृति संग्रहित त्यो आश्रम समेत बाँकी रहेन ।गत मंगलबार आन्दोलनकारीले आगजनी गरेर ध्वस्त बनाए ।

भ्रष्टचार विरोधी सादगी नेता किसनुजीको ‘भट्टराई आश्रम’ लाई भ्रष्टचारविरुद्धको आन्दोलनको रापले खरानी बनायो । मंगलबार अघिसम्म सुरक्षित रहेका भट्टराईले प्रयोग गरेको छाता र सुराही पनि आगोको लप्काले सकायो ।

जीवनका अन्तिम तीन वर्ष भट्टराईले ललितपुर बाँडेगाउँस्थित यही आश्रममा बिताएका थिए । आश्रममा भट्टराईले लेखेका डायरी, लेख रचना, उनले प्रयोग गरेको पुस्तकालय, उपनिषद्माथिको टीका, उनले प्रयोग गरेका धेरै सामग्रीमा प्रदर्शनकारीले आगो लगाए ।

००००

गत मंगलबार विहान १०: ३० बजेको समयमा अमिता कपाली र मुना अधिकारी यही आश्रममा टिभीमा समाचार हेरिरहेका थिए । लामो समय भट्टराईको सहयोगी बनाएर बिताएकी कपाली यही आश्रमको संरक्षक समेत हुन् । कपाली यो आश्रमकी सञ्चालिका समेत हुन् । उनको नेतृत्वमा आश्रमको हेरचाह भइरहेको छ ।

मुना अधिकारी गोदावरी नगरपालिकाकी उपमेयर हुन् । सरकारी कार्यालय, दलका नेताको घरमा आगो लागिरहेको टिभीमा हेरिरहेको बेला उपमेयरले अधिकारीले कपालीलाई भनिन्,‘दिदी सरकारी कार्यालय तोडफोड गर्ने र आगो लगाउने गरेका छन् । प्रहरी चौकी जलेका छन् । नेताहरुका घरमा पनि आगो लगाउन सुरु गरे ।’ आश्रममा केही हुँदैन भन्नेमा ढुक्क थिए ।

सरकारी कार्यालय, प्रहरी चौकी, दलका नेताको निवास, व्यापारिक कम्लेक्स केहीमा पनि यो आश्रम नपर्ने हुँदा तोडफोड नहुनेमा विश्वस्त रहेर बाहिरको अवस्था टीभीमा हेर्दै थिए ।

अकस्मात् बाहिर गेटमा ढुङ्गा प्रहार गरेको उनीहरुले सुने । गोदावरी नगरपालिकाको उपमेयर अधिकारीका अनुसार सुरुमा ५/७ जना तोडफोड गर्न आएका थिए । मूल ढोका बजारे ।

भट्टराईले तत्कालीन बेला चढ्ने गाडी बा २ च १८४२ गेटबाहिर राखिने गरेको थियो । त्यसमा आगजनी गरे । प्रत्यक्षदर्शीका अनुसार आगो जलाउनेहरुले पेट्रोल आफूसँगै ल्याएका थिए । गाडी आधा जल्दै गर्दा दुई सुरक्षाकर्मी सहित पाँच जनाले प्रतिवाद गरे ।

पहिलो चरणमा आएको अराजक समूहलाई भगाउन पनि सफल भए । अधिकारी जनप्रतिनिधि समेत रहेको हुँदा उनलाई चिनेर कुटपीट गर्छन् कि भन्ने भय उनमा थियो । उनीहरुले अनुहार भरसक नदेखुन् भनेर त्रसित अवस्थामा निस्किएको अधिकारीले सुनाईन् । त्यसबेलाको त्रासदीपूर्ण अवस्था बारे अधिकारी भन्छिन्,‘मलाई त्यहाँ गेटबाट निस्किन दिँदैदन् होला । आगो लाइदिन्छन कि भन्ने नै डर लाग्यो के मलाई त ।’

आश्रमभित्र अराजक समूहले तोडफोड गर्न उत्रिँदा समेत कपाली भने बाहिर निस्कन मानिरहेकी थिइनन् । आगो लगाएर मारेछन् भनि यही मर्छु भनेर उनले अड्डी कसेकी थिइन् ।

उनै उपमेयर अधिकारीले पटक पटक आग्रह गरेर बल गरेर उनलाई पनि सुरक्षित स्थानमा पुर्‍याइन् । अधिकारी भन्छिन्,‘म मरेपनि यही भित्र मर्छु भन्नुभयो । म बाहिर जाँदै जान्न भन्नु हुँदै थियो । दिदीलाई मैले एकदमै रिक्वेस्ट गरेर बाहिर निकाल्न लगाए ।’

एउटा समूह भागेको थियो । अब केही हुन्न होला भने अपेक्षामा कपाली र अधिकारी थिए । बाँडेगाउँस्थित प्रहरी चौकीमा तोडफोडमा उत्रने समूह भट्टराई आश्रम आइपुग्यो । अघिल्लो समूह पनि त्यही ठूलो हुलमा मिसिएर तोडफोड र आगजनी गरे । मूल ढोका फोडे । बाहिर रहेका दुई मोटरसाइकल जलाए ।

आश्रम निवासमा छिर्ने बित्तिकै देखिने भट्टराईको शालिक तोडफोड गरे । हाल उक्त शालिकको नामोनिसान भेटिन्न् । उश्रृंङ्खल समूह भवनतिर आक्रमणमा उत्रियो । ज्यान बचाउनका लागि कपाली, अधिकारी, दुई सुरक्षाकर्मी सहित पाँच जना त्यहाँबाट भाग्नुपर्ने अवस्था बन्यो ।

आश्रममा मझौला प्रकृतिका ६ वटा भवन छन् । भिरालो जग्गामा रहेका भवनमा एकपछि अर्कोमा आगो लगाए । भट्टराईसँग जोडिएका सबै दस्तावेज जलाए । भट्टराई प्रधानमन्त्री हुने बेलाको तस्वीर, विदेशी प्रमुखसँग भट्टराईको फोटो, उनलाई दिएको सम्मानपत्र, लिखित दस्तावेज लगायत सबै जले । अराजक समूहले भट्टराई निवासबाट भौतिक सामग्रीले साथमा लिएर घरम समेत लगे । घर लान नसकेका वस्तुहरु एक एक गरी ध्वस्त बनाए ।

भट्टराई आश्रमका ढोकाहरु वास्तुकला अनुसारका थिए । कुनै ढोका बाँकी नराख्ने गरी आगो लगाए । खण्डहर बनेको आश्रममा कुनैपनि ढोका सग्लो भेटिन्न् । अराजक समूहले शौचालयमा समेत तौडफोड गरेर पूर्ण क्षति पुर्‍याएका छन् । पाँच रोपनी क्षेत्रफलमा रहेको आश्रम स्थलमा विभिन्न थरिका फूलहरु रोपिएका थिए । गमला सबै फोडिएको छ । यत्रतत्र गमला छरिएका छन् । सिसाका टुक्रा फिँजिएका छन् ।

भट्टराई आश्रमका सबै भवन सहित अतिथि गृह, पुस्तकालय, सुरक्षागार्ड बस्ने कोठा लगायतमा अब बच्न बाँकी भित्तो मात्रै छ । कोठा खरानीले भरिएको छ ।

बिजुलीका तार कोठाभित्र तुर्लुङ झुण्डिएका छन् । प्रत्येक कक्षमा रहेका भान्सा कोठा तोडफोड गर्दा पानी बगेर खेर गइरहेको छ । अराजक समूह साँझ अबेरसम्म आश्रममा आगजनी र तोडफोड गरिरहेको थियो ।

उपमेयर अधिकारीलाई नयाँ सरकारले अराजक व्यक्तिहरुलाई कारबाहीको दायरमा राख्ने झिनो आशा राखेकी छन् । आशंका मिश्रित भावमा उनी भन्छिन्, ‘यी दुष्ट मान्छेलाई कारबाही गर्ला र ? अराजकलाई कारबाही नगरे त यस्ता मान्छेको मनोबल झनै बढ्छ नि ।’

पछिल्लो अवस्थामा यत्रतत्र फालिएका गमला, सिसा, टायल, जल्नबाट बचेका कागजात प्राङ्गणमा छन् । आश्रम जलेपछि वरपरबाट हेर्न आउनेहरुको संख्या बढी रहेको छ ।

मूख्यतः कांग्रेसका लागि भट्टराई आश्रम आस्थाको केन्द्र थियो । कांग्रेस नेताहरु भट्टराई आश्रममा बेला बेला पुगिरहन्थे । राष्ट्रपति बनेपछि रामचन्द्र पौडेल बाडेगाउँ पुगेर भट्टराई आश्रममा रहेको संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री भट्टराईको सालिकमा माल्यार्पण गरेका थिए ।

स्थापना २०६६ सालदेखि निर्माण सुरु गरेर क्रमशः भौतिक संरचना क्रमशः थपिएको थियो । गोदावरी–१४ मा कालभैरवको ठीक मूनि शान्त स्थानमा भट्टराई आश्रम निर्माण गरिएको थियो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, भट्टराईका निकटमा मित्र एवं काठमाडौं महानगरका पूर्व मेयर पिएल सिंहले आश्रम बनाउन पहलकदमी लिएका थिए ।

तस्वीर र भिडियोः आर्यन धिमाल

      

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?