+
+
Shares

बीपी राजमार्गमा हिँड्न पनि छैन बाटो, भीर खोस्रेर यात्रा

सडक बगेपछि दशैं मनाउन घर पुगेका यात्रुहरू गाडी चढेर यात्रा गर्ने कुरै भएन । तर, पैदल हिँडेर गन्तव्य स्थल पुग्न चाहनेका लागि समेत गोरेटो बाँकी रहेन । एक ठाउँबाट अर्को ठाउँमा पुग्न समेत भीरपाखा, खोला, खोल्सी खोस्रेर जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता आइपरेको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ असोज २२ गते २१:४३

२२ असोज, काभ्रेपलाञ्चोक । गत १८ र १९ असोजको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले बीपी राजमार्ग क्षतिग्रस्त बनायो । केही स्थानमा पैदल समेत हिँड्न नसकिने गरी सडक बगायो ।

सडक बगेपछि दशैं मनाउन घर पुगेका यात्रुहरू गाडी चढेर यात्रा गर्ने कुरै भएन । तर, पैदल हिँडेर गन्तव्य स्थल पुग्न चाहनेका लागि समेत गोरेटो बाँकी रहेन । एक ठाउँबाट अर्को ठाउँमा पुग्न समेत भीरपाखा, खोला, खोल्सी खोस्रेर जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता आइपरेको छ ।

सिन्धुली लगायत पूर्वी नाकाबाट आउने सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गरी सञ्चालन ल्याइएको छ । तर, जहाँ रोशीले क्षतविक्षत बनाएको बीपी राजमार्ग क्षेत्रका स्थानीय भने पैदलै हिँड्न पनि कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ ।

अन्य जिल्लाबाट आएकालाई वैकल्पिक मार्ग प्रयोग गर्न भने पनि काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका यात्रुलाई भने चौकीडाँडासम्मै पैदल हिँड्नुपर्ने बाध्यता छ ।

बीपी राजमार्ग अन्तर्गत चोकीडाँडा नेपालथोक खण्ड भएर यात्रा गर्ने यात्रुलाई मात्रै होइन, काभ्रेकै रोशी, महाभारत, नमोबुद्ध र तेमालका केही वडा तथा सिन्धुलीको घ्याङलेक लगायतबाट काठमाडौं आउने यात्रु पैदल हिँड्नु पर्ने बाध्यता छ । राजमार्गको नक्सा नै नामेट हुने गरी बाढीले सडक बगाए पछि यी क्षेत्रका जनतालाई काठमाडौं आउजाउ गर्न समस्या आइपरेको हो ।

दशैं मनाउन बीपी राजमार्ग हुँदै गएका त्यस क्षेत्रका नागरिकहरू काठमाडौं फर्कने बेलामा ग्रामीण सडकसमेत अवरुद्ध हुँदा साथेमा लगेका सवारीसाधन समेत घरमै थन्काएर पैदल काठमाडौं आउने बाध्यतामा छन् ।

दशैं मनाउन घर गएकी रिना श्रेष्ठ मंगलटारबाट यातायातमा हिँड्दा २५/३० मिनेट लाग्नेमा ५ घण्टा लगाएर यात्रा गर्नुपरेको दुखेसो गर्छिन् । गाडी चढ्नका लागि मंगलटारबाट ५ घण्टा हिँड्नु परेको उनी बताउँछिन् ।

‘एक्लै हिँड्न समेत गाह्रो छ, झोला र बच्चाबच्ची भएको मान्छेलाई साह्रै गारो छ,’ रिनाले दुखेसो पोखिन्, ‘विशेषगरी महिला, बुढापाका र बालबालिकालाई निकै अप्ठेरो छ ।’

अहिले बीपी राजमार्गको धुलिखेल–चौकीडाँडा खण्डमा सार्वजनिक यातायात सञ्चालन भए पनि त्यहाँभन्दा तलका स्थानीय पैदलै हिँड्नुपर्ने बाध्यता छ ।

रोशीका विभिन्न स्थानमा नेपाल प्रहरी,  सशस्त्र प्रहरी बल र स्थानीयले पैदल हिँड्नेलाई सहयोग गरिरहेका छन् । बाटो बनाउने, बिरामीलाई स्ट्रेचरमा बोकेर ल्याउने काममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सहयोग गरिरहेको छ ।

विशेषगरी दशैंको टीका लगाउन आफ्नो थातथलो गएकाहरूले शहर फर्कन कष्टकर यात्रा गर्नुपरेको प्रहरीचौकी कटुन्जेका इन्चार्ज राजेन्द्र ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार दैनिक त्यस रुटमा ३ सयदेखि ४ सयको हाराहारीमा यात्रुहरु हिँडिरहेका छन् । ‘गत तीन दिनमा १२–१३ सय यात्रु हिँडिसके, दैनिक ३–४ सय पैदल हिँडिरहेका छन् । माथि पहरो छ तल रोशी खोला छ । अप्ठेरो स्थानमा हामी आफैं बसेर यात्रुलाई पार गराइरहेका छौं,’ ढुङ्गेलले भने, ‘चौकीडाँबाट तलतिर जाने यात्रु धेरै छैनन्, तर दशैं मनाएर फर्किँदै गरेको यात्रुहरू धेरै छन् ।’

बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्डपूर्ण रूपमा बन्द छ । बढीपहिरोले राजमार्गको १९ स्थानमा क्षति पुर्‍याएको छ । क्षतिग्रस्त राजमार्गमा पुनः अस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ ।

बाढीको बहाव कम हुँदै गएपछि मंगलबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको भए पनि हालसम्म कुनै स्थानमा पनि डाइभर्सन निर्माण भइसकेको छैन । धेरै स्थानमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन गर्नुपर्ने भएकोले समय लाग्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

गत वर्ष असोजको बाढीपहिरोले क्षतिग्रस्त सडक डाइभर्सन गरी अस्थायी रूपमा सञ्चालनमा आएको थियो । यो पटक पनि पहिले बगाएको स्थानमा मात्र बगाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?