News Summary
Generated by OK AI. Editorially reviewed.- लोकप्रिय लोकपप ब्याण्ड कन्दराले शुक्रबार ठमेलस्थित एक्सओ क्लबमा ‘रिदम अफ चेन्ज’ अभियानअन्तर्गत दोस्रोपटक भब्य प्रस्तुति दियो।
- मुख्य गायक विवेक श्रेष्ठले भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक परिवर्तनको पक्षमा आफ्नो मत जाहेर गरे र दर्शकले समर्थन गरे।
- कन्दराले नेपालका प्रमुख सहर र विदेशमा ‘रिदम अफ चेन्ज’ टूर गर्ने तयारी गरिरहेको छ।
काठमाडौँ । लोकप्रिय लोकपप ब्याण्ड ‘कन्दरा’ दोस्रोपटक संघीय राजधानीमा गुञ्जिएको छ । शुक्रबार बेलुका ब्याण्डले ठमेलस्थित एक्सओ क्लबमा भब्य प्रस्तुति दियो ।
घडीले रातीको १० बजाउँदा मुख्य गायक विवेक श्रेष्ठ स्टेजमा उत्रिए अनि दर्शकलाई अभिवादन गरे । यसपटक ब्याण्ड ‘रिदम अफ चेन्ज’ नारा लिएर अभियानमा निस्किएको र पहिलो प्रस्तुति उक्त क्लबमा दिएको विवेकले बताए ।
२ घण्टासम्म कन्दराले आफ्ना बहुचर्चित र कालजयी गीतमार्फत काठमाडौंका दर्शकलाई मनोरञ्जन दियो । चिसिँदै गएको काठमाडौंलाई ब्याण्डले आफ्नो ‘सोसल इम्प्याक्ट इन्टरटेनमेन्ट’ मार्फत ततायो ।
प्रस्तुतिको बीच-बीचमा कन्दराले मुलुकको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै परिर्वतनको पक्षमा आफ्नो मत जाहेर गर्यो । भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको पक्षमा मुख्य गायक विवेकले भनाइ राखिरहँदा दर्शकले त्यसलाई समर्थन गरे ।

‘मुलुक परिवर्तनको संघारमा छ । संगीतमार्फत हामीले मुलुकको परिवर्तनमा हातेमालो गर्न खोजेको हो’ गायक श्रेष्ठले भने, ‘यो कन्सर्ट हाम्रो आवाज हो ।’
कन्दरालाई सुन्न जेनजी मात्र होइन, पाको उमेरका दर्शक पनि एक्सओ क्लबमा झुम्मिएका थिए । ‘कन्दराको कन्सर्ट वास्तवमै उत्कृष्ट रह्यो । यसले नयाँपुस्तासँग ब्याण्डलाई जोड्ने काम गरेको छ’ क्लबकी संचालिका नीरा जोशीले भनिन् ।
यसलगत्तै अब ‘कन्दरा’ स्वदेश र विदेशमा ‘रिदम अफ चेन्ज’ टूर लिएर प्रस्थान गर्दैछ । उत्तर अमेरिका, युरोप र अस्ट्रेलियामा टूरको तयारी छ ।
त्यसअघि ब्याण्डले नेपालका प्रमुख सहरमा टूरको तयारी बुनेको छ ।
३२ वर्षअघि पोखरामा जन्मिएको ब्याण्ड अहिले पनि दर्शकमाझ चर्चित छ । चन्चले कान्छी, हङकङ पोखरा, तगारोमा रुमाल राखी, भेडीगोठैमा, लेककी हे माया ब्याण्डका सुप्रसिद्ध गीत हुन् ।
ब्याण्डको लिड भोकलिस्टमा विवेक श्रेष्ठ, ड्रममा सुनिल थापा, मादलमा अविनाश गायक, बासिस्टमा पंकज झा, गितारमा सन्देश मुजो, किबोर्डमा नील घतानी, साउन्ड इन्जिनियरमा सिमोस तझ्या र प्राविधिक विज्ञमा नवीन थापा छन् ।
विशिष्टा इन्टरनेसनलले एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा एक्सओ क्लबमा आयोजित ‘काठमाडौं कलिङ कन्दरा’ कार्यक्रम गरेको हो ।
तस्वीर सौजन्य : एक्सओ क्लब








प्रतिक्रिया 4