News Summary
Generated by OK AI. Editorially reviewed.- कन्दराले 'रिदम अफ चेन्ज' नारासहित शुक्रबार राति १० बजे ठमेलको क्लब नोभामा कन्सर्ट गर्नेछ।
- लिड भोकलिस्ट विवेक श्रेष्ठले विग नलगाई वास्तविक हेयर लुक्समा पहिलोपटक प्रस्तुति दिनेछन्।
- कन्सर्टमा २५०० दर्शक सहभागी हुने अपेक्षा गरिएको छ र टिकट खल्ती एपबाट किन्न सकिनेछ।
काठमाडौं । ‘रिदम अफ चेन्ज’को नारासहित कन्सर्ट गर्दै आइरहेको मुलुकको अग्रणी सांगीतिक समूह ‘कन्दरा’ ले शुक्रबार प्रस्तुति दिने भएको छ । ठमेलको चाक्सीबारीस्थित क्लब नोभामा राती १० बजेदेखि ब्यान्ड गुञ्जिने तयारीमा छ ।
यो कन्सर्ट ब्यान्ड र दर्शकका लागि एक अर्थमा भिन्न हुनेछ । लिड भोकलिस्ट विवेक श्रेष्ठले ‘वास्तविक हेयर लुक्स’ सहित प्रस्तुति दिनेछन् । दर्शकले सँधै उनलाई ‘विग’ सहितको कपालमा देख्दै आएका थिए ।
ब्यान्डको ३ दशक लामो करिअरमा पहिलोपटक विवेक वास्तविक अवतारमा प्रस्तुत हुन लागेका हुन् । कन्सर्टअघि विवेकले प्रशंसकलाई यसबारे जानकारी पनि दिएका छन् । केही दिनदेखि उनले सामाजिक सञ्जालमा लगातार यसबारेका फोटो र भिडियो सेयर गर्दै आइरहेका थिए ।
‘विग’ बिनाको कन्सर्ट किन ? अनलाइनखबरको प्रश्नमा गायक श्रेष्ठ केही दार्शनिक सुनिए ।
‘हामीले यो कन्सर्टलाई ‘र एन्ड रियल’ रुपमा प्रस्तुत गर्न लागेका हौं । जब तपाईंले केही कुरा लुकाउनुहुन्छ, त्यतिबेला सास फेर्न गाह्रो हुन्छ । जब तपाईं स्वतन्त्र हुनुहुन्छ भने आफैले आफैलाई ढाँटनुहुन्न । बाहिर सबै कुरा ठीकै देखिएपनि भित्र आफैले ढाँटेजस्तो देखिने हुन्छ’ उनले भने ।

वास्तविकरुपमा आफू देखिन लागेकोमा उनले आनन्द महसुस गरिरहेको बताए । ‘यही त हो नि शाश्वत सत्य हो । म जे हो यहि नै रियल हो । अहिले आनन्द महसुस भैरहेको छ’ उनले भने । कन्दराले ‘परिवर्तन संगीतमा, सोचमा र स्वयममा’ अवधारणासहित पछिल्लोपटक सांगीतिक प्रस्तुति दिँदै आइरहेको छ ।
‘रिदम अफ चेन्ज’ श्रृंखलाअन्तर्गत ब्यान्डले यसअघि ठमेलकै एक्सओ क्लबमा प्रस्तुति दिएको थियो । यो श्रृंखला नेपाल र विदेशमा पनि चल्दैछ । पश्चिम एसियाको युद्धको कारण इजरायलमा हुने तयारीमा रहेको कन्सर्ट रोकिएको छ । जुनमा बेलायत, जुलाईपछि अमेरिका र क्यानडा टूरको तयारीमा ब्यान्ड छ ।
त्यसपछि स्वदेश फर्किएर विभिन्न सहरमा प्रस्तुति दिने तालिका रहेको ब्यान्डका लिड भोकलिस्ट समेत रहेका विवेकले बताए । लिड भोकलिस्टमा विवेकसहित ड्रममा सुनील थापा, गिटारमा सन्देश म्यूजो, बेस गिटारमा पंकज झा, मादलमा अविनाश गायक, किबोर्डमा नीरज विश्वकर्मा छन् ।
दर्शकले खल्ती एपमार्फत कन्सर्टको टिकट लिन पाउनेछन् । एसियाकै ठूलो मानिने बताइएको उक्त क्लबमा कुल २५०० दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4