News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ फिल्म निर्देशक नीर शाहले दशकपछि मनोवैज्ञानिक विषयवस्तुको फिल्म 'कमला मिस' मार्फत निर्देशनमा फर्किएका छन्।
- 'कमला मिस' को छायांकन २०७९ जेठ १३ गते इमाडोलस्थित न्यू मिलेनियम स्कुल परिसरमा सुरु गरिएको छ।
- शाहले सन् १९७१ मा 'परिवर्तन' बाट फिल्म करिअर सुरु गरेका थिए र उनका स्मरणीय फिल्ममा 'वासुदेव', 'सेतो बाघ' छन्।
काठमाडौं । वरिष्ठ फिल्म निर्देशक नीर शाह निर्देशनमा फर्किएका छन् । दशकपछि उनी मनोवैज्ञानिक विषयवस्तुको फिल्म ‘कमला मिस’ मार्फत निर्देशनमा फर्किएका हुन् ।
उनी निर्देशित पछिल्लो फिल्म ‘सेतो बाघ’ सन् २०१५ मा प्रदर्शनमा आएको थियो । शुक्रबार इमाडोलस्थित न्यू मिलेनियम स्कुल परिसरमा शुभसाइत पूजा गर्दै पछिल्लो निर्देशकीय प्रोजेक्ट ‘कमला मिस’ को छायांकन सुरु गरिएको हो ।
यो फिल्मलाई मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको छ । यसमा निर्देशक शाहसँगै बास्ना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन् । मुख्य सहायक निर्देशकको रूपमा सागर बोहरा छन् ।

विजय मल्ल स्मृति प्रतिष्ठानद्वारा प्रस्तुतीमा बन्ने फिल्ममा कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान छन् । लाइन प्रोड्युसरमा पुष्कर लामा (प्रेम भोम्जन) छन् । कथा विजय मल्लको हो भने पटकथा संवाद निर्देशक शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा लेखेका हुन् ।
प्राविधिक पक्षमा छायांकन शिवराम श्रेष्ठ, सङ्गीत युग भुसाल र नृत्य निर्देशन रामजी लामिछानेले गर्नेछन् । निर्माण व्यवस्थापनको जिम्मेवारी भोला सुबेदीले सम्हालेका छन् ।
शाहले सन् १९७१ मा हीरासिंह खत्री निर्देशित ‘परिवर्तन’ बाट फिल्म करिअर थालेका थिए । उनले यसमा अभिनेताको रुपमा डेब्यू गरेका थिए । उनको पहिलो निर्देशकीय फिल्म चाहिँ ‘वासुदेव’ हो ।
उनका स्मरणीय फिल्ममा ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, ‘सेतो बाघ’ छन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा पौने १८ करोड नेरु ग्रस हाराहारीमा कमाइ गरेको छ ।




प्रतिक्रिया 4