+
+
Shares

भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा गुञ्जियो ‘नेपथ्य’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिलिगुडीमा नेपथ्य ब्यान्डले पहिलोपटक दुई घण्टे कन्सर्ट गर्दै १७ गीत प्रस्तुत गरेको छ।
  • मिजोरम, असम, सिक्किम र भुटानबाट नेपालीभाषी दर्शकहरू नेपथ्यको कन्सर्टमा सहभागी भएका थिए।
  • भारतीय जनता पार्टीका सांसदहरूले नेपथ्यलाई भाषा, संस्कृति र एकताको प्रतीक भन्दै समर्थन जनाएका छन्।

सिलिगुडी । ‘पुर्खाको संघर्ष र रोजाइले बेग्लाबेग्लै ठाउँमा बसे पनि हामीबीच भाषाको सम्बन्ध छ,’ गायक अमृत गुरुङ चिच्याए, ‘भावी पुस्तालाई पनि यो भाषा दिएर हाम्रो सम्बन्ध युगौँयुगसम्म अघि बढाऔँ हइ…..।’

पश्चिम बङ्गालको उदीयमान महानगर सिलिगुडीको मैदानमा थुप्रै बाजा र झिलिमिली बत्तीबीच ‘नेपथ्य’ ब्यान्डका मुख्य गायकले यसो भनिरहँदा दर्शकले समर्थनमा चर्को आवाज दिए ।

त्यसरी आवाज दिनेमध्ये एक थिइन् पुष्पा क्षेत्री । मिजोरमको आइजोल र कोलासी क्षेत्रका झन्डै ४० जनाको समूहमा २० घण्टाको रेल यात्रा गरेर उनीहरू नेपथ्यसँग झुम्न सिलिगुडी आइपुगेका थिए ।

‘हामी मिजोरमका नेपाली जाति अल्पसंख्यक भए पनि आफ्नै भाषा र संस्कृतिको मायाले बाँधिएका छौँ,’ अनलाइन ट्रान्सक्रिप्सन व्यवसायमा आबद्ध पुष्पा भनिरहेकी थिइन्, ‘बुवाहरूको पालामै क्यासेट चक्काबाट सुन्दै आएको नेपथ्य ब्यान्ड सिलिगुडी आउने खबर सुनेपछि थामिन सकेनौँ ।’

एक त नेपालीभाषीको थोरै संख्या, त्यसमाथि छरिएको बसोबास भएका कारण तत्काल नेपथ्यलाई उतै बोलाउन नसकिएको उनको ठम्याइ छ । कन्सर्ट सकिएपछि एक रात सिलिगुडीमै बिताउने र भोलिपल्ट दुईवटा रेल बदलेर घर फर्कने तयारीमा रहेकी पुष्पाले प्रतिक्रिया दिइन्, ‘जति सोचेका थियौँ, त्योभन्दा धेरै गुणा बढी रमाएर फर्कंदै छौँ ।’

कन्सर्टमा असमबाट सञ्जीव लिनसिङ पनि आइपुगेका थिए । पहिल्यैदेखि साथीहरूसँग नेपाली बोल्दै आएका उनी आदिवासी खसिया समुदायका हुन् ।

‘केही वर्षअघि दार्जिलिङकै नेपालीभाषी प्रेमिकासँग बिहे भएपछि म पूरै नेपालीभाषी बनिसकेको छु,’ नेपथ्यको कन्सर्ट हेर्न पोहोर इलाम पनि पुगेका सञ्जीव भनिरहेका थिए, ‘आज मेघालयका साथीहरूसमेत गरी हामी आठ जना सिलिगुडी आइपुगेका छौँ ।’

शनिबारकै नेपथ्य कन्सर्ट हेर्न सिक्किमदेखि रुश्मा राई आएकी थिइन् । नेपाली गतिविधिलाई सिक्किम र पश्चिम बङ्गालका पहाडी बस्ती मात्र नभई सिङ्गो पूर्वोत्तर भारत र छिमेकी मुलुक भुटानसम्म सिलिगुडीले सहजै जोड्न सुरु गरेको उनले प्रतिक्रिया दिइन् ।

कन्सर्टमा नेपालदेखि आएका दर्शकको पनि उपस्थिति थियो ।

गीत प्रस्ततिका क्रममा गायक अमृतले दर्शकलाई नेपालका फरक-फरक स्थानको यात्रा गराइरहेका थिए । उनी घरी टप्पामा आधारित ‘कर्नालीका छाइला’ सुनाउँथे भने लगत्तै पश्चिम कुनाबाट पूर्वी कुनाको हाक्पारेमा आधारित ‘कोशीको पानी यो जिन्दगानी’ गाउन थाल्थे ।

कन्सर्ट हेर्न आउने मध्येमै भारतीय जनता पार्टीसँग आबद्ध एमएलए नीरज जिम्बा पनि थिए । शोअघि होटलमै पुगेर गायक अमृतसँग भेटेको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

‘पहाडमा हुर्किएका हामी जस्ताका लागि नेपथ्य एउटा साङ्गीतिक ब्यान्ड मात्र नभएर सामूहिक पहिचान पनि हो,’ नेपथ्यको गीतमा झुम्दाझुम्दै उनले थपे, ‘यस ब्यान्डका रेशमदेखि सा कर्णालीसम्मका गीतहरूले हाम्रो सांस्कृतिक चेतलाई आकार दिएका छन् ।’

अर्का लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले कन्सर्ट हेरिसकेपछि फेसबुकमा लेखेका छन्, ‘आज सिलिगुडी, दार्जिलिङ, तराई, डुवर्स, सिक्किम र उत्तर बङ्गालका हजारौँ सङ्गीतप्रेमीमाझ गीत सुनाउने नेपथ्य ब्यान्ड हाम्रो भाषा, संस्कृति र एकताको प्रतीक हो । सङ्गीतको यो यात्रा निरन्तर रहोस्, हाम्रो भारत र नेपालमाझ एकता सधैँ बलियो बनिरहोस् ।’

नेपालीभाषी नै भए पनि भारतीय राष्ट्रियता बोकेका दर्शकको बाहुल्य रहेको सिलिगुडी कन्सर्टमा ब्यान्डले अन्तिम प्रस्तुतिका रूपमा ‘गाउँ–गाउँबाट उठ’ गीतसँगै कन्सर्ट अन्त्यको घोषणा गरेको थियो ।

गायक अमृतले घरी गीत सुनाउँदै त घरी संवाद गर्दै दुई घण्टासम्म दर्शकलाई तरङ्गित पारेका थिए । यस क्रममा उनले लगातार १७ गीत सुनाएका थिए । मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘सिलिगुडीमा पहिलोपटक यस स्तरको नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गर्ने क्रममा हामीले प्रचारप्रसारदेखि व्यवस्थापनसम्म धेरैथोक सिक्ने अवसर पनि पाएका छौँ,’ स्थानीय आयोजक ‘पोजिटिभ भाइब्स’ का विकास कायस्थले खुसी हुँदै प्रतिक्रिया दिए, ‘अबका दिनमा यो सिङ्गो भेगका नेपाली दर्शकलाई समेट्ने गरी थप कार्यक्रम गर्ने उत्साह पनि मिलेको छ ।’

सिलिगुडीको प्रस्तुति सफलतापूर्वक सम्पन्न भएसँगै नेपथ्यमा आबद्ध साङ्गीतिक, प्राविधिक र व्यवस्थापनको टोली स्वदेश फर्किएको छ ।

सिलिगुडीबाटै ब्यान्डले यो वर्ष (सन् २०२६) को पहिलो विदेशयात्रा थालनी पनि गरेको हो । अबको प्रस्तुतिले पनि विदेशयात्राबाटै निरन्तरता पाउनेछ । गत साता मुलुकका चार प्रमुख सहरमा साङ्गीतिक यात्रा गरेको ब्यान्डले यसै वर्षको नोभेम्बरमा स्वदेशका थप सहरहरूमा प्रस्तुति दिने घोषणा पनि यसअघि नै भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?