+

बुधबारेमा फ्लप, मंगलबारेमा हिट

पूर्वी नेपालको रंगकर्मदेखि इजरायलको संघर्ष समेत देखे–बुझेर आएकी उमा सुवेदीका चार आख्यानमा अस्तित्व चिनाउन चाहने महिलाहरुका कथा लेखिएका छन् । स्त्री–शक्ति बुझाउने उनको मौलिकता ‘तोदा’, ‘इति’, ‘सयौं पुतली’ र ‘परिधि’ जस्ता किताबमा सशक्त ढंगले झल्किन्छ । 
पूरा सूची
Shares
उमा सुवेदी

घरमा रेडियो थिएन । उनको परिवारका निम्ति रेडियो एकखाले विलासी सामान थियो । तर एक दिन रेडियो नसुनी नहुने बाध्यता आइलाग्यो । ‘नारी शिक्षा आजको आवश्यकता’ शीर्षकमा स्रोत केन्द्रस्तरीय निबन्ध प्रतियोगितामा दोस्रो ठहरिएको आफ्‌नो निबन्ध रेडियो नेपालको बाल कार्यक्रम ‘हातेमालो’मा पठाएकी जो थिइन् ।

आफ्‌नो नाम, पहिचान र सफलता सुन्ने हुट्हुटी जो कसैलाई हुन्छ । स्कूल छुट्टी हुनासाथ उनी हस्याङफस्याङ गर्दै छिमेकी दिदीको घरतिर हानिइन् । तर ती मायालु दिदी घरमा थिइनन्, तिनकी आमाले पिंढीमा बजिरहेको रेडियो नै बन्द गरेर कोठाभित्र लगिन् । उनी निराश हुँदै अर्का छिमेकी काकाको घरतिर दौडिइन् । ती त झन् खेतबाट घर फर्केकै थिएनन् । 

ती स्कूले केटीले सिंगो रात अनिंदै गुजारिन् र सखारै सेतो सर्ट अनि नीलो फ्रकमा किताब च्यापेर निस्किइन् । बुधबारेलाई देब्रे पारेर बग्ने बिरिङ खोलाको ढुंगेबगरमा देखा परिन् । मध्याह्नको रापिलो बालुवामाथि नांगा पैताला टेकेर दिनभरिमा दुई ट्रक ढुंगा थुपारिन् । त्यसबापत सय रुपैयाँ हात पर्दा खुशीले पागल जस्ती भइन् ।

भोलिपल्ट बुधबारे चोकको कालु मेकानिककहाँ गइन् । उसले थोत्रा र बिग्रेका रेडियोका पार्टपुर्जा मिसाएर एउटा पुरानो रेडियोलाई बज्ने बनाइदियो । रेडियो लिएर विजयी मुद्रामा होक्सेको उकालो बाटो लाग्दै गर्दाको खुशी अहिले पनि उनको स्मृतिमा हरियै छ ।

यो साँचो जीवनकथा हो, आजकी आख्यानकार उमा सुवेदीको । ‘स्वअस्तित्वको खोज’ (सम्पादक : अर्चना थापा) मा समावेश ‘बिरिङखोलामा एक दिन’ नामक संस्मरणमा उनी सपनालाई विपनामा बदल्न सफल लेखिकाको रूपमा देखिन्छिन् । उनी लेख्छिन्, ‘जिन्दगीको यो यात्रामा मलाई हरदम साथ दिने एउटै सहयात्री छ, त्यसको नाम हो आत्मविश्वास । यसलाई साथमा लिएर म जीवनपथमा निरन्तर हिंडिरहेकी छु र हिंडिरहनेछु ।’

पछिल्लो समय नेपाली आख्यानकी एक ज्वाजल्यमान लेखक हुन्, उमा सुवेदी । ‘तोदा’ (२०७०), ‘इति’ (२०७३), ‘सयौं पुतली’ (२०७५) र ‘परिधि’ (२०८२) यसका सदर दृष्टान्त हुन् । नेपाली आख्यानमा उमाको आगमनले विल्कुलै नयाँ संवेदनात्मक भूगोल कोरेको छ । जहाँ कथाभन्दा स्मृति, घटनाभन्दा अनुभूति र बाहिरी संसारभन्दा भित्री जीवन बोल्छ ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जीवनकथामा आधारित उक्त नाटक ‘दासढुंगादेखि अदालतसम्म’मा विद्या भण्डारीको मुख्य भूमिका उनलाई मिल्यो ।

उमाको लेखनलाई प्रायः स्त्री चेतनासँग जोडिंदै आइएको छ । वरिष्ठ पत्रकार एवं लेखक किशोर नेपालले कुनै बेला उनलाई आफ्‌नो स्तम्भमा ‘खुंखार नारीवादी’ दर्जा दिएका थिए । तर उनी आफूलाई कुनै ‘ट्याग’मा सीमित गर्न चाहन्नन् । उनी भन्छिन्, ‘स्त्री हुनु आफैंमा एउटा विशिष्ट अनुभव हो, त्यसलाई लेख्दा छुट्टै ‘वाद’को घोषणा गर्नुपर्छ भन्ने लाग्दैन । म देखेको, भोगेको, सुनेको र महसुस गरेको कुरा लेख्छु । यदि त्यो स्त्री अनुभवसँग मिल्छ भने स्वाभाविक हो । मेरो लेखन स्त्री जीवनबाटै आउँछ ।’

उनलाई लेखक देखिनुभन्दा लेखन देखिनु महत्त्वपूर्ण लाग्छ । मञ्च, मिडिया, प्रचारयी सबै माध्यम हुन् । तर अन्ततः पाठकले खोज्ने भनेको लेखनको इमानदारी हो । उनको लेखनमा नारीवाद घरको भान्सा जसरी आउँछ, जहाँ आगो बलेको छ, तर धुवाँ देखिंदैन । पितृसत्तासँगका तमाम असहमति ठूलो हतौडाले होइन, सानो तर लगातार शब्दको ठकठकले हुन्छ । उनी भन्छिन्, ‘म स्त्री हुनुको घोषणा गर्न लेख्दिनँ, स्त्री हुनुको अनुभव लेख्छु ।’ त्यसैले उनका कृतिहरू नेपाली साहित्यमा स्त्री अनुभवको विश्वसनीय दस्तावेजका रूपमा उभिएका छन् ।

सार्वजनिक वृत्तमा महिलाको उपस्थिति र आवाजका निम्ति बहस छेड्ने संस्था ‘आह्वान’ समूह (आस) की सहसंस्थापक पनि हुन्, उमा । अर्चना थापा, कुमारी लामा र उमाले २०७२ सालमा स्ववित्त पोषित उक्त संस्थाको थालनी गरेका हुन् । अहिले त्यसको एक दशक लामो यात्राका आरोहअवरोहको दस्तावेजीकरण भइरहेको छ ।

संस्थाले आदिवासी समुदायमा महिला, जस्टिस फर अल रेप भिक्टिम्स (सन्दर्भः निर्मला पन्त बलात्कार काण्ड), नेपाली सिनेमामा महिला र लैंगिक प्रतिनिधित्व, मीटू (महिला हिंसा विरुद्धको विश्वव्यापी अभियान), हिंसा र बाध्यात्मक मौनता, बलात्कार संस्कृति आदि शीर्षकमा शृंखलाबद्ध बहस चलाएको थियो ।

त्यसो त नारीवादसँग अत्यन्त सकारात्मक छिन् उमा । उनको बुझाइमा नारीवादको मूल मर्म भनेकै लैंगिक समानता र समाजमा व्यापक रूपमा घुसपैठ गरेको पितृसत्तात्मक संरचना विरुद्धको बहस हो । कुनै बेला मताधिकार, समान तलब, घरेलु हिंसाबाट मुक्ति, प्रजनन अधिकारको माग सहित शुरू भएको अधिकारको बहसमा अहिले पहिचान, सामाजिक सञ्जालबाट हुने महिला विरुद्धका डिजिटल हिंसा पनि समेटिएका छन् ।

चिनुवा अचिवे, चिमामाण्डा अदिची, अमृता प्रितम, सिमोन द बोउआर र अरुन्धती रोयका वैचारिक लेखनहरूबाट प्रभावित उमा घरबार र साहित्य सँगसँगै हिंडाइरहेकी छन् । ‘हामी सबै अरूअरू कुराबाट उब्रिएको समयमा लेखिरहेका छौं । कहिलेकाहीं लेख्न ठिक्क पारेको विषय भान्सामा सब्जीको झ्‌वाइँसँगै उडेर हराउँछ’ उनी भन्छिन्, ‘पुरुषले जस्तै स्वतन्त्रता उपयोग गरेर निस्फ्रिक्री हामीले लेख्न खोजेका दिन हामी धेरै महिला लेखकका घरबार भत्किने छन् । यो पक्का छ ।’ आफ्‌ना नारी पात्रहरू मूलतः न्याय र समाजमा आफ्‌नो हिस्सा खोजिरहेका महिलाहरू भएको उनको दाबी छ ।

महिलाका बारेमा झन् समाज यति धेरै विभाजित छ कि त्यो सम्झँदा उनलाई कहाली लाग्छ । उनको शब्दमा कतिपयमा महिलाको लुगा, बोली, हाँसो, शरीर सबैमा आपत्ति छ । पुरुष अर्धनग्न भए बडी बिल्डिङ, महिला अर्धनग्न भए अश्लीलता । पुरुषले खित्का छाडेर हाँस्दा उन्मुक्तता, महिलाले त्यसरी नै हाँस्दा अभद्रता । पुरुष सधैं चोखो । महिला सानो कारणले पनि चरित्रहीन । समाजका यी सबै सोच नै अहिलेसम्म पनि महिलाका लागि चुनौती हुन् ।

पाँचथरमा साढे चार दशकअघि जन्मिएकी उमाको बाल्यकाल झापामा बित्यो । उनी पाँच दिदी र एक दाइपछि जन्मिएकी हुन् । उनका बुबा यामनाथ सुवेदीका दुवै गोडा लुला थिए । १६ वर्षे उमेरमा पोलियोका कारण राति सद्दे सुतेका उनलाई बिहान उठ्दा लठ्ठीको सहारा चाहिएको थियो । बुबा ज्योतिषी भएकाले चिनाटिपन हेर्थे । त्यसको सीमित आम्दानीले घर चलाउन धौ–धौ हुन्थ्यो ।

सानो छँदा उमा खेलकुदमा अब्बल थिइन् । भलिबल, दौड आदि प्रतियोगितामा विजयी भइरहन्थिन् । साहित्यभन्दा पहिले संगीत उनको प्यासन थियो । बुद्ध आदर्श माविमा पढ्दा उनले पहिलो पल्ट आफूलाई गायिका अन्दाजमा प्रस्तुत गरेकी थिइन् । एसएलसीपछि गायिका बन्ने सपना अलपत्र पर्‍यो । परिवारले भद्रपुरमै कलेज पढ्न भनिरहेका बेला एक गाउँले दिदीले काठमाडौंको पद्मकन्या कलेजमा संगीत पढ्न पाउने अवसर देखाइन्, उनी काठमाडौं आइन् ।

काठमाडौं आएपछि भने उनलाई स्वतन्त्र आकाशमा स्वच्छन्द उडान भरिरहेकी उन्मुक्त चरी पिञ्जरामा परेको जस्तो कटु अनुभूति भयो । सामान्य परिवारकै भए पनि उनी थिइन्, बाबुआमाको लाडप्यारमा पुलपुलिएकी कान्छी छोरी । काठमाडौंमा उनी जुन घरमा बसेकी थिइन्, भान्सामा पकाइतुल्याइ गर्नुपर्थ्यो । उनले त्यो काम सिकेकै थिइनन् । नर्सरी पढ्ने बच्चाको हेरविचार गर्नुपर्थ्यो । घरबेटी थिइन् अति कडा । रिस थियो आगो जस्तो ।

सात महिनामै उकुसमुकुस भइन् उमा । एक प्रकारले विरक्तिइन् । आईए फर्स्ट इयर पढिनभ्याउँदै अभर परिएला भन्ने पिरलो थपियो । अन्ततः त्यो घरबाट निस्केर पद्मकन्या कलेज स्वतन्त्र विद्यार्थी युनियनकी एक दिदीसँग बस्न थालिन् । कलेजमा गीत गाउने भएकाले त्यस मार्फत चिनापर्ची भएको थियो । उनले जागिर पाइन् बोर्डिङ स्कूलमा । उनी बस्थिन् तीनकुने, स्कूल थियो थलीमा । दुइटा गाडी बदल्नुपर्थ्यो । त्यसकारण संगीतको कक्षा मात्र छुटेन, प्राक्टिकल पनि छुट्यो ।

त्यही बेला बालाई सारो भएको खबर आयो । उनी गाउँ गएको केही दिनमै बा रहेनन् । उनीभन्दा माथिकी दिदी अल्पायुमै बितेको, अन्य दिदीहरुले विवाह गरिसकेको र हरिवंश पुराण लगाएर जन्मिएका दाजु पण्डित बन्न वृन्दावन लागेकाले अब घरमा आमा र उनी मात्रै भए । आमालाई एक्लै छाड्ने कुरा पनि भएन ।

एक दिदीले तरकारी बेचेर पोल्टामा राखेको केही नगद राखेर आईएको जाँच लेख्न उमालाई काठमाडौं पठाइन् । जाँच लेखेर फर्केपछि छटपटाइरहेका बेला उनलाई नाटक खेल्ने लोभलाग्दो अफर आएको थियो, महिनावारी तीन हजार पारिश्रमिक दिने शर्तमा । त्यो प्रस्ताव ल्याएका थिए, काका साइनोका एक व्यक्तिले । 

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जीवनकथामा आधारित उक्त नाटक ‘दासढुंगादेखि अदालतसम्म’मा विद्या भण्डारीको मुख्य भूमिका उनलाई मिल्यो । कहाँ गाउँमा बीपी जयन्तीको नाटक खेलेर कांग्रेसी केटीको चिनारी बनाइसकेकी उनले त्यो मौका छाड्न चाहिनन् । लामो नाक र ठिक्कको जीउडाल नै उनको छनोटको आधार थियो ।

१५ दिने रिहर्सलपछि झापाको बुधबारेस्थित दुर्गा टाकिजमा खासै नचलेको त्यो नाटक इलामको मंगलबारेमा भने सुपरहिट भयो । वीरगन्जमा पनि दुई शो देखाइयो । तर निर्देशकले नाटकको पारिश्रमिक दिने छेकछन्दै देखाएनन् । भलाद्मी निर्देशक उल्टै मंगलबारेको होटलमा भात खाएको पैसा समेत नतिरी भागेका रहेछन् । बिल चुक्ता नगरे पुलिस लगाउने धम्कीमय चिठी आयो, उमाको घरमा । अन्य कलाकारको पैसा पनि उनलाई नै पठाएको हल्ला गरेपछि उनी निर्देशकलाई भेट्न गइन् । ढोकामा आधा किलोको ताल्चा झुन्ड्याइएको रहेछ । तत्कालै उमा कमरेड विद्याको ह्याङओभरबाट मुक्त भइन् । उनले आमालाई वाचा गरिन्, ‘अब नाटक खेल्दिनँ आमा । कस्सम । विद्या कसम ।’

आफ्‌नो अधुरो रंगकर्मबारे उनले संस्मरणात्मक लेख नै लेखिन्, ‘बुधबारेमा फ्‌लप, मंगलबारेमा हिट’ । त्यो लेख कान्तिपुर कोसेलीमा प्रकाशित भएपछि राजकुमार सिम्खडाले नाटक नै बनाए लुनिभा तुलाधर, अनु दाहाल, सुरज तमु लगायतका रंगकर्मी लिएर । झापा र काठमाडौं दुवै ठाउँमा मञ्चन पनि भयो । त्यसयता उनले कुनै नाटक गरिनन्, तर नाटक गर्ने रहर मेटिएको छैन ।

छोटो समयमै नाटकको दुःखद् पटाक्षेप भएपछि उमा गाउँकै स्कूलमा पढाउन थालिन् । त्यही बेला उनको बिहे भयो । संगीतको प्राक्टिकल दिइन्, पास भइन् । बिहेपछि बीए पढ्न थालिन् । गायिका बन्ने सपना लिएर रेडियो नेपालमा स्वरपरीक्षा (भ्वाइस टेस्ट)का लागि गइन् । दुर्भाग्य, उनी सफल हुन सकिनन् ।

तिनताका अवसर थियो संगीतमा । पैसा हुनेहरु एल्बम निकालेर रातारात मालामाल पनि हुन्थे । पति जागिरे भएकाले सामान्य गुजारा त चलेकै थियो । तर एल्बम निकाल्ने थैली थिएन । उनलाई त्यतिबेला नै बोध भएको थियो, नेपाल जस्तो गरिब देशमा जतिसुकै प्रतिभा भए पनि विपन्नतामा प्रस्फुटित हुन पाउँदैन ।

अन्ततः उमा साढे तीनवर्षे छोरा छाडेर इजरायल गइन् । त्यता गएपछि हिब्रु भाषा सिकिन् । दुई महिनामै फरर्र बोल्न सक्ने भइन् । त्यहाँको नियम कानून थाहा पाइन् । दामी, सजिलो र आकर्षक काम खोज्न सक्षम भइन् ।

लेखनमा प्रयोग र शैलीका हिसाबले फरक खाले स्वाद पस्कन उमा सुवेदी सफल छिन् । ‘परिधि’मा विभिन्न पात्रहरु बीचको जोडकोण जसरी रचिएको छ, त्यो बुनोट निकै तारिफयोग्य छ ।

इजरायलमा सोचेभन्दा सजिलो काम भएपछि त्यहाँका साहित्यिक गतिविधिमा अग्रसर भइन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको कार्यकारी सदस्य पदमा काम गरिन् । भाषाको समस्या भएका नेपालीहरूलाई एजेन्सी र इम्प्लोयरसँग सहजीकरण गरिदिन थालिन् । फेसबुक साहित्य सञ्जालमार्फत नेपाली भाषा साहित्यको प्रबर्धनमा लागिन् ।

गीतगजलको संसारमा रमाउँदै गरेकी उमा विश्वव्यापी अनलाइन गजल प्रतियोगितामा प्रथम भइन् । शिव परियारको स्वरमा गीत रेकर्ड भयो, ‘परदेशमा दुख्यो मन….’ । त्यसैगरी न्ह्यू बज्राचार्य, मणिकमल क्षेत्री, बीबी अनुरागी, टीका भण्डारी, अञ्जु पन्तहरुको पनि दरिलो साथ पाइन् । उनका शब्दमा आठदश वटा गीत स्वरांकन भए ।

विस्तारै संगीत छुट्यो, साहित्य शुरु भयो । फेसबुक नामक सामाजिक सञ्जालमा जे लेखे पनि वाहवाह गर्नेहरु छँदैथिए । त्यही उत्साहमा उनले भूमध्यसागरको किनारमा गजलसंग्रह विमोचन गरिन्, तप्किएर अञ्जुलीमा (२०६६) । लगत्तै उनले अर्को गीतसंग्रह निकालिन्, तिर्सनाका छालहरु (२०६८) ।

त्यो देखेर छिमेकी गाउँले दाइ कृष्ण धरावासीले चेतावनी दिए, गीतगजल भनेको हावाहुण्डरी हो । तिमीले इजरायलबाट पैसा त लिएर आउलेऊ । राम्रो कृति चाहिं खै त ? इजरायल हिटलरबाट लखेटिएका यहुदीको देश हो । त्यहाँ हरेक व्यक्तिसँग एउटा कथा छ । दोस्रो विश्वयुद्ध देखेका वृद्धवृद्धा छन् ।

छुट्टीमा साथीहरुसँग फोटो खिचेर समय बिताउने उमा अलिक गम्भीर भइन् । पार्कमा आएका इजरायली बुढाबुढीसँग कुरा गर्न थालिन् । लेखनको झिल्को त आयो । तर उपन्यास लेख्ने आँट आएन, दुईचार थान संस्मरण लेखिन् । विस्तारै उपन्यासको भावभूमि तयार भयो ।

दोस्रो विश्वयुद्धकालीन वृद्धवृद्धा र नेपालको दशवर्षे सशस्त्र द्वन्द्वपीडितको युद्धजनित अनुभव, अनुभूति र संवेदनाको उत्कृष्ट प्रस्तुति गरेर ‘तोदा’ लेखिन् । त्यसलाई प्रतिष्ठित प्रकाशनगृह सांग्रिलाले प्रकाशन गरिदियो । पाँचवर्षे इजरायल बसाइलाई बिट मारेर नेपाल फर्केकी उमा भन्छिन्, ‘तोदाले मलाई आसै नगरेको सफलता दिलायो । एउटा सफल आख्यानकारका रूपमा मलाई नेपाली साहित्यमा स्थापित गरिदियो ।’

तोदा’ आख्यान थियो खासमा । तर पाठकले लिए संस्मरणका रूपमा । कतिपय पाठकले तोदाकी प्रमुख पात्र पार्वती नै ठाने उमालाई । बाटोघाटो, सार्वजनिक वृत्तमा पार्वती नै ठानेर प्रश्न गर्थे । उनलाई असजिलो लाग्थ्यो, रमाइलो पनि ।

उनी सम्झिन्छिन्, ‘एक पाठक बहिनी भृकुटीमण्डपको पुस्तक प्रदर्शनी स्थलमा दौडेर आइन्, मलाई अँगालो हालेर धुरुधुरु रोइन् र सहानुभूति जताइन्दिदी, तपाईंले कति दुःख गरेको रहेछ… । मलाई त रोऊँ कि हाँसु जस्तो भयो । अर्का सज्जन साहित्यकारले त अझ एक कदम अघि बढेर भनेतपाईंले पनि यस्तो भोग्नुभएको रहेछ है… ।

कहिलेकाहीं सफलताले पीडा दिंदोरहेछ । पहिलो आख्यान नै पाठकप्रिय भएपछि लेखकमाथि एकखाले दबाब हुन्छ । त्यसलाई थेग्न नसकेपछि कतिपय आत्ममुग्धतामा फस्छन् । उमालाई पनि भयो त्यस्तै ।

उनलाई बर्खामा असमबाट आउने जंगली हात्तीले बाहुनडाँगी जस्तो सुन्दर गाउँका बासिन्दालाई विस्थापित गरिदिएको अवगत थियो । तिनले आफ्‌नो ग्वाली छोएर गएको हल्का सम्झना थियो । त्यसमा सुपारी तस्करी समेतलाई जोडेर उनले ‘इति’ लेखिन् । त्यसले ‘तोदा’ जति ध्यानाकर्षण नमिले पनि उनी स्वान्तःसुखाय मार्का साहित्यभन्दा समाजसँग जोडिएको लेखन गर्न थालिन् । समाजका किनारीकृत, वञ्चितीकरण र बहिष्करणमा परेका तल्ला तहका वर्ग र समूहका संघर्ष, पीडा र कथाव्यथा उधिनेर १७ कथाको संग्रह निकालिन्, ‘सयौं पुतली’ ।

एकाध वर्षपछि एक गैरसरकारी संस्थाको जागिरका सिलसिलामा सुदूरपश्चिम पुगेकी थिइन् उमा । त्यता गएको केही समयमै कोरोना महाव्याधिका कारण लकडाउन भइहाल्यो । तिनताक फिल्डमा जाने कुरा भएन, अफिसमै खुम्चिनुपरेको थियो ।

त्यहाँ एक जना युवक आउँथे । उनी बडो आत्मविश्वासका साथ आकाशपाताल जोडेर कुरा गर्थे । उनले गरेको गफ अनौठो लाग्थ्यो । उमालाई विस्तारै दृश्य संसारको समानान्तर छाया संसार बोकेर हिंडिरहेको त्यस युवकका मस्तिष्कको जटिलता बोकेर उनी काठमाडौं आइन् । त्यसले उनलाई सामाजिक यथार्थवादको कित्ताबाट फेन्टासी, थ्रिलर र सस्पेन्सतिर लग्यो । उनको लेखकीय व्यक्तित्वको चमक बढ्यो ।

उमाकी समकालीन सशक्त आख्यानकार सरस्वती प्रतीक्षा भन्छिन्, ‘हरेक लेखकको नयाँ किताब हुन्छ नै भन्ने हुँदैन, धेरैजसो त आफ्नै पुरानो किताबको पुनरावृत्ति मात्र हुन्छ ।’

लेखक उमा सुवेदीका ‘तोदा’ र ‘इति’ पढिसकेका पाठकलाई ‘परिधि’ बिल्कुलै नयाँ किताब हो भन्ने महसुस हुन्छ पक्कै । लेखनमा प्रयोग र शैलीका हिसाबले फरक खाले स्वाद पस्कन उमा सुवेदी सफल छिन् । ‘परिधि’मा विभिन्न पात्रहरु बीचको जोडकोण जसरी रचिएको छ, त्यो बुनोट निकै तारिफयोग्य छ । अर्कै दुनियाँमा लगेर पाठकलाई रन्थनाउने बनाउँछ परिधिले ।

उपन्यास आफैंमा फराकिलो क्यानभास भएको विधा हो । यसमा नअटाउने कुरा केही पनि छैन । सात वर्ष लगाएर तयार गरेको उपन्यास ‘परिधि’ उनको सिर्जनशील जीवनको नयाँ उचाइ हो । उनी भन्छिन्, ‘त्यो उपन्यासले के गरिदियो भने म छाया संसारको ह्याङओभरबाट बाहिर निस्कनै सकिनँ । शायद पाठकलाई पनि त्यो दृश्यसंसारमा फर्कन मुश्किल हुन्छ होला ।’

अनेसासको मुखपत्र अन्तर्दृष्टि (सन् २०११-२०१३) र नेपाल प्रज्ञा प्रतिष्ठानको प्रकाशन समकालीन साहित्य (२०७६७९) को सम्पादन मण्डलमा रहेर काम गरेकी उमा नेपाली साहित्यमा स्नातकोत्तर हुन् ।

रामराज पन्त स्मृति पुरस्कार, जयन्द्र प्रसाईं स्मृति पुरस्कार, गुञ्जन प्रतिभा पुरस्कार, उत्कृष्ट कृति पुरस्कार, उत्कृष्ट गीत पुरस्कार प्राप्त गरेकी उनी राष्ट्रियस्तरका विभिन्न पुरस्कार छनोट समितिको सदस्य रहिसकेकी छन् ।

उनी मुलुक भित्र र बाहिर हुने विभिन्न साहित्यिक उत्सव-महोत्सवहरूका नियमित अतिथि वक्ताका रूपमा आमन्त्रित हुन्छिन् । उमा भन्छिन्, ‘मेरा निम्ति साहित्य पेनकिलर हो । मेरा भावनाहरूले साहित्य मार्फत निकास पाउँदा हल्का महसुस गर्छु ।’

लेखक
राजकुमार बानियाँ

बानियाँ लेखक तथा पत्रकार हुन् ।