बुधबारेमा फ्लप, मंगलबारेमा हिट
घरमा रेडियो थिएन । उनको परिवारका निम्ति रेडियो एकखाले विलासी सामान थियो । तर एक दिन रेडियो नसुनी नहुने बाध्यता आइलाग्यो । ‘नारी शिक्षा आजको आवश्यकता’ शीर्षकमा स्रोत केन्द्रस्तरीय निबन्ध प्रतियोगितामा दोस्रो ठहरिएको आफ्नो निबन्ध रेडियो नेपालको बाल कार्यक्रम ‘हातेमालो’मा पठाएकी जो थिइन् ।
आफ्नो नाम, पहिचान र सफलता सुन्ने हुट्हुटी जो कसैलाई हुन्छ । स्कूल छुट्टी हुनासाथ उनी हस्याङफस्याङ गर्दै छिमेकी दिदीको घरतिर हानिइन् । तर ती मायालु दिदी घरमा थिइनन्, तिनकी आमाले पिंढीमा बजिरहेको रेडियो नै बन्द गरेर कोठाभित्र लगिन् । उनी निराश हुँदै अर्का छिमेकी काकाको घरतिर दौडिइन् । ती त झन् खेतबाट घर फर्केकै थिएनन् ।
ती स्कूले केटीले सिंगो रात अनिंदै गुजारिन् र सखारै सेतो सर्ट अनि नीलो फ्रकमा किताब च्यापेर निस्किइन् । बुधबारेलाई देब्रे पारेर बग्ने बिरिङ खोलाको ढुंगेबगरमा देखा परिन् । मध्याह्नको रापिलो बालुवामाथि नांगा पैताला टेकेर दिनभरिमा दुई ट्रक ढुंगा थुपारिन् । त्यसबापत सय रुपैयाँ हात पर्दा खुशीले पागल जस्ती भइन् ।
भोलिपल्ट बुधबारे चोकको कालु मेकानिककहाँ गइन् । उसले थोत्रा र बिग्रेका रेडियोका पार्टपुर्जा मिसाएर एउटा पुरानो रेडियोलाई बज्ने बनाइदियो । रेडियो लिएर विजयी मुद्रामा होक्सेको उकालो बाटो लाग्दै गर्दाको खुशी अहिले पनि उनको स्मृतिमा हरियै छ ।
यो साँचो जीवनकथा हो, आजकी आख्यानकार उमा सुवेदीको । ‘स्वअस्तित्वको खोज’ (सम्पादक : अर्चना थापा) मा समावेश ‘बिरिङखोलामा एक दिन’ नामक संस्मरणमा उनी सपनालाई विपनामा बदल्न सफल लेखिकाको रूपमा देखिन्छिन् । उनी लेख्छिन्, ‘जिन्दगीको यो यात्रामा मलाई हरदम साथ दिने एउटै सहयात्री छ, त्यसको नाम हो आत्मविश्वास । यसलाई साथमा लिएर म जीवनपथमा निरन्तर हिंडिरहेकी छु र हिंडिरहनेछु ।’
पछिल्लो समय नेपाली आख्यानकी एक ज्वाजल्यमान लेखक हुन्, उमा सुवेदी । ‘तोदा’ (२०७०), ‘इति’ (२०७३), ‘सयौं पुतली’ (२०७५) र ‘परिधि’ (२०८२) यसका सदर दृष्टान्त हुन् । नेपाली आख्यानमा उमाको आगमनले विल्कुलै नयाँ संवेदनात्मक भूगोल कोरेको छ । जहाँ कथाभन्दा स्मृति, घटनाभन्दा अनुभूति र बाहिरी संसारभन्दा भित्री जीवन बोल्छ ।
उमाको लेखनलाई प्रायः स्त्री चेतनासँग जोडिंदै आइएको छ । वरिष्ठ पत्रकार एवं लेखक किशोर नेपालले कुनै बेला उनलाई आफ्नो स्तम्भमा ‘खुंखार नारीवादी’ दर्जा दिएका थिए । तर उनी आफूलाई कुनै ‘ट्याग’मा सीमित गर्न चाहन्नन् । उनी भन्छिन्, ‘स्त्री हुनु आफैंमा एउटा विशिष्ट अनुभव हो, त्यसलाई लेख्दा छुट्टै ‘वाद’को घोषणा गर्नुपर्छ भन्ने लाग्दैन । म देखेको, भोगेको, सुनेको र महसुस गरेको कुरा लेख्छु । यदि त्यो स्त्री अनुभवसँग मिल्छ भने स्वाभाविक हो । मेरो लेखन स्त्री जीवनबाटै आउँछ ।’
उनलाई लेखक देखिनुभन्दा लेखन देखिनु महत्त्वपूर्ण लाग्छ । मञ्च, मिडिया, प्रचार– यी सबै माध्यम हुन् । तर अन्ततः पाठकले खोज्ने भनेको लेखनको इमानदारी हो । उनको लेखनमा नारीवाद घरको भान्सा जसरी आउँछ, जहाँ आगो बलेको छ, तर धुवाँ देखिंदैन । पितृसत्तासँगका तमाम असहमति ठूलो हतौडाले होइन, सानो तर लगातार शब्दको ठकठकले हुन्छ । उनी भन्छिन्, ‘म स्त्री हुनुको घोषणा गर्न लेख्दिनँ, स्त्री हुनुको अनुभव लेख्छु ।’ त्यसैले उनका कृतिहरू नेपाली साहित्यमा स्त्री अनुभवको विश्वसनीय दस्तावेजका रूपमा उभिएका छन् ।
सार्वजनिक वृत्तमा महिलाको उपस्थिति र आवाजका निम्ति बहस छेड्ने संस्था ‘आह्वान’ समूह (आस) की सहसंस्थापक पनि हुन्, उमा । अर्चना थापा, कुमारी लामा र उमाले २०७२ सालमा स्ववित्त पोषित उक्त संस्थाको थालनी गरेका हुन् । अहिले त्यसको एक दशक लामो यात्राका आरोह–अवरोहको दस्तावेजीकरण भइरहेको छ ।
संस्थाले आदिवासी समुदायमा महिला, जस्टिस फर अल रेप भिक्टिम्स (सन्दर्भः निर्मला पन्त बलात्कार काण्ड), नेपाली सिनेमामा महिला र लैंगिक प्रतिनिधित्व, मीटू (महिला हिंसा विरुद्धको विश्वव्यापी अभियान), हिंसा र बाध्यात्मक मौनता, बलात्कार संस्कृति आदि शीर्षकमा शृंखलाबद्ध बहस चलाएको थियो ।

त्यसो त नारीवादसँग अत्यन्त सकारात्मक छिन् उमा । उनको बुझाइमा नारीवादको मूल मर्म भनेकै लैंगिक समानता र समाजमा व्यापक रूपमा घुसपैठ गरेको पितृसत्तात्मक संरचना विरुद्धको बहस हो । कुनै बेला मताधिकार, समान तलब, घरेलु हिंसाबाट मुक्ति, प्रजनन अधिकारको माग सहित शुरू भएको अधिकारको बहसमा अहिले पहिचान, सामाजिक सञ्जालबाट हुने महिला विरुद्धका डिजिटल हिंसा पनि समेटिएका छन् ।
चिनुवा अचिवे, चिमामाण्डा अदिची, अमृता प्रितम, सिमोन द बोउआर र अरुन्धती रोयका वैचारिक लेखनहरूबाट प्रभावित उमा घरबार र साहित्य सँगसँगै हिंडाइरहेकी छन् । ‘हामी सबै अरूअरू कुराबाट उब्रिएको समयमा लेखिरहेका छौं । कहिलेकाहीं लेख्न ठिक्क पारेको विषय भान्सामा सब्जीको झ्वाइँसँगै उडेर हराउँछ’ उनी भन्छिन्, ‘पुरुषले जस्तै स्वतन्त्रता उपयोग गरेर निस्फ्रिक्री हामीले लेख्न खोजेका दिन हामी धेरै महिला लेखकका घरबार भत्किने छन् । यो पक्का छ ।’ आफ्ना नारी पात्रहरू मूलतः न्याय र समाजमा आफ्नो हिस्सा खोजिरहेका महिलाहरू भएको उनको दाबी छ ।
महिलाका बारेमा झन् समाज यति धेरै विभाजित छ कि त्यो सम्झँदा उनलाई कहाली लाग्छ । उनको शब्दमा कतिपयमा महिलाको लुगा, बोली, हाँसो, शरीर सबैमा आपत्ति छ । पुरुष अर्धनग्न भए बडी बिल्डिङ, महिला अर्धनग्न भए अश्लीलता । पुरुषले खित्का छाडेर हाँस्दा उन्मुक्तता, महिलाले त्यसरी नै हाँस्दा अभद्रता । पुरुष सधैं चोखो । महिला सानो कारणले पनि चरित्रहीन । समाजका यी सबै सोच नै अहिलेसम्म पनि महिलाका लागि चुनौती हुन् ।
पाँचथरमा साढे चार दशकअघि जन्मिएकी उमाको बाल्यकाल झापामा बित्यो । उनी पाँच दिदी र एक दाइपछि जन्मिएकी हुन् । उनका बुबा यामनाथ सुवेदीका दुवै गोडा लुला थिए । १६ वर्षे उमेरमा पोलियोका कारण राति सद्दे सुतेका उनलाई बिहान उठ्दा लठ्ठीको सहारा चाहिएको थियो । बुबा ज्योतिषी भएकाले चिनाटिपन हेर्थे । त्यसको सीमित आम्दानीले घर चलाउन धौ–धौ हुन्थ्यो ।
सानो छँदा उमा खेलकुदमा अब्बल थिइन् । भलिबल, दौड आदि प्रतियोगितामा विजयी भइरहन्थिन् । साहित्यभन्दा पहिले संगीत उनको प्यासन थियो । बुद्ध आदर्श माविमा पढ्दा उनले पहिलो पल्ट आफूलाई गायिका अन्दाजमा प्रस्तुत गरेकी थिइन् । एसएलसीपछि गायिका बन्ने सपना अलपत्र पर्यो । परिवारले भद्रपुरमै कलेज पढ्न भनिरहेका बेला एक गाउँले दिदीले काठमाडौंको पद्मकन्या कलेजमा संगीत पढ्न पाउने अवसर देखाइन्, उनी काठमाडौं आइन् ।
काठमाडौं आएपछि भने उनलाई स्वतन्त्र आकाशमा स्वच्छन्द उडान भरिरहेकी उन्मुक्त चरी पिञ्जरामा परेको जस्तो कटु अनुभूति भयो । सामान्य परिवारकै भए पनि उनी थिइन्, बाबुआमाको लाडप्यारमा पुलपुलिएकी कान्छी छोरी । काठमाडौंमा उनी जुन घरमा बसेकी थिइन्, भान्सामा पकाइतुल्याइ गर्नुपर्थ्यो । उनले त्यो काम सिकेकै थिइनन् । नर्सरी पढ्ने बच्चाको हेरविचार गर्नुपर्थ्यो । घरबेटी थिइन् अति कडा । रिस थियो आगो जस्तो ।
सात महिनामै उकुसमुकुस भइन् उमा । एक प्रकारले विरक्तिइन् । आईए फर्स्ट इयर पढिनभ्याउँदै अभर परिएला भन्ने पिरलो थपियो । अन्ततः त्यो घरबाट निस्केर पद्मकन्या कलेज स्वतन्त्र विद्यार्थी युनियनकी एक दिदीसँग बस्न थालिन् । कलेजमा गीत गाउने भएकाले त्यस मार्फत चिनापर्ची भएको थियो । उनले जागिर पाइन् बोर्डिङ स्कूलमा । उनी बस्थिन् तीनकुने, स्कूल थियो थलीमा । दुइटा गाडी बदल्नुपर्थ्यो । त्यसकारण संगीतको कक्षा मात्र छुटेन, प्राक्टिकल पनि छुट्यो ।
त्यही बेला बालाई सारो भएको खबर आयो । उनी गाउँ गएको केही दिनमै बा रहेनन् । उनीभन्दा माथिकी दिदी अल्पायुमै बितेको, अन्य दिदीहरुले विवाह गरिसकेको र हरिवंश पुराण लगाएर जन्मिएका दाजु पण्डित बन्न वृन्दावन लागेकाले अब घरमा आमा र उनी मात्रै भए । आमालाई एक्लै छाड्ने कुरा पनि भएन ।
एक दिदीले तरकारी बेचेर पोल्टामा राखेको केही नगद राखेर आईएको जाँच लेख्न उमालाई काठमाडौं पठाइन् । जाँच लेखेर फर्केपछि छटपटाइरहेका बेला उनलाई नाटक खेल्ने लोभलाग्दो अफर आएको थियो, महिनावारी तीन हजार पारिश्रमिक दिने शर्तमा । त्यो प्रस्ताव ल्याएका थिए, काका साइनोका एक व्यक्तिले ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जीवनकथामा आधारित उक्त नाटक ‘दासढुंगादेखि अदालतसम्म’मा विद्या भण्डारीको मुख्य भूमिका उनलाई मिल्यो । कहाँ गाउँमा बीपी जयन्तीको नाटक खेलेर कांग्रेसी केटीको चिनारी बनाइसकेकी उनले त्यो मौका छाड्न चाहिनन् । लामो नाक र ठिक्कको जीउडाल नै उनको छनोटको आधार थियो ।
१५ दिने रिहर्सलपछि झापाको बुधबारेस्थित दुर्गा टाकिजमा खासै नचलेको त्यो नाटक इलामको मंगलबारेमा भने सुपरहिट भयो । वीरगन्जमा पनि दुई शो देखाइयो । तर निर्देशकले नाटकको पारिश्रमिक दिने छेकछन्दै देखाएनन् । भलाद्मी निर्देशक उल्टै मंगलबारेको होटलमा भात खाएको पैसा समेत नतिरी भागेका रहेछन् । बिल चुक्ता नगरे पुलिस लगाउने धम्कीमय चिठी आयो, उमाको घरमा । अन्य कलाकारको पैसा पनि उनलाई नै पठाएको हल्ला गरेपछि उनी निर्देशकलाई भेट्न गइन् । ढोकामा आधा किलोको ताल्चा झुन्ड्याइएको रहेछ । तत्कालै उमा कमरेड विद्याको ह्याङओभरबाट मुक्त भइन् । उनले आमालाई वाचा गरिन्, ‘अब नाटक खेल्दिनँ आमा । कस्सम । विद्या कसम ।’
आफ्नो अधुरो रंगकर्मबारे उनले संस्मरणात्मक लेख नै लेखिन्, ‘बुधबारेमा फ्लप, मंगलबारेमा हिट’ । त्यो लेख कान्तिपुर कोसेलीमा प्रकाशित भएपछि राजकुमार सिम्खडाले नाटक नै बनाए– लुनिभा तुलाधर, अनु दाहाल, सुरज तमु लगायतका रंगकर्मी लिएर । झापा र काठमाडौं दुवै ठाउँमा मञ्चन पनि भयो । त्यसयता उनले कुनै नाटक गरिनन्, तर नाटक गर्ने रहर मेटिएको छैन ।
छोटो समयमै नाटकको दुःखद् पटाक्षेप भएपछि उमा गाउँकै स्कूलमा पढाउन थालिन् । त्यही बेला उनको बिहे भयो । संगीतको प्राक्टिकल दिइन्, पास भइन् । बिहेपछि बीए पढ्न थालिन् । गायिका बन्ने सपना लिएर रेडियो नेपालमा स्वरपरीक्षा (भ्वाइस टेस्ट)का लागि गइन् । दुर्भाग्य, उनी सफल हुन सकिनन् ।
तिनताका अवसर थियो संगीतमा । पैसा हुनेहरु एल्बम निकालेर रातारात मालामाल पनि हुन्थे । पति जागिरे भएकाले सामान्य गुजारा त चलेकै थियो । तर एल्बम निकाल्ने थैली थिएन । उनलाई त्यतिबेला नै बोध भएको थियो, नेपाल जस्तो गरिब देशमा जतिसुकै प्रतिभा भए पनि विपन्नतामा प्रस्फुटित हुन पाउँदैन ।
अन्ततः उमा साढे तीनवर्षे छोरा छाडेर इजरायल गइन् । त्यता गएपछि हिब्रु भाषा सिकिन् । दुई महिनामै फरर्र बोल्न सक्ने भइन् । त्यहाँको नियम कानून थाहा पाइन् । दामी, सजिलो र आकर्षक काम खोज्न सक्षम भइन् ।
इजरायलमा सोचेभन्दा सजिलो काम भएपछि त्यहाँका साहित्यिक गतिविधिमा अग्रसर भइन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको कार्यकारी सदस्य पदमा काम गरिन् । भाषाको समस्या भएका नेपालीहरूलाई एजेन्सी र इम्प्लोयरसँग सहजीकरण गरिदिन थालिन् । फेसबुक साहित्य सञ्जालमार्फत नेपाली भाषा साहित्यको प्रबर्धनमा लागिन् ।
गीत–गजलको संसारमा रमाउँदै गरेकी उमा विश्वव्यापी अनलाइन गजल प्रतियोगितामा प्रथम भइन् । शिव परियारको स्वरमा गीत रेकर्ड भयो, ‘परदेशमा दुख्यो मन….’ । त्यसैगरी न्ह्यू बज्राचार्य, मणिकमल क्षेत्री, बीबी अनुरागी, टीका भण्डारी, अञ्जु पन्तहरुको पनि दरिलो साथ पाइन् । उनका शब्दमा आठ–दश वटा गीत स्वरांकन भए ।
विस्तारै संगीत छुट्यो, साहित्य शुरु भयो । फेसबुक नामक सामाजिक सञ्जालमा जे लेखे पनि वाहवाह गर्नेहरु छँदैथिए । त्यही उत्साहमा उनले भूमध्यसागरको किनारमा गजलसंग्रह विमोचन गरिन्, तप्किएर अञ्जुलीमा (२०६६) । लगत्तै उनले अर्को गीतसंग्रह निकालिन्, तिर्सनाका छालहरु (२०६८) ।
त्यो देखेर छिमेकी गाउँले दाइ कृष्ण धरावासीले चेतावनी दिए, गीत–गजल भनेको हावाहुण्डरी हो । तिमीले इजरायलबाट पैसा त लिएर आउलेऊ । राम्रो कृति चाहिं खै त ? इजरायल हिटलरबाट लखेटिएका यहुदीको देश हो । त्यहाँ हरेक व्यक्तिसँग एउटा कथा छ । दोस्रो विश्वयुद्ध देखेका वृद्धवृद्धा छन् ।

छुट्टीमा साथीहरुसँग फोटो खिचेर समय बिताउने उमा अलिक गम्भीर भइन् । पार्कमा आएका इजरायली बुढाबुढीसँग कुरा गर्न थालिन् । लेखनको झिल्को त आयो । तर उपन्यास लेख्ने आँट आएन, दुईचार थान संस्मरण लेखिन् । विस्तारै उपन्यासको भावभूमि तयार भयो ।
दोस्रो विश्वयुद्धकालीन वृद्धवृद्धा र नेपालको दशवर्षे सशस्त्र द्वन्द्वपीडितको युद्धजनित अनुभव, अनुभूति र संवेदनाको उत्कृष्ट प्रस्तुति गरेर ‘तोदा’ लेखिन् । त्यसलाई प्रतिष्ठित प्रकाशनगृह सांग्रिलाले प्रकाशन गरिदियो । पाँचवर्षे इजरायल बसाइलाई बिट मारेर नेपाल फर्केकी उमा भन्छिन्, ‘तोदाले मलाई आसै नगरेको सफलता दिलायो । एउटा सफल आख्यानकारका रूपमा मलाई नेपाली साहित्यमा स्थापित गरिदियो ।’
‘तोदा’ आख्यान थियो खासमा । तर पाठकले लिए संस्मरणका रूपमा । कतिपय पाठकले तोदाकी प्रमुख पात्र पार्वती नै ठाने उमालाई । बाटोघाटो, सार्वजनिक वृत्तमा पार्वती नै ठानेर प्रश्न गर्थे । उनलाई असजिलो लाग्थ्यो, रमाइलो पनि ।
उनी सम्झिन्छिन्, ‘एक पाठक बहिनी भृकुटीमण्डपको पुस्तक प्रदर्शनी स्थलमा दौडेर आइन्, मलाई अँगालो हालेर धुरुधुरु रोइन् र सहानुभूति जताइन्– दिदी, तपाईंले कति दुःख गरेको रहेछ… । मलाई त रोऊँ कि हाँसु जस्तो भयो । अर्का सज्जन साहित्यकारले त अझ एक कदम अघि बढेर भने– तपाईंले पनि यस्तो भोग्नुभएको रहेछ है… ।’
कहिलेकाहीं सफलताले पीडा दिंदोरहेछ । पहिलो आख्यान नै पाठकप्रिय भएपछि लेखकमाथि एकखाले दबाब हुन्छ । त्यसलाई थेग्न नसकेपछि कतिपय आत्ममुग्धतामा फस्छन् । उमालाई पनि भयो त्यस्तै ।
उनलाई बर्खामा असमबाट आउने जंगली हात्तीले बाहुनडाँगी जस्तो सुन्दर गाउँका बासिन्दालाई विस्थापित गरिदिएको अवगत थियो । तिनले आफ्नो ग्वाली छोएर गएको हल्का सम्झना थियो । त्यसमा सुपारी तस्करी समेतलाई जोडेर उनले ‘इति’ लेखिन् । त्यसले ‘तोदा’ जति ध्यानाकर्षण नमिले पनि उनी स्वान्तःसुखाय मार्का साहित्यभन्दा समाजसँग जोडिएको लेखन गर्न थालिन् । समाजका किनारीकृत, वञ्चितीकरण र बहिष्करणमा परेका तल्ला तहका वर्ग र समूहका संघर्ष, पीडा र कथाव्यथा उधिनेर १७ कथाको संग्रह निकालिन्, ‘सयौं पुतली’ ।
एकाध वर्षपछि एक गैरसरकारी संस्थाको जागिरका सिलसिलामा सुदूरपश्चिम पुगेकी थिइन् उमा । त्यता गएको केही समयमै कोरोना महाव्याधिका कारण लकडाउन भइहाल्यो । तिनताक फिल्डमा जाने कुरा भएन, अफिसमै खुम्चिनुपरेको थियो ।
त्यहाँ एक जना युवक आउँथे । उनी बडो आत्मविश्वासका साथ आकाश–पाताल जोडेर कुरा गर्थे । उनले गरेको गफ अनौठो लाग्थ्यो । उमालाई विस्तारै दृश्य संसारको समानान्तर छाया संसार बोकेर हिंडिरहेको त्यस युवकका मस्तिष्कको जटिलता बोकेर उनी काठमाडौं आइन् । त्यसले उनलाई सामाजिक यथार्थवादको कित्ताबाट फेन्टासी, थ्रिलर र सस्पेन्सतिर लग्यो । उनको लेखकीय व्यक्तित्वको चमक बढ्यो ।
उमाकी समकालीन सशक्त आख्यानकार सरस्वती प्रतीक्षा भन्छिन्, ‘हरेक लेखकको नयाँ किताब हुन्छ नै भन्ने हुँदैन, धेरैजसो त आफ्नै पुरानो किताबको पुनरावृत्ति मात्र हुन्छ ।’
लेखक उमा सुवेदीका ‘तोदा’ र ‘इति’ पढिसकेका पाठकलाई ‘परिधि’ बिल्कुलै नयाँ किताब हो भन्ने महसुस हुन्छ पक्कै । लेखनमा प्रयोग र शैलीका हिसाबले फरक खाले स्वाद पस्कन उमा सुवेदी सफल छिन् । ‘परिधि’मा विभिन्न पात्रहरु बीचको जोडकोण जसरी रचिएको छ, त्यो बुनोट निकै तारिफयोग्य छ । अर्कै दुनियाँमा लगेर पाठकलाई रन्थनाउने बनाउँछ ‘परिधि‘ले ।
उपन्यास आफैंमा फराकिलो क्यानभास भएको विधा हो । यसमा नअटाउने कुरा केही पनि छैन । सात वर्ष लगाएर तयार गरेको उपन्यास ‘परिधि’ उनको सिर्जनशील जीवनको नयाँ उचाइ हो । उनी भन्छिन्, ‘त्यो उपन्यासले के गरिदियो भने म छाया संसारको ह्याङओभरबाट बाहिर निस्कनै सकिनँ । शायद पाठकलाई पनि त्यो दृश्यसंसारमा फर्कन मुश्किल हुन्छ होला ।’
अनेसासको मुखपत्र ‘अन्तर्दृष्टि‘ (सन् २०११-२०१३) र नेपाल प्रज्ञा प्रतिष्ठानको प्रकाशन ‘समकालीन साहित्य‘ (२०७६–७९) को सम्पादन मण्डलमा रहेर काम गरेकी उमा नेपाली साहित्यमा स्नातकोत्तर हुन् ।
रामराज पन्त स्मृति पुरस्कार, जयन्द्र प्रसाईं स्मृति पुरस्कार, गुञ्जन प्रतिभा पुरस्कार, उत्कृष्ट कृति पुरस्कार, उत्कृष्ट गीत पुरस्कार प्राप्त गरेकी उनी राष्ट्रियस्तरका विभिन्न पुरस्कार छनोट समितिको सदस्य रहिसकेकी छन् ।
उनी मुलुक भित्र र बाहिर हुने विभिन्न साहित्यिक उत्सव-महोत्सवहरूका नियमित अतिथि वक्ताका रूपमा आमन्त्रित हुन्छिन् । उमा भन्छिन्, ‘मेरा निम्ति साहित्य पेनकिलर हो । मेरा भावनाहरूले साहित्य मार्फत निकास पाउँदा हल्का महसुस गर्छु ।’
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी