युट्युबमा ‘नानी-बाबु’की मिस
समय तीव्र गतिमा अगाडि बढिरहेको छ। हाम्रै जिन्दगीमा पनि एक दशक पछाडि फर्केर हेर्दा धेरैको घरमा ल्यान्डलाइन टेलिफोन मात्र थियो, हातहातमा स्मार्टफोन पुगिसकेको थिएन। टेलिभिजनमा कार्टुन र राइम्स (बालगीत) हेर्दा अङ्ग्रेजी र हिन्दी भाषाकै दबदबा थियो। टम एन्ड जेरी, मोटु–पत्लु, डोरेमोन जस्ता विदेशी कार्टुनका ‘डाइलग’ नेपाली बालबालिकाको मुखमुखमा झुन्डिएका हुन्थे।
त्यो विदेशी दबदबालाई चिरेर नेपाली बालबालिकालाई आफ्नै भाषा र संस्कृति सिकाउनुपर्छ भन्ने हुटहुटीबाट जन्मिएको एउटा लोकप्रिय नाम हो- नानी एण्ड बाबु। अनि, यो चर्चित एनिमेसन प्रोजेक्टकी मुख्य सर्जक हुन्, सचिना शाक्य।
आज ‘नानी एण्ड बाबु’ युट्युब च्यानल देश–विदेशमा रहेका हरेक नेपाली अभिभावकका लागि आफ्ना बालबालिकालाई भुलाउने र नेपाली भाषा सिकाउने भरपर्दो र प्रभावकारी माध्यम बनेको छ।
गणित र विज्ञानभन्दा ‘आर्ट’ मा च्याम्पियन ललितपुरको पाटनमा जन्मिएकी सचिनाको बाल्यकाल त्यहीं बित्यो। बुबाको बौद्धमा पसल थियो भने आमा गृहिणी। घरकी कान्छी छोरी भएकाले परिवारले उनको शिक्षादीक्षा र आवश्यकता परिपूर्तिमा कुनै कसुर बाँकी राखेन।

सचिना सानैदेखि चित्रकला (आर्ट) की सौखिन थिइन्। यो सोख यति गहिरो थियो कि उनी निरन्तर स्केच कोर्ने र चित्र बनाउने काममै तल्लीन हुन्थिन्। ‘मेरो गणित र विज्ञान त्यति राम्रो थिएन, तर आर्टमा म च्याम्पियन नै थिएँ’, उनी आफ्नो बाल्यकाल सम्झिन्छिन्। यति हुँदाहुँदै पनि उनी सधैं राम्रो अङ्क ल्याएर उत्तीर्ण हुन्थिन्।
युट्युबमा अङ्ग्रेजी बालगीतको बाढी नै भएकाले उनीहरूको भिडियोले खासै ध्यान तान्न सकेन। त्यसपछि उनीहरू नेपाली भाषामै बालगीत बनाउने निष्कर्षमा पुगे।
एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि परिवारले उनलाई प्लस–टुमा विज्ञान विषय लिएर पढ्न दबाब दियो। उनी साइन्समा भर्ना त भइन्, तर त्यो विषयमा उनलाई पटक्कै रुचि र आत्मविश्वास थिएन। अन्ततः उनले आफ्नो अध्ययनको विधा नै फेरिन्। सचिना आफ्नो बाल्यकालको रुचिको विषय पढ्न सिर्जना कलेज अफ फाइन आर्टस्मा भर्ना भइन्। त्यहाँ उनले आफूलाई अब्बल मात्र सावित गरिनन्, हरेक सिकाइमा उनी रमाउन थालिन्। सोही कलेजबाट उनले स्नातकसम्मको अध्ययन पूरा गरिन्।
एनिमेसनको यात्रा र जीवनसाथीसँगको भेट
कलेज पढ्दापढ्दै एउटा साथीले उनलाई एनिमेसन बारे जानकारी दियो। यो झन्डै डेढ दशक अगाडिको कुरा हो, जतिबेला नेपालमा एनिमेसनको खासै प्रचलन थिएन। आफ्नो विधासँग सम्बन्धित यो नयाँ प्रविधिले उनमा ठूलो चासो जगायो।
त्यसबेला नेपालमा ‘इन्सेसेन्ट रेन’ नामक एउटा मात्र एनिमेसन स्टुडियो अस्तित्वमा थियो। साथीकै माध्यमबाट उनी त्यहाँ पुगिन् र शुरुमा तीन महिनाको कोर्स गरिन्। त्यही स्टुडियोमा उनको भेट सुचन बज्राचार्यसँग भयो। सुचन त्यहाँ सुपरभाइजरका रूपमा काम गरिरहेका थिए। उस्तै कला र सोख भएका सुचनसँगको त्यो व्यावसायिक यात्रा विस्तारै प्रेममा बदलियो र आज उनीहरू सफल जीवनसाथी बनिसकेका छन्।

त्यही स्टुडियोमा करिब तीन वर्ष काम गरिसक्दा पनि सचिनालाई अझै पनि ‘म पर्फेक्ट भएँ’ भन्ने आत्मविश्वास जागेको थिएन। आफ्नो कला अझ तिखार्न उनले विदेशबाट अनलाइन क्लास सिकाउने ‘आई एनिमेट’ मा भर्ना भइन्। त्यस स्टुडियोमा भर्ना हुने उनी पहिलो नेपाली थिइन्।
डिज्नी र ड्रिमवर्क्स जस्ता संसारका ठूला प्रोजेक्टमा काम गर्ने अनुभवी प्रशिक्षकहरूबाट सिक्न पाउनु उनको जीवनको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ बन्यो। त्यहाँको कोर्स पूरा गरेपछि भने उनी एनिमेसनमा पूर्ण रूपमा दक्ष बनिन्।
यसरी जन्मियो ‘नानी एण्ड बाबु’
सुचन र सचिना आफ्नो कला र जीवन दुवैका सहयात्री बनिसकेका थिए। नेपालमै अन्तर्राष्ट्रियस्तरको एनिमेसन सिकाउनुपर्छ भन्ने उद्देश्यले आजभन्दा १४ वर्षअघि उनीहरूले ‘पपेटियर लाउन्ज’ नामक स्टुडियो स्थापना गरे। जहाँबाट आजसम्म करिब ८०० विद्यार्थीले एनिमेसनको कोर्स पूरा गरिसकेका छन्, जसमध्ये अधिकांश विदेशी नागरिक छन्।
सुरुआती ४-५ वर्ष उनीहरू एनिमेसन ट्रेनिङ र स–साना विज्ञापन निर्माणमै केन्द्रित भए। स्टुडियो खोलेको ७ वर्षपछि बल्ल उनीहरूमा ‘नानी एण्ड बाबु’ को अवधारणा फुर्यो।
त्यसको पछाडि एउटा रोचक प्रसङ्ग छ। एक दिन उनीहरूको साथीले गुनासो गर्दै भनेछन्, ‘बच्चाहरूले टेलिभिजनमा जतिबेला पनि अङ्ग्रेजी र हिन्दी कार्टुन मात्र हेर्छन्। यस्तै हो भने त यिनीहरूले नेपाली भाषा नै नजान्ने भए ! तिमीहरूको आफ्नै स्टुडियो छ, काम गर्ने सीप छ, किन नेपाली राइम्स (बालगीत) बनाउँदैनौ ?’
साथीको त्यो कुराले सुचन र सचिनाको मन छोयो। तर, शुरुमा उनीहरूले अङ्ग्रेजी भाषामै राइम्स बनाए। युट्युबमा अङ्ग्रेजी बालगीतको बाढी नै भएकाले उनीहरूको भिडियोले खासै ध्यान तान्न सकेन। त्यसपछि उनीहरू नेपाली भाषामै बालगीत बनाउने निष्कर्षमा पुगे।
सन् २०१७ सेप्टेम्बर १९ तारिख। दशैं आउन एक महिना मात्र बाँकी थियो। उनीहरूले ‘दशैं आयो, खाउँला पिउँला’ बोलको चर्चित बालगीतलाई लिएर पहिलो एनिमेसन भिडियो बनाउने निधो गरे। ‘त्यो बेला हामीले यति धेरै मिहिनेत गर्यौं कि, दशैं आउन दुई दिन बाँकी रहँदा बल्लतल्ल भिडियो सार्वजनिक गर्न सफल भयौं’, सचिना सम्झिन्छिन्।
त्यो भिडियो अपलोड हुनेबित्तिकै भाइरल भयो। दशैंको शुभकामना सहित आएको त्यो भिडियोपछि सचिना र सुचनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। आजको दिनमा त्यो भिडियो डेढ करोडभन्दा बढी पटक हेरिएको छ। ‘शुरुमा त त्यो भिडियो हामीले बनाएको हो भन्ने धेरैलाई थाहै थिएन। साथीभाइले ‘ह्याप्पी दशैं’ भन्दै त्यही भिडियो मलाई नै फरवार्ड गर्थे’, उनी मुस्कुराउँछिन्।
संसारभर नेपाली भाषा र संस्कृतिको प्रचार
नेपाली भिडियोले यति धेरै माया पाएपछि उनीहरूको उत्साह झन् बढ्यो। उनीहरूले जति पनि पुराना र चर्चित नेपाली बालगीतहरू छन्, तिनमा भिडियो बनाएर युट्युबमा राख्न शुरु गरे। ९ वर्षको बीचमा ‘नानी एण्ड बाबु’ युट्युब च्यानलका सब्स्क्राइबर करिब २४ लाख पुगिसकेका छन्। उनीहरूले बनाएको ‘म्याउ म्याउ बिरालो’ बोलको भिडियो सर्वाधिक हिट छ, जसलाई करिब १७ करोड पटक (१६८ मिलियन भ्युज) हेरिएको छ।
‘नानी एण्ड बाबु’ मार्फत सचिनाले बालबालिकालाई मनोरञ्जन मात्र दिएकी छैनन्, नेपाली भाषा र संस्कृतिको विश्वव्यापीकरणमा पनि अमूल्य योगदान पुर्याएकी छिन्।

‘हामी भिडियोमा पात्रलाई लगाइने पोशाकदेखि पृष्ठभूमिसम्म नेपालीपन झल्काउन सबैभन्दा धेरै मिहिनेत गर्छौं’ उनी भन्छिन्, ‘हाम्रा भिडियो संसारभरबाट हेरिन्छन्। जब पृष्ठभूमिमा हिमाल, पहाड, तराई र हाम्रा मन्दिरहरू राख्छौं, तब यो नेपाल हो भनेर सजिलै चिनिन्छ।’
अहिले संसारभर छरिएर रहेका नेपाली अभिभावकहरूले आफ्ना छोराछोरीलाई नेपाली भाषा सिकाउन यही च्यानलको भर परेका छन्। विदेशबाट बच्चाहरूले आफ्नै भिडियो हेरेर रमाइरहेका क्लिपहरु आउँदा सचिनालाई सबैभन्दा बढी सन्तुष्टि मिल्छ।
अहिले सचिना र उनको टिम (जसमा अधिकांश महिला छन्) बालगीतका शब्दहरू आफैं कोर्छन्। शब्द चयनमा उनी निकै संवेदनशील छिन्। ‘हाम्रो भिडियोमा बजेको हरेक शब्द बच्चाले याद गर्छ। कतिपय बच्चाले त बोल्न सिक्ने पहिलो शब्द नै हाम्रै भिडियोको हुन्छ’ उनी भन्छिन्, ‘त्यसैले यो निकै संवेदनशील र गम्भीर विधा हो।’
मनोरञ्जनसँगै अब नानीबाबुले शिक्षा पनि प्रदान गर्नुपर्छ भनेर यो जोडी अहिले ‘सुपर नानीबाबु’ को नयाँ अवधारणा र ज्ञानवर्धक कन्टेन्ट निर्माणमा जुटिरहेको छ।
आजको युवा पुस्ता निकै महत्त्वाकांक्षी छ र छिटो नतिजा चाहन्छ। तर सचिनाको अनुभवले भन्छ- निरन्तरको मिहिनेत र धैर्य विना सफलता हात पार्न कठिन हुन्छ। ‘म पनि शुरुमा एउटा साधारण भूमिकाबाट यो क्षेत्रमा आएकी हुँ। सिक्दै गएँ, आफूलाई निखार्दै गएँ र आज जहाँ छु, त्यसमा सन्तुष्ट छु’ उनी आफ्नो सफलताको मन्त्र सुनाउँछिन्, ‘सपना पूरा गर्नु छ भने सानो कामबाटै सुरुआत गर्ने र निरन्तर लागिरहने।’
एउटा सानो स्टुडियोबाट शुरु भएको सचिनाको यो कला यात्रा आज लाखौं बालबालिकाको बाल्यकालको एउटा सुन्दर र अभिन्न अङ्ग बनिसकेको छ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी