+

नेपालकी डान्स आइकन

‘छोरीमान्छे भएर पनि केटाहरू जस्तै उफ्रिने ?’ समाज र परिवारको यस्तै संकुचित सोचलाई चिर्दै नेपालको पहिलो ‘बी-गर्ल’ डान्सरका रूपमा उदाएकी आश्मा विश्वकर्मा आज करोडौं दर्शककी ढुकढुकी हुन्। घाइते शरीर बोकेरै भए पनि उनी डेढ दशकदेखि निरन्तर नाचिरहेकी छिन्।
पूरा सूची
Shares
आश्मा विश्वकर्मा

काठमाडौंको भेडासिंको एउटा साँघुरो गल्लीबाट शुरु भएको आश्मा विश्वकर्माको सपना आज अन्तर्राष्ट्रिय मञ्चसम्म फैलिएको छ। २८ वर्षीया आश्मा देशकै पहिलो महिला ‘बी-गर्ल’ डान्सर मात्र होइनन्; उनी सङ्घर्ष, साहस र निरन्तरताकी एउटी जिउँदो प्रतीक पनि हुन्।

चर्चित नृत्य समूह कार्टुन्ज क्रूकी एक्ली महिला सदस्यका रूपमा उनले डेढ दशक लामो यात्रामा आफूलाई स्थापित मात्र गरेकी छैनन्, नेपाली नृत्य क्षेत्रलाई बिल्कुलै नयाँ आयाम दिएकी छिन्। सामान्य परिवेशबाट असामान्य उचाइसम्म पुगेको उनको जीवनयात्रा कुनै प्रेरणादायी सिनेमाको कथाभन्दा कम छैन।

अभावको बाल्यकाल र अधुरो पढाइ 

पुर्ख्यौली थलो सुनसरीको तरहरा भए पनि आश्माको जन्म र हुर्काइ काठमाडौंमै भयो। परिवारकी माइली छोरी आश्माका आमाबुवा सुनचाँदी पसल चलाउँछन्। बाल्यकालमा उनको परिवारको आर्थिक अवस्था त्यति सबल थिएन। तर, त्यही अभावले उनको सपनालाई रोक्नुको सट्टा अझ दृढ बनायो।

डल्लुस्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा अध्ययन गरेकी आश्मा सानैदेखि पढाइमा अब्बल थिइन्। एसएलसीपछि एनआईसी कलेज हुँदै उनले पद्मकन्या (पीके) क्याम्पसमा होटल म्यानेजमेन्ट विषयमा स्नातक तहको अध्ययन शुरु गरिन्।

तर, स्नातक दोस्रो वर्षमा पुग्दा नपुग्दै डान्सका कार्यक्रम, रिहर्सल र स्टेज प्रस्तुतिको व्यस्तता यति धेरै बढ्यो कि उनलाई पढाइ र डान्स सँगसँगै अगाडि बढाउन असम्भव जस्तै हुन थाल्यो। अन्ततः उनले एउटा कठोर निर्णय लिंदै औपचारिक अध्ययनलाई बीचमै छाडिदिइन्। धेरैका लागि यो ‘मूर्खतापूर्ण’ निर्णय हुन सक्थ्यो, तर आश्माका लागि भने यो आफ्नो वास्तविक पहिचान र सपनातर्फको सबैभन्दा निर्णायक मोड बन्यो।

सामान्य परिवारबाट उठेर, समाजका अनेकौं अवरोध पार गर्दै, शारीरिक चोट र मानसिक दबाब झेल्दै आश्मा आज नेपाली युवा पुस्ताकी ‘डान्सिङ आइकन’ बनेकी छिन् ।

१६ वर्षमै ‘बी-गर्ल’ बन्ने हुटहुटी 

कक्षा ८ मा पढ्दा आश्मा भर्खर १६ वर्षकी थिइन्। त्यतिबेला नेपालमा ‘बी-बोइङ’ (हिपप डान्सको एउटा कडा शैली) भन्ने शब्द नै धेरैका लागि अपरिचित थियो; महिलाको सहभागिता त झनै दुर्लभ।

उनका केटा साथीहरू स्टन्ट गर्दै, टाउको भुइँमा टेकाएर फनफनी घुम्दै नाच्थे। त्यो शैली उनलाई एकदमै युनिक लाग्यो। ‘मलाई सधैं अरूभन्दा फरक कुरा गर्न मन पर्थ्यो’ उनी सम्झिन्छिन्। त्यही आकर्षणले उनलाई ‘बी-बोइङ’ तर्फ डोर्‍यायो।

त्यतिबेला सीडी र भीसीडीको जमाना थियो। युट्युब र सामाजिक सञ्जाल आज जस्तो सहज थिएनन्। विदेशका महिला डान्सर (बी-गर्ल) हरूको भिडियो हेर्दै उनले घरमै अभ्यास शुरु गरिन्। प्रयास गर्दा आफूले पनि त्यस्तै कठिन स्टेपहरू गर्न सक्ने महसुस भयो।

सन् २००९ तिर उनी जमलस्थित ‘नेपाल स्पोर्ट डान्स ट्रेनिङ सेन्टर’ पुगिन्। नेपालमा बी-बोइङ भित्र्याउने मिकी दाइको स्टुडियोमा उनले औपचारिक प्रशिक्षण शुरु गरिन्। त्यहीं उनको भेट सरोज अधिकारीसँग भयो, जो पछि कार्टुन्ज क्रूका संस्थापक मात्र बनेनन्, आश्माको करिअरकै सबैभन्दा महत्त्वपूर्ण पात्र समेत बने।

कार्टुन्ज क्रूको एक्ली लेडी 

नृत्यमा सरोजको फरक र ‘टेक्निकल’ कोरियोग्राफीले आश्मालाई गहिरो प्रभाव पार्‍यो। सन् २०१२ देखि नै उनी औपचारिक रूपमै कार्टुन्ज क्रूमा आबद्ध भइन्।

केटाहरूको समूहमा एक्ली महिला सदस्य हुनु आफैंमा ठूलो चुनौती थियो। त्यतिबेला समाजमा ‘यो त केटाहरूले मात्र गर्ने डान्स हो’ भन्ने मानसिकता बलियो थियो। तर आश्माले आफूलाई कहिल्यै कमजोर ठानिनन्। निरन्तर अभ्यास, शारीरिक मिहिनेत र प्राविधिक सुधारमार्फत उनले आफूलाई प्रमाणित गरिन्।

‘सुरुआतमा डान्स मेरो रुचि मात्र थियो, तर पछि यो मेरो लत जस्तै बन्यो’, उनी भन्छिन्। शरीरका नसा दुख्दा पनि उनलाई अभ्यास गर्न मन लाग्थ्यो; चोटपटक लाग्दा पनि स्टेज छोड्न मन लाग्दैनथ्यो। यही समर्पणले उनलाई आजको उचाइमा पुर्‍याएको हो।

अनि बदलियो परिवारको रोकतोक पूर्ण समर्थनमा 

आश्माको यो यात्रा सजिलो पक्कै थिएन। एउटा समय यस्तो पनि आयो, जतिबेला परिवारले उनलाई डान्स गर्नै प्रतिबन्ध लगायो। आमा आफैं स्टुडियोमै पुगेर डान्स गर्न रोकेको र घर फर्काएर लगेको घटना उनी आज पनि झलझली सम्झिन्छिन्। 

‘आमाले मेरो राम्रै सोचेर त्यसो गर्नुभएको थियो। छोरीले डान्स छाडेर राम्रोसँग पढोस् भन्ने उहाँको चाहना थियो’, उनी आमाको भावना बुझ्छिन्।

केही समय उनलाई घरबाट डान्स सिक्न जान पूर्ण रूपमा रोक लगाइयो। तर, सरोजले आश्माको परिवारलाई आश्वस्त पार्ने काम गरे। उनले आमालाई बुझाए। त्यसपछि विस्तारै परिवारको दृष्टिकोण परिवर्तन भयो। आज आश्माको डान्स करिअरमा उनको परिवारको पूर्ण साथ र समर्थन छ।

यो परिवर्तन एउटा परिवारको मात्र कथा होइन; सिङ्गो नेपाली समाजमा डान्सप्रतिको बदलिंदो सोचको सङ्केत पनि हो। कुनै बेला डान्सलाई ‘समयको बर्बादी’ र ‘बिग्रिएको बाटो’ ठानिन्थ्यो। तर आज तिनै अभिभावकहरू आफ्ना छोराछोरीलाई डान्स स्टुडियोमा भर्ना गर्न ल्याउँछन्।

भाइरल भिडियो र घाइते शरीरको सङ्घर्ष 

आश्माको जीवनको एउटा टर्निङ प्वाइन्ट त्यतिबेला आयो, जतिबेला चर्चित ‘फ्राइडे’ म्यागजिनको कभर पृष्ठमा उनको तस्बिर छापियो। त्यसले उनलाई डान्सले पनि भविष्य दिन सक्छ भन्ने बलियो भरोसा दिलायो।

आज सामाजिक सञ्जाल उनको कला देखाउने सबैभन्दा ठूलो प्लेटफर्म बनेको छ। ‘पानी पर्‍यो’ जस्ता गीतका कभर भिडियोले उनलाई देशका घरघरमा चिनायो। हालै मात्र दक्षिण भारतीय अभिनेता रामचरण अभिनित फिल्मको ‘चिक्री चिक्री’ गीतमा उनले बनाएको कभर भिडियोले त इन्टरनेटमै तहल्का मच्चायो। अपलोड भएको सात दिनमै उक्त भिडियोले टिकटक र इन्स्टाग्राम (रिल्स) मा दुई करोडभन्दा बढी भ्युज पायो।

‘रामचरणलाई सानैदेखि हेर्दै आएकी हुँ। यो गीतको स्टेप निकै ‘कुल’ लाग्यो। उहाँ नै बनेर गर्छु भन्ने सोच आयो’, आश्मा मुस्कुराउँदै भन्छिन्।

तर, स्क्रिनमा देखिने यो ऊर्जाशील डान्स पछाडिको शारीरिक पीडा भने निकै गहिरो छ। ‘बी-बोइङ’ जस्तो कठिन डान्स गर्दागर्दै आश्माको काँधको ‘लिगामेन्ट’ च्यातिएको छ। डाक्टरले उनलाई ननाच्न गम्भीर सल्लाह दिएका छन्। तर, उनी थेरापी गर्दै आफ्नो अभ्यासलाई निरन्तरता दिइरहेकी छिन्।

‘डान्स नगरी म स्वस्थ नै हुँदिनँ जस्तो लाग्छ’, उनी भन्छिन्। उनका लागि डान्स केवल शारीरिक कसरत मात्र होइन, यो त उनको मानसिक सन्तुलनको मुख्य आधार पनि हो।

अधुरो सपना र आगामी लक्ष्य 

आश्मालाई एउटा कुरा भने सधैं खट्किन्छ- सरकारी स्तरबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने अवसर नपाउनु। ‘देशका लागि एउटा ट्रफी ल्याउने मौका पाएको भए अझ राम्रो हुन्थ्यो’, उनी भावुक सुनिन्छिन्।

तर त्यो अधुरो सपनाले उनलाई निराश बनाएको छैन। उनी आउँदो १० वर्षमा नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरको काम गर्ने लक्ष्यमा छिन्। साथै, राम्रो स्क्रिप्ट आएमा फिल्ममा अभिनय गर्ने उनको चाहना पनि छ। विशेषगरी आफूलाई ‘रोमान्टिक’ भूमिकामा प्रस्तुत गर्न उनी चाहन्छिन्।

नयाँ पुस्तालाई आश्माको एउटै सन्देश छ- ‘मिहिनेत गर्न छाड्नुहुँदैन, धैर्य राख्नुपर्छ र आफूलाई सधैं विश्वास गर्नुपर्छ।’

सामान्य परिवारबाट उठेर, समाजका अनेकौं अवरोध पार गर्दै, शारीरिक चोट र मानसिक दबाब झेल्दै आश्मा आज नेपाली युवा पुस्ताकी ‘डान्सिङ आइकन’ बनेकी छिन् । उनको जीवनयात्राले प्रमाणित गरेको छ- जब रुचि र समर्पण एकै ठाउँमा जोडिन्छन्, तब त्यो पेशा मात्र बन्दैन, सिङ्गो जीवनको पहिचान बन्छ।

आश्माको जीवनयात्राले भन्छ- रुचि जब समर्पणसँग जोडिन्छ, तब त्यो पेशा मात्र होइन, पहिचान बन्छ । आश्माका लागि नृत्य केवल कला होइन; जीवन हो । र त्यो जीवन अझै गतिमान छ- ऊर्जा, आत्मविश्वास र अटुट सपनासहित ।

लेखक
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।