८९ वर्षमा पनि अविश्राम इन्दिरा
उमेरले एक शतकको नजिक पुग्न लागेकी इन्दिरा सापकोटा अझै पनि उत्तिकै सक्रिय छिन्। आफ्नो व्यवसायमा होस् वा समाजसेवामा, उनको रुचि र लगाव जवानीमा जस्तै छ ।
१९९४ सालमा जन्मिएकी इन्दिरा आज ८९ वर्षको उमेरमा पनि दैनिक रूपमा आफ्नो व्यवसायमा खटिन्छिन्। ‘आड तयारी पोशाक’ की प्रबन्धक उनी अझै पनि सुत्केरी महिला र ८ वर्षसम्मका बच्चाहरूका लागि कपडा डिजाइन गर्छिन् र स्वेटर बुन्छिन्।
नाफाभन्दा पनि सेवाभावलाई प्राथमिकतामा राखेर काम गर्ने इन्दिराले श्रीमान्को निधनपछि छोराछोरीको समेत सहयोग विना आफ्नो बहुआयामिक व्यवसायलाई यहाँसम्म ल्याइपुर्याएकी हुन्।
‘छोराछोरी पढाउन पैसा जुटाउनुपर्छ भनेर शुरु गरेको व्यवसायमा मैले छोराछोरीबाटै कुनै सहयोग पाइनँ’ उनी भन्छिन्, ‘आफ्नो परिवारको सहयोग नभए पनि मैले गर्नुपर्ने काम गरेकै छु, त्यसैले मलाई कुनै दु:खेसो छैन।’
१८ रुपैयाँबाट शुरु भएको उद्यम
इन्दिराले आफूले उच्च शिक्षा हासिल गर्न नपाए पनि छोराछोरीलाई जसरी भए पनि पढाउनुपर्छ भन्ने अठोट लिएकी थिइन्। त्यही अठोटले उनमा व्यावसायिक सोच जन्मायो। आफ्नो माइतीघरबाटै सामान्य सिलाइबुनाइको सीप सिकेकी उनले आम्दानीको वैकल्पिक स्रोतका रूपमा कपडा किनेर ल्याउने र त्यसलाई सिलाएर तयारी पोशाकमा रूपान्तरण गरी बिक्री गर्ने काम थालिन्।
२०३२ सालमा उनले पहिलो पटक १८ रुपैयाँमा कपडा किनेर ल्याइन् र त्यसलाई सिलाएर तयारी पोशाक बनाई ३६ रुपैयाँमा बिक्री गरिन्। त्यहींबाट शुरु भएको थियो, उनको उद्यमशीलताको लामो यात्रा।

सुरुआतमा भोटो सिउने कामबाट व्यवसाय थालेकी उनले पछि सुत्केरी आमा र बच्चाका लागि सुतीको चोलो, जामा, सुरुवाल लगायत तयार गरी बिक्री गर्न थालिन्। व्यवसाय विस्तार गर्न उनले आफ्ना गरगहना बिक्री गरेर ५० हजार रुपैयाँ लगानी गरेको आज पनि झलझली सम्झिन्छिन्।
लामो समयसम्म उनले थापाथलीस्थित प्रसूति गृह परिसरमा पसल सञ्चालन गरिन्। पसलबाट भएको आम्दानीको निश्चित प्रतिशत हिस्सा उनले अस्पतालकै विकासका लागि दान गर्थिन्। तर, पछि अस्पतालको संरचना परिवर्तन हुँदा उनले त्यो ठाउँ छोड्नुपर्यो।
श्रीमान्को निधन र एक्लो सङ्घर्ष
सधैं हक्की स्वभावकी इन्दिराले ४८ वर्षको उमेरमा (२०४२ सालमा) आफ्ना श्रीमान् गुमाउनुपर्यो। त्यसपछि उनी एक्लैले घर सम्हाल्नेदेखि छोराछोरीको शिक्षादीक्षा र विवाहसम्म सम्पन्न गराइन्।
‘मैले गरेका उद्यम, व्यवसाय र समाजसेवामा परिवारको कुनै सहयोग छैन’ उनी भन्छिन्, ‘छोराछोरी सक्ने भएदेखि नै मैले मेरो कार्यक्षेत्रमा कुनै प्रकारको सहयोग पाइनँ। आजका दिनसम्म जे-जे गरें, श्रीमान् बितेपछि म एक्लैले गरेकी हुँ।’
एक्लै हुँदा उनले हार खाइनन्, बरु व्यवसायलाई झनै विविधीकरण गरिन् र समाजसेवाका कामहरू पनि बढाइन्।
हजारौं महिलालाई रोजगारी र कैदीबन्दीलाई सीप
परिवारको आर्थिक बोझलाई सहज बनाउन शुरु गरिएको उद्यमले पछि सिङ्गो समाजकै रूपान्तरणमा भूमिका खेल्यो। इन्दिराले आफूले मात्रै उद्यम र व्यापार गरिनन्, आफू जस्तै हजारौं उद्यमी महिलाहरू समेत जन्माइन्।
उनले महिलालाई स्वावलम्बी र स्वरोजगार बनाउन सिलाइबुनाइ र डिजाइनको तालिम दिइन्। तालिम लिएका धेरै महिलाले उनीसँगै काम गरे।
‘मैले सिकाएका महिलाहरू सीपमा यति अब्बल हुन्थे कि अरूले नै राम्रो सेवा-सुविधा दिएर तान्थे’ उनी भन्छिन्, ‘त्यसरी लैजाँदा मलाई खुसी नै लाग्थ्यो। म फेरि अर्को नयाँ महिलालाई सिकाएर काममा लगाउँथें। तालिम दिने क्रममा ५ हजार जना पुगुन्जेल त नाम टिपेकी थिएँ, त्यसपछि सङ्ख्या अत्यधिक बढेर हजारौंमा पुगेपछि रेकर्ड राख्नै छाडिदिएँ।’

कुनै समय उनको उद्योगमा २५० भन्दा धेरै कर्मचारीले काम गर्थे। उनले सिलाइ सँगसँगै अचार उद्योग पनि सञ्चालन गरिन्। ‘सहारा खाद्य उद्योग’ र ‘विश्वास अचार तथा मसला उद्योग’ दर्ता गरेर उनले थुप्रै महिलालाई तालिम दिइन्। हायात र द्वारिकाज जस्ता पाँचतारे होटलहरू उनका उत्पादनका नियमित ग्राहक थिए।
यसका साथै, इन्दिराले केन्द्रीय कारागारभित्र रहेका महिला बन्दीहरूका लागि ‘महिला बन्दी विद्यालय’ को समेत सुरुआत र सञ्चालन गराइन्। उनले कैदी महिलाहरूलाई सिलाइबुनाइ लगायतका सीपमूलक तालिम दिएर समाजमा पुनर्स्थापना हुनसक्ने बाटो देखाइन्। उनी अझै पनि केन्द्रीय कारागारसँग सहकार्य गरेर अघि बढ्न तयार छिन्।
पद्मकन्याका विद्यार्थीलाई खर्चको जोहो
२०५० को दशकमा उनले नौ वर्षसम्म विदेशमा स्वेटर निर्यात पनि गरिन्। स्वेटर निर्यात गर्दा उनले पद्मकन्या क्याम्पसका धेरै छात्राहरूलाई अध्ययन खर्चको जोहो गराइदिएकी थिइन्।
उनले ती विद्यार्थीलाई ‘पार्ट-टाइम’ रूपमा स्वेटर बुन्ने काम दिन्थिन्। प्रतिस्वेटर १०० देखि १५० रुपैयाँसम्म पारिश्रमिक दिने गरेको उनी सम्झिन्छिन्।
‘पढ्न चाहने छात्राहरूका लागि क्याम्पस खर्चको जोहो गराइदिएकी थिएँ। अहिले पनि कतिपय भेट हुँदा ‘तपाईंकहाँ स्वेटर बुनेरै पढेको नि’ भन्दा निकै खुसी लाग्छ’, उनी मुस्कुराउँछिन्। द्वन्द्वकाल शुरु भएपछि भने उनले स्वेटर निर्यातको काम छाडिदिइन्।
कमाउँदै समाजसेवा
इन्दिराले ‘आड तयारी पोशाक’, ‘नेपाल गृहिणी उद्योग’, ‘भोटु-इन्दिरा समाज कल्याण संस्था’ र ‘सहारा खाद्य उद्योग’ जस्ता कम्पनी र संस्थाहरू सञ्चालनमा ल्याइन्। हाल यीमध्ये ‘आड तयारी पोशाक’ मात्र उनी आफैंले सञ्चालन गरिरहेकी छिन्। यसलाई पनि स्थायी कार्यालय स्थापना गरेर एउटा विश्वासिलो टिमको जिम्मा लगाउने उनको योजना छ।
दुर्गम क्षेत्रमा विद्यालय भवन निर्माण गर्नेदेखि लिएर गोकर्णेश्वरको ‘ग्राम सुधार आधारभूत विद्यालय’ को पुनः सञ्चालन पनि उनकै पहलमा भएको हो। ‘आफूले कमाएको पैसा समाजसेवामै खर्च गर्छु’, उनी सन्तुष्ट भावमा भन्छिन्।
महिलाहरू परिवारको चौघेराभित्र मात्रै सीमित नभई उद्यम, व्यापार र समाजसेवामा पनि उत्तिकै सक्रिय हुनसक्छन् भन्ने कुराको जिउँदो उदाहरण हुन्, इन्दिरा । व्यावसायिक नाफाभन्दा समाजसेवा र महिला सशक्तीकरणलाई आफ्नो जीवनको मूलमन्त्र बनाएकी ८९ वर्षीया इन्दिराको सक्रियता आजका युवा पुस्ताका लागि पनि उत्तिकै प्रेरणादायी छ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी