News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर जुट मिल्स, नेपालकै पहिलो उद्योग, १९९३ मा स्थापना भएर २०७० देखि पूर्ण रूपमा बन्द छ।
- उद्योग बन्द भए पनि सुरक्षागार्डहरूले घण्टी बजाएर समयको सूचना दिइरहेका छन्।
- संरचनाहरू जीर्ण भए पनि सुपरभाइजर मनोज खड्काका अनुसार थोरै मर्मतले उद्योग पुनः सञ्चालन गर्न सकिन्छ।
२१ वैशाख, विराटनगर । विराटनगर जुट मिल्सको भित्री प्रवेशद्वार नजिकै एउटा ठूलो फलामे घण्टी झुण्डिएको छ । कुनै समय यो घण्टीको आवाजले हजारौँ मजदुरको ढुकढुकी र मेसिनको लयलाई एउटै सूत्रमा बाँधेको थियो ।
आज माकुराको जालोले घेरिएको मिलका मेसिनमा खिया लागेको छ । मजदुरहरूको चहलपहल हराएको वर्षौं भयो । तर यो जनाउ घण्टी निरन्तर बजिरहेको छ । नेपालकै पहिलो यो उद्योग खण्डहर भए पनि हरेक घण्टा समयको सूचना दिँदै घण्टी बजिरहन्छ ।
१९९३ सालमा स्थापना भएको यो ऐतिहासिक उद्योग २०७० सालदेखि पूर्ण रूपमा बन्द छ । कुनै बेला ८ हजार हाराहारी मजदुरले तीन सिफ्टमा काम गर्ने उद्योगमा अहिले ९ जना कर्मचारी बाँकी छन्, जसमा ५ जना सुरक्षागार्ड छन् । मजदुरलाई समयको जानकारी दिन राखिएको घण्टी हिजोआज तिनै सुरक्षागार्डहरूले पालैपालो बजाइरहन्छन् ।
उद्योग बन्द भए पनि समयको निरन्तरता बुझाउन यो घण्टी बजिरहेको मिल्सका सुपरभाइजर मनोज खड्का बताउँछन् । ‘पहिले मजदुरलाई सिफ्ट परिवर्तन र समयको जानकारी दिन घण्टी बजाइन्थ्यो,’ खड्का भन्छन्, ‘अहिले उद्योग चलेको छैन । तर जति बज्छ, सुरक्षाकर्मीले त्यति नै पटक घण्टी बजाएर समयको संकेत दिइरहन्छन् ।’

९० वर्ष पुरानो यो उद्योगको भौतिक अवस्था अहिले खण्डहर छ । उद्योगको छानो भत्किएको छ, पर्खालहरू चिरा परेका छन् । मेसिनका महँगा र स–साना पार्टपुर्जाहरू हराएका छन् । उद्योगभित्र रहेका ठूला मोटरको तामाको क्वाइल पनि छैनन् । ठूला औजार र मेसिन खिया लागेको अवस्थामा छन् ।
वर्षौंसम्म उद्योग नचलेका कारण भएका मेसिनमा माकुराको जालो लागेको छ । बन्दाबन्दै मेसिनमै छाडिएका जुटको धागो अहिले सडेर धुलो भइसकेको छ ।
खण्डहर बनेको मिलको रातो भित्तामा अझै पनि सेतो अक्षरले लेखिएका नाराहरू देखिन्छन्, ‘उत्पादन बढाऔँ, मिल जोगाऔँ, वेस्टेज घटाऔँ, नोक्सानी बचाऔँ ।’
तर यी नारालाई गिज्याउँदै अहिले मिलका संरचनाहरू जीर्ण बनेका छन् । आकाशबाट पानी पर्दा छानाले थेग्दैन । जसका कारण ऐतिहासिक मेसिनहरूमा खिया लागिरहेको छ ।
संरचना जीर्ण भए पनि कार्यरत कर्मचारीहरूमा भने एउटा झिनो आशा अझै जीवित छ- नयाँ सरकार आएको छ, उद्योग फेरि चल्छ कि ! सुपरभाइजर मनोज खड्काका अनुसार संरचनाहरू मर्मत गरेर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सकिन्छ ।

‘भवनहरू जीर्ण देखिए पनि भित्री संरचना बलिया नै छन् । थोरै मर्मत गर्दा मेसिनरी चिज सञ्चालन गर्न सकिन्छ । राज्यको थोरै लगानी र इच्छाशक्ति हुने हो भने यो उद्योग फेरि ब्युँतिन सक्छ,’ खड्का भन्छन्, ‘हिजो हाम्रै उत्पादनले धान्थ्यो, अहिले बंगलादेशबाट कच्चा पदार्थ ल्याएर भए पनि यो मिल चलाउन सकिन्छ । आधुनिक सामग्री उत्पादन गरेर विदेश पठाउन सकिन्छ ।’
विराटनगर जुट मिल १९९३ मा स्थापित नेपालको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरका साथै देशभर उद्योग स्थापनाको लहर चलेको थियो । नेपालमा औद्योगिक क्रान्तिसँगै प्रजातान्त्रिक आन्दोलन पनि यही मिल्सबाट सुरु भएको थियो ।

यो उद्योग २०४६ को दशकसम्म सरकारले सञ्चालन गरेको थियो । निजीकरण गर्ने भन्दै गोल्छा अर्गनाइजेसनलाई जिम्मेवारी दिए पनि उसले सञ्चालन गर्न सकेन । २०५८ सालमा सरकारले दुई हजार कर्मचारीलाई ५५ करोड रुपैयाँ भुक्तानी गरेर उद्योग बन्द गरेको थियो ।
त्यसपछि २०६९ मा विनसोम इन्टरनेसनल कोलकातालाई सञ्चालनको जिम्मेवारी दिइएको थियो । तर सरकारले ३३ केभिए विद्युत नदिएपछि सो कम्पनी पनि फिर्ता भयो । त्यसपछि आन्तरिक रूपमा सञ्चालन गर्ने प्रयास भए पनि सफल हुन सकेन ।








प्रतिक्रिया 4