+
+
Shares

सांसद धनञ्जय रेग्मीको अभिव्यक्तिप्रति अर्जुनचौपारी गाउँपालिकाको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते ७:१२

७ जेठ, स्याङ्जा । सांसद धनञ्जय रेग्मीले संघीय संसदमा दिएको अभिव्यक्तिप्रति स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।

सार्वजनिक गर्दै शिक्षक सरुवासम्बन्धी संसदमा उठाइएको विषयप्रति आफ्नो धारणा सार्वजनिक गरेको हो ।

प्रतिनिधि सभा सदस्य रेग्मीले संसदमा ‘अर्जुनचौपारी गाउँपालिकामा केही आस्थाका आधारमा शिक्षक सरुवा गरेर दुःख दिइएको’ भन्ने अभिव्यक्ति दिएको भन्दै गाउँपालिकाले त्यसप्रति प्रतिक्रिया जनाएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीद्वारा हस्ताक्षरित पत्रमा गाउँपालिकाले आफ्नो शिक्षा प्रणाली विद्यार्थीको भविष्य, शैक्षिक सुधार र पारदर्शिताप्रतिको ‘आस्था’मा आधारित रहेको उल्लेख गरेको छ ।

पत्रमा शिक्षा क्षेत्रमा गरिएको निर्णय गाउँपालिकाको नीति, आवश्यकता र संविधानले दिएको अधिकारभित्र रहेर गरिएको दाबी गरिएको छ ।

ध्यानाकर्षण पत्रमा गाउँपालिकाले शिक्षक सरुवालाई लिएर राजनीतिक दृष्टिकोणबाट टिप्पणी गर्नु उचित नभएको संकेत गरेको छ । ‘यदि पार्टी विशेषप्रति आस्था राख्ने शिक्षकलाई छुट्टै व्यवस्था गर्नुपर्ने हो भने नाम पठाइदिनुहोस्, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्न गाउँपालिका हरसम्भव प्रयास गर्नेछ’ भन्ने व्यंग्यात्मक टिप्पणी पनि पत्रमा गरिएको छ ।

गाउँपालिकाले विकास निर्माण, जनताका समस्या र अन्य महत्वपूर्ण विषयभन्दा शिक्षक सरुवाकै विषयलाई प्राथमिकता दिइएकोप्रति पनि असन्तुष्टि जनाएको छ ।

साथै, शिक्षक सरुवाको प्रक्रिया र मापदण्डबारे जानकारी लिन सामान्य प्रशासन मन्त्रालयबाट बुझ्न सुझाव दिँदै समग्र शिक्षक समुदायका समस्याबारे संसदमा आवाज उठाउन आग्रह गरेको छ ।

पत्रको अन्त्यमा गाउँपालिकाले कुनै दिन वास्तविक समस्या बुझ्न अर्जुनचौपारी आउन आग्रह गर्दै नागरिकका मुद्दामा बृहत् छलफल गर्न तयार रहेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?