News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा आयकरको तल्लो सीमा नचलाउन सुझाव दिएका छन्।
- डा. खतिवडाले राजश्व वृद्धिको सीमा १० देखि १२ प्रतिशत मात्र राख्न र १५ प्रतिशत नराख्न सुझाव दिएका छन्।
- उनले निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि सम्भव हुने बताए।
७ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा आयकरको तल्लो सीमा नचलाउन सुझाव दिएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा पूर्व अर्थमन्त्रीहरूसँग आयोजना गरेको छलफलमा डा. खतिवडाले सो सुझाव दिएका हुन् ।
पूर्व अर्थमन्त्री डा. खतिवडाले अर्थमन्त्री बजेटको बाउन्ड्रीमा बस्न खोज्ने तर, राजनीतिले छक्का हान्न खोज्ने प्रवृत्तिका बीच बजेट बनाउनुपर्ने अवस्था रहेको स्मरण गरे । उनले अर्थमन्त्रीलाई बाउन्ड्रीमा बस्न सुझाव दिए । राजश्व वृद्धिको सीमा १० देखि १२ प्रतिशतमात्र भएको भन्दै उनले १५ प्रतिशत नराख्न सुझाव दिए । यस वर्ष १२ खर्ब माथि पुगे पनि १३ खर्ब राजश्व नपुग्ने उनको अनुमान छ ।
बजेटको आकार साढे २० खर्ब हाराहारी हुनुपर्ने बताए । राजस्व लक्ष्य धेरै महत्वकांक्षी हुन नहुने उनको भनाइ छ । अन्तःशुल्क जबर्जस्ती लगाइरहेको भन्दै उनले कम गर्दै जानुपर्ने तर्क गरे । मूल्य अभिवृद्धि कर दुई दरमा जान नहुने उनको सुझाव छ ।
संघ सरकारले गर्ने विकासमा उपभोक्ता समिति मार्फत गरिने कार्य रोक्नुपर्ने र लक्ष्य अनुसार पूरा गर्न सकिने कामलाई प्राथमिकता दिन सुझाव दिए । स्वास्थ्य बीमामा थैली नबढाउन सुझाव दिँदै उनले कृषिमा अनुदान भने जरुरी रहेको बताए । कृषिमा मधेशको योगदान घटेको भन्दै उनले यसमा ध्यान दिन जरुरी रहेको बताए ।
राष्ट्रिय गौरवका आयोजनामा विगतमा मनपरी भएको भन्दै यसलाई सच्याउन सुझाव दिए । संस्थानहरूलाई एकीकृत तरिकाले विकासको मोडल बनाउन सुझाव दिँदै एलडीसी ग्र्याजुएसनमा भने खुट्टा नकमाउन ढाडस दिए । मुलुकलाई ग्रेलिस्टबाट निकाल्न कुटनीतिक पहलको आवश्यकता उनले औंल्याए ।
उनले भने, ‘दुई–चार जना मान्छे थुनेर मात्रै समस्या समाधान हुँदैन ।’ वित्तीय क्षेत्र सुधार गर्न सुझाव दिँदै उनले राष्ट्र बैंकसँग समन्वय जारी राख्न सुझाव दिए । निजी क्षेत्रको मनोबल बढाउन उनको सुझाव छ । निजी क्षेत्रको मनोबल बढेको अवस्थामा मात्र ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धि सम्भव रहेको उनले बताए ।
प्रतिक्रिया 4