+
+
Shares
मधेश सत्ता :

पहिले एमालेविरुद्ध जसपाको काँध, अहिले जसपा फालेर एमालेको साथ

हिजो एमालेका सरोज यादव मुख्यमन्त्री बन्दा हामीले सडकदेखि सर्वोच्चसम्म साथ दियौं । आज यस्तो दिन आयो । यो निकृष्टताको पराकाष्ठा हो- मनिष सुमन

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ जेठ ८ गते १८:०६

८ जेठ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनजना मन्त्रीलाई बर्खास्त गरिदिए । सँगै नेकपा एमालेका मोहम्मद समिरलाई बिनाविभागीय मन्त्री बनाउँदै सरकारमा सहभागी गराए ।

जसपा नेपालबाट बर्खास्तीमा पर्नेमा भौतिक पूर्वाधारमन्त्री राजकुमार गुप्ता, श्रम तथा यातायातमन्त्री मनिष सुमन र शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी हुन् ।

मुख्यमन्त्री यादवले त्यसको केही समयअघि मात्रै राजीनामा दिन निर्देशन दिएका थिए । तर, जसपाका मन्त्रीहरूले मानेनन्, त्यसपछि मुख्यमन्त्री यादवले बर्खास्तीको कदम चाले ।

जसपा नेपाल त्यही दल हो, जसले आठ महिनाअघि आफ्नै नेतृत्वमा सरकार बनाउन छाडेर कांग्रेसका कृष्णप्रसाद यादवलाई काँध थापेर मुख्यमन्त्री बनाएको थियो ।

जनमत पार्टीका सतीशकुमार सिंहको सरकार ढलेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जितेन्द्र सोनल मुख्यमन्त्री बनेका थिए । त्यसपछि कात्तिक २२ मा उनले विश्वासको मत लिँदा कांग्रेस र एमाले प्रतिपक्षी बेन्चमा थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारीले विद्रोह गरे । जनमतका सांसद सतीश सिंह र त्रिभुवन साह संसद्मा अनुपस्थित रहे । जसले तत्कालीन मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने अवस्था रहेन । अनि राजीनामा दिए ।

त्यसपछि प्रदेशको सबैभन्दा ठूलो दल रहेको एमालेले चलखेल थाल्यो । प्रदेश प्रमुखलाई प्रयोग गरेर संविधानको धारा १६८ को ३ बमोजिम एमालेका सरोजकुमार यादव कात्तिक २३ गते राति मुख्यमन्त्री नियुक्त भए । मुख्यमन्त्रीको शपथ भोलिपल्ट बिहान होटेलमा भएको थियो । जसले मधेशमा ठूलै राजनीतिक तिक्तता निम्त्याएको थियो ।

त्यसपछि कांग्रेस, जसपा नेपालसहितका ६ दल गठबन्धन गर्न पुगेका थिए । उनीहरू आन्दोलित नै बनाएका थिए । जसले मधेशमा एमालेलाई एक्ल्याएको थियो ।

त्यही घटनापछि कर्मचारीमाथि कुटपिट, तोडफोडदेखि सर्वोच्च अदलातसम्म मुद्दासम्म पुगेको थियो ।

सोही क्रममा प्रदेशसभा बैठक खुला चौरमा बसेको थियो, एक महिना प्रदेश अशान्त रह्यो । त्यसपछि एमाले सरकार ढल्यो ।

एमालेको सरकार ढलेपछि जसपा नेपाल र लोसपासहितका मधेशकेन्द्रीत दलबाटै सरकार बनाउने कसरत गरेका थिए । तर, कांग्रेससमेत गठबन्धनमा आएर आन्दोलन गरेकाले ठूलो दलको हैसियतमा कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सबैले सहमति जनाएका थिए ।

त्यसपछि जसपा नेपालसहित ६ दलले त्यो बेला कांग्रेसका यादवलाई काँध थापेका थिए । मंसिर १९ गते यादव मुख्यमन्त्री नियुक्त भए । उनी मुख्यमन्त्री हुँदा कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसदको समर्थन थियो । एक्लै एमाले प्रतिपक्षी बेन्चमा रहनपुग्यो ।

तर, अहिले फेरि मधेशको राजनीतिक समीकरण फेरिएको छ । अहिले आठ महिनाअघि आफूलाई काँध थापेका दललाई किनारा लगाएर मुख्यमन्त्री यादवले सत्तालाई निरन्तरता दिएका छन् ।

मुख्यमन्त्री यादवले जसपा नेपालका मन्त्रीलाई बर्खास्त गर्नुअघि बिहीबार दिउँसो मात्रै उसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय नै गरेको थियो । तर, केही घण्टा भित्रको राजनीति उथलपुथलले समिकरण नै फेरियो ।

बिहीबार हाल एकीकरण भइसकेका जसपा नेपाल र लोसपा संसदीय दलको संयुक्त बैठक बसेको थियो । दलको नेतामा सरोजकुमार यादवलाई चयन गरेको थियो । सँगै सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर, मुख्यमन्त्री यादवले नै पाखा लगाएपछि जसपा नेपालले शुक्रबार निर्णय परिवर्तन गरेर मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएन ।

मन्त्रीबाट बर्खास्तीमा परेका जसपा सांसद मनिष सुमनले मुख्यमन्त्री यादवले राजीनामाको समेत अवसर नदिएको भन्दै गुनासो पोखे ।

‘मुख्यमन्त्रीले छल गरेर, एमाले जस्तो पार्टीसँग गठबन्धन गरेका छन्,’ उनले भने, ‘हिजो एमालेका सरोज यादव मुख्यमन्त्री बन्दा हामीले सडकदेखि सवोच्चसम्म साथ दियौं । आज यस्तो दिन आयो । यो निकृष्टताको पराकाष्ठा हो ।’

जसपा नेपालकी सांस्द रूपा यादवले कांग्रेसले धोकधडी गरेको आरोप लगाइन् । ‘कांग्रेसका मुख्यमन्त्रीले चालेको याे कदम आपत्तिजनक छ । यो धोकाधडी हो । यसबारे हामी धारणा बनाएर अघि बढ्छौं’, उनले भनिन् ।

मधेशमा कांग्रेस, एमाले र नेकपाको तीनदलीय समीकरण बनेको छ । सरकारलाई बहुमत जुटाउन ५४ सिट आवश्यक पर्छ । मधेश प्रदेशसभामा एमालेको २४, कांग्रेसको २२ र नेकपाको १५ सिट गरी ६१ पुग्छ ।

शुक्रबार मुख्यमन्त्री यादवले संसद्मा विश्वासको मत लिइसकेका छन् । उनको पक्षमा ६२ मत पर्दा विपक्षमा ३६ मत परेको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?