९ जेठ, धनगढी । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेता सहभागी भएकव सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा सहभागी नभएका प्रदेश सभा सदस्यलाई कारबाही गर्नुपर्ने माग उठेको छ ।
पार्टीको प्रदेशस्तरीय प्रशिक्षण तथा केन्द्रीय सदस्यसँगको परामर्श बैठकमा सहभागी हुन धनगढी आएका संयोजक प्रचण्ड, सहसंयोक माधवकुमार नेपालसहितका नेताहरूको उपस्थितिमा शुक्रबार प्रदेश संसदीय दलको बैठक बसेको थियो ।
बैठकमा प्रदेशसभा सदस्य घनश्याम चौधरी र रामेश्वर चौधरी सहभागी भएनन् । साविक नागरिक उन्मुक्ति पार्टी संसदीय नेतासमेत रहेका घनश्याम र पूर्वमन्त्री रामेश्वर सहभागी नभएको बैठकमा नाउपाकी तत्कालीन अध्यक्ष रञ्जिता श्रेष्ठ पनि थिइन् ।
प्रदेश सभा सदस्यहरूले पार्टी एकताको मर्मअनुसार सांसदकै भूमिका नदेखिएको, प्रतिनिधि सभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै उनीहरूलाई कारबाही गर्न माग गरेका थिए ।
‘उहाँहरू दुवै जनाको विषयमा गम्भीर प्रश्न उठ्यो । प्रतिनिधि सभाको चुनावमा पार्टी उम्मेदवार नभएर नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवारलाई मत दिएको कुरा पनि आएको थियो’, बैठकमा सहभागी एक सांसदले भने, ‘पार्टी एकताको मर्म र पार्टी अनुशासन नमान्ने सांसदलाई कारबाही गर्नुपर्छ भन्ने कुरा थियो ।’

तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकतापछि नेकपा बनेको थियो । नेकपा बनेपछि शीर्ष नेताको उपस्थितिमा बसेको संसदीय दलको बैठक पहिलोपटक बसेको हो ।
बैठकमा सहभागी नेता भीम रावलले समेत पार्टी अनुशासन नमान्ने जोसुकैलाई पनि कारबाही गर्नुपर्ने माग गरेका थिए ।
उनीहरू दुवै जनाले चुनावमा आफ्ना उम्मेदवार हराउन भूमिका खेलेको प्रमाणसमेत रहेको दाबी बैठकमा गरिएको थियो ।
जवाफमा संयोजक प्रचण्डले अहिले एकताबद्ध भएर अघि बढ्न निर्देशन दिंदै आवश्यक परेमा अनुशासनको कारबाही गर्ने बताएका थिए ।
संसदीय दलको बैठकमा कारबाही गर्नुपर्ने माग गरिएका सांसदद्वय घनश्याम र रामेश्वर चौधरी नाउपाभित्रको विवादका बेला तत्कालीन संरक्षक रेशमलाल चौधरीको पक्षमा उभिदै आएका थिए । तर, पछि रञ्जितासँगै नेकपामा आएका हुन् ।
प्रतिक्रिया 4