+
+
Shares

हावाहुरीले विद्यालयको छाना उडायो, चौरमा कक्षा चलाउनुपर्ने बाध्यता

‘स–साना बालबालिकालाई बाहिर राखेर पढाउनु पनि निकै कठिन र जोखिमपूर्ण होला । हामीसँग त्यो बाहेक तत्काल अर्को विकल्प रहेन,’ अध्यक्ष भण्डारीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १४:३९

९ जेठ, डोल्पा । डोल्पामा हावाहुरीले एक विद्यालयको छाना उडाउँदा लाखौंको क्षति भएको छ । शुक्रबार राति ९ बजे आएको हावाहुरीले ठूलीभेरी नगरपालिका–२ कुम्लीस्थित मन्मा आधारभूत विद्यालय भवनको छाना उडाएको हो ।

हावाहुरीले विद्यालयको नयाँ दुई कोठे भवन र पुरानो एक कोठे भवनको जस्ता पाताले छाएको छाना उडाए विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए ।

उडाएका छाना पनि नजिकै रहेको एक स्याउ बगैंचामा पुगेका छन्, जसले किसानको स्याउबारीमा समेत क्षति पुगेको छ ।

विव्यस अध्यक्ष भण्डारीकाअनुसार हावाहुरीले विद्यालयमा जडान गरिएको सोलार प्रणालीमा पनि क्षति पुर्‍याएको छ । छाना र सोलार प्रणालीमा गरी  अनुमानित ३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले बताए ।

विद्यालयको छाना उडेपछि अब पठनपाठन गराउँदा चौरमा गराउनुपर्ने अवस्था आएको विव्यस अध्यक्ष भण्डारीको भनाइ छ ।

‘पहिला नै विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या थियो । अब त झन् हावाहुरीले भएका भवनको पनि छाना उड्यो,’ उनले भने, ‘अब कक्षा चलेको दिन खुला चौरमै राखेर पढाउनुपर्ने अवस्था आयो ।’

हावाहुरी र वर्खाको समय चलिरहेकाले चौर पनि सधैँ सुरक्षित नहुने अवस्था आइलागेको उनले बताए । ‘स–साना बालबालिकालाई बाहिर राखेर पढाउनु पनि निकै कठिन र जोखिमपूर्ण होला । हामीसँग त्यो बाहेक तत्काल अर्को विकल्प रहेन,’ अध्यक्ष भण्डारीले भने ।

वडाध्यक्ष कमलबहादुर क्षेत्रीले तत्काल वडाको विपद् कोषबाट त्रिपालको व्यवस्था गरेर पठनपाठन सञ्चालन गरिने बताए ।

दीर्घकालीन समस्या समाधानका लागि नगरपालिका, सामाजिक विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग पनि मर्मत तथा सहयोगका लागि पहल गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?