+
+
Shares

टिकटकर तुल्सा अधिकारीलाई सोमबार अदालत पेश गरिने

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार आज आइतबार सार्वजनिक बिदा भएकाले भोलि सोमबार मात्रै अधिकारीलाई अदालत पेश गरिने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्याण्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीलाई इन्टरपोलको सहयोगमा काठमाडौं ल्याएर ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।
  • ललितपुर जिल्ला अदालतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भइसकेको छ ।
  • आइतबार सार्वजनिक बिदा भएका कारण प्रहरीले उनलाई सोमबार मात्रै ललितपुर जिल्ला अदालतमा पेश गर्ने भएको छ ।

१७ जेठ, काठमाडौं । थाइल्याण्डबाट पक्राउ परेकीटिकटकर तुल्सा अधिकारीलाई सोमबार अदालत पेश गरिएको भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार आज आइतबार सार्वजनिक बिदा भएकाले भोलि सोमबार मात्रै अधिकारीलाई अदालत पेश गरिने भएको हो ।

प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएकी अधिकारी थाइल्याण्डबाट पक्राउ परेकी थिइन् ।

थाइल्याण्ड प्रहरीले पक्राउ गरेपछि नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो । इन्टरपोलको सहयोगमा उनलाई शनिबार राति काठमाडौं ल्याइएको हो । अहिले उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।

उनी चीनमा बस्दै आएकी थिइन् । प्रहरीले अनुसन्धान अघि बढाएपछि उनले सामाजिक सञ्जालबाटै प्रहरीमाथि आक्रोश पोखेकी थिइन् ।

‘म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन । चीन आएपछि पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरो मान्छेहरू प्रहरीमा बुझ्न जाँदा प्रहरीले जाहेरी देखाएन’ तुल्साले भनेकी थिइन् ।

त्यसपछि प्रहरीले भ्रम नर्छन भन्दै विज्ञप्ती नै निकालेको थियो । कुमार चिमोरिया नाम गरेका व्यक्तिले उनीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए ।

यसको अनुसन्धान गर्दा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिइन् । त्यसपछि २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागबाट सुझाव समेत लिएर उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिएको थियो ।

अहिले भने उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धिकरणको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको एसपी मिश्रले बताए ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भइसकेको छ ।

अब उनलाई सोझै अदालत पेश गरिन्छ । त्यसपछि थुनछेक बहसपछि पुर्पक्षमा थुनामा पठाउने वा साधारण तारेख र धरौटीमा रिहा गर्ने मध्ये एक आदेश आउने छ । अदालती काम भने भोलि सोमबारबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?