News Summary
Generated by OK AI. Editorially reviewed.- अधिकारकर्मी चरण प्रसाईंले सुकुमवासी आन्दोलनमा प्रहरीको धरपकड हुँदा राष्ट्रिय मानव अधिकार आयोग बिदामा बसेको भन्दै कडा व्यङ्ग्य गरेका छन्।
- प्रहरीको ज्यादतीबाट घाइते भई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत माजिद अन्सारीलाई भेटेपछि प्रसाईंले घटनाको निन्दा गरेका छन्।
- प्रसाईंले पक्राउ पुर्जीबिना नै अन्सारीलाई प्रहरी हिरासतमा राख्नु गैरन्यायिक कार्य भएको उल्लेख गरेका छन्।
२९ असार, काठमाडौं । अधिकारकर्मी चरण प्रसाईंले सार्वजनिक विदाका कारण मानव अधिकार आयोगले सुकुमवासी र उनीहरूको पक्षमा प्रदर्शन गरेका आन्दोलनकारीहरूमाथिको धरपकड र ज्यादतीको अनुगमन गर्न नसकेको भन्दै व्यंग्य गरेका छन् ।
प्रदर्शनको क्रममा प्रहरीले गरेको हुलहुज्जत र लछारपछारबाट घाइते भएका माजिद अन्सारीलाई भेटेपछि प्रसाईंले फेसबुकमा लेखेका छन्, ‘यो घटनाक्रममा राष्ट्रिय मानव अधिकार आयोग छुट्टामा रहेकाले उपस्थित हुन नसकेको भन्ने समाचारले जो कोहीलाई स्तब्ध बनाउनु स्वभाविक छ ।’
मानव अधिकार आयोगलाई यस्ता घटनाहरूको अनुगमनबाट छुट्टी लिने छुट नभएको भन्दै उनले छुट्टीको समाचारले जो कोहीलाई स्तब्ध बनाउने भनी टिप्पणी गरेका हुन् ।
विस्थापित सुकुमवासी र उनीहरूको पक्षमा प्रदर्शन गरेका आन्दोलनकारीहरूमाथिको धरपकड र ज्यादतीका घटनामा राष्ट्रिय मानव अधिकार आयोग निष्क्रि थियो । त्यही रबैयाप्रति संकेत गर्दै उनले ‘सार्वजनिक बिदामा आयोग छुट्टीमा रहेको हुनसक्ने’ भनी व्यंग्य गरेका हुन् ।
सुकुमवासीहरूको न्याय र अधिकारको पक्षमा उभिएका जेनजी आन्दोलनकर्मी अन्सारीमाथि भएको ज्यादतीप्रति विरोध गर्दै अधिकारकर्मी प्रसाईंले उनीमाथि निर्मम र योजनाबद्ध रूपमा लक्षित भएको टिप्पणी गरेका छन् ।
कुटपिटपछि अन्सारीको अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनलाई पक्राउपुर्जी बिना नै प्रहरी हिरासतमा राखिएको भन्दै अधिकारकर्मी प्रसाईंले त्यसलाई गैरन्यायिक हिरासत भनी टिप्पणी गरेका छन् ।
प्रतिक्रिया 4