+
+
Shares

संसदीय समितिले सरकारलाई भन्यो– मिडियालाई त्रसित बनाउनेमाथि कारबाही होस्

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय समितिले विभिन्न मिडिया हाउसको गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गरी अवरोध गर्नेमाथि गम्भीर अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ।
  • कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समिक्षा बास्कोटाले मिडियालाई त्रसित बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।
  • कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन र अनलाइनखबर अगाडि पार्किङ गरिएका निजी नम्बर प्लेटका सवारी साधनहरूलाई ट्राफिक प्रहरीले हटाएको छ।

२९ असार, काठमाडौं । संसदीय समितिले सरकारलाई मिडियालाई त्रसित बनाउनेमाथि कारबाही गर्न भनेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरेको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेको हो ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समिक्षा बास्कोटाले कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइनखबर अगाडि शंकास्पद रूपमा सवारी पार्किङ गरिएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताइन् ।

उनले भनिन्, ‘कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइनखबर र भाटभटेनी सुपरमार्केट अगाडि कसैले गाडी गरेको खबर आएको छ । मिडिया हाउस अगाडि सरकारले  गाडी पार्किङ गरेको होइन ।’

उनले मिडिया हाउसको गेटमा सवारी पार्किङ गरी अवरोध गर्ने कार्यमा सरकारको संलग्ना नरहेको समेत दाबी गरिन् ।

उनले भनिन्, ‘गाडीका नम्बर प्लेट हेर्दाखेरि प्राइभेट नम्बर प्लेटहरू देखिएको छ । यो विषयमा पनि समितिको ध्यानाकर्षण भएको छ ।’

निजी नम्बर प्लेट भएका सवारी रहेको र सबै सवारी साधनलाई ट्राफिक प्रहरीले हटाइसकेको जानकारी समितिलाई गराइन् । उनले थपेकी छन्, ‘यहाँ बस्दाबस्दै ट्राफिक  प्रहरीले ती गाडीहरू उठाइराखेको भनेर जानकारी आएको छ । मलाई जहाँसम्म लाग्छ सरकारले यस्तो काम गर्दैन ।’

सञ्चार माध्यमलाई त्रसित बनाउने कार्य स्वीकार्य नहुने भन्दै उनले यो घट्नाको गम्भीर रूपमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरिन् ।

उनले भनेकी छन्, ‘यो विषयमा हामीले सरकारको गम्भीर ध्यानाकर्षण गरायौँ । मिडियालाई त्रसित बनाउने कार्यमा संलग्न जोकोही होस् यसलाई गम्भीर रुपमा लिएर भोलिको दिनमा पनि उचित छलफल गर्नुपर्छ ।’

अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको थियो । गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको थियो ।

एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको थियो । शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका थिए । कसले यस्तो गर्‍यो भन्ने अहिलेसम्म प्रहरीले ठोस रुपमा पत्ता लगाएको छैन ।

मिडियाहरूको आवतजावतमा अवरोध गर्ने गरी शंकास्पद रूपमा पार्किङ गरिएको घटनाबारे संसदीय समितिमा चासो व्यक्त भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?