+
+
Shares

धरानको भानुचोक सुनसान, नयाँ बसपार्कमा चहलपहल

बसपार्क स्थानान्तरणसँगै भानुचोकको चहलपहल घटेको छ भने नयाँ बसपार्कमा यात्रु र सवारीसाधनको भीड बढ्न थालेको छ । यद्यपि, भानुचोक आसपासका स्थानीय व्यापारी तथा व्यवसायीको व्यापारमा केही असर पर्ने देखिएको छ ।

प्रदिप मेन्याङ्बो प्रदिप मेन्याङ्बो
२०८३ साउन १ गते ९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरान उपमहानगरपालिकाले भानुचोकको पुरानो बसपार्क हटाएर तीनकुनेस्थित नयाँ स्मार्ट बसपार्क विधिवत् रूपमा सञ्चालनमा ल्याएको छ ।
  • नयाँ बसपार्क सञ्चालनमा आएसँगै भानुचोक–घण्टाघर क्षेत्रको ट्राफिक चाप हटेको छ भने बसपार्कमा सवारीसाधन र यात्रुको चहलपहल बढेको छ ।
  • २४ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण भएको सो बसपार्कमा एकैपटक ३८ वटा ठूला बस र १८ वटा साना सवारी पार्किङ गर्न सकिन्छ ।

१ साउन, सुनसरी । धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना क्षेत्रमा निर्माण गरिएको स्मार्ट बसपार्कमा सार्वजनिक सवारीसाधनका सबै टिकट काउन्टर सारिएपछि धरानको भानुचोक–घण्टाघर क्षेत्र सुनसानजस्तै बनेको छ । अर्कोतर्फ नयाँ बसपार्कमा भने यात्रु र सवारीसाधनको चहलपहल बढेको छ ।

धरान उपमहानगरपालिकाले असार १३ गते भानुचोक–घण्टाघर क्षेत्रको बसपार्क नयाँ बसपार्कमा सार्ने औपचारिक घोषणा गर्दै टर्मिनल भवन र बसपार्कको उदघाटन गरेको थियो ।

उदघाटनपछि पनि यातायात व्यवसायीहरूले सार्वजनिक सवारीसाधन नयाँ बसपार्कमा लैजान आनाकानी गरेका थिए । तर पछिल्लो समय भएका छलफल र अन्तरक्रियापछि नयाँ बसपार्क नियमित रूपमा सञ्चालनमा आएको छ ।

भानुचोक–घण्टाघर क्षेत्रमा पहाडी रुट, पूर्व तथा पश्चिम जाने, विराटनगर रुटका सार्वजनिक सवारीसाधन तथा रातो नम्बर प्लेटका सवारीसाधनसमेत पार्किङ गर्न निषेध गरिएको छ ।

बसपार्कका लागि धरान उपमहानगरपालिकाका फोकल पर्सन खगेन्द्र खतिवडाका अनुसार ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी र उपमहानगरपालिकाको समन्वयमा नयाँ बसपार्क विधिवत् सञ्चालनमा आएको हो ।

धरानको भानुचोक बसपार्क मुलुककै सबैभन्दा साँघुरो बसपार्कमध्ये एकका रूपमा चिनिन्थ्यो । करिब ५० वर्षअघि दर्जनजति सवारीसाधनलाई लक्षित गरी निर्माण गरिएको बसपार्क पछिल्ला दुई दशकयता बढ्दो सार्वजनिक तथा निजी सवारीसाधन, यात्रु र दुईपाङ्ग्रे सवारीको चापका कारण बिहानदेखि साँझसम्म अत्यधिक भीडभाड हुने गरेको थियो ।

त्यसमाथि पछिल्लो एक दशकयता रिक्साको स्थानमा एक हजारभन्दा बढी सिटी सफारी सञ्चालनमा आएपछि भानुचोक–घण्टाघर क्षेत्रको ट्राफिक व्यवस्थापन झन् जटिल बनेको थियो ।

तीनकुने सुन्दर बस्ती विकास आयोजना क्षेत्रमा बसपार्क सारिएपछि भानुचोक, देशीलाइन र पुतलीलाइन क्षेत्र खुला देखिन थालेका छन् । यसअघि ती क्षेत्रमा सवारी पार्किङका लागि समेत स्थान अभाव हुने अवस्था थियो ।

बसपार्क स्थानान्तरणसँगै भानुचोकको चहलपहल घटेको छ भने नयाँ बसपार्कमा यात्रु र सवारीसाधनको भीड बढ्न थालेको छ । यद्यपि, भानुचोक आसपासका स्थानीय व्यापारी तथा व्यवसायीको व्यापारमा केही असर पर्ने देखिएको छ ।

सुनसरीको दुहबीस्थित एम/एस बिकोइ गिताञ्जली जेभीले सम्झौताअनुसार २०८१ असार अन्तिमसम्म नयाँ बसपार्क निर्माण सम्पन्न गरेको हो । तीनकुने सुन्दर बस्ती विकास आयोजना क्षेत्रमा ८० भन्दा बढी जग्गाधनीको जग्गालाई ल्याण्ड पुलिङ प्रणालीमार्फत एकीकृत गरी २७ कट्टा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो ।

स्थानीय समुदायले बसपार्कका लागि जग्गा उपलब्ध गराउन सहमति जनाएपछि २०७८ सालमा सरकारको समपूरक अनुदानबाट ५० प्रतिशत बजेट प्राप्त भएको थियो। बाँकी ५० प्रतिशत धरान उपमहानगरपालिकाले व्यहोरेपछि २४ करोड ८६ लाख ९ हजार १४८ रुपैयाँ लागतमा बसपार्क निर्माण सम्पन्न भएको हो ।

बसपार्क सञ्चालनको जिम्मा भने इटहरीका सुमन राईको कम्पनी ब्रदर्स ट्रेडर्सलाई भ्याटसहित वार्षिक १ करोड २ लाख रुपैयाँमा ठेक्कामार्फत दिइएको छ ।

नयाँ बसपार्कमा एकैपटक ३८ वटा ठूला बस तथा १८ वटा जिप, ल्यान्डरोभर र ट्याक्सी पार्किङ गर्न सकिने क्षमता रहेको छ ।

लेखक
प्रदिप मेन्याङ्बो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?