News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाको चेर्दुङस्थित चौरीगोठ प्राकृतिक, धार्मिक र सांस्कृतिक सुन्दरताले भरिपूर्ण रहेको छ।
- समुद्री सतहबाट ३,६९० मिटरको उचाइमा अवस्थित चेर्दुङबाट गौरीशङ्करसहित दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ।
- चौरीपालन व्यवसायमा खर्कको अभाव र ढुवानी कठिनाइका कारण युवापुस्ताको आकर्षण घट्दै गएको छ।
१ साउन, दोलखा । चौँरीगोठमा मैले धेरैपटक रात बिताएको छु। चौँरीको दूध, घिउ, छुर्पी र चिजको स्वाद पनि धेरैपटक चाखेको छु। तर, एउटा रहर भने अझै पूरा हुन सकेको छैन- आफ्नै हातले चौँरी दुहुने।
चौरी दुहुनु त्यति सजिलो काम रहेनछ। चौरी एकहाते जनावर हो। नियमित रूपमा एउटै व्यक्तिले दूध दुहुने बानी परेपछि उसले अरूलाई सजिलै स्वीकार्दैन। एउटै व्यक्तिले पनि फरक लुगा लगाएर जाँदा चौरीले दूध नदिने विश्वास गोठालाहरूको छ। त्यसैले चौरीसँग पनि विश्वास र अपनत्वको सम्बन्ध गाँसिनुपर्छ भन्ने लाग्यो।
यही अधुरो रहर बोकेर यसपटक म चेर्दुङको चौरीगोठ पुगेँ। चेर्दुङ जिरी नगरपालिका र गौरीशङ्कर गाउँपालिकाबाट सहजै पुग्न सकिने गन्तव्य हो। समुद्री सतहबाट ३,६९० मिटरको उचाइमा अवस्थित चेर्दुङ प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त रमणीय स्थल हो।
यहाँबाट गौरीशङ्कर हिमाललाई निकै नजिकबाट नियाल्न सकिन्छ। त्यससँगै दर्जनौँ हिमशृङ्खला आँखैअगाडि उभिएका जस्ता देखिन्छन्। तल सलल बगिरहेको तामाकोसी नदी, टाढासम्म फैलिएको हरियाली, १२ सय पल्टन, सोतली, बिगु गुम्बा, कालिञ्चोक मन्दिर, चरिकोट बजार, शैलुङ, खावा बजार, हनुमन्तेडाँडा र फेदीसम्मका दृश्य एकै थलोबाट अवलोकन गर्न पाउनु चेर्दुङको अर्को विशेषता हो।
चेर्दुङको आकर्षण केवल हिमाल र दृश्यमा सीमित छैन। यहाँको चौरीगोठमा बिताएको एक रातले छुट्टै अनुभूति दिन्छ। साँझपख खर्कबाट बिस्तारै फर्किँदै गरेका चौरीका बथान, घाँटीमा झुन्डिएका घण्टीको मधुर आवाज, गोठभरि फैलिएको ताजा दूधको सुगन्ध र दाउराको आगोको न्यानोपनले मनलाई अनौठो शान्ति दिन्छ।

हरियालीले ढाकिएको खर्कमा चरिरहेका सयौँ चौरीहरू हेर्दा प्रकृतिले आफैँ एउटा सुन्दर चित्र कोरेको जस्तो लाग्छ। वर्षायाममा त चेर्दुङ झन् जीवन्त देखिन्छ। हरियो घाँसले ढाकिएका डाँडाकाँडा, कुहिरोले छोप्दै-उघार्दै गर्ने हिमाल र त्यसमाथि फिँजारिएका चौरीका बथानले मनलाई शब्दमा बयान गर्न नसकिने आनन्द दिन्छ।
रात पर्दै जाँदा गोठको टिनको छानामाथि झरेका पानीका थोपाहरूले मीठो सङ्गीत सुनाउन थाले। बाहिर निरन्तर झरिरहने वर्षा, वरिपरि फैलिएको घना अन्धकार र भित्र दाउराको आगोको न्यानोपन- यी सबैले मनलाई अद्भुत शान्ति प्रदान गरे।
कहिलेकाहीँ चौरीको घण्टी बज्ने आवाज र गोठभित्र सुनिने उनीहरूको सास फेर्ने ध्वनिले त्यो रातलाई अझ जीवन्त बनाइदियो। सहरको कोलाहलभन्दा धेरै टाढा, प्रकृतिको काखमा बितेको त्यो रात सम्झँदा अहिले पनि मन आनन्दले भरिन्छ।
चेर्दुङमा हामी ल्होटु दाइको गोठमा बस्यौँ। उहाँको परिवारमा दुई छोरी, दुई छोरा र श्रीमती गरी ५ जना सदस्य छन्। चरिकोटबाट विनोद तामाङ, रिवाज तामाङ, आयुष कटुवाल र म गरी चारजना त्यहाँ पुगेका थियौँ।
पाहुनाप्रतिको उहाँहरूको आत्मीयता अविस्मरणीय रह्यो। हामीलाई आफूहरू सुत्ने ओछ्यान नै मिलाइदिनुभयो। झ्याँकुका भएकाले ल्होटु दाइसँग चौरीपालन व्यवसायका बारेमा घण्टौँसम्म कुराकानी गर्ने अवसर मिल्यो।

उहाँकी श्रीमतीले १६ वटा चौरी दुहुन करिब साढे दुई घण्टा लगाउनुभयो। उमेरले ४७ वर्ष पुग्नुभएका ल्होटु दाइले भने ४ दशकदेखि वर्षदेखि निरन्तर चौरीपालन गर्दै आएको सुनाउँदा हामी सबै अचम्मित भयौँ।
जीवनको अधिकांश समय उहाँले यही खर्क, यही चौरी र यही गोठसँग बिताउनुभएको रहेछ। चौरीहरूको अर्को विशेषता पनि निकै रोचक लाग्यो। दूध दुहुने समय भएपछि सबै चौरी आआफ्नो पालो कुरेर शान्त रूपमा उभिन्छन्। कसैले कसैलाई धकेल्ने वा हतार गर्ने गर्दैनन्।
उनीहरूको त्यो अनुशासन र इमानदारिता देख्दा कतिपय अवस्थामा मानिसभन्दा पनि चौरी बढी अनुशासित र जिम्मेवार लागे। प्रकृतिसँग घुलमिल भएर बाँच्ने उनीहरूको जीवनशैली आफैँमा एउटा पाठजस्तै महसुस भयो।
ल्होटु दाइका अनुसार केही दशकअघि यस क्षेत्रमा १८-१९ वटा चौरीगोठ थिए। अहिले भने बल्लतल्ल ९-१० वटा मात्र बाँकी छन्। प्रत्येक गोठमा २० देखि ४० वटासम्म चौरी पालिएका छन्। पछिल्ला वर्षहरूमा खर्कको अभाव, चौरीजन्य परिकारको घट्दो मूल्य, ढुवानीको कठिनाइ तथा विभिन्न रोगका कारण चौरी मर्न थालेपछि युवाको आकर्षण यो पेसाबाट घट्दै गएको रहेछ।

यदि यी समस्याको समाधान गर्न सकियो भने चेर्दुङ केवल हिमाल हेर्ने गन्तव्य मात्र नभई चौरी संस्कृति र गोठजीवन अनुभव गर्ने उत्कृष्ट पर्यटन केन्द्र बन्न सक्छ। अहिले पनि दैनिक दर्जनौँ पर्यटक यहाँ पुग्ने गरेका छन्।
धेरै पर्यटक होटेल वा होमस्टेभन्दा फरक अनुभव खोज्दै एक रात भए पनि चौरीगोठमै बस्न रुचाउँछन्। पछिल्ला वर्षहरूमा ‘गोठ-स्टे’ को अवधारणा बिस्तारै लोकप्रिय बन्दै गएको देखिन्छ।
चेर्दुङको यात्रा मेरो लागि एउटा सामान्य घुमघाम मात्र रहेन । यो प्रकृतिसँग नजिकिने, चौरीगोठको जीवन बुझ्ने, गोठालाको सङ्घर्ष महसुस गर्ने र हरियाली खर्कमा रमाउने अवसर थियो।
रातभर वर्षाको सङ्गीत सुन्दै, बिहान चौरीका घण्टीको आवाजसँग ब्युँझिँदा प्रकृतिले दिएको आनन्द कुनै विलासी होटेलले दिन सक्दैन भन्ने अनुभूति भयो। चेर्दुङले मलाई हिमालको सौन्दर्य मात्र होइन, सरल जीवनको सुन्दरता पनि सिकाएर फर्कायो।







प्रतिक्रिया 4