३ कात्तिक, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काभ्रे भञ्ज्याङमा सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
सपथपछि आयोगका नवनियुक्ति पदाधिकारीहरुले सोमबार पदभार ग्रहण गरेका छन् ।
लगतै बसेको बैठकले काभ्रेको काभ्रे भञ्ज्याङमा २०६२ साल फागुन १५ गते भएको आक्रमणका दोषीलाई कारबाही गर्न सिफारिस गरेको हो । उक्त आक्रमणमा सेनाका पदमबहादुर विष्ट, रामभगत आले मगर र चेतनाथ पुरीको मृत्यु भएको थियो ।
यस्तै २०६१ कात्तिक १० गते गोरखाको धैरूङ ९ का टोपबहादुर आले मगरलाई तत्कालीन शाही नेपाली सेनाले बेपत्ता पारी हत्या गरेको घटनामा संलग्नहरुलाई कारबाही गर्न पनि सिफारिस गरेको छ ।
आयोगले दुबै घटनका पीडित परिवारलाई जनही तीन लाख क्षतिपूर्ति दिन र परिपूरणको व्यवस्था गर्न सिफारिस गरेको छ ।
मानवअधिकार आयोगको बैठकले आयोगको जनशक्तिसम्बन्धी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ । साथै आयोगमा पदाधिकारीहरूको अभावले लामो समयसम्म सम्पन्न हुन नसकेका मानव अधिकार हनन्का घटनाहरुमाथि निर्णय तथा तिनको अनुगमनलाई प्राथमिकता दिइने आषेगले बताएको छ ।
मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा तथा सदस्य प्रकाश वस्ती, सुदिप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालले सोमबार सपथ लिएका थिए । शर्माले राष्ट्रपति समक्ष र सदस्यहरूले शर्मासमक्ष सपथ लिएका हुन् ।