एसिडको दाग नै बन्यो जलनपीडितको प्रेरणा
News Summary
Generated by OK AI. Editorially reviewed.- एसिड आक्रमणबाट पीडित जेनी खड्काले आफ्नो पिडालाई शक्तिमा बदल्दै अहिले कीर्तिपुर अस्पतालमा अन्य जलनपीडित बिरामीहरूका लागि प्रेरणा र भरोसाको केन्द्र बनेकी छन्।
- जेनीले अस्पतालमा उपचाररत बिरामीहरूलाई मनोवैज्ञानिक परामर्श दिनुका साथै आर्थिक सहयोग जुटाउन र जलन रोकथामका लागि विभिन्न जनचेतना अभियानहरू निरन्तर सञ्चालन गरिरहेकी छिन्।
- समाजको गलत दृष्टिकोणविरुद्ध उभिएकी जेनीले शारीरिक सुन्दरताको परिभाषा बदल्दै जलनपीडितहरूलाई आत्मसम्मानका साथ बाँच्न सिकाएर नयाँ जीवन दिने कार्यमा आफूलाई समर्पित गरेकी छन्।
काठमाडौंको कालोपुलस्थित एउटा डेरा। १ जेठ २०७६ को त्यो साँझ कार्यालयबाट फर्केर आरामले सास फेर्न पनि पाएकी थिइनन्, जेनी खड्काले। मोबाइलमा घण्टी बज्यो। उठाउने जाँगर थिएन । तर, फोन निरन्तर बजिरह्यो।
केही समय बित्न नपाउँदै अचानक ‘ड्वाङ्ग’ आवाज सहित ढोका उघ्रियो। ढोकामा उभिएको व्यक्ति देख्दा उनको मुटुको चाल तीव्र भयो। त्यहाँ उनका श्रीमान् थिए, जोसँग उनी छुट्टिएर बस्न थालेकी थिइन् र आफ्नो जीवनलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रयास गर्दै थिइन्।
कोठामा श्रीमान्सँग उनको भनाभन भयो। विवाद बढ्दै गएपछि उनीहरू कालोपुल करिडोरको सडकसम्म पुगे। मदिराले लट्ठिएका श्रीमान्ले धम्क्याउँदै सोधे, ‘तँ फर्किएर आउँछेस् कि नाइँ?’
निरन्तरको घरेलु हिंसाबाट आजित जेनीले आफ्नो स्वाभिमानका लागि सोझै अस्वीकार गर्दै भनिन्, ‘अहँ, जान्नँ !’
आफ्नो हातमा बोकेको बोतल देखाउँदै श्रीमानले सोधे, ‘यो के हो थाहा छ?’

जेनीले ठानिन्- त्यो मदिराको बोतल हो, किनभने श्रीमान् अक्सर मदिरा पिइरहेका हुन्थे।
उनी यसो एकातिर फर्किएकी थिइन्, हठात् उनको घाँटी र अनुहार चिसो तरल पदार्थले भिज्यो। त्यो एसिड थियो। त्यसका बाछिटा हात र शरीरका अरू भागमा पनि पर्यो।
छिनभरमै घाँटी र शरीर भत्भती पोल्न थाल्यो। सडकमा चिच्याहट बढ्यो। आक्रमण गर्ने श्रीमान् त्यहींबाट भागे। बाटोमा हिंड्ने मानिसहरूले तत्काल रेस्पोन्स गरेनन्।
भाग्यवश, स्कुटरमा आएकी एक अपरिचित महिलाले उनलाई तत्काल ओम अस्पताल पुर्याइन्, जहाँबाट प्राथमिक उपचारपछि त्यसै रात कीर्तिपुर बर्न अस्पताल रेफर गरियो।
रुम नम्बर २४ को त्यो भेट एसिड आक्रमणले उनको शरीर र मनमा गहिरो घाउ बनायो। करिब २५ प्रतिशत शरीर जलेको थियो। दुई महिना लामो उपचारपछि घाउ त केही हदसम्म पुरियो, तर मनको घाउ भने झन् गहिरिंदै थियो।
अस्पतालमा श्रीमान्–श्रीमतीकै झगडाबाट घटना निम्तिएको भन्दै हल्ला फैलिन थाल्यो। पितृसत्तात्मक समाजको ‘यसको पनि केही गल्ती थियो होला’ भन्ने दृष्टिकोणले उनलाई भित्रभित्रै खाइरहेको थियो।

त्यसमाथि अस्पतालको लाखौंको बिल तिर्न नसकेर उपचार सकिएपछि पनि १३ दिनसम्म अस्पतालमै बस्नुपर्दा उनमा छटपटी बढेको थियो। उनको मनमा बारम्बार एउटै सोच आउँथ्यो- ‘जिन्दगीभर यो दाग बोकेर बाँच्नुभन्दा त मर्नु नै बेस ।’
यस्तै वैराग्य बीच रुम नम्बर २४ मा उनलाई भेट्न आइपुगिन्, अर्की एसिडपीडित सङ्गीता मगर। सङ्गीताले मुस्कुराउँदै ‘हेलो दिदी’ भन्दा जेनीको सोच्ने तरिका नै बदलिदियो । उनले सोचिन्, ‘सङ्गीताको मुहारमा दाग भएर पनि यति हाँसेर बोलिरहेकी छन्, खुला रूपमा हिंडेकी छन् भने म किन सक्दिनँ?’
यही एउटा भेटले जेनीको मनमा नयाँ आशा र साहस जगायो र उनले आफ्नो जीवनलाई नयाँ मोड दिने निर्णय गरिन्। केही समयपछि जिल्ला अदालतले उनका श्रीमान्लाई ३ वर्ष जेल सजाय सुनायो र अहिले उनीहरूको सम्बन्धविच्छेद भइसकेको छ।
स्कार्फ उतार्ने आत्मसंघर्ष
अस्पतालबाट डिस्चार्ज भएपछि पनि शुरुका दिनहरू सहज थिएनन्। काम खोज्दा थप चुनौती सामना गर्नुपर्यो। शुरुमा उनले डेढ वर्ष गैरसरकारी संस्थामा काम गरिन्, त्यसपछि कुमारी बैंकमा। तर त्यहाँ पनि उनलाई आफ्नो दाग लुकाउनुपर्ने बाध्यता थियो।
गर्मीको समयमा पसिनाले भिज्दै अनुहार र घाँटी स्कार्फले ढाकेर हिंड्नुपर्थ्यो। मानिसहरूको हेराइ र सोधपुछले उनलाई थप अप्ठ्यारो बनाउँथ्यो। तर एकदिन उनले सोचिन्- समस्या उनको दागमा होइन, मानिसहरूको दृष्टिकोणमा छ।
जेनीले दृढ सङ्कल्प गरिन्, ‘अरूले जेसुकै भनून्, वास्ता गर्दिनँ। अब स्कार्फ खोलेर हिंड्छु।’
बैंकको जागिर छाडेपछि बेरोजगार भएकी जेनी कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शङ्करमान राईकहाँ पुगिन्। डा. राईले जेनीको क्षमता र भोगाइ बुझेर अस्पतालमै परामर्शदाताको जिम्मेवारी दिए।

अब अस्पतालकी भरोसा
हिजोआज जेनी कीर्तिपुर अस्पतालमा जलनपीडितका लागि बलियो भरोसा बनेकी छन्। हरेक बिहान १० बजे अस्पताल पुगेर वार्डका बिरामीलाई भेट्नु, हौसला दिनु र आर्थिक सहायताका लागि समन्वय गरिदिनु उनको दैनिकी हो।
कीर्तिपुर अस्पतालको जलन वार्डको एक कुनामा २४ वर्षीया रेणु परियार पीडामा छट्पटाइरहेकी थिइन्। छारेरोगकी बिरामी रेणु २८ असारमा ग्याँस बालेर अण्डा पकाइरहेका बेला एक्कासी बेहोस हुँदा अनुहार कराहीमा घोप्टिएको थियो र बायाँ हात जलेको थियो।
जलन वार्डमा पुगेर ड्युटीमा रहेका नर्सलाई नयाँ बिरामीबारे सोध्दै जेनी रेणुकहाँ पुग्छिन्। ‘खाना खानुभयो ?’ जेनीले मन्द मुस्कान सहित सोधिन्। रेणुले पीडाले केही खान नसकेको बताउँदै गर्दा उनको नजर जेनीको घाँटीमा पर्यो।
‘तपाईंको घाँटीमा के भएको हो?’ रेणु सोध्छिन्।
‘मलाई पनि एसिडले पोलेको हो। अहिले म यही अस्पतालमा काम गर्छु’, जेनी सहज उत्तर दिन्छिन्।

जेनीले काउन्सिलिङ गर्दै गर्दा रेणुका आँखाभरि आँसु भरिन्छ। ‘हजुरले केही सहयोग गर्न सक्नुहुन्छ? यहाँसम्म पनि चन्दा मागेर आएकी हुँ, अब कसरी उपचार गर्ने थाहा छैन !’
जेनी नआत्तिन र आर्थिक स्रोत जुटाउने आश्वासन दिंदै अर्को बिरामीलाई उसैगरी काउन्सिलिङ गर्न थाल्छिन्।
उनको काम मनोवैज्ञानिक सहयोगमा मात्र सीमित छैन। अस्पतालमा बेड शुल्क, डाक्टर शुल्क र अप्रेसन शुल्क फ्री गराउन पहल गर्नेदेखि बाहिरी संस्थाहरूसँग समन्वय गरेर २० देखि ५० हजारसम्मको आर्थिक सहयोग मिलाइदिने काम उनी आफैँ गर्छिन्।
रुकुमकी १४ वर्षीया जलनपीडित पवित्रा चौलागाईं जस्ता कैयौं बिरामीलाई उनले नयाँ जीवनको बाटो देखाएकी छन्।
सुन्दरताको परिभाषा र सचेतना अभियान
‘पढेरभन्दा परेर बुझिन्छ’ भन्ने यथार्थलाई जेनीले व्यवहारमा उतारेकी छन्। घर फर्केपछि धेरैजसो बिरामी जलेको दाग लुकाउन कपडाले शरीर ढाकेर हिंड्छन्। मानिसहरू तर्सिएको जस्तो गर्दा बिरामीहरू बाहिर निस्किन हिच्किचाउँछन्।
यस्तो अवस्थामा जेनी सम्झाउँछिन्, ‘सबैभन्दा पहिले आफूले आफूलाई स्वीकार गर्नुपर्छ। जब मानिसहरू हामीलाई देखेर तर्सिएको जस्तो व्यवहार देखाउँछन्, उनीहरूलाई हाँस्दै जवाफ दिनुपर्छ। मान्छेले मान्छेलाई देखेर डराउनुपर्ने के छ र!’
नेपाली समाजमा महिलामाथि हुने हिंसा र सुन्दरताको बुझाइबारे उनीसँग तितो अनुभव छ। ‘हाम्रो समाजमा सुन्दरता भनेकै शरीर र अनुहार हो भन्ने सोच छ। आक्रमण गर्नेलाई पनि थाहा हुन्छ कि समाजमा महिलाका लागि के कुराले महत्त्व राख्छ, त्यसैले उनीहरू सुन्दरता र अनुहारमै हान्छन्’ उनी भन्छिन्, ‘हामीले शारीरिक सुन्दरताको परिभाषा बदल्नुपर्छ। साँचो सुन्दरता त मनभित्रबाट आउँछ।’

आज जेनी अस्पतालको चार पर्खालभित्र मात्र सीमित छैनन्। ‘मिस नेपाल’ प्रतियोगितामा सहभागी भएर ‘टप ८’ सम्म पुगेकी उनी अहिले विद्यालयका बालबालिका, आमा समूह र गाउँगाउँमा पुगेर जलन रोकथाम र प्राथमिक उपचारका उपायहरू सिकाउँदै छिन्।
जेनीकै शब्दमा, मकवानपुर र जनकपुरका वडाहरूमा उनले चलाएको जनचेतना अभियानले जलनका घटनामा ठूलो कमी ल्याएको छ।
जुन घटनाले उनको जीवन सिध्याउन खोजेको थियो, त्यही घटनालाई तागत बनाएर जेनी आज सयौं मानिसलाई नयाँ जीवन जिउने प्रेरणा दिइरहेकी छन्। अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शङ्करमान राई भन्छन्, ‘जेनी हाम्रो टिमको महत्त्वपूर्ण सदस्य हुन्। उनको अनुभव र सहानुभूतिले बिरामीको मनस्थितिलाई बदल्न र उपचार प्रक्रिया सहज बनाउन मद्दत पुगेको छ।’
आफ्नो जीवन उद्देश्यप्रति जेनी प्रस्ट छिन् । उनी भन्छिन्, ‘‘मलाई अब धेरै केही गर्नु छैन। पहिला यस्ता घटनामै कमी ल्याउन भूमिका खेल्नुछ। घटना घटिहालेको खण्डमा जलनपीडितका मनको घाउमा मल्हम लगाउने र उहाँहरूलाई काउन्सिलिङ गर्नुछ ।’
जेनी अगाडि दृढ सुनिन्छिन्, ‘यति गरेँ भने मैले जिउनुको अर्थ भेट्छु। अब यसमै आफूलाई समर्पित गर्छु।’
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी