+
+
Shares

पहिले झोले, अहिले आवारा

केपी ओलीको व्यक्तित्व नै तत्कालीन नेतृत्वको शैलीमाथि प्रश्न गरेर निर्माण भएको हो । तर अहिले उनी आफूमाथि प्रश्न उठाउनेलाई चाहिँ ‘आवारा’ भन्दैछन् ।

दुर्गा खनाल दुर्गा खनाल
२०८३ भदौ १ गते २२:४५
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको माग गर्ने नेता–कार्यकर्ताहरूलाई आवारा भनी टिप्पणी गरेपछि आन्तरिक विवाद चर्किएको छ।
  • पार्टी नेतृत्व पुनर्गठनको बहस चलाइरहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरूमाथि ओलीको उक्त अभिव्यक्ति लक्षित रहेको छ।
  • यसअघि झोले शब्दलाई गर्वको विषय बनाउँदै अभियान चलाएका नेता–कार्यकर्ताहरू अहिले नेतृत्वको आलोचना गरेकै कारण आवारा र किर्ना को संज्ञा पाएका छन्।

गत वर्ष जेठ १५ गते एमालेले काठमाडौंमा गणतन्त्र उत्सव कार्यक्रम आयोजना गरेको थियो । त्यसबेला सरकारको नेतृत्व एमालेले नै गरिरहेको थियो । बिहानबाटै गणतन्त्र दिवसको सरकारी कार्यक्रमले रत्नपार्क क्षेत्रमा ट्राफिक केही डिस्टर्ब थियो ।

दिउँसो फेरि त्यही स्थानमा एमालेको छुट्टै गणतन्त्र उत्सव मनाउने कार्यक्रमले आवागमन झन् बिथोलियो । एमालेको तामझामले सामाजिक सञ्जाल रंगिइरहेका थिए । जहाँ एमालेलाई नरुचाउनेहरूका अधिकांश कमेन्टहरू थिए- एमालेका झोलेहरू ।

सत्तामा बसेको पार्टीको कार्यशैलीलाई लिएर चिढिइरहेको जमातले निरन्तर ‘झोले’ भन्दै टिप्पणी गरिरहेको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई थाहा नहुने कुरै भएन ।

जेठ १७ गते काठमाडौंको टोखामा भएको एमाले नेपाल बुद्धिजिवी परिषद्को ११औं महाधिवेशनमा ओली प्रमुख अतिथिको रुपमा सहभागी भए । त्यहाँ उनले आफ्नो भाषणको मूल विषयवस्तु नै ‘झोले’ शब्दलाई बनाए । पार्टीको झोले हुनु गर्वको विषय भन्दै उनले लामो व्याख्या गरे ।

‘मलाई अलिकति पनि अप्ठेरो लाग्दैन, म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ । जनताको हितहरूको झोला बोक्ने, जनताको हितको झोला बोक्ने, गौरवको झोला बोक्ने,परिवर्तनको झण्डा उठाउने झोले हुँ, के भयो त झोले बन्दा ?,’ उनको प्रश्न थियो ।

बुद्धिजीवीहरूको कार्यक्रम भएकाले उनले बुद्धिजीवीहरूलाई पनि इंगित गर्दै ‘जे मा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्न’ भने ।

ओलीले ‘झोले’ शब्दको यति व्याख्या गर्दै गर्वको कुरा गरेपछि उनका सोसल मिडिया क्याम्पेनरहरूलाई मसला पुगिहाल्यो । उनीहरूले सोसल मिडिया पोस्टर तयार गरे र जेठ १९ गते ‌ओलीको पेजबाट सार्वजनिक भयो- ‘म झोले हो’ अभियान ।

ओलीकै पेजबाट यस्तो अभियान सुरू भएपछि उनका अनुयायीहरूले त्यस्तै पोस्टरमा आफ्नो फोटो राख्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने ट्रेन्डिङ नै चल्यो ।

जसको अग्रपंक्तिमा थिए, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, तत्कालीन उपमहासचिव पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमालदेखि युवा विद्यार्थी नेताहरू समिक बडाल, क्षितिज थेबे लगायतका सयौं एमाले नेता कार्यकर्ताहरू ।

तत्कालीन ओली समूहले झोले हुनुमा गर्व गरेपनि पार्टीको अर्को पंक्तिले यो शैली रुचाएको थिएन । त्यस्तै सामाजिक सञ्जालमा पनि एमालेको प्रशंसा होइन निन्दा झन् बढेको थियो ।

अनेकौं निन्दाकाबीचमा पनि ‘झोले’ हुनुमा गर्व छ भन्दै साथ दिएकाहरू अहिले अध्यक्ष ओलीको नजरमा कहलिएका छन्- आवारा ।

नेपाली बृहत् शब्दकोषका अनुसार आवारा शब्दको अर्थ हुन्छ- घरगृहस्थीको ठेगाना नभएको; निस्फक्री । विनाकाम यताउति घुम्ने । घरपरिवार र समाजको कुनै परबाह नगर्ने, अलमस्त ।

ओलीले किन र कसलाई आवारा भनेका हुन् ? यसको उत्तर खोज्न गत शनिबार उनले इलाममा पुगेर दिएको अभिव्यक्तिबाट प्रवेश गर्नुपर्छ ।

पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको चौथो बैठकमा प्रमुख वक्ता रहेका ओलीले आक्रोशित हुँदै भने, ‘पार्टी अध्यक्ष हटाउने ! चिया मगाएको छ, चिया खाएको छ । अध्यक्ष हटाउने ? कहिले हो हटाउने । ख्याल–ख्याल जस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरु अध्यक्ष हटाउने कुरा .. । मानिलिऔं, ख्याल हो । ठट्टा हो ।’

ओलीले च्यासलमा पुनर्गठनको बहस गर्नेहरूलाई ‘आवारा’ भनेपछि चर्को प्रतिवाद भइरहेको छ । देशभर नेता–कार्यकर्ताहरूले ‘म आवारा’ अभियान नै चलाएका छन् । इलाममा आवारा करार गरेका ओलीले झापा झरेपछि विगतमा पार्टीबाट केही लाभ प्राप्त गरेकाहरूलाई संकेत गर्दै ‘किर्ना’ भन्ने उपमा समेत दिए ।

ओलीको नजरमा आवारा र किर्नाहरू तिनै ठहरिएका छन् जो हिजो ‌ओलीको ‘झोले’ बनेका थिए ।

तीनै मध्येका एक युवा नेता समिक बडाल भन्छन्, ‘हिजो ज्यानको बाजी राखेर नेतृत्वको रक्षाका लागि लडेका हौं त्यो बेला हामीले गरेको काम ठीक थियो, तर अहिले पार्टीको रक्षाका लागि हामी उभिनुपर्ने भयो ।’

पार्टीलाई सुदृढ बनाएर लैजाने ढंगले उठेकाका विषयमा नेतृत्व अशोनीय ढंगले प्रस्तुत भएको उनले बताए । ‘पार्टीको आत्मा बचाउनका लागि आलोचना गर्न पाइन्छ । जवाफ माग्न पाइन्छ’ उनले भने,’नेतृत्व शोभनीय ढंगले प्रस्तुत हुनुपर्छ ।’

अहिले एमालेमा नेतृत्व पुनर्गठनको माग राख्ने समूहको नेतृत्व तिनै नेताहरूले गरेका छन्, जो विगतमा ओलीले जे भन्यो त्यही खुरुखुरु मान्थे । उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, सचिव हिक्मत कार्की लगायतका अधिकांस पदाधिकारीहरू ओलीको नेतृत्व फेर्नुपर्ने बहस चलाइरहेका छन् । यो बहसमा पहिलेदेखि नै ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, गोकर्ण विस्ट योगेश भट्टराई, विन्दा पाण्डे गोकुल बाँस्कोटा, कर्णबहादुर थापादेखि उषाकिरण तिम्सेना लगायतका लगायतका नेताहरू लागेकै थिए ।

विष्णु र शंकर जस्ता नेताहरू यथास्थितिमा पार्टी अघि नबढ्ने भन्दै नेतृत्व पुनर्गठनको अभियानमा लागेपछि बहसले पार्टीभित्र चर्को रुप लिएको छ । र उपाध्यक्ष रामबहादुर थापाको नेतृत्व पुनर्गठनको प्रस्ताव बनाउन जिम्मा दिइएको छ ।

विगतमा आफ्ना विश्वास पात्र मानिएकाहरू नै आफूलाई हटाउने अभियानमा लागेपछि ओली अहिले रुष्ट छन् । उनको त्यही असन्तुष्टीको प्रस्फुटन कोशी प्रदेशमा गएर गरेका हुन् ।

कोशीमै गएर त्यहाँ आफूलाई हटाउन खोज्नेहरूप्रति चर्को टिप्पणी गर्नुको कारण हो, उनले भनेअनुसार अहिले पार्टी चल्ने अवस्था नरहनु ।

नेकपासँग प्रदेशको सत्ता साझेदारी गर्ने सहमति गरेपछि ओली कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउन चाहन्थे ।

पार्टीका सचिव समेत रहेका कार्की अहिले ओलीको नेतृत्व पुनर्गठन गर्नुपर्छ भन्ने अभियानमा लागेका व्यक्ति हुन् । त्यसैले ओलीले उनलाई रुचाएका थिएनन् ।

उनको विकल्पमा अर्को व्यक्ति तिलकुमार मेन्याङ्बोलाई ल्याउन खोजेका थिए । ओलीले विराटनगरबाटै कार्कीलाई हटाउनका लागि अर्का सचिव शेरधन राईलाई परिचालन गरेका थिए । तर कार्कीले आफूलाई मुख्यमन्त्रीबाट हटाउने निर्णय पार्टी बैठकबाटै गर्ने भन्दै ओलीलाई गुन्डुमै आएर चुनौती दिए ।

सफल नभएपछि कार्कीलाई नै अहिले सरकारको नेतृत्व दिनुपर्ने बाध्यतामा ओली आइपुगे ।

त्यस्तै यता बागमती प्रदेशमा पनि मुख्यमन्त्रीमा ओलीले संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाएर किरण थापामगरलाई बनाउन चाहेका छन् । तर उनले भनेअनुसार नेताहरूले खुरुखुरु मानेका छैनन् ।

पार्टीमा फरक मत राख्नेहरूलाई पाखा लगाएर एकछत्र गर्दै आएका ओली आफ्नै समूहका व्यक्तिहरूले समेत प्रश्न उठाउन थालेपछि चिढिएर आवारा भने ।

ओलीको यस्तो अभिव्यक्ति आएकै भोलिपल्ट आइतबार एमाले महासचिव शंकर पोखरेलले ‘नेपालको वामपन्थी आन्दोलन अब के गर्ने’ भन्ने बहसमा भाग लिँदै नेताहरूकै भाषाका कारण आन्दोलनमा समेत अविश्वास पैदा भएको बताएका थिए ।

‘छुद्र भाषाहरू नै वामपन्थी जनमतलाई भड्काउने विषय बनेको छ,’ महासचिव पोखरेलले भनेका छन्,’मिल्दा अत्यन्त मित्रताको भाषा बोल्ने र विवाद हुन थालेपछि हदैसम्मको शत्रुतापूर्ण भाषा प्रयोग गर्ने समस्या छ ।’

महासचिव पोखरेलले संकेत गरेजस्तै कम्युनिस्ट नेताहरूमा आलोचना सहन सक्ने र आफ्नो विकल्प पचाउने क्षमता छैन । कम्युनिस्ट नेताहरू फुट,जुट र बहसमा एकअर्कालाई आरोप लगाउन कम्युनिस्ट शब्दकोषका कुनै पनि शब्दावली बाँकी  राख्दैनन् ।

अवसरवादी, विसर्जनवादी, पदलोलुप, गद्दार, दलाल, संशोधनवादी, दक्षिणपन्थी, अवसरवादी, उग्रवादी, दरबारिया, प्रतिक्रियावादी, क्रान्तिकारी लफ्फाजी,सारसंग्रहवादी, अहंकारी, कठपुतली उनीहरूले एकअर्कालाई गालीगलौज गर्दा प्रयोग गर्ने प्रिय शब्द थिए । यी शब्दावलीहरूको श्रृंखलामा ओलीले अहिले थपिदिएका छन्-आवारा ।

एमालेको उद्भव र यसको विकासक्रम प्रश्न गर्ने संस्कारबाट भएको हो । यसको असली शक्ति विचार, बहस र आलोचनात्मक चेतमै विस्तार भएको थियो । पाँचौँ महाधिवेशनमा फरक मत राख्नेहरूलाई आफ्नो दस्तावेज प्रस्तुत गर्ने ठाउँ दिइएको थियो । छैटौँ महाधिवेशनमा स्वयं ओलीले फरक राजनीतिक प्रस्ताव नै ल्याएका थिए ।

ओलीको व्यक्तित्व नै तत्कालीन नेतृत्वको शैलीमाथि प्रश्न गरेर निर्माण भएको हो । एमालेको इतिहासमा फरक मत राख्नु अपराध थिएन । पार्टी जीवनको स्वाभाविक लोकतान्त्रिक अभ्यास थियो। तर अहिले अध्यक्षसँग सहमत हुनु नै पार्टी निष्ठाको अन्तिम प्रमाण जस्तो ठानिन्छ ।

‘ओली आफैं नै स्थापित मूल्य मान्यतामाथि प्रश्न गरेर बनेका नेता हुन् । उनले आफू पदमा आउँदा सम्म लोकतान्त्रिकरणका कुरा गरे । पदमा आएपछि चटक्क छोडे’, बामपन्थी विश्लेषक झलक सुवेदी भन्छन्,’अहिले आफ्नै नेता कार्यकर्तालाई आवारा भन्दैछन् ।’

जेनजी आन्दोनलपछि नै नेतृत्व फेर्ने बहस भएको थियो । ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, गोकर्ण विस्ट, योगेश भट्टराई लगायतका नेताहरूले प्रश्न उठाएका थिए । त्यही कारण एमालेले महाधिवेशन गर्‍यो । महाधिवेशनबाट ओली निकै ठूलो मतका साथ विजयी भए । ओलीकै नेतृत्व अनुमोदन गरेर २०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा होमिएको एमालेले निकै ठूलो धक्का खायो । झापा–५ बाट स्वयं ओली पराजित भए । एमाले २५ सिटमा खुम्चियो ।

कुनै नेता निर्वाचनमा पराजित हुन्छ, पार्टीको जनमत घट्छ, संगठनमा असन्तुष्टि बढ्छ र त्यसपछि नेतृत्वको समीक्षा मागिन्छ भने त्यसलाई स्वाभाविक बहस मान्ने कि नेतृत्वविरुद्धको अपराध ? एमालेभित्र अहिले चलिरहेको बहस यही हो । पार्टी कार्यालय च्यासलको क्यान्टिनमा हुने चियागफका मूल विषय पनि यिनै हुन् ।

विषय क्यान्टिनमा उठ्छ कि पार्टी कमिटीमा, त्यसलाई सुन्ने दायित्व नेतृत्वको हुन्छ । विष्लेषक सुवेदीका अनुसार प्रश्नहरूलाई सुन्ने र पचाउने क्षमता नेताहरूमा गुम्दै गएको छ । एमाले संकटमा पर्दै जानुको कारण यो पनि हो ।

एमालेले पछिल्लो दशकमा विचारभन्दा व्यक्तिको ब्रान्ड बलियो बनाउन समय खर्चियो । संगठनभन्दा सत्ता व्यवस्थापनलाई प्राथमिकता दियो ।

आलोचनाभन्दा व्यक्तिप्रतिको निष्ठालाई मूल्यवान ठान्ने संस्कृति विकास गर्‍यो । चुनावी पराजयहरूलाई वस्तुगत समीक्षा गर्नुको सट्टा बाह्य कारण भन्दै हिँड्यो । नारा लोकतान्त्रिक लगायो पार्टी सञ्चालनमा व्यक्तिवाद हाबी भयो । त्यसको परिणाम के निस्कियो ? गत वर्ष भदौ २३,२४ र फागुन २१ ले देखाइसकेको छ । त्यही तस्बिर देखाउँदै अहिले पुनर्गठनको बहस चलेको हो । जुन बहस गर्नेहरू ओलीका नजरमा ‘आवारा’ हुन् ।

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?