+
+
Shares
नाटक :

मञ्चमा फिक्का ‘समर लभ’

उपन्यासका मुख्य पात्र अतीत र साया बीचको प्रेमको उतारचढाव, त्यससँगै आउने अनेकन् समस्याहरूलाई टपक्कै टिपेर रंगमञ्चमा ल्याइएको छ । 

सापेक्ष सापेक्ष
२०८३ भदौ ४ गते २०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्तिपुर थिएटरले सुविन भट्टराईको उपन्यास समर लभलाई नाट्यरूपान्तरण गरेर गैरीधारामा २९ साउनदेखि मञ्चन सुरु गरेको छ ।
  • निर्देशक सम्राट भुजेलले अतीत र सायाको प्रेमकथा, कलेज रोमान्स, पारिवारिक संघर्ष र विछोडलाई करिब २ घण्टामा मञ्चमा उतारेका छन् ।
  • समीक्षामा सेट डिजाइन प्रभावकारी भनिए पनि लाइट, साउन्ड, कोरियोग्राफी र मुख्य कलाकारको अभिनय औसत रहेको उल्लेख छ ।

साहित्यिक कृतिलाई नाट्यरुपान्तरण गरेर सफल बनाइरहेको कान्तिपुर थिएटरले यसपटक सोही प्रयासलाई जारी राखेको छ । आफ्नो समयको सर्वाधिक चर्चित पुस्तक समर लभलाई थिएटरले यसपटक नाट्य कोसेलीका रूपमा प्रस्तुत गरेको हो ।

लेखक सुविन भट्टराईको बेस्टसेलरमाथि आधारित भएर यसअघि फिल्म बनिसकेको थियो । जुन समीक्षात्मक र बक्स अफिस दुवैमा असफल हुन गयो । थिएटरले पुन: साहित्यिक कृतिको वजनलाई मञ्चमा उतार्ने जमर्को गरेको छ ।

के उपन्यासजस्तै नाटक सफल होला  ?  के नाटकले उपन्यासको मर्म बोकेको छ  ? निर्देशक सम्राट भुजेल त्यसमा कत्तिको सफल छन् त ? उपन्यास र नाटकमा के भेद छ  ? 

यसको जवाफ आउँदो दिनले ल्याउने छ ।

सुरु गरौं, नाटकको कथावस्तुबाट ।

नाटकले उपन्यासको धेरै भाग समेट्न खोजेको छ । उपन्यासका मुख्य पात्र अतीत र साया बीचको कलेज रोमान्स, उनीहरूका साथी किरण, प्रतीक्षा, दिव्याबीचको सम्बन्ध, अतीत र सायाको सम्बन्धमा आउने उतारचढाव, जातीय तथा पारिवारिक संघर्ष, विछोडको पीडा आदिलाई टपक्कै टिपेर रंगमञ्चमा ल्याइएको छ । 

खासमा जसरी उपन्यास फ्रेम स्टोरी (लेखकले अतीतको कथा सुन्ने) बाट सुरु हुन्छ; त्यसरी नै नाटक पनि सुरु भएको छ । नाटकमा लेखकको भूमिकामा अर्पण थापा देखिएका छन् । 

ती ठूला र विस्तृत कथालाई करिब २ घण्टाभित्र मञ्चमा उतारेका सम्राटको निर्देशन सरल तर प्रभावकारी छ । उनले सेटमा र केही दहसम्म प्रप्समा विशेष ध्यान दिएको देखिन्छ ।

किनकि, उपन्यासको वृहत क्यानभासलाई उनले मञ्चमा उतार्ने सक्दो प्रयास नै गरेका छन् । 

थिएटरको सीमित ठाउँलाई राम्रोसँग प्रयोग गरेर उनले कीर्तिपुरमा रहेको विश्वविद्यालय, साझा बस, क्याफे, सायाको कोठा, धनगढीमा रहेको अतीतको कार्यालय तथा कोठादेखि पानी जहाज हुँदै नर्वेमा रहेको सायाको कोठासम्मका ठाउँ मञ्चमा अटाएका छन् । यस अर्थमा यो नाटकमा सबैभन्दा राम्रो काम सेट डिजाइन हो।

त्यस्ता केही दृश्यहरू छन्, जहाँ दर्शकले एकै पटक फरक-फरक स्थानमा रहेका अतीत र सायालाई एकै दृश्यमा देख्न सक्छन् । उपन्यासमा सम्भव नहुने यो कुरालाई मञ्चमा ल्याएर निर्देशक सम्राटले निर्देशकीय स्वतन्त्रता उपयोग गरेका छन् ।

जस्तो कि, अतीतले सायालाई प्रेम प्रस्ताव गरेपछि दुवैले साँझ आ-आफ्नो कोठामा कस्तो महसुस गरे ? अतीत र सायाले नेपाल र नर्वेमा हुँदा के-के गरिरहेका छन् ? उनीहरूको जीवनमा कस्तो भइरहेको छ ? आदि । र, उनीहरूले प्रयोग गर्ने सेलफोनले साँच्नै नै विगतको समयलाई दर्शाउँछ । 

त्यस्तै, यसबाट निर्देशक सम्राटले विकसित नर्वे र विकासमा धेरै पछाडि रहेको नेपालाई पनि छर्लङ्गै देखाउन सकेका छन् । किनकि, धनगढीमा रहेको अतीतको कोठा धेरै सामान्य छ । सामान खासै छैनन् । रङरोगन छैन ।

उता, नर्वेमा रहेकी सायाको कोठा भने झकिझकाउ छ । रंगीन छ । सफा छ । र, नर्वेमा रहेकी सायाले फोल्डेड फोन अपडेट गर्छिन् । तर, अतीतसँग पुरानै फोन हुन्छ ।  

कथावाचनशैली उपन्यास जसरी नै रैखिक छ । उपन्यासको कथावाचन नक्कल नगरेर निर्देशक सम्राटले निर्देशकीय खुबी देखाउने मौका गुमाएका छन् । तर, केही दृश्यहरूको रुपान्तरणमा भने उनले सुन्दर काम गरेका छन् । जस्तो; फ्रेम स्टोरीदेखि अतीत जसरी सोझैं विश्वविद्यालयमा पुग्छ ।

त्यसमा फरक भनेको उनले पात्रको मनोविज्ञान बुझाउन नृत्यहरू केही स्थानमा प्रयोग गरेका छन् । सो प्रयास पनि धेरै हदमा राम्रै देखिएको छ । कतिपय ठाउँमा भने फितलो कोरियोग्राफी देखिन्छ ।

संवादहरू उपन्यासको भावनासँग मिल्दा-जुल्दा छन् । केही ठाउँमा त उपन्यासकै संवादहरू राखिएका छन् । यसरी उपन्यासमा जस्तै कहिले हल्का रमाइलो गर्दै त कहिले भावुक हुँदै अतीत-सायाको प्रेम कथा नाटकमा बढ्छ ।

मानौं, उपन्यासमा देखाइएको प्रेमको मिठास, ईर्ष्या, आशा र निराशा नाटकमा उतारिएको छ ।

यस नाटकबारे निर्देशक सम्राटले भनेका छन्, ‘मैले एउटा भावनात्मक संसार बनाउने कोसिस गरेको छु । जहाँबाट पात्रहरूले बोलेका शब्दभन्दा पनि उनीहरूले नबोलेका भावनाहरू दर्शकसम्म पुर्‍याउन कोसिस गरिएको छ ।’

निर्देशक सम्राटले भनेको यो कुराको डेलिभरीको मुख्य जिम्मा नाटकमा संवादलाई थोपरिएको छ । यसो गर्दा धेरै रङ्गमञ्चीय तत्व छुट्न पुगेका छन् । जहाँसम्म उनले पात्रहरूले नबोलेको भावना दर्शकसम्म पुर्‍याउन कोसिस गरिएको भनिएको छ; नाटकका अन्य आधारभूत तत्वहरूले कतैकतै यसमा अवरोध पुर्‍याएको महसुस हुन्छ।

उदाहरणका लागि, सायालाई देखेर अतीत मख्ख पर्दा बज्ने अनावश्यक ब्याकग्राउन्ड साउन्ड ट्य्राकले उनको भावना दर्शकसम्मै पुग्न दिँदैन । बरु, दर्शकहरू खित्का छाडेर हाँस्छन् । सम्भवत: जानेरै निर्देशक सम्राटले उक्त साउन्ड ट्रयाक राखेका हुन सक्छन् । तर, यो बारम्बार बजिरहँदा कानलाई सञ्चो हुँदैन । अनि, कतिपय अवस्थामा मञ्च र दर्शकबिचको दूरी अलि टाढा लाग्छ । यसले पात्रहरूबीचको संवाद सुन्न हम्मे-हम्मे पर्छ ।

नाटकलाई सेट, अभिनय, कथानकबाहेक अब्बल बनाउने लाइट र साउन्डले हो । यो नाटकको हकमा यी दुवै कमजोर बनेका छन् । स्याडो लाइटिङबाट केही नयाँ गर्न खोजिएको देखिन्छ ।

रातको झल्को दिन लाइटमा सुन्दर काम पनि गरिएको छ । तर, त्यतिले बाँकी कमजोरीलाई टाल्न सकेको छैन । किनकि, निर्देशकले बनाएको भावनात्मक संसारलाई थप बलियो बनाउन लाइटले अतिरिक्त काम गरेको छैन । 

त्यस्तै, नाटकमा क्लासिकदेखि इलेक्ट्रोनिक डान्स म्युजिक (ईडीएम) सम्मको रेकर्डेड साउन्ड ट्रयाक प्रयोग गरिएको छ । तर, यो परीक्षण नाटकको हकमा कमजोरी बन्न गएको छ ।

किनकि, यी साउन्ड ट्रयाकहरूले कथामा डुब्न सहयोग गर्दैनन्, गरिहाले पनि कृत्रिम र जबरजस्ती गरिएको झल्को दिन्छ । अनि, बेला न कुबेला निकालिने ‘स्मोक इफेक्ट’ पनि नाटकको एउटा प्रवाहमा रहिरहन बाधक बनेको छ ।

निर्देशक सम्राटले भावनात्मक संसार बनाउने सुन्दर प्रयास पक्कै गरेका हुन् । विशेषगरी अतीतको पात्रमार्फत ।

प्रेममा पर्नुअघि, प्रेममा पर्दा र प्रेम छुट्दाको आरोहअवरोह राम्ररी उतारिएको छ । अर्को, सायाको पात्रमार्फत पनि उनले यो काम गरेका छन् । सायाको मौनताले नभनेरै धेरै थोक भनिरहेको हुन्छ । 

तर, सही ठाउँमा उनीहरूको भावलाई रोक्न नसक्दा यो भावनात्मक संसार जबरजस्ती बनाएको महसुस हुन्छ । यो अर्थमा सागर खनाल (अतीत) र वास्ना तिमिल्सिना (साया) ले निभाउने मुख्य भूमिका औसत अभिनय बन्न पुगेको छ ।

त्यस्तै, अन्य केही सहायक कलाकारहरूको रंगमञ्चीय अनुभव कम भएर हुन सक्छ; अभिनयमा अलि कच्चापन देखिन्छ ।

जे होस् , उपन्यास नपढेका दर्शकले पनि पात्रहरू महसुस गर्न सक्छन् । पढेकाहरू नोस्टाल्जिक हुन सक्छन् । पक्कै पनि, वृहत उपन्यासको गहिराइ र त्यहाँ भएका पात्रहरूको आन्तरिक मनोविज्ञानलाई पूर्ण रूपमा रंगमञ्चमा उतार्नु चुनौतीपूर्ण काम हो ।

दृश्य अथवा घटनाहरूको छनोट उत्कृष्ट भएन भने नाटक नराम्रो बन्न सक्छ ।  नाटक समर लभको सन्दर्भमा ठीक त्यही भएको छ । केही दृश्यहरू त एउटा डायलगमा सकिएका छन् ।

अर्कोतर्फ, केही दृश्यहरू चाहिनेभन्दा बढी लम्बिएका छन् । यस्तो कमजोरीले नाटक अलि सतही बन्न पुगेको छ । 

यद्यपि, प्रेमकथा मन पराउने, उपन्यास पढेका वा युवा अनुभूति खोज्नेहरूका लागि यस नाटकले नवीन अनुभव पक्कै दिन ल्याकत राख्छ । तर, कताकता नाटकले उपन्यास साँच्चै त्यस्तो कमजोर छ र! भन्ने बोध पनि दर्शकलाई गराउन सक्छ ।

फोटो: कान्तिपुर थिएटर

नाटक : समर लभ
लेखक : सुबिन भट्टराई
निर्देशक : सम्राट भुजेल
नाटक घर : कान्तिपुर थिएटर, गैरीधारा
मञ्चमा : अर्पण थापा, सागर खनाल, बास्ना तिमिल्सना, विनिता घिमिरे, बबिता बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ, जानकी बजगाईं लगायत।
मञ्चन अवधि : २९ साउनदेखि २० भदौसम्म (बुधबार बाहेक)

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?