News Summary
Generated by OK AI. Editorially reviewed.- बुकहिल पब्लिकेशनले ७ भदौ आइतबार नेपाल पुलिस क्लबको द ब्लु प्याभेलियन हलमा बुकहिल ब्यालेड्सको दोस्रो शृङ्खलामा सत्य-स्वरूप आचार्यको कार्यक्रम गर्ने भएको छ।
- ‘हजार सपना विथ सत्य स्वरुप’ नामको कार्यक्रममा आचार्यले भक्तराज आचार्य र आफ्ना करिब २ दर्जन गीत तथा जीवनका आरोहअवरोहका कथा प्रस्तुत गर्ने छन्।
- आयोजक भूपेन्द्र खड्काका अनुसार बुकहिल ब्यालेड्स प्रत्येक ३ महिनामा एक पटक आयोजना हुनेछ र यसको टिकट विभिन्न वेबसाइटबाट खुला गरिएको छ।
काठमाडौं । बुकहिल ब्यालेड्सको दोस्रो शृङ्खलामा गायक तथा सङ्गीतकार सत्य-स्वरूप आचार्य गुञ्जिने भएका छन् । आइतबार नेपाल पुलिस क्लबको ‘द ब्लु प्याभेलियन हल’मा हुन लागेको कार्यक्रममा उनीहरू गुञ्जिने भएका हुन् ।
बुकहिल पब्लिकेशनले आयोजना गरेको ‘हजार सपना विथ सत्य स्वरुप’ नाम दिइएको सो कार्यक्रमको अहिले साउन्ड गार्डेनमा रिहर्सल चलिरहेको छ । स्वरुप आचार्यका अनुसार अहिले शोका लागि उनीहरूले दैनिक रिहर्सल गरिरहेका छन् ।
यस प्रकारका शोहरू अत्यन्तै कम हुने भएकाले आफूहरूले सक्दो मेहेनत गरिरहेको उनको भनाइ छ ।
‘अधिकांश समय अरुको लागि गाउँछौं । यो शोमा भने आफ्नो फर्माइसको गीत गाउन पाइन्छ,’ स्वरुप सुनाउँछन् ।
त्यस्तै, यस प्रकारको शोमा सांगीतिक रूपमा संगीत बुझेका श्रोताहरू आउने भएकाले आफूहरूलाई पनि सहज हुने दाजु सत्य आचार्य बताउँछन् ।
शोमा नाच्न मिल्नेभन्दा पनि गीतलाई महसुस गर्न पाइने उनको भनाइ छ ।
‘बैठकि नेपालमा धेरै कम हुन्छ । यसपटक यो अवसर जुरेको छ । कार्यक्रमलाई हामी बडो उत्साहित छौं,’ सत्य सुनाउँछन ।
आयोजक भूपेन्द्र खड्काका अनुसार सत्य-स्वरूपले कार्यक्रममा पिता भजन शिरोमणि राष्ट्रगायक भक्तराज आचार्य र आफ्नो जीवनका आरोहअवरोहका कथाका साथमा भक्तराज र आफ्ना करिब २ दर्जन गीत प्रस्तुत गर्नेछन् ।
उनीहरूलाई तबलामा कुमार सिंह महाराज, बेस गितारमा अनुप दास, माँदलमा सुनिल अर्याल, गितारमा सञ्जीव बराइली, ढोलक/अक्टो प्याडमा भुपेन्द्र रसाइली, किबोर्डमा राहुल भुजेल र बासुरीमा नगेन्द्र राईले गरि ८ वाद्यवादकले साथ दिने बताइएको छ ।
पुस्तक प्रकाशनमा लागिरहेको बुकबिलले पछिल्लो समय संगीत तथा संस्कृतिको अभिवृद्धिमा केही गर्ने उद्देश्यले काम गरिरहेको छ । ‘बुकहिल ब्यालेड्स’ त्यहीँ प्रयास भएको खड्का सुनाउँछन् । उनका अनुसार यो कार्यक्रम प्रत्येक ३ महिनामा एक पटक आयोजना हुनेछ ।
कार्यक्रमको टिकट ‘थुप्रै डटकम’बाट खरिद गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया 4