+
+
Shares

बाढीपछिको संकट : शव भेटिँदै गए, राख्ने ठाउँ छैन

टाढाटाढासम्म बगेका कारण एकातिर शव खोजी कार्य जटिल बनेको छ भने अर्कातिर पर्याप्त चिस्यान गृहको अभावका कारण शव व्यवस्थापनमा चुनौती थपिएको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ भदौ ११ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीमा बगेका २८९ जनाको शव फेला परेको छ र खोजी तथा शव व्यवस्थापन जारी छ।
  • स्वास्थ्य संस्थामा शव राख्ने क्षमता सीमित भएकाले विज्ञहरूले सुरक्षित अस्थायी शव भण्डारणस्थल र वैज्ञानिक पहिचान प्रक्रिया अपनाउनुपर्ने बताएका छन्।
  • विज्ञहरूले हतारमा दाहसंस्कार नगरी फोटो, ट्यागिङ, फिंगर प्रिन्ट, दाँत र डीएनए परीक्षणबाट पहिचान गरेर मात्र शव परिवारलाई दिनुपर्ने बताएका छन्।

११ भदौ, काठमाडौं । रसुवा बाढीमा बगेका २८९ जनाको शव फेला परिसकेको छ । शव भेटिने क्रम पनि जारी नै छ । टाढाटाढासम्म बगेका कारण एकातिर खोजी कार्य जटिल बनेको छ भने अर्कातिर पर्याप्त चिस्यान गृहको अभावका कारण शव व्यवस्थापनमा चुनौती थपिएको छ ।

चितवनमा रहेका स्वास्थ्य संस्थाहरूमा अधिकतम ५० वटा शव राख्न सक्ने क्षमता छ । तर भेटिएका शव संख्या सयौं नाघिसकेको छ ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ फोरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार यस्ता ठूला प्राकृतिक विपद्का बेला शव भेटिनासाथ हतारमा दाहसंस्कार गर्नु हुँदैन । विपद्का बेला शव व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मापदण्ड र निर्देशिकाहरू छन् ।

शवको विस्तृत विवरण संकलन, तस्वीर र अन्य पहिचानसम्बन्धी प्रमाण सुरक्षित गरेर मात्रै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

‘सबैभन्दा पहिले शवलाई कसरी सुरक्षित राख्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ,’ डा. चौधरी भन्छन्, ‘शव कहाँ भेटियो ? कुन अवस्थामा भेटियो ? शरीरमा के–कस्ता चिनारी छन् ? भन्ने सबै विवरण व्यवस्थित रूपमा रेकर्ड गर्नुपर्छ ।’

डा. चौधरीका अनुसार नेपालका अधिकांश अस्पतालमा एकै पटक सयौं शव राख्न सक्ने चिस्यान गृह छैनन् ।

‘ठूलो संख्यामा शव आउँदा अस्पतालको नियमित संरचनाले धान्न सक्दैन,’ डा. चौधरीले अनलाइनखबरसँग भने, ‘विपद्को अवस्थामा राज्यले वैकल्पिक र अस्थायी शव भण्डारणको व्यवस्था गर्नुपर्छ ।’

त्यस्तै, वरिष्ठ फोरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीका अनुसार सबैभन्दा पहिले शवलाई सुरक्षित राख्नुपर्ने र त्यसपछि वैज्ञानिक प्रक्रियाबाट पहिचान गर्नुपर्छ ।

‘सबैभन्दा पहिले शव सुरक्षित राख्नुपर्छ । तुरुन्तै सबैको पहिचान गर्न सकिँदैन । त्यसका लागि समय लाग्छ । आफन्तले पनि खोज्दै आउँछन् । त्यसैले राज्यले शव सुरक्षित राख्ने व्यवस्था तत्काल गर्नुपर्छ,’ डा. वस्तीले अनलाइनखबरसँग भने ।

अस्थायी रूपमा गाडेर शव संरक्षण गर्न सकिने

फोरेन्सिक विशेषज्ञ डा. चौधरीका अनुसार ठूलो संख्यामा शव फेला पर्दा अस्थायी रूपमा सुरक्षित स्थानमा वैज्ञानिक तरिकाले गाडेर राख्नु प्रभावकारी उपाय हुन सक्छ ।

डा. गोपाल चौधरी

यसका लागि पानीको मुहान र बस्तीबाट सुरक्षित दूरीमा रहेको सरकारी वा अन्य सुरक्षित जग्गा पहिचान गर्नुपर्ने उनले बताए । आवश्यक गहिराइको खाल्डो बनाएर शवलाई व्यवस्थित रूपमा राख्न सकिने उनको सुझाव छ ।

‘शवलाई जमिनमुनि राख्दा बाहिरी वातावरणमा राखेकोभन्दा कुहिने प्रक्रिया ढिलो हुन्छ,’ डा. चौधरी भन्छन्, ‘ठूलो विपद्मा अस्थायी रूपमा वैज्ञानिक तरिकाले गाडेर शव सुरक्षित राख्न सकिन्छ । पछि आफन्त आएर पहिचान भएपछि सम्बन्धित विवरणसँग मिलाएर शव निकालेर जिम्मा दिन सकिन्छ ।’

चौधरीका अनुसार यसरी गाड्नुअघि प्रत्येक शवको छुट्टाछुट्टै नम्बर राखेर ट्यागिङ गर्नुपर्छ । शवको तस्वीर, भेटिएको स्थान, समय, लुगा, गहना तथा शरीरमा भएका विशेष चिनारीको विवरण पनि सुरक्षित राख्नुपर्ने हुन्छ । शव कहाँ र कुन क्रममा राखिएको हो भन्ने रेकर्ड पनि स्पष्ट हुनुपर्छ ।

गर्मी मौसमका कारण शव छिट्टै कुहिन सक्छ । बाढीले शरीर क्षतविक्षत भएका, अंग छुट्टिएका वा लामो समय पानीमा रहेका शवको पहिचान झन् कठिन हुन्छ ।

डा. वस्तीका अनुसार अस्थायी रूपमा गाडेर शव संरक्षण गर्न पनि सकिन्छ । तर त्यसका लागि निश्चित विधि र व्यवस्थापन आवश्यक पर्छ ।

‘गाडेर पनि केही समय राख्न सकिन्छ । तर त्यसका लागि स्थान व्यवस्थापन गर्नुपर्‍यो, खाडल बनाउनुपर्‍यो । सबै कुरा रेकर्ड राख्नुपर्छ,’ डा. वस्ती भन्छन्, ‘जुन पायो त्यही तरिकाले शव व्यवस्थापन गर्न मिल्दैन । यसको निश्चित प्रोटोकल छ । विज्ञहरू चाहिन्छ ।’

फ्रिज कन्टेनर अर्को विकल्प

डा. चौधरीका अनुसार सम्भव भए सामान ढुवानीमा प्रयोग हुने ठूला कन्टेनरलाई अस्थायी चिस्यान गृहका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

‘कन्टेनरमा आवश्यक रेफ्रिजेरेसन प्रणाली जडान गरेर अस्थायी शव भण्डारण गृह बनाउन सकिन्छ,’ डा. चौधरी भन्छन्, ‘एउटा ठूलो कन्टेनरमा करिब ५० वटा शव राख्ने व्यवस्था गर्न सकिन्छ ।’

तर, यस्तो व्यवस्था तत्काल सबै ठाउँमा गर्न सजिलो नहुने भएकाले ठूलो संख्यामा शव फेला परेको अवस्थामा स्थानीय स्तरमै अस्थायी शव व्यवस्थापनको तयारी गर्नुपर्ने उनको भनाइ छ ।

’विपद् पीडित पहिचान टोली गठन’

लामो अनुभव भएका डा. वस्तीका अनुसार ठूलो विपद्मा शव व्यवस्थापन कुनै एक अस्पताल, एक चिकित्सक वा स्थानीय प्रशासनले मात्र गर्न सक्दैन ।

डा. हरिहर वस्ती

 

यसका लागि छुट्टै डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (डीभीआई) अर्थात् विपद् पीडित पहिचान टोली गठन गर्नुपर्छ । यस्तो टोलीमा फोरेन्सिक चिकित्सक, प्रहरी, दन्त चिकित्सक, फिंगर प्रिन्ट तथा डीएनए विज्ञलगायत आवश्यक जनशक्ति हुनुपर्ने उनले बताए ।

‘फोरेन्सिकको विशेष टोली गठन गर्नुपर्छ । डीभीआई टिम चाहिन्छ । एउटा डाक्टरले, एउटा व्यक्तिले वा एउटा अस्पतालले मात्र यस्तो काम कहाँ गर्न सक्छ ?,’ डा. वस्ती भन्छन्, ‘सबै शवलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्नुपर्छ ।’

शव भेटिएको स्थानदेखि शवगृहसम्म पुर्‍याउने, प्रत्येक शवलाई छुट्टै नम्बर दिने, फोटो तथा अन्य विवरण संकलन गर्ने र आवश्यक परीक्षण गर्ने काम एउटै समन्वय प्रणालीबाट हुनुपर्छ ।

पहिचान भए परिवारलाई जिम्मा, नभए डीएनए परीक्षण

बाढीमा बगेर आएका सबै शव एउटै अवस्थामा हुँदैनन् । केही शवको अनुहार र शरीर पहिचान गर्न सकिने अवस्थामा हुन्छन् । केही शव धेरै समय पानीमा रहँदा कुहिन थालेका वा छतविक्षत अवस्थामा भेटिन सक्छन् ।

पहिचानयोग्य अवस्थामा रहेको शव परिवारका सदस्यले प्रत्यक्ष रूपमा चिन्ने, शरीरमा भएको ट्याटु, विशेष दाग, लुगा, घडी, गहना वा अन्य व्यक्तिगत सामग्रीका आधारमा पहिचान गर्न सकिने डा. चौधरी बताउँछन् ।

तर, शरीरको अवस्था बिग्रिसकेको वा अनुहार चिन्न नसकिने अवस्थामा दाँतको परीक्षण, औंठाछाप र अन्तिम विकल्पका रूपमा डीएनए परीक्षणबाट पहिचान गर्नुपर्ने हुन्छ ।

‘धेरै कुहिएको वा छतविक्षत भएको शव हेरेर पहिचान गर्न सकिँदैन,’ उनले भने, ‘त्यस्तो अवस्थामा दाँत, औंठाछाप वा डीएनए परीक्षणको सहारा लिनुपर्छ । डीएनएबाट पहिचान भएपछि मात्रै शव सम्बन्धित परिवारलाई जिम्मा दिनुपर्छ ।’

त्यसैगरी, शव पहिचानका लागि पोस्टमार्टम गर्नु मात्र पर्याप्त नहुने डा. वस्ती बताउँछन् । शवबाट उपलब्ध सबै प्रकारका पहिचानजन्य विवरण संकलन गर्नुपर्ने हुन्छ ।

‘पोस्टमार्टमबाट प्राप्त विवरण र बेपत्ता भएका व्यक्तिको पहिलेदेखिको विवरण भिडाउनुपर्छ,’ डा. वस्ती भन्छन्, ‘फिंगर प्रिन्ट लिन सकिने अवस्थामा तुरुन्तै संकलन गर्नुपर्छ । हराएका व्यक्तिका पहिलेदेखिका विवरणसँग भिडाएर पहिचान गर्न सकिन्छ ।’

सानातिना तन्तु वा पहिचान गर्न नसकिने मानव अवशेषको हकमा भने कानुनी मुचुल्का तयार गरी प्रचलित शव व्यवस्थापन निर्देशिकाअनुसार प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ ।

‘हतारमा दाहसंस्कार गर्दा गलत पर्न सक्छ’

ठूला विपद्मा शवको पहिचान आफैंमा लामो र जटिल प्रक्रिया हुने डा. चौधरी बताउँछन् । त्यसैले आफन्तको दबाब वा भावनात्मक अवस्थाका कारण पर्याप्त पहिचानबिना शव जिम्मा लगाउँदा गलत व्यक्तिको शव अर्को परिवारले लैजाने जोखिम हुने उनको भनाइ छ ।

‘परिवारले आफ्नो संस्कारअनुसार अन्तिम संस्कार गर्न चाहन्छन्,’ डा. चौधरी भन्छन्, ‘तर शव निश्चित रूपमा पहिचान नभई हतारमा जिम्मा दिँदा एउटा व्यक्तिको शव अर्को परिवारले लैजाने जोखिम हुन्छ ।’

चौधरीका अनुसार विपद्पछि शव पहिचानको काम कहिलेकाहीँ महिनौं वा अझ लामो समयसम्म चल्न सक्छ । विश्वका ठूला विपद्का घटनामा समेत मानव अवशेषको पहिचान प्रक्रिया लामो समयसम्म जारी रहने गरेको उदाहरण दिँदै उनले रसुवा बाढीमा पनि वैज्ञानिक प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताए ।

‘हतार नगरी, सबै प्रमाण सुरक्षित राखेर र निश्चित पहिचान भएपछि मात्रै शव परिवारलाई दिनु सबैभन्दा राम्रो हुन्छ,’ डा. चौधरी भन्छन् ।

राज्यले तत्काल सुरक्षित अस्थायी शव भण्डारणस्थल बनाउनुपर्ने

रसुवा बाढीका शव चितवनदेखि नवलपरासीसम्म विभिन्न जिल्लामा भेटिन थालेकाले एउटै अस्पताल वा संस्थाले मात्रै व्यवस्थापन गर्न सक्ने अवस्था छैन । स्थानीय अस्पतालहरूमा पर्याप्त शवगृह, चिस्यान गृह र फोरेन्सिक परीक्षणको सुविधा पनि छैन ।

यस्तो अवस्थामा संघीय सरकारले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर सुरक्षित अस्थायी शव भण्डारण स्थल बनाउनुपर्ने डा. चौधरीको सुझाव छ ।

विशेषगरी ठूलो संख्यामा शव फेला पर्ने सम्भावना भएका क्षेत्रमा सुरक्षित सरकारी जग्गा पहिचान गरी आवश्यक सुरक्षा, रेकर्डिङ र फोरेन्सिक व्यवस्थासहित अस्थायी भण्डारण गर्नुपर्ने विज्ञ बताउँछन् ।

‘मेरो अनुभवमा ठूलो संख्यामा शव व्यवस्थापन गर्नुपर्ने अवस्थामा अस्थायी रूपमा वैज्ञानिक तरिकाले गाडेर संरक्षण गर्नु प्रभावकारी उपाय हुन सक्छ,’ डा. चौधरी भन्छन्, ‘राज्यले सुरक्षित ठाउँ उपलब्ध गराउनुपर्छ । प्रत्येक शवको विस्तृत विवरण रेकर्ड गरी व्यवस्थित रूपमा संरक्षण गर्नुपर्छ ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?