+
+
Shares

भोटेकोशीमा पानीको बहाव बढे पनि ठूलो बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते ६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढी पूर्वानुमान महाशाखाले भदौ १४ गते बिहान रसुवाको भोटेकोशी, नुवाकोट र धादिङमा ठूलो बाढीको जोखिम नरहेको जनाएको छ।
  • रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले भोटेकोशीमा बाढी बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका थिए।
  • भदौ १० गते ल्हेन्दे खोला हुँदै आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो।

१४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरे पनि, बाढी पूर्वानुमान महाशाखाले हाल तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ।

यसअघि बिहान ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको भन्दै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेका थिए ।

तर, बाढी पूर्वानुमान महाशाखाले भदौ १४ गते बिहान ५:४५ बजे एक अद्यावधिक सूचना जारी गर्दै त्रासपूर्ण अवस्था नरहेको प्रस्ट पारेको छ। महाशाखाले जारी गरेको सूचनाअनुसार, जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा बाढीको बहाव केही बढेको छ।

प्राप्त सूचनाअनुसार हाल नुवाकोटमा पनि बाढी केही बढेको छ, तर यो ठूलो छैन। नदी किनारा नजिक रहेका स्थानीयहरूले बाढी बढे पनि पहिलाको जस्तो नभएको भन्दै श्रव्य-दृश्य सामग्री सामाजिक सञ्जालमा प्रसारण गरिरहेका छन् ।

यसै सूचनालाई आधार मानी हाललाई रसुवा, नुवाकोट, र धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले जानकारी गराएको छ।

यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो।
अघिल्लो विपद्को त्रास बाँकी नै रहेकाले नदीमा बहाव बढ्नासाथ तटीय क्षेत्रमा सतर्कता बढाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?