+
+
Shares

वर्डक्याम्प काठमाडौं : एआई र अन्तर्राष्ट्रिय बजार विस्तारका रणनीतिबारे ३० भन्दा बढी सत्र हुने

वर्डप्रेस काठमाडौंको आयोजनामा गैरीधारास्थित एलिस रिसेप्सन्समा आगामी सेप्टेम्बर १८ र १९ मा हुने यस दुईदिने सम्मेलनले सहभागीहरूलाई अत्याधुनिक एआई प्रविधिदेखि अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्नेसम्मका विविध आयाम सिक्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्डप्रेस काठमाडौंको आयोजनामा वर्डक्याम्प काठमाडौं २०२६ सेप्टेम्बर १८ र १९ मा गैरीधारास्थित एलिस रिसेप्सन्समा हुने तयारी पूरा भएको छ।
  • पहिलो दिन कन्ट्रीब्युटर डे हुने सम्मेलनमा सहभागीले वर्डप्रेसमा प्रत्यक्ष योगदान पुर्‍याउने र प्राविधिक सिप तिखार्ने अवसर पाउनेछन्।
  • दोस्रो दिन एआई, अटोमेसन, वेब विकास र व्यावसायिक रणनीतिसम्बन्धी ३० भन्दा बढी प्राविधिक सत्र सञ्चालन हुनेछन्।

२९ भदौ, काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन वर्डक्याम्प काठमाडौं २०२६ को सम्पूर्ण तयारी पूरा भएको छ।

वर्डप्रेस काठमाडौंको आयोजनामा गैरीधारास्थित एलिस रिसेप्सन्समा आगामी सेप्टेम्बर १८ र १९ मा हुने यस दुईदिने सम्मेलनले सहभागीहरूलाई अत्याधुनिक एआई प्रविधिदेखि अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्नेसम्मका विविध आयाम सिक्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ।

सम्मेलनको पहिलो दिन कन्ट्रीब्युटर डे रहनेछ; जहाँ सहभागीहरूले विश्वभरका ४३ प्रतिशतभन्दा बढी वेबसाइट सञ्चालन गरिरहेको खुला स्रोत सफ्टवेयर वर्डप्रेसमा प्रत्यक्ष योगदान पुर्‍याउने मौका पाउनेछन्।

कोर कोडिङ, नेपाली अनुवाद, दस्तावेजीकरण, थिम तथा प्लगइन परीक्षण र सुरक्षा प्रणालीमा अन्तर्राष्ट्रिय मेन्टरहरूसँग काम गर्दै प्राविधिक सिप तिखार्न र व्यक्तिगत प्रोफाइल विश्वस्तरीय बनाउन यो नवप्रवेशी तथा अनुभवी सबैका लागि फलदायी हुने अपेक्षा गरिएको छ।

दोस्रो दिन आर्टिफिसियल इन्टेलिजेन्स, अटोमेसन र आधुनिक वेब विकासका साथै व्यावसायिक रणनीतिका विविध पक्षहरूमा केन्द्रित ३० भन्दा बढी प्राविधिक सत्रहरू सञ्चालन हुनेछन्।

नेपालसहित अमेरिका, युरोप, भारत र बङ्गलादेशका ख्यातिप्राप्त विज्ञहरूले एआईको प्रयोगमार्फत छिटो र प्रभावकारी सफ्टवेयर विकास गर्ने तरिका, स्मार्ट प्रम्प्ट लेखन, यूआई–यूएक्स डिजाइनका साथै नेपालमै बसेर विदेशी ग्राहकसँग कसरी काम गर्ने र आफ्ना डिजिटल उत्पादनहरूलाई विश्व बजारमा बिक्री गरी मुद्रा आर्जन गर्ने भन्ने व्यावहारिक रणनीतिहरू प्रस्तुत गर्नेछन्।

यसपटकको सम्मेलनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले आआफ्नो अनुभव र अवधारणा प्रस्तुत गर्नेछन्। प्रविधि उद्यमी अभिषेक अधिकारीले स्मार्ट प्रम्प्टिङका तरिका र १२ वर्षदेखि प्रविधि क्षेत्रमा सक्रिय उद्यमी आशुतोष गौरले कुराकानीलाई ग्राहकमा रूपान्तरण गर्ने आफ्नो थ्रीसी प्लेबुक प्रस्तुत गर्नेछन्।

त्यसैगरी, अनुभवी सफ्टवेयर इन्जिनियर दिनेश भट्टराईले एआई सहायता प्राप्त सफ्टवेयर विकासको सुरक्षा सम्बन्धी रणनीतिहरू साझा गर्नेछन् भने डिजिटल सोलुसन डिजाइनर डायना तुपासले मानिसको सेवाका लागि एआईको प्रभावकारी प्रयोगबारे आफ्ना प्रस्तुतिहरू दिनेछिन्।

कार्यक्रममा खुला स्रोत सफ्टवेयरको कानुनी पक्षबारे फस प्रेमी निशा परियारले जानकारी गराउनेछिन्। सन् २०१३ देखि वर्डप्रेस इकोसिस्टममा सक्रिय भारतकी पूजा डेराश्री (सहसंस्थापक, डब्लुपी भाइब्स) ले वर्डप्रेस शिक्षा कार्यक्रमका विषयमा प्रकाश पार्नेछिन् भने मानव–केन्द्रित प्रविधि विकासमा क्रियाशील एमडी सैफ हसनले मस्तिष्कका लागि साइकलका रूपमा एआई सम्बन्धी धारणा राख्नेछन्।

यो सम्मेलनले सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी तथा युवाहरूका लागि रोजगारी, इन्टर्नसिप र उद्यमशीलताको नयाँ ढोका खोल्ने विश्वास लिइएको छ।

ब्लुहोस्ट, होस्टिङ डटकम, जेटप्याक र एलिमेन्टर जस्ता विश्वप्रसिद्ध बहुराष्ट्रिय प्रविधि कम्पनीहरूको प्रत्यक्ष सहभागिता रहने भएकाले सहभागीहरूले अन्तर्राष्ट्रिय नेतृत्वसँग प्रत्यक्ष भेटघाट, नेटवर्किङ र व्यावसायिक सहकार्यका नयाँ अवसरहरू प्राप्त गर्न सक्ने आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?