News Summary
Generated by OK AI. Editorially reviewed.- सगरमाथाको साहस, संघर्ष र जलवायु परिवर्तनको कथा बोकेको नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ आइतबार हङकङको सनबिम वाम्पो हलमा विशेष प्रदर्शन गरिएको छ।
- खचाखच दर्शकको उपस्थितिमा भएको प्रिमियरमा नेपाली, भारतीय र विभिन्न देशका दर्शकसहित हङकङबाट सगरमाथा आरोहण गरेका आधादर्जन चिनियाँ आरोही पनि सहभागी थिए।
- निर्देशक निर्मल श्रेष्ठले यो वृत्तचित्र सगरमाथालाई बुझाउने प्रयास भएको बताउँदै यसलाई विश्वभरका फिल्म फेस्टिभलमा पुर्याउने तयारी भइरहेको जानकारी दिए।
हङकङ । सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को आइतबार हङकङको हुङ होमस्थित सनबिम वाम्पो हलमा विशेष प्रदर्शन गरिएको छ ।
खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकको सहभागिता थियो ।
सगरमाथालाई नजिकबाट पर्दामा अनुभव गर्न पाएको भन्दै दर्शकले वृत्तचित्रको प्रस्तुति, विषयवस्तु र सन्देशको प्रशंसा गरे । दर्शकले फिल्म हेर्दा आफू नै सगरमाथाको यात्रामा सहभागी भएको जस्तो अनुभूति भएको प्रतिक्रिया दिएका थिए ।
प्रिमियरमा हङकङबाट सगरमाथा आरोहण गरेका आधादर्जन चिनियाँ आरोहीको पनि सहभागिता थियो ।
५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रालाई केन्द्रमा राख्दै पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा परिवर्तन हुँदै गएको हिमाली वातावरणलाई प्रस्तुत गरेको छ ।
वृत्तचित्रको केन्द्रमा ५० वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रा रहेको छ । प्रर्दशनी समारोहमा वृत्रचित्रका अन्य पात्रहरू कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ र सुरज गुरुङ समेतको सहभागिता थियो । फुर्वाले १८ र निमाले ११ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

निर्देशक निर्मल श्रेष्ठले ‘रोड टु एभरेस्ट’ सगरमाथालाई केवल चिनाउने नभई बुझाउने प्रयास भएको बताए । सगरमाथालाई चिनाउनभन्दा पनि सगरमाथालाई बुझाउन यो फिल्म बनाएका हौँ,’ निर्देशक श्रेष्ठले भने, ‘सगरमाथा केवल एउटा हिमाल होइन, यो नेपाली साहस, सपना, संघर्ष, पहिचान र भविष्यसँग जोडिएको हाम्रो गौरव हो ।’
निर्देशक श्रेष्ठले यो वृत्तचित्र वर्तमान पुस्ताका लागि मात्र नभई भावी पुस्ताका लागि एउटा महत्वपूर्ण दस्तावेजका रुपमा रहने बताए ।
कार्यक्रममा वि विल राइज फाउण्डेसनका अध्यक्ष तुलसीकुमार गुरुङले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखापरिरहेका परिवर्तनबारे वृत्तचित्रले महत्वपूर्ण सन्देश दिएको बताए ।
उनले ‘रोड टु एभरेस्ट’लाई विश्वभरका फिल्म फेस्टिभलमा पुर्याउँदै जलवायु परिवर्तन र हिमाली संरक्षणबारे अन्तर्राष्ट्रियस्तरमा चेतना फैलाउने उद्देश्य रहेको बताए । उनका अनुसार नेपाली हिमाली सम्पदा, पर्यटन र वातावरणीय विषयलाई विश्व समुदायसमक्ष पुर्याउन वृत्तचित्रले प्रभावकारी भूमिका खेल्नेछ ।
वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन् । यो फिल्मलाई नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ ।
नेपालमा सफल विशेष प्रदर्शनपछि हङकङमा गरिएको ग्रान्ड प्रिमियरसँगै ‘रोड टु एभरेस्ट’को अन्तर्राष्ट्रिय यात्रा थप विस्तार भएको छ । अब वृत्तचित्रलाई विभिन्न देशका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, विशेष प्रदर्शन तथा सिनेमा हलमा पुर्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।
हङकङमा प्राप्त उत्साहजनक प्रतिक्रियाले ‘रोड टु एभरेस्ट’को कथा नेपालबाट सुरु भएर विश्व समुदायसम्म पुर्याउने अभियानलाई थप ऊर्जा मिलेको निर्माण पक्षले जनाएको छ ।
फोटो : स्वदेश मर्हजन





प्रतिक्रिया 4